Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रिय गान शब्दबाट सुरु भएर शब्दबाटै अन्त्य हुनुपर्ने ओलीको दावी सही हो?

Posted on April 12, 2023 by Salokya

पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय गानमा रहेको अगाडिको धून हटाउनु पर्ने माग गर्दै राष्ट्रिय गान शब्दबाट सुरु हुने र शब्दबाट अन्त्य हुने दावी गरे। चैत २२ गते अखिल नेपाल पिछडा वर्ग महासंघको प्रथम महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले राष्ट्रिय गानका ‘अगाडि सिंगार बटार गरेर अर्काे म्युजिक अगाडि हाल्ने, अर्काे म्युजिक पछाडि हाल्ने गरिँदैन’ भने। ओलीको उक्त भनाई समाचारको विषय मात्र बनेन, यसले सामाजिक सञ्जालमा बहस पनि सिर्जना गर्‍यो। के अरु देशका राष्ट्रिय गानमा अगाडि वा पछाडि संगीत हुन्छ ? यही विषयमा हामीले तथ्य जाँच गरेका छौँ।

के भनेका थिए ओलीले ?

हामीले अनलाइनखबर, नेपालभ्युज, थाहाखबर, नेपालखबर, पहिलोपोस्ट लगायतका अनलाइनहरुमा यसबारे समाचार भेट्यौँ। तर ओलीले बोलेको भिडियो भने त्यसमा थिएन।

खोज्दै जाँदा हामीले नेपालप्रेस अनलाइनको युट्युब च्यानलमा ५९ सेकेन्डको भिडियो भेट्यौँ। शिलापत्रले पनि यही कार्यक्रमको २ मिनेट ३४ सेकेन्डको भिडियो राखेको छ।

भिडियोमा ओलीले भनेका छन्- “एउटा कुरा चाहीँ म सरकारलाई आग्रह गर्न चाहन्छु। राष्ट्रिय गान अगाडि प्याप्याप्याप्या केही धुन बजाउँछ ट्याट्याट्याट्याट्याट्या पारेर। ‘सयौँ थुंगा फूलका हामी’ भन्ने भन्दा अगाडिको धुन राष्ट्रिय गान वा राष्ट्रिय धुनबाट हटाइनुपर्छ। किनभने त्यो राष्ट्रिय गानभित्र पर्दैन र राष्ट्रिय गानको धुन पनि होइन। अगाडि बजाउने बाजा राष्ट्रिय गानमा बजाइँदैन। त्यो सरकारको म ध्यानाकर्षण गराउन चाहन्छु। सरकारले यस्ता कुरामा ध्यान दिओस्। राष्ट्रिय गान भनेको राष्ट्रिय गान हो। राष्ट्रिय गान शब्दबाट सुरु हुन्छ, शब्दमा अन्त्य हुन्छ। शब्दको धुनबाट सुरु हुन्छ, शब्दको धुनबाट अन्त्य हुन्छ। त्योभन्दा अगाडि सिंगारपटार गरेर अर्काे म्युजिक अगाडि हाल्ने, अर्काे म्युजिक पछाडि हाल्ने गरिँदैन। त्यसकारण यसमा सरकारको ध्यान जाओस्।”

के हो तथ्य ?

ओलीले दावी गरे जस्तो राष्ट्रिय गान शब्दबाट सुरु भएर शब्दमा अन्त्य हुने हो ? के राष्ट्रिय गानबाट उनले दावी गरे जस्तै शब्दभन्दा अगाडि म्युजिक हाल्ने गरिँदैन ? यसको तथ्य जाँचका लागि हामीले विभिन्न देशका राष्ट्रिय गान सुन्यौँ।

राष्ट्रिय गान सुन्नका लागि हामीले युट्युबमा रहेको डीएन एन्थेम्स नामको च्यानललाई आधार बनाएर विभिन्न देशका राष्ट्रिय गान सुन्यौँ। यसमा १९५ देशका राष्ट्रिय गान संग्रहित छन्। हामीले यसमा रहेको राष्ट्रिय गानलाई गुगलबाट खोजेर अन्य स्रोतबाट पनि भेरिफाइ गर्‍यौँ।

हामीले कूल १९८ वटा देशका राष्ट्रिय गान सुन्दा बहुमत अर्थात् १२५ देशको राष्ट्रिय गान संगीतबाट सुरु भएको पायौँ भने ७३ देशको मात्र शब्दबाट।

उदाहरणका लागि बेलायतको राष्ट्रिय गान गड सेभ किङ्गमा २० सेकेन्ड धून बजेपछि मात्र शब्द सुरु हुने गरेको पाइयो।

अर्जेन्टिनाको राष्ट्रिय गान हिम्नो नासियोनल अर्जेन्टिनोमा त झन् झण्डै एक मिनेट धून बजेपछि मात्र शब्द सुरु हुने गरेको देखिन्छ।

उरुग्वेको राष्ट्रिय गानमा पनि लामै समय धून बजेपछि मात्र शब्द सुरु हुन्छ।

हाम्रै छिमेकी मुलुक चीनको राष्ट्रिय गानमा समेत सुरुमा सात सेकेन्डको धुन पछि मात्र शब्द सुरु हुन्छ।

तथ्य जाँच

दावी : राष्ट्रिय गान शब्दबाट सुरु भएर शब्दबाटै अन्त्य हुन्छ। त्योभन्दा अगाडि सिंगारपटार गरेर अर्काे म्युजिक अगाडि हाल्ने, अर्काे म्युजिक पछाडि हाल्ने गरिँदैन।

दावीकर्ता : पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली।

तथ्य : भ्रामक सूचना। राष्ट्रिय गान यस्तै हुनुपर्छ भन्ने कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय मापदण्ड पनि बनेको हामीले भेट्टाएनौँ। हामीले १९८ वटा देशका राष्ट्रिय गान सुन्दा १२५ देशको राष्ट्रिय गान संगीतबाट सुरु भएको पायौँ। अर्जेन्टिना, उरुग्वे जस्ता देशका राष्ट्रिय गानमा त झण्डै एक मिनेट धूनपछि मात्र शब्द आउँछ। त्यसैले ओलीको दावी भ्रामक रहेको निष्कर्षमा हामी पुग्यौँ।

1 thought on “राष्ट्रिय गान शब्दबाट सुरु भएर शब्दबाटै अन्त्य हुनुपर्ने ओलीको दावी सही हो?”

  1. Narayan Manandhar says:
    April 16, 2023 at 8:19 am

    Please do verify these claims by Dr. K.P. Sharma Oli:
    1. First PM in the world to go kidney transplantation while in office, that too, without taking sick leave.
    2. First politician in the world to have kidney transplantation twice.
    3. First politician to be honored by four honorary PhDs.
    4. The claim that PhD is nothing besides methodology.
    5. You can kill coronavirus simply by drinking besar-pani, gargling with nimbu pani etc.
    6. “Buddha le kati class padheko xa?”

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme