Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसरी फैलिएको रहेछ काठमाडौँमै भएकी आरजु देउवा सिङ्गापुर पुगेको हल्ला?

Posted on May 12, 2023May 12, 2023 by Salokya

के तपाईँले सोसल मिडियामा प्रतिनिधि सभा सदस्य तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा पक्राउ पर्ने डरले भारत हुँदै सिङ्गापुर भागेको खबर देख्नुभएको छ?

पख्नुस्, नझुक्किनुस्। उनी सिंगापुरमा हैन, काठमाडौँमै छिन्। मैले आज (शुक्रबार) दिउँसो भेटेर भिडियो नै खिचेको छु।

यो विषयमा नेपालफ्याक्टचेकबाट हामीले बिहानै फ्याक्टचेक लेखिसकेका थियौँ। छुटाउनु भएको भए पढ्नुस्- के आरजु देउवा भारत हुँदै सिंगापुर भागेकी हुन् ?

भाइरल भएको एउटा भिडियो यति हो कि जस्तो लाग्ने गरी बनाइएको थियो कि सामान्य मान्छेलाई त होइन कि भन्ने हुँदै हुँदैन। हो नै भन्ने हुन्छ। किनभने त्यसमा वीरगञ्जबाट रक्सौल हुँदै उनलाई गाडीमा पटना पुर्‍याएर पटनाबाट दिल्ली पठाउने प्लेन बुक गरेर दिल्ली पठाइएको दावी गरिएको छ। त्यति मात्र हो र, दिल्लीबाट ५ बजेर १५ मिनेटमा आरजु सिंगापुर उडिसकेको पनि भनिएको छ। समय नै तोकेर समाचार जस्तो पढेको छ, सर्वसाधारणले कसरी नपत्याउनु !

त्यसमाथि प्रेस काउन्सिलका पूर्व कावा अध्यक्ष किशोर श्रेष्ठ अध्यक्ष रहेको अनलाइन जनआस्था डट कममा समेत समाचार आएको थियो, यस्तो शीर्षकमा- आरजू राणाले देश छाडिन्,रातारात दिल्ली हुँदै सिंगापुर!

हेर्नुस् जनआस्थामा प्रकाशित समाचारको अर्काइभ लिङ्क

धेरै विषयमा स्कूप समाचार ठोक्ने जनआस्थाले लेखेको कुरा हावा नै त होइन होला भन्ने पनि धेरै छन्।

त्यसमाथि फेसबुकमा भाइरल भएको एउटा अर्को भिडियो। बिहीबार राति अपलोड गरिएको यो भिडियो अहिलेसम्म लाखौँ पटक हेरिसकियो, हजारौँ वटा सेयर भइसक्यो।

स्टार अनलाइन न्युज नाम रहेको फेसबुक पेजमा राखिएको भाइरल भिडियोमा ‘पक्राउ पर्ने डरले भारत फरार भइन् आरजु, पट्ना, दिल्ली हुँदै सिंगापुर भागेको खुलासा’ शीर्षक राखिएको छ। हेर्नुस् फेसबुक लिङ्क

उक्त भिडियोमा एक महिला प्रस्तोताले वाचन गरेको मुख्य अंश यस्ता छन‍्-

‘आरजु भारत भागेको गोप्य सूचना सार्वजनिक भएको छ’, ‘आरजुलाई नाटकीय ढंगबाट फरार गराइएको समाचार सार्वजनिक भएको छ’, टोपबहादुर रायमाझीलाई एमाले अध्यक्ष केपी ओलीले भगाउन सफल भएका छन् भने आरजु राणा देउवालाई शेरबहादुर देउवाले भगाउन सफल भएका हुन्’, देउवापत्नी राणा वीरगञ्ज पर्सास्थित नेपाली कांग्रेसका नेता अजय चौरसियाको छोराको विवाह समारोहमा सहभागी भएकी थिइन्…चौरसियाकै मिलेमतोमा वीरगञ्जबाट रक्सौल हुँदा उनलाई गाडीमा पटना पुर्‍याएर पटनाबाट दिल्ली पठाउने प्लेन बुक गरेर दिल्ली पठाइएको खुलेको हो र हाल आरजु दिल्ली लुकेर बसेको बताइन्छ। दिल्लीबाट ५ बजेर १५ मिनेटमा आरजु सिंगापुर उडिसकेको र उनी सिंगापुरसम्म पुग्ने बताइएको छ। आरजु नेपालबाट सम्भव नभएपछि दिल्लीबाट सिंगापुरको यात्रा गरेकी हुन्’

हेर्नुस् भिडियोको स्क्रिनरेकर्ड-

फेसबुकमा अन्य थुप्रै पेज र प्रोफाइलमार्फत् पनि यो भिडियो फैलिएको छ।  स्क्रिनरेकर्ड हेर्न यता क्लिक गर्नुस्। 

मोबाइलबाट आरजु देउवाको भिडियो खिच्दै म।

काठमाडौँ मै यसरी भेटिइन् आरजु

मलाई  फ्याक्टचेकमा आरजु देउवाको एउटा अडियो पनि राख्न पाए हुने जस्तो लागेर मोबाइल नम्बर पत्ता लगाएर मेसेज गरेँ। एकछिन पछि उनका सहयोगीले फोन गर्दै ‘फेस टु फेस’ नै भेटौँ भन्ने कुरा आयो। भिडियो भए झन् राम्रो भन्ने भएर म त्यता लागेँ।

महाराजगञ्ज चोकबाट चप्पल कारखाना लाग्ने बाटोतिर लाग्दा बायाँतिर जनमार्ग नामको बाटोमा मुन क्याफे एन्ड थकाली नामको साइनबोर्ड भएको रेस्टुरेन्ट छ। त्यसैको अगाडिको ठूलो कम्पाउन्डसहितको घरमा अहिले देउवा भाडामा बस्छन्। बुढानिलकण्ठस्थित निवासमा अहिले मर्मत कार्य भइरहेकोले प्रधानमन्त्री नरहेपछि बालुवाटारबाट सीधै देउवा यता बसाइँ सरेका हुन्।

पोलिटिकल बिटमा काम नगरेको हुनाले नेताहरुसँग मेरो भेट हुन्न। आरजुसँग पनि अहिलेसम्म भेट भएको थिएन। यो इस्युमा पनि अनुसन्धान भइरहेको छ। तमाम विषयको रिपोर्टिङ मिडियाले गरिरहेकै छ। मलाई चासो लागेको चाहिँ आरजु सिंगापुर भागेको हो कि होइन भन्ने मात्र थियो। फ्याक्ट चेकले होइन भन्ने देखाएपछि त्यसलाई थप बल पुर्‍याउन भेटेरै एउटा अडियो वा भिडियो राखेर लाखौँ पटक हेरिएको र हजारौँ पटक सेयर गरिएको भिडियो मिथ्या हो, सोसल मिडियामा आएका सबै कुरा सही हुन्नन् भन्ने देखाउनु मात्र मेरो उद्देश्य थियो।

आरजुले आफ्ना कुराहरु राखिन्। त्यसपछि मलाई एउटा भिडियो चाहिएको छ भनेपछि कता खिच्ने भन्ने कुरा भयो। कोठाभित्र खिचे सिंगापुरमै खिचेको भन्ने पर्ला भनेर ठट्टा पनि भयो।

त्यसपछि घरबाहिरको कम्पाउन्डमा पछाडि मुन क्याफे एन्ड थकाली लेखेको साइनबोर्ड देखिने गरी फ्रेम मिलाएर मैले भिडियो खिचेँ। हेर्नुस् भिडियो-

कसरी फैलियो सिंगापुर भागेको हल्ला?

केही पत्रकारहरुलाई उनी सिंगापुर जान लागेको भन्ने सूचना दुई दिन पहिले नै आएको थियो। तपाईँले माथिको भिडियो हेर्नुभएको भए याद गर्नुभयो होला, आरजुले आफ्नो सिंगापुर जाने ‘प्लान’ रहेको बताएकी छिन् मेडिकल चेकअपका लागि। अर्थात् सिंगापुर त उनी जान लागेकै हुन्।

अस्ति बुद्ध एयरको फ्लाइटमा उनी सिमरा पुगेकी थिइन्। त्यहाँबाट उनी वीरगञ्जमा अजय चौरसियाको छोराको बिहेमा सहभागी भइन्। यहाँसम्मको कुरा त भाइरल खबरमा पनि सही नै थियो। त्यहाँबाट उनी हिजो बिहीबार हेटौडामा दुई वटा कार्यक्रममा सहभागी भइन्। हिजो नै उनी सिमराबाट बुद्ध एयरकै प्लेनबाट काठमाडौँ आउने कार्यक्रम तय थियो।

तर उनी हिजो न सिमरा एयरपोर्ट पुगिन्, न बुद्ध एयरको प्लेन चढिन्।

यसअघि पनि यही केसमा पक्राउ पूर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझी गएको वैशाख २० गते अर्घाखाँचीबाट बुटवल आएका थिए। सोही दिन भैरहवाको गौतम बुद्ध विमानस्थलबाट काठमाडौं आउने कार्यक्रम थियो,  बुद्ध एयरको फ्लाइटबाट। तर उनी न एयरपोर्ट पुगे, न काठमाडौँ पुगे। त्यो दिनदेखि बेपत्ता रायमाझी अहिलेसम्म भेटिएका छैनन्।

हिजो सिमराबाट फर्कने भनिएकी आरजु पनि एयरपोर्ट नपुगेपछि शायद् त्यही खबर कसैले दियो होला र नभएको हल्ला चलाइयो होला।

खासमा आरजुले माथिको भिडियोमा बताए अनुसार सिमराबाट दुई दिनसम्म रातिको फ्लाइट क्यान्सिल भएको कारण भ्याइँदैन भनेर फ्लाइटबाट हैन, कान्ति राजपथ हुँदै सडकबाटै काठमाडौँ फर्कने योजना बनाएकी रहिछिन्।

हिजो साँझ साढे ६ बजे आरजु काठमाडौँ पुग्दै गर्दा काठमाडौँमा भने उनी दिल्ली हुँदै सिंगापुर भागेको खबर बनाउन थालिसकिएको रहेछ। अझ हचुवा अनुमान कहाँसम्म  भने जनआस्थामा लेखिएको छ-  पटनाबाट विमानमा नयाँ दिल्ली पुगेकी देउवा राति नै सिंगापुर गएको उच्च स्रोतको दाबी छ । भारतको अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्यत्र उड्न नेपाली नागरिकलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासले एनओसी अर्थात सहमति पत्र दिनुपर्ने व्यवस्था छ । राणाको निम्ति उक्त पत्र बोकेर दूतावासबाट उच्च अधिकारी नै ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेको बताइन्छ । 

अहिले एउटा  ठूलै स्क्यामको अनुसन्धान प्रहरीले गरिरहेको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने यो ठगीको गिरोहको लहरो तान्दा पहरो गर्जँदैछ। तर यस विषयमा यस्ता खालका मिथ्या सूचनाले सही सूचनालाई पनि ओझेलमा पार्ने डर हुन्छ। नेताहरुलाई सजिलो पनि हुन्छ- सही कुरालाई पनि यो फेक हो भनेर दोष लगाउने। तसर्थ सही सूचनामात्र फैलाउँ। मिथ्या सूचनालाई फैलनबाट रोकौँ।

 

1 thought on “कसरी फैलिएको रहेछ काठमाडौँमै भएकी आरजु देउवा सिङ्गापुर पुगेको हल्ला?”

  1. Narayan Manandhar says:
    May 13, 2023 at 3:36 pm

    Have some fact check on:
    1. After snatching paper from the police, Mr. Khand chewing and swallowing thereby destroying physical evidence.
    2. Manju Khand reported gone to Australia.
    3. Top Bahadur hiding at Balkot.
    4. Indrajit Rai lodging complaint with HR Commission against police using excesses during investigation.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme