Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टिकटकको भाइरल भिडियो : ‘सिआइडी’ले पठाओ राइडरलाई चिट काटेको हो?

Posted on March 24, 2023 by Salokya

केही दिनअघिदेखि टिकटकमा एउटा भिडियो खुबै भाइरल भएको छ। भिडियोमा सादा पोशाकमा रहेकी एक महिलाले एक स्कुटर चालकको चिट काट्दै गरेको देखिन्छ। एक मिनेट ३८ सेकेन्डको यो भिडियोमा ‘बिचरा पठाउ दाइ’, र ‘हाम्रो नेपालमा के हुँदैछ, cid रे, यसरी चिट काट्न पाइन्छ???’ लेखिएको छ। यसबारे नेपालफ्याक्टचेकमा फ्याक्टचेक भइसकेको छ। छुटाउनु भएको भए यता हेर्न सक्नुहुन्छ।

के छ भाइरल भिडियोमा ?

@aburai4350 युजरनेम रहेको टिकटक एकाउन्टबाट मार्च १४ तारिखमा अपलोड गरिएको यो भिडियोमा मार्च २३ मध्याह्नसम्म ५ हजार ४३२ रियाक्सन, ३५५ कमेन्ट र १६७ कमेन्ट देखिन्छ। भिडियो खिच्ने व्यक्तिले ‘यसरी आउट ड्रेसमा पनि चिट काट्न पाइन्छ’ भनेर प्रश्न गर्दा ती महिलाले आफूहरु सिभिल ड्रेसमा ड्युटीमा खटिएको बताउँदै गरेको सुन्न सकिन्छ।

जसको चिट काटिएको हो, ती चालकले ‘उहाँहरु सिआइडी रे’ भनेको भिडियोमा सुन्न सकिन्छ। लगत्तै सादा पोशाककै अर्का मास्क लगाएका पुरुष आएर भिडियो बनाउँदै गरेका व्यक्तिलाई केही सोध्दै बाइक साइड लगाउन आग्रह गर्छन्। भिडियो बनाइरहेका व्यक्तिले ती पुरुषलाई परिचयपत्र देखाउन भनिरहेको पनि देखिन्छ। भिडियो खिचिरहेका व्यक्तिले बाइक केही अघि बढाएपछि बाइक रोकेर बसेका अर्का एक जना व्यक्तिले छाडा शब्द बोल्दै सिभिलले चिट काट्न पाउँछ भनेर प्रश्न गर्छन्।

हेर्नुस् भिडियोको स्क्रिनसट

टिकटक भिडियोको लिंक

के हो तथ्य ?

हामीले टिकटकमा भाइरल भएको यो भिडियो पठाएर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्टलाई सोध्यौँ- भिडियोमा चिट काट्दै गरेको देखिएकाहरु को हुन् ?

उनले ती महिला भिडियोमा दावी गरिए जस्तो सिआइडी नभएर ट्राफिक प्रहरी नै रहेको बताए।

भाइरल भिडियो र त्यसमा राखिएका कमेन्टहरुमा उठाइएको सादा पोशाकका प्रहरीले चिट काट्न पाउँछन् भन्ने प्रश्न पनि हामीले प्रवक्ता एसएसपी भट्टसमक्ष राख्यौँ। उनले ट्राफिक प्रहरी पनि सादा पोशाकमा आफ्नो ड्युटीमा खटिन सक्ने बताए। उनले भने, ‘ट्राफिक प्रहरी कर्मचारी नै हो त्यो। .. सादा पोशाकको अपरेसन पनि हुन्छ ट्राफिकबाट। त्यही क्रममा सादा  पोशाकमा ट्राफिक प्रहरी परिचालित भएको हो।’

हामीले यही प्रश्न नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी डिआइजी पोषराज पोखरेललाई सोध्यौँ।  प्रहरी हेडक्वार्टरले बनाएको आन्तरिक कार्यविधि अनुसार सादा पोशाकका प्रहरी अपराध अनुसन्धानमा खटिने उनले बताए। त्यही अनुसार ट्राफिक प्रहरी पनि आफ्नै हिसाबले खटिन सक्ने उनको कथन थियो। तर सादा पोशाकका ट्राफिक प्रहरीले कारबाही स्वरुप चिट काट्न सक्ने/नसक्ने बारे उनले प्रष्ट जवाफ दिएनन्।

राइड सेवा दिनेहरुले सडकमा जथाभावी रोकेर सवारी चढाउँदा त्यसले सडक जाम हुने समस्या भएकाले सादा पोसाकका ट्राफिक प्रहरी खटाएर उनीहरुलाई कारबाही गर्ने गरेको ट्राफिक प्रवक्ता एसएसपी भट्टले जानकारी दिए।

उनी भन्छन्, ‘राइड सेयरको के छ भने बाटोमा रोक्ने, जथाभावी बस पकेटमा रोक्दिने, बस पकेटमा प्यासेन्जर कुरेर बस्दिने त्यसले गर्दा बस नै बस पकेटभित्र जान नपाउने, अनि त्यसले गर्दा अब सडक जाम हुने। युनिफर्मको पुलिस त टाढै देखेपछि अनि टाप कसिहाल्ने! त्यो भएपछि सादा पोशाकको गएर समाउँछ अनि युनिफर्मको गएर चिट काट्छ।’

सुरक्षा मामिलालाई बिट बनाएर लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकार केपी ढुंगानालाई हामीले सादा पोशाकका प्रहरी बारे सोध्यौँ। उनले अनुसन्धान प्रयोजनका लागि सादा पोशाकका प्रहरी खटिने भए पनि कारबाही गर्ने अधिकार उनीहरुलाई नभएको जिकिर गरे। आफूले प्रहरीको आन्तरिक कार्यविधि हेरेको र त्यसमा पनि त्यही उल्लेख भएको उनको दावी थियो।

उक्त कार्यविधि प्रहरीको आन्तरिक प्रयोजनका लागि भएकोले सार्वजनिक रुपमा उपलब्ध छैन। त्यसैले त्यसमा के कस्तो प्रावधान छ भन्ने बारे हामीले थप बुझ्न पाएनौँ। प्रहरी ऐन, २०१२; प्रहरी नियमावली, २०७१ मा सादा पोशाकका ट्राफिक प्रहरीबारे केही उल्लेख भएको हामीले भेट्टाएनौँ।

यद्यपि ट्राफिक प्रवक्ताले सादा पोशाकको प्रहरीसँगै युनिफर्मवाला पनि खटिने र सादा पोशाककोले समातेपछि युनिफर्मको गएर चिट काट्ने भनेका छन्। भिडियोमा भने सादा पोशाककाले नै चिट काटेको देखिएको छ।

ट्राफिक प्रवक्ता एसएसपी भट्टले सादा पोशाकमा हुने ट्राफिक प्रहरीको अपरेसनबारे थप प्रष्ट्याए, ‘हामीले यो आरक्षण सिटको पालना भएको छ कि छैन भनेर सादा पोशाकमा पठाउँछौँ, वृद्ध सिटहरु, महिला सिटहरु हुन्छ नि गाडीमा, त्यसमा ठ्याक्क सिभिलमा पठाएर ठ्याक्क सम्बन्धित मान्छे बस्या छ कि अरु बसेको छ, त्यो हेर्ने अनि कारबाही गर्ने हुन्छ। त्यसैगरी अब ट्याक्सीहरुमा गुनासो आउँछ, हाम्रो हाउमच कारबाही भन्ने एउटा लोकल नाम दिएको हामीले..। जाने, कति दिने भन्यो हाउ मच भन्यो भने त्यसले कति दिने भन्यो भने .. मिटरमा जान मानेन, अब यल्लाई कारबाही गर्ने भन्ने त्यसरी हाउमच कारबाहीमा पनि सादा पोशाकमा खटिन्छ। त्यसैगरी लाइसेन्सको परीक्षा दिने ठाउँमा दलालहरु समाउनलाई पनि सादा पोशाकमा खटिन्छ। यातायात कार्यालयहरुमा दलाली गर्नेहरुलाई समाउन सादा पोशाकमा खटिन्छ। सादा पोशाकमा पनि…प्रहरी खटिन्छ विभिन्न अपरेसनहरुमा।’

उनको भनाई अनुसार हामीले गुगलमा “सादा पोशाकमा खटिएका ट्राफिक प्रहरी” कीवर्ड राखेर सर्च गर्दा हामीले विभिन्न समयमा प्रकाशित धेरै समाचारहरु भेट्यौँ-

गुगलको स्क्रिनसट

 

हेर्नुस् अनलाइनखबरमा प्रकाशित समाचारको लिंक

हेर्नुस् शिलापत्रमा प्रकाशित समाचारको लिंक

तथ्य जाँच

दावी : सादा पोशाकका सिआइडीले पठाओ राइडरको चिट काटेको। सादा पोशाकमा ट्राफिक खट्न पाउँदैन।

दावीकर्ताः सामाजिक सञ्जाल (टिकटक) प्रयोगकर्ता

तथ्यः भ्रामक/अपुष्ट सूचना। सामाजिक सञ्जालमा सिआइडी दावी गरिए पनि ट्राफिक प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र भट्टले भिडियोमा देखिएका महिला सादा पोशाकमा खटिएका ट्राफिक कर्मचारी नै रहेको पुष्टि गरेका छन्। उनले ट्राफिक प्रहरी सादा पोशाकमा पनि आफ्नो ड्युटीमा खटिन सक्ने/विभिन्न अपरेसनमा सहभागी हुने बताए। यससम्बन्धी समाचारहरु यसअघि पनि प्रकाशन भएको हामीले पायौँ। तर सादा पोशाकका ट्राफिक प्रहरी ड्युटीमा खटिन सक्ने भए पनि उनीहरुलाई कारबाही गर्ने (चिट काट्ने) अधिकार हुन्छ कि हुँदैन भन्ने विषयमा पुष्टि गर्न भने हामी असमर्थ भयौँ। किनभने प्रहरीको कार्यविधि वा निर्देशिका सार्वजनिक रुपमा उपलब्ध छैन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme