Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के हो नागरिकता लिन रवि लामिछाने लाइनमा बसेको भाइरल फोटोको तथ्य?

Posted on January 30, 2023 by Salokya

के तपाईँले सामाजिक सञ्जालमा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अरु व्यक्तिहरुसित लाइन लागेको फोटो देख्नुभएको थियो?

पत्याउनु भएको थियो?

पत्याउनु भएको भए नेपालफ्याक्टचेकको तथ्य जाँच पढ्नुस्, जसमा यो फोटो पुरानो भएको र भ्रामक व्याख्यासहित फैलाइएको प्रष्ट पारिएको छ।

अमेरिकी नागरिकता परित्याग पछि नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको ठहर गर्दै प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन नपाउने आदेश सर्वोच्च अदालतले गरेपछि पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार (२०७९ माघ १५ गते) जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गई नागरिकता लिए।

योसँगै सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भयो जसमा रवि अरु थुप्रै मानिसको बीचमा लाइन लागेको देख्न सकिन्छ। फोटोसँगै नागरिकता लिन सर्वसाधारण सँग लाइनमा बसेको दावी पनि गरिएको छ। तर हाम्रो तथ्य जाँचमा यो फोटो पुरानो भएको र गलत व्याख्याका साथ भ्रामक रुपमा फैलिएको देखिएको छ।

यसरी भयो भाइरल

११ लाख फलोअर्स भएको जोक्स नेपाल नामको फेसबुक पेजमा आइतबार बिहान १० बजेर ५६ मिनेटमा ‘रबि लामिछाने नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा..’ लेख्दै फोटो राखिएको थियो। २४ घण्टामा यो पोस्टमा १५ हजार रियाक्सन, ४५२ कमेन्ट र ९५ सेयर देख्न सकिन्छ। अर्काइभ

त्यसैगरी ७ लाख ७६ हजार फलोअर्स भएको पाथीभरा न्युज नामको फेसबुक पेजले आइतबार ११ बजेर ११ मिनेटमा ‘निवर्तमान गृहमन्त्री रवि लामिछाने नागरिकताको प्रमाणपत्र लिनको लागि लाइनमा जिल्ला प्रशासन कार्यालय’ लेख्दै सोही फोटोसहितको पोस्ट गरेको छ। सोमबार मध्याह्नसम्ममा यो पोस्टमा ३२ सय रियाक्सन, ३४४ कमेन्ट र १०१ सेयर देख्न सकिन्छ। अर्काइभ

सामाजिक सञ्जालमा भाइरल भएको यो फोटोलाई केही अनलाइन मिडियाले पनि राखेका छन्। नेपालन्युजले Former HM Lamichhane to take citizenship today शीर्षकमा राखेको समाचारमा राखेका तीन फोटोहरुमध्ये अन्तिमको फोटो यही छ। हेर्नुस् अर्काइभ।

के हो तथ्य ?

यो फोटोलाई हामीले इनभिड वी भेरिफाइमा रहेका सबै रिभर्स इमेज सर्च इन्जिनहरुमा खोज्ने प्रयास गरौँ। तर यही फोटो भेट्टाउन सकिएन। यद्यपि यो फोटो रविले नागरिकता लिन जाँदाको नभएको यकिन गर्न हामीले विभिन्न आधार लिएका छौँ।

१) फरक पोशाक
हामीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उनी नागरिकता लिन जाँदाको विभिन्न मिडियामा प्रकाशित फोटो र भिडियोलाई हेर्‍यौँ। भाइरल फोटोमा उनले सेतो रङको आधा बाहुला माथि सारिएको सर्ट लगाएका छन् भने जिल्ला प्रशासन कार्यालय जाँदा उनले अर्कै लुगा लगाएको देखिन्छ।

शिलापत्र र सेतोपाटीमा प्रकाशित जिल्ला प्रशासन कार्यालय जाँदाको फोटो (बायाँ) र भाइरल फोटो (दायाँ)।

२) समयको अन्तर

अनलाइनखबरले आफ्नो फेसबुक पेजमा रवि लामिछाने जिल्ला प्रशासन कार्यालयमा आउँदै गर्दाको भिडियो आफ्नो फेसबुक पेजमा लाइभ गरेको छ।

अनलाइनखबरको फेसबुक पेजमा उनी आउँदै गरेको भिडियो बिहान ११ बजेर ३८ मिनेटमा लाइभ भएको छ

हामीले फेसबुकमा उनी आउँदै गरेको लाइभ गरिएको अरु भिडियो पनि हेर्‍यौँ। त्यसमा पनि लगभग उही समय देखिन्छ।

तर, त्यसभन्दा अघि नै १० बजेर ५६ मिनेटमा जोक्स नेपालको पेजमा लाइन बस्दै गरेको दावी गर्दै फोटो राखेको भेटिन्छ।

जोक्सनेपालको फेसबुक पेज र अनलाइनखबरको फेसबुक लाइभ गरिएको समय देखिने स्क्रिनसट

त्यसैगरी पाथिभरान्युजमा पनि ११ बजेर ११ मिनेटमा अर्थात् रवि जिल्ला प्रशासन कार्यालयमा पुग्न अघि नै लाइन बसेको दावी गर्दै फोटो राखेको भेटिन्छ।

अर्थात् उनी जिल्ला प्रशासन कार्यालय आउनुअघि नै लाइन बसेको फोटो सामाजिक सञ्जालमा राखिएको थियो।

३) फोटोको डिटेल

भाइरल भएको फोटोमा उनी जिल्ला प्रशासन कार्यालयमा लाइन बस्दै गरेको दावी गरिए पनि फोटोको डिटेल हेर्दा त्यस्तो देखिन्न। काठमाडौँको जिल्ला प्रशासन कार्यालयको भवनमा न पार्केटिङ गरिएको भूइँ छ, न फोटोमा देखिए जस्तो छत नै छ। फोटोमा देखिएका कम्तिमा तीन जनाले घाँटीमा एउटा कार्ड झुण्ड्याएको देखिन्छ।

फोटोमा देखिएको डिटेलका आधारमा खोज्दै जाँदा हामी राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक फेसबुक पेजमा राखिएको २९ अगस्त २०२२ मा अपलोड गरिएको प्रतिनिधि सभाको चुनाव अगाडि गरिएको केन्द्रीय प्रशिक्षण भेलाका फोटोहरुमा पुग्यौँ।

काठमाडौँको स्वयम्भू स्टार ब्याङ्क्वेटमा २०७९ भदौ १२ र १३ गते उक्त प्रशिक्षण भएको थियो। उक्त प्रशिक्षण भेलाका फोटोहरु र भाइरल फोटो हेर्दा हामीले केही समानता भेट्यौँ।

रवि लामिछानेको बाहुला माथि सारिएको सेतो रङ्गको सर्ट र भाइरल फोटोको सर्टको रङ समान छन्।

भाइरल फोटोमा रवि लामिछानेभन्दा अगाडि देखिएका पहेँलो टिसर्ट र टोपी लगाउने व्यक्ति र उनको पछाडि रहेका आकाशे रङको हाफ सर्ट लगाउने व्यक्ति उक्त प्रशिक्षण भेलाका तस्बिरहरुमा पनि देखिन्छन्।

फोटोमा ब्याङ्क्वेटको भूइँ, छाना र भित्ताका केही संरचना पनि भाइरल भएको फोटोसँग दाँज्दा मिल्छ। भाइरल भएको फोटोका व्यक्तिहरुले घाँटीमा झुण्ड्याएको कार्ड र प्रशिक्षण भेलाका केही सहभागीहरुले झुण्ड्याएको कार्ड पनि उस्तै देखिन्छ। यद्यपि भाइरल भएको फोटो कम गुणस्तरको भएकोले त्यसका डिटेल त्यति प्रष्ट छैन।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले उक्त प्रशिक्षण भेलामा समान हैसियत देखाउनका लागि पार्टी सभापति रवि लामिछानेले सहभागीहरुसँगै लाइन लागेर खाना खाएको बताए।

तथ्य जाँच

दावी :  रवि लामिछाने नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा लाइन लागेको फोटो।

दावीकर्ता : सामाजिक सञ्जाल, नेपालन्युज

तथ्य : भ्रामक सूचना। रवि लामिछाने कार्यालयमा पुग्नुअघि नै सामाजिक सञ्जालमा लाइन लागिरहेको फोटो राखेको देखिन्छ। उनले त्यो दिन लगाएको पोशाक र भाइरल भएको फोटोमा रहेको पोशाक फरक देखिन्छ। भाइरल भएको फोटोमा देखिएका कम्तिमा दुई व्यक्तिलाई हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको गत भदौमा काठमाडौँको स्वयम्भू स्टार ब्याङ्क्वेटमा भएको केन्द्रीय प्रशिक्षण भेलाको फोटोमा भेटेका छौँ। उक्त भेलाको फोटो र भाइरल भएको फोटोमा धेरै समानता देखिन्छ। तसर्थ नागरिकताको प्रमाणपत्र लिन लाइन लागेको दावी गरिएको फोटोको व्याख्या भ्रामक रुपमा गरेको हामीले पायौँ।

1 thought on “के हो नागरिकता लिन रवि लामिछाने लाइनमा बसेको भाइरल फोटोको तथ्य?”

  1. sisir nepali says:
    February 6, 2023 at 6:02 pm

    One can easily say that he photo is a fraud..
    Above photo is during summer as the dress suggest while its winter when Rabi went for his citizenship certificate ..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme