Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के हो यति एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजभित्रैबाट खिचेको भन्दै भाइरल भिडियोको तथ्य ?

Posted on January 16, 2023January 16, 2023 by Salokya

१५ जनवरी २०२३ मा यति एयरलाइन्सको 9N-ANC कलसाइन भएको एटिआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त भयो। नागरिक उड्डयन प्राधिकरणका अनुसार चालक दलका चारसहित ७२ जना चढेको विमानमा ५३ नेपाली र १५ विदेशी यात्रु थिए। विदेशी यात्रुमध्ये पाँच जना भारतीय थिए। ती मध्ये एक सोनु जैसवालले विमान भित्रैबाट खिचेको र फेसबुकमा लाइभ गरेको दावी गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। हामीले त्यही भिडियोको तथ्य जाँच गर्दैछौँ।

के छ भाइरल भिडियोमा ?

तारा सी नेगएक्स नामको फेसबुक प्रोफाइलबाट सेयर भएको यो भिडियो  १ मिनेट ३८ सेकेन्ड लामो छ।

भिडियोको सुरुमा जुत्ता देखिन्छ। त्यसपछि विमानको सिटको अघिल्तिर रहेको ट्रेमा रहेको एनआईसी एसियाको विज्ञापन देखिन्छ जसमा राजेश हमाल र मनीषा कोइराला देखिन्छन्।

भिडियोले एक यात्रुको अनुहारलाई खिचेपछि विमानको झ्यालबाहिरको दृश्य खिच्न थाल्छ। यात्रुहरुले बोलेको आवाज पनि सुनिन्छ। भिडियोको २७ औँ सेकेन्डमा एक यात्रुले ‘वाह बेटा वाह मौज कर दी’ भनेको सुनिन्छ। ५७ सेकेन्डमा भिडियो हल्लिन्छ। यात्रुहरु कराएको सुनिन्छ। १ मिनेट ७ सेकेन्डमा त आगो लागेको समेत भिडियोमा देखिन्छ। १ मिनेट १९ सेकेन्डमा रुख जस्तो केही दृश्य भिडियोमा देखिन्छ। त्यसपछि फेरि क्यामेरा हल्लिन्छ र धमिलो दृश्य १ मिनेट ३९ सेकेन्डसम्म देखिएपछि बन्द हुन्छ।

के हो तथ्य ?

भिडियो दुर्घटना भए लगत्तै नभई धेरै घण्टापछि आइतबार साँझदेखि बल्ल भाइरल हुन थालेको हो। केही भारतीय फेसबुक प्रोफाइल, पेज हुँदै भारतीय मिडियामा यो भिडियो प्रसारण हुन थाल्यो। त्यसपछि नेपाली फेसबुक पेज र प्रोफाइलहरुमा पनि यो भिडियो देखिन थाल्यो।

हामीले भिडियोको तथ्य जाँच गर्ने क्रममा भिडियोका दृश्यलाई ध्यानपूर्वक हेर्‍यौँ।

भिडियोको ५० औँ सेकेन्डमा देखिएको सिट पछाडिको लोगो यति एयरलाइन्सको लोगो हो।

भिडियोको सुरुमा सिट अगाडिको ट्रेमा टाँसिएको विज्ञापनमा राजेश हमाल र मनीषा कोइराला देखिन्छिन्। यो एनआइसी एसियाको बचत खाताको विज्ञापन हो। फेसबुकमा हेर्न सकिन्छ।

विमानको झ्यालबाट खिचिएको भिडियोमा देखिएका दृश्यलाई हामीले पोखरामा ल्यान्डिङ गर्दा देखिने अरु भिडियोसित तुलना गर्‍यौँ।

भिडियोको २० औँ सेकेन्डमा देखिएको छ यो दृश्य-

हामीले फेसबुकमा पोखरा अवतरणका अरु भिडियो खोज्यौँ। ३१ अगस्त २०१९ मा अच्युत सापकोटाले फेसबुकमा अपलोड गरेको यो भिडियोको ३५ औँ सेकेन्डमा पनि हामीले त्यही दृश्य देख्यौँ-

गुगल म्यापमा खोज्दा पनि हामीले सोही ठाउँ पोखरामा भेट्यौँ। गुगलका अनुसार पोखरी जस्तो देखिएको ठाउँ माछापोखरी हो भने जंगलको बीचमा देखिएको ठाउँ भद्रकाली मन्दिर हो।

गुगल म्याप लिङ्क। 

यात्रुले खिचेर लाइभ गरेको हो भिडियो?

भाइरल पोस्टहरुमा यो भिडियो भारतीय यात्रु सोनु जैसवालले खिचेको दावी गरिएको छ। हामीले नागरिक उड्ययन प्राधिकरणबाट प्राप्त विदेशी यात्रुहरुको सूची हेर्दा पाँच जना भारतीय मध्ये सोनु जैसवाल पनि रहेको भेट्यौँ।

तर हामीले सोनु जैसवाल नामबाट फेसबुकमा सर्च गर्दा उनले गरेको लाइभ भिडियो भेट्न सकेनौँ।

यद्यपि, भारतीय मिडिया फर्स्ट इन्डियाले भने सोनु जैसवालकै प्रोफाइलबाट पब्लिस भएको भिडियो आफ्नो फेसबुक पेजमा राखेको देखिन्छ।

उक्त भिडियोमा देखिए अनुसार सोनु जैसवालले यो भिडियो पब्लिक गरेको नभई ‘फ्रेन्ड्स वन्ली’ गरेका थिए। अर्थात् सोनुका फेसबुकमा रहेका साथीहरुले मात्र सो भिडियो हेर्न पाउँछन्।

हामीले भारतीय तथ्य जाँचकर्ता अनमोल अल्फोन्सोको सहयोगबाट सोनु जैसवालको फेसबुक प्रोफाइल पनि भेट्टायौँ। तर उनले आफ्नो प्रोफाइल लक गरेको हुनाले हामीले त्यसमा रहेका कुनै पनि सामग्री हेर्न भने पाएनौँ। यद्यपि भिडियोमा देखिएको सोनु जैसवालको प्रोफाइल पिक्चर यो प्रोफाइल पिक्चरसँग मेल खान्छ।

भारतीय पर्यटकहरुलाई नेपालमा हवाई टिकट लगायतको व्यवस्था गरेका काठमाडौँ निवासी अजय साहसित पनि हामीले कुरा गर्‍यौँ। उनले पनि सोनुको फेसबुक पेज यही रहेको र उनले फेसबुकबाट भिडियो लाइभ गरेको पुष्टि गरे। तर उनले आफूलाई पनि फेसबुकमा सोनुले साथी बनाइनसकेकोले भिडियो हेर्न नसकेको बताए।

अजयले पठाएको फोटो-

हामीले केही भारतीय मिडिया पनि हेर्‍यौँ। डेक्कन हेराल्डले भारतीय समाचार एजेन्सी आइएएनएसको एउटा समाचार राखेको छ जसमा सोनुका आफन्त रजत जैसवालले भिडियो फेसबुकमा लाइभ भएको पुष्टि गरेका छन। ‘सोनुले फेसबुकमा लाइभ गरिरहेका थिए। सोनु र उनका साथीहरु खुसीको मूडमा थिए। तर अकस्मात् आगो दन्कियो र स्ट्रिमिङ रोकियो’, उनले भनेका छन्।

डेक्कन हेराल्डको समाचार।

तथ्य जाँच

दावी : दुर्घटनाग्रस्त यति एयरलाइन्सका यात्रुले विमानभित्रैबाट दुर्घटना हुँदाको भिडियो फेसबुकमा लाइभ गरे।

दावीकर्ता : विभिन्न सोसल मिडिया प्रयोगकर्ता र मिडिया।

तथ्य : सही सूचना। हामीले सोनु जैसवालले लाइभ स्ट्रिमिङ गरेको भिडियो फेला पार्न नसके पनि त्यो उनले प्रोफाइल लक गरेका कारण भएको मान्यौँ। यद्यपि हामीले सोनुकै प्रोफाइलबाट भिडियो पब्लिस भएको देखेका छौँ। उनका आफन्तले समेत भारतीय मिडियामा उनले फेसबुकमा लाइभ गरेको पुष्टि गरेका छन्। हामीले भिडियोमा देखिएको दृश्य पोखराकै भएको पुष्टि गरेका छौँ। तसर्थ यो सही सूचना ठहरिन्छ।

3 thoughts on “के हो यति एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजभित्रैबाट खिचेको भन्दै भाइरल भिडियोको तथ्य ?”

  1. sisir says:
    February 20, 2023 at 11:24 pm

    How did he connect to the internet from that altitude ??

    Reply
    1. Salokya says:
      February 25, 2023 at 10:51 pm

      अवतरण गर्न लागिसकेको अवस्था थियो। त्यति दूरीमा मोबाइलको टावर मज्जाले टिप्छ। त्यसैबाट इन्टरनेट चलिहाल्छ

      Reply
  2. Santosh says:
    February 3, 2023 at 9:35 am

    Good work!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme