Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उपराष्ट्रपति चुनावको नसुल्झिएका पाँच रहस्य !

Posted on March 16, 2023March 16, 2023 by Salokya

भोलि चैत ३ गते उपराष्ट्रपति छान्न मतदान हुँदैछ। यसका लागि निर्वाचन आयोगले प्रतिनिधि सभाका सदस्यहरुले प्रयोग गर्ने रातो रङको र प्रदेश सभाका सदस्यहरुले प्रयोग गर्ने हरियो रङको फोटोसहितको नमूना मतपत्रसमेत सार्वजनिक गरिसकेको छ।

नमूना मतपत्रका अनुसार उपराष्ट्रपति पदका लागि तीन महिला र एक पुरुषबीच प्रतिस्पर्धा हुनेछ। हो, यो नसुल्झिएको रहस्य यही उम्मेदवारीमा छ।

उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्ने दिन फागुन २७ गते थियो।

त्यसको एक दिनअघि नेपाली मिडियामा एउटा समाचार आयो- ‘उपराष्ट्रपतिमा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगको निर्देशन’ भन्दै।

स्रोतका अनुसार मात्र भनेर समाचार आएको भए कुन चाहिँले झुक्याएछ भन्न हुन्थ्यो, तर ती समाचारहरुमा बाकाइदा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकै भनाई (Quote) उल्लेख थियो।

एउटा अनलाइनमा मात्र हैन, रातोदेखि सेतोसम्मका पाटी अनि बीबीसी नेपालीसम्मले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकै भनाई राख्दै समाचार बनाएका थिए।

तर कुनै पनि समाचारमा थपलियाले बोलेकै अडियो राखेको भने मैले देखिनँ।

हेर्नुस् रातोपाटीको समाचार-

हेर्नुस् सेतोपाटीको समाचार-

हेर्नुस् बीबीसी नेपालीको समाचार-

थपलियाले यसो भने पनि संविधानमा भने त्यसरी महिला नै हुनुपर्ने लेखिएको थिएन। संविधानमा फरक लिङ्ग वा समुदाय लेखिएको थियो। फरक लिङ्ग र समुदाय लेखेको भए त्यस्तो व्याख्या मिल्थ्यो। हेर्नुस् संविधानको धारा ७०

फरक लिङ्क वा समुदाय भनेपछि राष्ट्रपति रामचन्द्र पौडेल (पुरुष लिङ्ग, खसआर्य समुदाय) भएपछि अब कि महिला लिङ्गको हुनुपर्‍यो वा खसआर्य बाहेकको समुदाय हुनुपर्‍यो।

फरक लिङ्ग र समुदाय भनेको भए महिला हुनै पर्ने बाध्यता हुन्थ्यो।

सभामुख र उपसभामुख भने स्पष्ट रुपमा एक महिला हुनुपर्ने व्यवस्था छ। हेर्नुस् संविधानको धारा

थुप्रै मिडियामा निर्वाचन आयोगले महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको दावीसहितका समाचार आए पनि त्यही दिन बिहान ११ बजेर ४७ मिनेटमा थपलिया आफैले ट्विट गरेको निर्वाचन आयोगको विज्ञप्तिमा महिलाको मात्र उम्मेदवारी दर्ता गर्नु भन्ने निर्देशन कतै थिएन। हेर्नुस् उनको ट्विट-

pic.twitter.com/95FwPqsf2V

— Dinesh Kumar Thapaliya (@DkThapaliya) March 10, 2023

माथिका सबै समाचार यो ट्विट भएको समय पछि मात्र आएको छ। रातोपाटीको समाचार मध्याह्न १२ बजेर २२ मिनेटमा, सेतोपाटीको १२ बजेर ५३ मिनेटमा र बीबीसी नेपालीको फेसबुकमा यो समाचार दिउँसो १ बजेर ३३ मिनेटमा आएको देखिन्छ।

तर पुरुष उम्मेदवारले उम्मेदवारी दर्ता गराए

निर्वाचन आयोगले महिला उम्मेदवारको मात्र उम्मेदवारी दर्ता गराउनू भनेर निर्देशनै दिएको समाचार आए पनि भोलिपल्ट उम्मेदवारी दर्ता गराउँदा पुरुष उम्मेदवार रामसहायप्रसाद यादवको पनि उम्मेदवारी दर्ता भयो।

उजुरी पनि पर्‍यो उनको उम्मेदवारीविरुद्ध। तर उम्मेदवारी कायमै रह्यो।

सर्वोच्च अदालतमा उपराष्ट्रपतिमा महिला हुनुपर्ने माग गरिएको रिट पनि सर्वोच्चले दर्ता गर्न नमानी दरपिठ गरिदियो।

र, अहिले त उपराष्ट्रपति निर्वाचनको मतपत्र नै निर्वाचन आयोगले सार्वजनिक गरिसक्यो। त्यसमा राष्ट्रपति निर्वाचनमा बनेको नयाँ गठबन्धनका प्रमुख धेरै संख्यामा सिट भएका दलहरुको साझा उम्मेदवारका रुपमा रामसहायप्रसाद यादवको नाम पनि छ।

नखुलेको रहस्य

यो सब प्रकरणमा नखुलेको रहस्य चाहिँ यी रह्यो, कसैलाई थाहा भए खुलाइदिम् है-

रहस्य १ : निर्देशन पालना गराउन नसक्ने प्रमुख आयुक्त?

प्रमुख निर्वाचन आयुक्तले महिलाको मात्र उम्मेदवारी दर्ता गर्नु भनेर निर्देशन दिएको भन्ने समाचार आएको थियो। अनि के निर्वाचन अधिकृतहरुले प्रमुख निर्वाचन आयुक्तकै निर्देशन नमानेका हुन् ? आफूले दिएको निर्देशनै पालना नहुने भए उनको हैसियत नै के रह्यो र?

रहस्य २ : पत्रकारहरुले संविधान नपढेका?

प्रमुख निर्वाचन आयुक्तले महिलाको मात्र उम्मेदवारी दर्ता गर्नु भनेर निर्देशन दिएको विषय पक्कै पनि समाचार हो। अझ राम्रै समाचार हो। किनभने निर्वाचन गराउने निकाय नै निर्वाचन आयोग हो। त्यही आयोगमा प्रमुखले भनेको कुरा कसरी नपत्याउने? तर पत्रकारहरुले संविधान नपढेका ? संविधानमा त यस्तो छ नि, कसरी यस्तो निर्देशन दिनुभयो भनेर पत्रकारहरुले प्रतिप्रश्न गरे कि गरेनन् ? उनीहरुले प्रमुख निर्वाचन आयुक्तले नै गरेको ट्विट पढे कि पढेनन् ? त्यसमा त महिलाको मात्र उम्मेदवारी दर्ता गराउनु भनेर लेखिएको थिएन त।

रहस्य ३ : प्रमुख आयुक्तले आफै मिडियालाई फोन गर्दै भनेका कि मिडिया आफैले फोन गरेका ?

यो पनि अर्को रहस्यको रुपमा रह्यो। धेरै वटा मिडियामा एकै पटक यो समाचार कसरी आयो? प्रमुख निर्वाचन आयुक्त आफैले ती मिडियालाई संविधानको मर्म र भावना यस्तो यस्तो हो, यस्तो एङ्गलमा समाचार लेखिदिनु है भनेको कि मिडिया आफैले यसबारे प्रश्न सोधेको? नभए सामान्यतया निर्वाचन आयोगका प्रवक्ताको कोट हुन्थ्यो समाचारहरुमा, यसमा त प्रमुख निर्वाचन आयुक्तकै कोट छ।

रहस्य ४ : अडियो चाहिँ किन नभएको?

यसबारे कुनै पनि समाचारमा प्रमुख निर्वाचन आयुक्तको अडियो भने छैन। थपलिया आफैले महिलाको मात्र उम्मेदवारी दर्ता गराउनु भनेर मैले निर्देशन दिएको हो भनेर उनकै आवाजमा सुन्न पाए थप विश्वसनीय हुन्थ्यो। त्यो नहुनाले रहस्य भयो।

रहस्य ५ : पछि किन नसोधेको ?

ल ठीक छ, प्रमुख निर्वाचन आयुक्तले महिलाको मात्रै उम्मेदवारी दर्ता गराउनु भनेकै थिए रे। तर भोलिपल्ट त पुरुषको उम्मेदवारी पनि दर्ता भयो। त्यसपछि मिडियाले फेरि उही प्रमुख निर्वाचन आयुक्तलाई ‘अनि हजुर, पुरुषको पनि उम्मेदवारी दर्ता भयो त, तपाईँको निर्देशनै अटेर गरेका हुन् त निर्वाचन अधिकृतहरुले भनेर सोधे कि सोधेनन् होला? पछिल्ला समाचार व्यस्तताका कारण त्यति हेरिएन।

कि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र प्रमुख मिडियाहरुको मिलेमतोमा यस्तो नभएको न्युज छापिएको हो? यो पनि रहस्य नै हुने भो। यदि त्यसो हो भने पनि याद गर्नुपर्ने कुरा के हो भने यसले त विश्वसनीयता घट्ने भनेको मिडियाकै हो। मिडियाले नै महिलाको मात्र उम्मेदवारी दर्ता गर्नुभन्ने समाचार दिने अघिल्लो दिन अनि भोलिपल्ट पुरुषले समेत उम्मेदवारी दिएको समाचार छाप्ने ? अब अलि पछि पुरुषै उपराष्ट्रपति निर्वाचित भएको समाचार आउने होला। पाठकले कुरीकुरी भन्दैनन् अनि ? 😛

 

1 thought on “उपराष्ट्रपति चुनावको नसुल्झिएका पाँच रहस्य !”

  1. Narayan Manandhar says:
    March 17, 2023 at 9:22 am

    I suppose reading nine-page verdict issued by Election Officer, Mr. Mahesh Sharma Paudel will help clear controversies surrounding VP elections. Here is the link:
    https://baahrakhari.com/detail/381184?fbclid=IwAR0admBg5xTTrp0hdAA-WvNbFXPfm5aBiE8nbhaqJiOvq975Y2QB65Uglis

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme