Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अस्ट्रेलियामा नेपाली नर्स पक्राउको समाचारमा नेपाली मिडियाले फैलाएको भ्रम

Posted on January 31, 2023 by Salokya

अस्ट्रेलियामा नर्सिङ असिस्टेन्टको रुपमा काम गर्ने एक नेपाली युवती पक्राउ परेको हेडलाइनसहितका समाचार हिजो नेपाली अनलाइनहरुमा आयो। आज केही दैनिक पत्रिकाहरुले पनि यसलाई समाचार बनाएको भेटियो।

समाचारहरु पढ्दा लाग्छ, यो भर्खरैको घटना हो। ती नेपाली युवती भर्खरै पक्राउ परेकी हुन्।

यस्तो मानिरहनुभएको छ भने तपाईँ गलत हुनुहुन्छ।

किन?

आउनुस् म तपाईँलाई प्रमाणसहित देखाउँछु।

सबैभन्दा पहिला सेतोपाटीले के लेख्यो त्यो हेरौँ-

सेतोपाटीको समाचारको लिडलाइनमा लेखिएको छ- ‘अष्ट्रेलियामा बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा एक जना नेपाली नर्स पक्राउ परेकी छन्।’ हेर्नुस् अर्काइभ लिङ्क

तर पूरै समाचार पढ्दा पनि कहिले पक्राउ परेको भन्नेबारे चाहिँ केही उल्लेख छैन। पत्रकारितामा पढाइने 5W 1H को When अर्थात् कहिले त गायबै भो।

अब अर्को समाचार अनलाइनखबरमा हेरौँ-

अनलाइनखबरको समाचारमा भने तेस्रो प्याराग्राफमा आएर ‘केही दिनअघि पक्राउ गरिएको हो’ लेखिएको छ। हेर्नुस् अर्काइभ लिङ्क। 

अब आज प्रकाशित अन्नपूर्ण पोस्टको पहिलो पेजको समाचार हेरौँ-

यो समाचारमा पनि पक्राउ परेको त लेखिएको छ तर कहिले भन्ने विषयमा चाहिँ केही खुलाइएको छैन। अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्। 

खासमा पक्राउ परेको कहिले त ?

नेपाली मिडियाका समाचार पढ्ने हो भने त ती महिला भर्खरै पक्राउ परेको जस्तो बुझिन्छ। अझ अनलाइनखबरले त केही दिनअघि पक्राउ परेको भनेरै लेखेको छ।

खासमा उनी पक्राउ परेको चाहिँ कहिले त ?

न्यु साउथ वेल्स पुलिसको आधिकारिक फेसबुक पेजमा हेरौँ-

सम्बन्धित फेसबुक पेजमा नै हेर्न यहाँ क्लिक गर्नुस्। 

पुलिसले दिएको आधिकारिक जानकारी अनुसार उनी पक्राउ परेको ३० मार्च २०२२ हो। समाचार छापिएको ३० जनवरी २०२३ मा। अर्थात् झण्डै एक वर्षअघि पक्राउ परेकी हुन् उनी।

न्यु साउथ वेल्स प्रहरीले २५ वर्षीय महिला मात्र उल्लेख गरेको छ, नाम उल्लेख गरेको छैन। तर समाचारका अरु डिटेल हेर्नुभयो भने यो त्यही घटना भएको प्रष्टै हुन्छ, जस्तै इपिङ।

त्यही हो भनेर कसरी थाहा हुन्छ, अर्को पनि हुन सक्छ नि भनेर कसैले निहुँ खोजे अर्को पनि प्रमाण देखाउन सकिन्छ। नेपालका सबै मिडियाले समाचार लेख्दा अस्ट्रेलियाको नाइन न्युजलाई उद्‍धृत गरेको छ।  अब नाइन न्युजमा नै प्रकाशित समाचार कस्तो छ त्यो पनि हेरौँ न त-

समाचारमा स्पष्ट रुपमै She was arrested last year अर्थात् उनी गत वर्ष पक्राउ परेको उल्लेख छ। हेर्नुस् अर्काइभ लिङ्क।

भएको के हो ?

एनएसडब्लु पुलिस फोर्सको फेसबुकमा उल्लेख भए अनुसार २६ मार्च २०२२ मा प्रहरीले यो विषयमा उजुरी पायो।  त्यसको चार दिनपछि ३० मार्च २०२२ मा उनलाई घरबाटै गिरफ्तार गरियो। र, राइड पुलिस स्टेसन लगियो।

३१ मार्च २०२२ मा उनलाई हर्नस्बी लोकल कोर्टमा उपस्थित गराइएको थियो र त्यतिबेलादेखि यो मुद्दा निरन्तर चलिरहेको थियो। सुरुमा धरौटीमा छाड्न अस्वीकार गरिए पनि पछि १० मे २०२२ मा अदालतमा पुनः उपस्थित हुने गरी उनलाई धरौटीमा छाडिएको थियो।

मुद्दाको सुनुवाई चलिरहेकै बेला अदालतमा उनले आफूले वृद्धा बिरामीलाई पिटेको र धकेलेको स्वीकार गरेकी हुन्। त्यही स्वीकारोक्तिलाई लिएर अस्ट्रेलियन मिडियाले समाचार बनाएका हुन्। नेपालमा भने एक वर्षअघि नै पक्राउ परेर धरौटीमा छाडिसकेको विषयलाई लिएर समाचार बनाइयो।

पक्राउ पर्दाको समाचार त नाइन न्युजले उतिबेलै बनाएको थियो। यहाँ क्लिक गरी हेर्नुस्। त्यतिबेला मुद्दा चलिरहेको थियो र समाचारमा पनि नाम उल्लेख थिएन। हेर्नुस् २०२२ अप्रिल १ मा प्रकाशित न्युज। 

अहिले भने उनले आरोप स्वीकार गरेको भन्दै नामसहितको समाचार बनेको हो।

 

2 thoughts on “अस्ट्रेलियामा नेपाली नर्स पक्राउको समाचारमा नेपाली मिडियाले फैलाएको भ्रम”

  1. Sushil says:
    January 31, 2023 at 4:30 pm

    “Nepali”? Nine Fairfax was doing racial profiling. People should raise this concern not the incident by itself. Someone could lose temper of any race or ethnicity.

    Reply
    1. J says:
      February 10, 2023 at 6:39 am

      What about slapping, brother?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme