च्याटजीपीटी अहिले विश्वमै चर्चाको विषय बनेको छ। मान्छे हैन मेसिनको बुद्धिले काम गर्छ यसमा। अरु क्षेत्रमा मात्र नभई पत्रकारितामा पनि यसको प्रभाव पर्ने विश्लेषण भइरहेको छ। एउटा विज्ञप्ति दिएर च्याटजीपीटीलाई समाचार लेख भन्यो भने यसले खुरुखुरु समाचार लेखिदिन्छ। अलि फरक गरेर लेख भन्यो भने पहिलेको भन्दा भाषा फरक गरी खर्रर लेखिदिन्छ।
तर नेपालका पत्रकार भने च्याटजीपीटी भन्दा खतरा रहेछन्। उनीहरुले एउटै समाचार उस्तै गरी लेखेर छपाउन सक्दा रहेछन्। दुई वटा समाचार त सरकारी अखबार गोरखापत्रको अनलाइनमा नै देखियो दुई फरक नाममा।
हेर्नुस् एउटै अनलाइनमा केही घण्टाको फरकमा एउटै समाचार दुई जनाले उस्तै गरी लेखेका
लक्ष्मण पौडेलको बाइलाइनमा लेखिएको समाचारको अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्। सुरुमा यही समाचार छापिएको थियो।
त्यसको केही घण्टापछि प्रकाशित कपिल ज्ञवालीको बाइलाइनमा लेखिएको समाचारको अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्।
एउटै अनलाइनमा उस्तै गरी दुई जनाले समाचार लेख्न सक्ने भएपछि नेपालका पत्रकार च्याटजीपीटीभन्दा खतरा भएनन् त 🙂
अझ अलि खोज्दै जाँदा यही समाचार सामान्य कुरा बाहेक हुबहु अन्य मिडियामा पनि देखियो।
जस्तै यो उकेरामा धन्न यसमा बाइलाइन अर्थात् लेख्नेको नाम चाहिँ रहेनछ।
शिलापत्रमा पनि यस्तै समाचार छ। यसमा पनि बाइलाइन छैन।
त्यसैगरी विमल क्षेत्रीको बाइलाइनमा अर्को समाचार न्युज २४ टिभीको अनलाइनमा देखियो।
भएको के होला ?
न्युज एजेन्सीको समाचार धेरै वटा मिडियामा आउनु सामान्य हो। किनभने ती एजेन्सीको समाचार प्रयोग गर्नका लागि शुल्क तिरेका हुन्छन् सम्बन्धित मिडियाले। तर मिडियाका संवाददाताहरुले आफ्नो बाइलाइनमा जसको अर्थ समाचार उसले लेखेको भन्ने हुन्छ, कसरी उस्तै समाचार हुनसक्छ?
यसो हुनसक्छ- यो समाचार कसैले प्रेस विज्ञप्तिका रुपमा इमेल पठायो। पत्रकारले प्रेस विज्ञप्तिलाई समाचार बनाउन अल्छी गर्ने हुनाले अचेल समाचारकै रुपमा पठाउने चलन छ। त्यसैलाई यी संवाददाताहरुले अल्छी गरेर अलि अलि सम्पादन पनि नगरी आफैले लेखे जस्तो गरी आफ्नो बाइलाइनमा पठाए। काठमाडौँका अनलाइनहरुले त्यही छापे। कम्तिमा समाचार पढेपछि थप कोट वा थप एङ्गल खोजे वा त्यति दुःख गर्न पनि नसके नाम मात्र पनि नहाले यस्तो बिजोग हुँदैन थियो।
गोरखापत्रमा पनि त्यही भयो होला। दुई जना पत्रकारले आफैले समाचार लेखे जस्तो गरी पठाए। सुरुमा पठाउनेको सुरुमै हालियो। त्यसपछि अनलाइनको डेस्कमा बस्नेको ड्युटी चेन्ज भयो होला। फेरि अर्को समाचार आयो, त्यो समाचार पनि हालियो। यही समाचार पहिले छापियो कि छापिएन भनेर हेर्न भ्याइएन होला। अथवा हेर्न मिलेन होला।
रमाइलो के भने कुन समाचार छापियो भनेर गोरखापत्रकै पत्रकारलाई थाहा नहुने रहेछ भने सामान्य पाठकलाई झन् के थाहा होला ?
दुई जनाको बाइलाइनमा छापिएपछि दुई जनाले नै पारिश्रमिक पाउने रहेछ भने त ठीक छ। प्रेस विज्ञप्तिको समाचार सारेर एउटाले मात्र किन पैसा पाउनु! दुई जनाले पाएको ठीक। अझ तीन जनाले पाउने भए अझ ठीक, कि कसो 🙂