Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शिलापत्रले देखेको ‘नौलो बिरालो’, कुरो मिलेन नि !

Posted on May 16, 2023May 16, 2023 by राजु आचार्य

केही दिनअघि ‘पशुपति क्षेत्रमा देखिएको नौलो बिरालो’ शीर्षकमा शिलापत्र अनलाइनमा प्रकाशित फोटो समाचारले ध्यान खिच्यो। वन्यजन्तुमा रुचि राख्ने र काम गर्ने भए पछि यस्ता समाचारले आकर्षित गरी हाल्छ। समाचारमा क्लिक गरेँ, अन्य जानकारीहरू पनि पढेँ तर ती जानकारीहरूमा विश्वस्त हुन् सकिनँ। समाचारमा लेखिएका यी प्रसंगहरु कति सत्य, कति गफ छन् ? आउनुस् तलका जानकारीहरु पढौँ।

के त्यो बिरालो ‘नौलो’ थियो ?

समाचार लेख्छ, ‘सेतो, हल्का पहेँलो अनि कालो रङ। झट्ट देख्दा बिरालो भनेर पत्याउनै नसकिने’।

अरू बेला र अरू ठाउँमा देखिने भन्दा अलि फरक त थियो नै तर समाचारले भने जस्तो ‘नौलो’ भने थिएन है।

संसारभर ३० देखि ६० करोड घरपालुवा बिरालो रहेको अनुमान गरिएको छ। सबैभन्दा बढी अमेरिकामा पाल्ने गरिन्छ। त्यति धेरै बिरालोहरू मध्ये यो अनलाइनलाई नौलो लाग्नु आफैमा नौलो होइन त ?

के त्यो खानाको खोजीमा भौँतारिएको थियो ?

समाचारमा बिरालो ‘खानाको खोजीमा भौतारिरहेको’ दावी गरिएको थियो।

जब बिरालोहरू भोकाउँछन्, तिनले मानिससँग आवाजको माध्यमबाट जानकारी गराउँछन्। मानिससँग बसेका बिरालाहरू खाने बेला भएपछि यसो गर्ने गर्छन्।

उनीहरू हिँडेको वा भौँतारिएको आधारमा मात्र भोकाएको भन्न मिल्दैन। तर अमेरिकामा मात्र वार्षिक २४० करोड चराहरू बिरालोले मारेको तथ्याङ्क छ। यसको लागि हिँड्नै/दगुर्नै पर्‍यो। नेपालमा यसबारेमा कुनै अध्ययन भएको जानकारी छैन । यसैले बिरालो हिँड्नु भनेको खानको लागि हो भन्न सकिएला। तर यसका अतिरिक्त बिरालाहरू आफ्नो क्षेत्रको सुपरिवेक्षण गर्न, तनाव घटाउनको लागि, शरीरलाई तन्दुरुस्त राख्न वा बिरामी हुँदा पनि भौँतारिने/हिँड्ने गर्छन्।

के यो बाघकै प्रजातिको सानो रूप हो ?

शिलापत्रको समाचारमा लेखिएको छ-  यसलाई बाघकै प्रजातीको सानो रूप मानिन्छ।

वनमा हुने बाघ होस् या बस्ती नजिक हुने चितुवा । घरमा पालिने बिरालो होस् वा हिमालमा हुने हिउँ चितुवा- यी सबै ‘बिरालो परिवार’मा (Felidae) पर्ने जीवहरू हुन् l लेखमा लेखे जस्तो बिरालोहरू बाघको प्रजातिको सानो रूप होइन है।

कुनै बेला घरबिरालो र बाघको पुर्खाहरू एकै भएको वैज्ञानिकहरूले अनुमान गरेका छन्त। र तिनलाई के भनिन्थ्यो भन्ने अझै अन्योल छ। कसै सैले तिनलाई Proailurus भन्ने गर्थे, जुन अहिलेका बिरालोका (घर र वनमा पाइने सबै) पहिलो पुर्खा मानिन्छन्। यिनीहरू २.५ देखि ३ करोड वर्ष अघि अस्तित्वमा रहेको अनुमान गरिएको छ।

घर बिरालो र बाघ पुर्खाबाट छुट्टिएको करिब १ देखि १.५ करोड (10-15 million years) वर्ष भएको अनुमान गरिएको छ।

अहिलेका ठूला बिरालाहरू (बाघ, चितुवा, सिंह आदि) प्यान्थेरा भन्ने समूहमा (Genus) पर्छन् भने साना बिरालाहरू (घर बिरालो, वन बिरालो आदि) फेलिस भन्ने समूहमा पर्छन्।

के बिरालोले सबै खालको रङ देख्न सक्दैन ? हरेक वस्तुलाई निलो र हरियो मात्र देख्छ त ?

बिरालोले सबै खालका रङ्गहरू देख्न सक्छन्। तर तिनको आँखाको शक्ति मानिसको जस्तो भने हुँदैन। बिरालोको आँखामा दुई वटा रङ्गहरू पहिचान गर्ने (Dichromatic : two types of color receptors) अङ्ग/कोष (cell or cones) हुन्छ। यही कारणले गर्दा बिरालोहरूलाई रातो, सुन्तला र पहेंलो रङ्ग छुट्टाउन गाह्रो हुन्छ। जस्तै : रातो रंगको खेलौना यिनले खैरो देख्छन्। र निलो र हरियो भने सहजै छुट्टाउन सक्छन्। यो अनुसन्धानले देखाएको कुरा हो।

मानिसको आँखामा भने तीन वटा रङ्गहरू पहिचान गर्ने (Trichromatic : three types of color receptors) अङ्ग (cell or cones) हुन्छ जसले गर्दा हामीले धेरै प्रकारका रङ्गहरू पहिचान गर्न सक्छौ ।

बिरालोले प्रकाश कम भएको बेला भने मानिसले भन्दा ६ गुनासम्म राम्रो देख्न सक्छन्। मानिसले करिब १८० डिग्री सम्म देख्न सक्छन (field of view) भने बिरालोहरुले २०० डिग्रीसम्म देख्न सक्छन्।

अझै पनि बिरालोहरूले देख्ने रङ्गको वास्तविकता बारे वैज्ञानिकहरुले अध्ययन जारी राखेका छन्।

के बिरालोको आयु १२ देखि १५ वर्षको हुन्छ ?

बिरालोहरूको औसत आयु १२-१५ वर्ष नै हुने हो। तर राम्रोसँग स्याहार गरेर पालेको बिरालो २५-३० वर्ष सम्म बाँचेको अभिलेख पनि छ।

(राजु आचार्य वन्यजन्तु संरक्षणको क्षेत्रमा लामो समयदेखि क्रियाशील छन्। हाल उनी ‘प्रकृतिका साथीहरु’ नामक संस्थाका कार्यकारी निर्देशक छन्। माइसंसारमा उनले लेखेका पुराना ब्लगहरु यहाँ क्लिक गरी पढ्न सकिन्छ)

यो ब्लग एआईको आवाजमा अडियोमा सुन्नुस्-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme