Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१८ औँ वर्षमा माइसंसार : प्रिय पाठकका नाममा ९ बूँदे पत्र

Posted on April 6, 2023 by Salokya

माइसंसार सुरु भएको आज १८ वर्ष पूरा भएको अवसरमा यो यात्रामा साथ दिने प्रिय पाठकका नाममा ९ बूँदे पत्र :

१) ‘ल है मेरो पनि ब्लगिङ सुरु भयो’ शीर्षकमा सन् २००५ को आजकै दिन (अप्रिल ६) मा माइसंसारमा ब्लग लेख्न सुरु गरिएको थियो। तत्कालीन राजा ज्ञानेन्द्रले संकटकाल लगाएको त्यतिबेला थाहा थिएन, यो यात्रा कहाँसम्म जाने हो, कहिलेसम्म जाने हो। अहिले पनि थाहा छैन। फर्केर हेर्दा अचम्म लाग्छ- १८ वर्षसम्म यसलाई निरन्तरता दिन सकिएछ। तपाईँहरुको साथ र हौसला बिना यो पक्कै पनि सम्भव थिएन। एउटा कुरा पक्का छ- impermanance अर्थात् अनित्य। यो संसारमा भौतिक होस् कि अभौतिक सबै कुरा परिवर्तनशील हुन्छन्। उत्पत्ति र विनाशको क्रम चलिरहेको हुन्छ।

अप्रिल ६, २००५ मा प्रकाशित माइसंसारको पहिलो ब्लग। 

२) यो १८ वर्षको बीचमा सञ्चारमा ठूलै परिवर्तन आइसकेको छ। जतिबेला माइसंसार जन्मियो, त्यतिबेला त फेसबुक पनि थिएन (सन् २००६ को सेप्टेम्बर २६ मा मात्रै फेसबुक सबैका लागि खुला भएको थियो)। ट्विटर पनि थिएन। टिकटक त झन् छँदै थिएन। युट्युब भर्खर खुलेको थियो। त्यतिबेला सीमित परम्परागत मिडिया नै सूचनाका स्रोत थिए तर अहिले सूचनाका लागि सामाजिक सञ्जालमा भर पर्ने स्थिति आइसकेको छ। मलाई थाहा छ- फेसबुक, ट्विटर सुरु हुनुभन्दा अगाडि मैले ब्लग सुरु गरेँ भनेर भन्नु हिङ बाँधेको टालो छ भनेर फूर्ति देखाउनु जस्तो मात्र हो। अगाडि होस् कि पछाडि- कसलाई के मतलब! अरुले नदिएको कुरा दिन सक्नुपर्‍यो, पाठकले खोजेको कुरा दिन सक्नुपर्‍यो। नत्र माइसंसार चलोस् कि बन्द होस्- कसैलाई के मतलब!

३) माइसंसार सुरु हुँदाताका नेपालमा नेपाली भाषाका अनलाइनहरु थिएनन्। त्यसैले २०६२/६३ को जनआन्दोलनदेखि त्यसपछिका संक्रमणकालीन राजनीतिक परिदृश्यमा छिटो सूचनाको भोक पनि माइसंसारले नै मेटाउनु पर्ने परिस्थिति थियो। अहिलेको जस्तो प्रविधि पनि थिएन। भिजिटरको लोड थाम्न नसकेर साइट बन्द हुन्थ्यो। सर्भर महँगो। त्यस्तो अवस्थामा पनि पाठकहरुले नै त्यतिबेलाको महँगो सर्भर खर्च धानेर माइसंसारलाई जोगाएको स्थिति थियो। त्यतिबेला भिजिटर सूचना खोज्दै सीधै ब्लगमा आउँथे। अहिले यस्तो ब्लग लेखियो भनेर सामाजिक सञ्जालबाट भिजिटरलाई जानकारी दिनुपर्ने परिस्थिति बनेको छ।

४) माइसंसारको १८ वर्ष त्यो कालखण्डलाई देखाउने एउटा इतिहास पनि हो। त्यतिबेलाका ब्लग र त्यसमा आएका कमेन्टहरुले त्यतिबेलाको परिस्थितिलाई स्पष्ट पार्छ। यसलाई जोगाएर राख्नु पर्ने हो। तर दुःखका साथ भन्नुपर्छ कि नेपालमा अर्काइभिङ त्यति गतिलो छैन। तपाईँले कुनै पनि वेबसाइटका पुराना कन्टेन्टहरु खोज्नुभयो भने सजिलै पाउन सक्नुहुन्न। माइसंसार यो मामिलामा धेरै समयसम्म जोगिएकै थियो। तर अहिले तपाईँले सन् २०१२ भन्दा अघिका ब्लगहरु खोज्नुभो भने सहजै पाउन सक्नुहुन्न। कहिले भाइरस, माल्वेयरहरुको आक्रमणले सताउने; कहिले सस्तोमा वा निःशुल्क पाइने सर्भरतिर सार्दासार्दा सन् २००५ देखि २०१२ सम्मका ब्लग अहिले पब्लिस छैन।

५) माइसंसारबाट आम्दानी गर्ने कुरा कहिल्यै सोचिएन। त्यसैले यसलाई व्यवसायिक रुपमा लाने सोच नै आएन। यसोभन्दा अंगुर अमिलो भने जस्तो होला फेरि। त्यसो भए सीधै भनौँ- जानिएन व्यवसायिक रुपमा लान। कहिलेकाहीँ राखिदिनु भनेको विज्ञापन नहालेको पनि हैन, तर कति विज्ञापनका पैसा नै आएन। पैसा दिनु न भनेर ताकेता गर्न नि जानिएन। उतिबेला गुगल एडबाट अलि अलि पैसा आउँथ्यो। तर भिडियो हेर्न तल क्लिक गर्नुस् लेखेर मुनि गुगल एड राख्ने पाराका वेबसाइटहरु बढेपछि नेपाली भाषाको वेबसाइटमा गुगल एड नै बन्द गरिदियो गुगलले। अहिलेसम्म त्यो खुलेको छैन। बीचका केही समयमा फेसबुकको इन्स्ट्यान्ट आर्टिकलबाट पनि केही पैसा आउँथ्यो। तर फेसबुकमा पनि क्लिकको लोभमा जथाभावी कन्टेन्ट हाल्ने क्रम कम भएन। यही बीचमा माइसंसारको इन्स्ट्यान्ट आर्टिकल पनि खै के कारणले हो बन्द भयो। अब त मेटाले यही अप्रिल महिनाको मध्यदेखि इन्स्ट्यान्ट आर्टिकल नै बन्द गर्ने भइसकेको छ। लगातारको मालवेयर आक्रमणले निःशुल्क होस्ट गर्न भनेर मिलाएको सर्भरमा समस्या भएपछि अस्थायी रुपमा केही दिनका लागि भनेर सारिएको सर्भरमा विगत एक वर्षदेखि आफ्नै गोजीको पैसा जोगाएर भए पनि होस्टिङ खर्च तिरेर माइसंसारलाई जसोतसो जोगाएको छु।

६) सोसल मिडियाका राम्रा पक्ष पनि छन्, नराम्रा पक्ष पनि छन्। सोसल मिडियाले मिथ्या सूचना पनि हो कि जस्तो गरी फैलाउँछ। कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै गर्दा मिथ्या सूचनाको संक्रमण पनि बढ्दै थियो। त्यही बेला माइसंसारको सहकार्यमा सीएमआर-नेपालले सुरु गरेको तथ्य जाँच वेबसाइट nepalfactcheck.org मा अहिले म सम्पादकका रुपमा कार्यरत छु। सीएमआर-नेपालका अरु रिसर्चका कामहरु र मिड करिअर जर्नलिस्टलाई तालिम दिन भर्खरै सुरु भएको सीएमआर नेपाल जर्नलिज्म एकेडेमीमा अहिले म ट्रेनरका रुपमा पनि कार्यरत छु। त्यसैले माइसंसारलाई पहिले दिँदै आएको समय प्राथमिकताका आधारमा बाँडिएको छ, कम भएको छ। तर प्रतिफलको लोभमा भन्दा पनि आफ्नो सन्तुष्टिका लागि पनि माइसंसारमा ब्लग लेख्न मन पर्छ। उपलब्ध समय र परिस्थितिका बीच ब्लग लेख्दै पनि हुन्छु। तर कतिपय समयमा लेख्न मन लागेका कुरा पनि लेख्न छुटिरहेको हुन्छ। कहिलेकाहीँ पुराना पाठकहरुले यो विषयमा लेखिदिनुपर्‍यो है भनेपछि आफूले खोजेर, बुझेर लेख्ने गरेको छु। त्यस्तो केही छ भने मलाई जुनसुकै बेला फेसबुक मा पठाउन नभुल्नु होला।

७) मिडियालाई राष्ट्रको चौथो अङ्गको सम्मान दिइन्छ, बाँकी तीन अङ्गको पहरेदारीको जिम्मेवारी उसको भनेर। मिडियाले अरुलाई जिम्मेवार र जवाफदेही हुन सजग गराउँछ। तर मिडिया आफै कति अरुप्रति जिम्मेवार छ त ? पाठकप्रति कति जवाफदेही छ त ? मिडिया निगरानीका लागि माइसंसारले गरेको निरन्तर प्रयासलाई नियमित पाठकहरुले अवलोकन गरिरहनुभएकै छ। माइसंसार एक्लो प्रयासमा चलिरहेको सानो ब्लग भए पनि ठूला मिडियाका ठूलै किसिमले चिप्लेका घटनाहरुमा सतर्क गराइरहेको छ, यो क्रम जारी रहनेछ। विशेष गरी गल्ती गरिसकेपछि त्यसलाई सच्याउने बानी नेपाली मिडियाको एकदमै कम छ। त्यसप्रति निरन्तर खबरदारी गर्ने काम जारी रहनेछ। यो प्रसंगमा दुई वर्षअघि लेखेको विषय फेरि दोहोर्‍याउन मन लाग्यो- नाम चलेका मिडियाहरुले गरेका गल्तीहरुलाई औँल्याइरहनु सहज काम होइन। यसमा आउने दबाब र प्रभावका कथा बेग्लै छन्। आवश्यकै भए कुनै दिन लेखौँला। अहिलेलाई कम्तिमा कसैले यसलाई रोक्न सकेका छैनन्।

८) अघि नै भनिसकेँ, माइसंसार सुरु हुँदा र अहिलेको अवस्था निकै परिवर्तन भइसक्यो। त्यसैले माइसंसारका कन्टेन्ट पनि त्यही अनुसार परिवर्तन गर्दै जानु पर्ने नै हुन्छ। सामान्य सूचनाका लागि त त्यत्रा अनलाइन न्युजपोर्टलहरु छँदैछन् नि। आउँदा दिनका लागि माइसंसारले प्राथमिकता निर्धारण गर्नुपर्दा तीन विषय- सोसल मिडियामा भाइरल हुने वा हुनसक्ने सूचनाहरुको फ्याक्ट चेकसँगै पुराना मिडियाहरुको सामग्रीमा निगरानी, उनीहरुले गरेका गल्तीहरु बारे सचेत गराउने माइसंसारको पुरानो काम जारी रहनेछ। यस बाहेक मिडियाले जटिल भाषामा लेख्ने विषय सहज रुपले सजिलै बुझिने गरी अनौपचारिक भाषामा ब्लग लेखी बुझाउने प्रयास पनि हुनेछ। कुनै विषयमा लेखिदियोस् भन्ने लागेमा वा माइसंसारकै बारे अन्य केही सुझाव दिन मन लागे मलाई व्यक्तिगत रुपमा फेसबुकमा यहाँ क्लिक गरी वा माइसंसारको फेसबुक पेजमा यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ

९) तपाईँको स्वेच्छिक सहयोग आवश्यक
माइसंसार सुरु भएदेखि नै पाठकहरुले गरिरहनुभएको माया मलाई याद छ। सुरुमा माइसंसारका लागि क्यामेरामा लाग्ने एउटा एसडी कार्ड पाठकले नै सहयोग स्वरुप पठाउनुभएको थियो। त्यसपछि जनआन्दोलनताका बढ्दो पाठकका कारण उतिबेला महँगो पर्ने होस्टिङ खर्च धान्न पनि पाठकहरुले नै स्वेच्छिक सहयोग गर्नुभएको थियो। त्यसले माइसंसारलाई निरन्तर अघि बढाउन निकै सहयोग गरेको थियो।

त्यतिबेला त समाचारका स्रोतहरु पनि धेरै थिएनन्। अहिले त प्रशस्तै अनलाइनहरु पनि छन्। तर पनि माइसंसारले यदि तपाईँको सूचनाको भोकलाई शान्त पार्न केही सघाएको भए र यसलाई अझै सशक्त पार्न उत्प्रेरित गर्न चाहनु हुन्छ भने फेरि पनि स्वेच्छिक सहयोगको आह्वान गरेको छु।

यो स्वेच्छिक निःशर्त सहयोग हुनेछ र यसमा कुनै शर्त न तपाईँको हुनेछ, न मेरो हुनेछ। जति पनि सहयोग तपाईँले गर्न सक्नुहुनेछ- न्यूनतम एक रुपैयाँदेखि।

स्वेच्छिक सहयोगका लागि इसेवाले सघाएको छ। डेस्कटप/ल्यापटप वा मोबाइल एपबाट इसेवा लग इन गरिसकेपछि MYSANSAR टाइप गरेर खोज्न सक्नुहुन्छ।

त्यसपछि खुल्ने विन्डोमा नाम, फोन नम्बर र सहयोग गर्न चाहेको रकम भरेर पठाउन सक्नुहुन्छ।

 

अथवा सीधै तलको QR Code मार्फत् स्क्यान गरेर पनि माइसंसारलाई सहयोग गर्न सक्नुहुन्छ। यो QR Code माइसंसारको होमपेजमा पनि रहेको छ।

तपाईँहरु सबैलाई १८ वर्षसम्म माइसंसारलाई साथ दिनुभएकोमा धन्यवाद। कृष्ण ढुंगाना, दीपक भट्टराई, उत्तमबाबु श्रेष्ठ, प्रमेय भण्डारी, सुदर्शन काफ्ले, स्याटेलाइट, सूर्य खड्का आदिले विभिन्न समयमा नसघाएको भए यो यात्रा कठिन हुन्थ्यो। फेसबुकमा अन्तर्क्रिया सुरु हुनुअघि माइसंसारमा पाठकहरुको कमेन्टको लर्को लाग्थ्यो जसलाई व्यवस्थापन गर्न निकै गाह्रो हुन्थ्यो। पुष्प, लुना, मदन, गगने, द्रोण, शिशिर आदि सेलिब्रिटी कमेन्ट लेखकहरु थिए। आजको दिन उनीहरुमात्र हैन ती सबै पाठकलाई सम्झेर तपाईँहरुको योगदानका लागि धन्यवाद दिन चाहन्छु।

यात्रा जारी छ…

2 thoughts on “१८ औँ वर्षमा माइसंसार : प्रिय पाठकका नाममा ९ बूँदे पत्र”

  1. Kiran says:
    April 24, 2023 at 7:51 am

    Congratulations !! Congratulations !!

    Congratulations on your incredible success !! It was the main source of correct news for many Nepalese living abroad during uprising against the monarchy system in Nepal.

    You inspired by having such ambitious dreams, you achieved incredible success by putting in the hard work. No one can compare to your creativity and passion.

    Congratulations on the amazing blogs! This is an incredible milestone you have passed.

    Reply
  2. Rahunjel Ram says:
    April 6, 2023 at 7:48 pm

    Keep it up Umesh Dai, always respect.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme