१२ खेलमा ११ जितका साथ अविश्वसनीय रुपमा एकदिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायर्समा पुग्ने क्रममा फ्यानहरु भावुक हुनु स्वभाविक हो। तर फ्यान मात्र होइन, नेपाली मिडिया पनि यति साह्रो भावुक भइदिएछन् कि हुँदै नभएको कुरा पनि समाचारका रुपमा लेख्न पछि परेनन्।
हिजो एउटा त्यस्तै घटना भयो। युएईविरुद्धको हिजोको खेल नेपालले डकवर्थ लुइस नियम अनुसार जित्यो। तर युएईले ३११ रनको चुनौति दिएको थियो। यस क्रममा सन्दीप लामिछानेले १० ओभर बलिङ गरेर ८० रन दिँदा १ विकेटमात्रै लिन सकेको थियो। तर नेपाललाइभ अनलाइनले भने २ विकेट लिएको भन्दै उनको नाममा नभएको विश्व रेकर्ड नै बनाइदिन भ्यायो।
भएको के हो ?
हिजोको खेलमा युएईले ६ विकेट गुमाउँदै ३१० रन बनाएको थियो। त्यसमा एक जना रन आउट भएका थिए भने सर्वाधिक दुई विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए। ललितनारायण राजवंशी, सोमपाल कामी र सन्दीपले एक एक विकेट लिएका थिए। हेर्नुस् आइसीसीले राखेको तथ्याङ्क।
तर नेपाललाइभलाई लाग्यो, सन्दीप लामिछानेले दुई विकेट लिए। अनि यस्तो हेडलाइनमा समाचार बनायो- ‘सन्दीप लामिछाने बनाए ओडिआईमा सर्वाधिक छिटो १०० विकेट लिने खेलाडिको विश्व कीर्तिमान’
विभिन्न न्युजपोर्टलको समाचार एग्रिगेट गर्ने हाम्रोपात्रोमा नेपाललाइभले यस्तो समाचार राखेको देखिन्छ-
हेर्नुस् अर्काइभ लिङ्क
त्यसैगरी नेपाललाइभले यस्तो समाचार बनाएको प्रमाण नेपाललाइभको वेबसाइटको क्यास पेजमा पनि प्रष्ट देखिन्छ।
हेर्नुस् अर्काइभ लिङ्क।
सन्दीपले हिजोको खेलमा दुई विकेट लिएको भए पक्कै पनि विश्व कीर्तिमान बन्थ्यो। किनभने ४१ खेलमा १०० विकेट बनाएका हुन्थे। हालसम्म यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा छ जसले ४४ खेलमा १०० विकेट लिएका थिए। हेर्नुस् क्रिकइन्फोको तथ्याङ्क।
तर गल्ती स्वीकार गरिएन..
हुँदै नभएको विषयमा समाचार लेखेर प्रकाशन गरिसक्दा पनि नेपाललाइभले गल्ती स्वीकारेर माफी मागेको देखिएन। बरु सुटुक्क त्यो पुरानो गलत न्युजलाई हटाएर त्यही ठाउँमा अर्को न्युज यो शीर्षकमा राखेको देखियो- ‘विश्व कीर्तिमान बनाउन लामिछाने एक विकेटले पछाडी, ४१ खेलमा लिए ९९ विकेट’
तर नेपाललाइभका पत्रकारले बुझेनन्, एक पटक इन्टरनेटमा राखिसकेको सामग्री पूर्ण रुपमा कहिले पनि हट्दैन। कहीँ न कहीँ त्यो गएर बसेकै हुन्छ। यो केसमा एग्रिगेटर हाम्रोपात्रोले प्रमाण जोगाइदियो। नेपाललाइभले गलत समाचार प्रकाशन गरेर त्यसलाई हटाएर अर्कै समाचार राख्दै सोसल मिडियामा त्यससम्बन्धी भएका पोस्टहरु पनि हटाए पनि हाम्रोपात्रोमा भने पुरानै हेडलाइन र लिडलाइनसहितको समाचार बसिरह्यो। त्यसबाहेक गुगल क्यासमा रहेका प्रमाण त बाँकी भयो नै।
अहिले त्यही हाम्रोपात्रोमा सन्दीपको नबनेको कीर्तिमानको समाचारमा क्लिक गर्दा सुधारिएको समाचार खुल्छ। तर त्यो समाचारमा हामीले यस्तो गल्ती गर्यौँ त्यसका लागि क्षमा माग्छौँ भनेर पाठकप्रति थोरै इमान्दारी पनि देखाइएन।
हेर्नुस् हाम्रोपात्रोमा बसेको गलत समाचार र हाल त्यसमा क्लिक गर्दा देखिने समाचारको स्क्रिनरेकर्ड-
यस्तै खालको गल्ती हिजो अनलाइनखबरले पनि गरेको थियो। अनलाइनखबरले हिजोको खेल नेपालले दुई रनले जितेको समाचार सुरुमा लेखेको थियो।
तर त्यो गलत थियो। नेपाल नौ रनले जितेको थियो। अनलाइनखबरले त्यसलाई सच्यायो। तर नेपाललाइभले जस्तो सुटुक्क नसच्याइकन आफूले गरेको गल्ती स्वीकार पनि गरी समाचारको अन्तिममा यस्तो नोट राखेको थियो-
बुझ्नुपर्ने कुरा
हिजो नेपाललाइभ र अनलाइनखबर दुवैले गल्ती गरेको हो। दुवैले गल्ती सच्याएका पनि हुन्। तर नेपाललाइभले आफूले गरेको गल्ती स्वीकारेन। पाठकप्रति इमान्दार भएन। तर अनलाइनखबरले आफूले गरेको गल्ती स्वीकार गरी पाठकप्रति इमान्दार भयो। गल्ती सच्याएको सूचना राख्दा विश्वसनीयता घट्ने हैन, बढ्छ। यो अनलाइन पाठकप्रति इमान्दार छ, गल्ती भए पनि स्वीकारेर सच्याउँछ भन्ने हुन्छ। गल्ती त मान्छे भए पछि कसको हुँदैन र।
यही सन्दर्भमा न्युयोर्क टाइम्सको करेक्सन प्रोसेस पनि उल्लेखनीय हुन आउँछ।
The corrections process:
-
First, we determine if we made an error. We contact the reporters and editors involved and, if a correction is warranted, we adjust the article and add the correction.
-
Even when we catch a mistake mere seconds after publishing, we still acknowledge it with a correction. There is no five-second rule.
-
Corrections should appear in any and all editions (print and digital) or platforms (Twitter, Instagram, Facebook) that carried the error. We also correct mistakes in newsletters, in videos and on podcasts like “The Daily.”
-
For obvious typos, we correct the error without appending a correction.
During breaking news, there are times when incorrect information is part of the story and does not require a correction: A death toll may be reduced, the number of suspects may change or officials may correct an earlier statement. We typically explain these changes in the updating article and do not append a correction. थप यसमा हेर्नुस्।
गल्ती प्रकाशन भएको केही सेकेन्डमै पत्ता लागे पनि न्युयोर्क टाइम्सले त्यसलाई स्वीकार्छ, पाँच सेकेन्डको नियम भन्ने हुन्न भनेर प्रष्ट लेखिएको छ। त्यसबाहेक जुन जुन प्ल्याटफर्ममा मिस्टेक भएको हो, त्यहाँ त्यहाँ पनि गल्ती स्वीकारिन्छ।
अनलाइन पत्रकारिताको विश्वसनीयता बढाउन हामीले पनि गल्ती हुँदा त्यसलाई कसरी स्वीकार्ने र सुधार्ने भन्ने बारे आन्तरिक नियम बनाउन हतार भइसकेन र?