Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हरि अधिकारीले शोभराजको संस्मरण लेख्दा बिर्सिएको तथ्य

Posted on December 31, 2022January 6, 2023 by Salokya

खरो समीक्षाका लागि चर्चित हरि अधिकारीको एउटा संस्मरण छापिएको छ आजको कान्तिपुरको शनिबार साप्ताहिक परिशिष्टाङ्क कोसेलीमा। विषय हो चार्ल्स शोभराज। केही दिन अघि यिनी फेरि चर्चामा आए। सर्वोच्च अदालतले १९ वर्षको जेल सजायपछि उनलाई फ्रान्स डिपोर्ट गरिदिएको थियो। उनै शोभराजको लागि दोभाषेका रुपमा काम गरेका रहेछन् अधिकारीले। तर संस्मरण लेख्दा उनले एउटा तथ्य भने भुलेछन्।

संस्मरणमा उनले लेखेका छन्- कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्ससँग मेरो प्रत्यक्ष सम्बन्ध गाँसिएको थियो– अमेरिकन ब्याकप्याकर कोन्नी जे. ब्रोन्जिचको हत्या अभियोगमा चार्ल्सविरुद्ध भक्तपुर जिल्ला अदालतमा मुद्दा चलिरहेका समयमा (सन् २००३) । चार्ल्सका लागि मैले दोभाषेको काम गरेको थिएँ ।

तर यो गलत हो।

कोन्नी जे ब्रोन्जिचको हत्या अभियोगमा चार्ल्सविरुद्ध भक्तपुर जिल्ला अदालतमा होइन, काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलेको थियो।

कोन्नीको लाश काठमाडौंबाट भक्तपुर जाने (नयाँ) चाईनिज रोडबाट सिनामंगल जाने रोड मुनी मनहरा खोलादेखि पश्चिम फेला परेको थियो २०३२ साल पुस ८ गते।

अपराधीहरु फरार भएकोले सुपुर्दगी भई आएपछि कारबाहीको लागि पेश गरिने भनी मुद्दा हालला तामेलीमा राखिदिनु भनेर २०३४ साल असार १४ गते काठमाडौँ जिल्ला अदालतले आदेश दिएको थियो।

पछि चार्ल्स शोभराज काठमाडौँमा पक्राउ परेपछि २०६० सालमा मुद्दा तामेलीबाट जगाइएको थियो २०६० साल असोज ३० गते।

२०६० कात्तिक ३ गते शोभराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश काठमाडौँ जिल्ला अदालतले दिएको थियो भने २०६१ साउन २८ गते ‘प्रतिवादी चार्ल्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH) ले अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जीच (CONNIE JO BRONZICH)) लाई कर्तव्य गरी मारेको ठहर्छ, सो ठहर्नाले मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धी महलको १३(३) नं. अनुसार निज प्रतिवादी चाल्र्र्स शोभराज गुरुमुख (CHARLES SOBHRAJ GURMUKH) लाई सर्वश्व सहित जन्मकैद हुने ठहर्छ भन्ने समेतको फैसला गरेको थियो। 

हेर्नुस् आधिकारिक डकुमेन्ट

यसबाट के प्रमाणित हुन्छ भने कोन्नी जो ब्रोन्जिचको हत्यासम्बन्धी मुद्दा तामेलीमा राख्नुभन्दा अघि २०३२ सालदेखि फैसला हुने समय २०६१ सालसम्मका अदालती कामकारबाही काठमाडौँ जिल्ला अदालतमै भएको हो।

त्यसो भए हरि अधिकारीले भक्तपुरमा कुन मुद्दाको कुरा गरेका त ?

भक्तपुरमा पनि शोभराजविरुद्ध मुद्दा चलेको थियो। तर कोन्नीको हत्याको होइन आरमण्ड लरेन्ट क्यारियरेको हत्यामा। नपत्याए भक्तपुर जिल्ला अदालतको मुद्दा नम्बर ०७०-CR-००९३ मा खोज्दा हुन्छ। २०७१ साल असोज १ गते भक्तपुर जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी चार्ल्स गुरूमुख शोभराजले मृतक आरमण्ड लरेन्ट क्यारियरेलाई कर्तव्य गरी मारेको कुरा पुष्टि भएको हुँदा प्रतिवादी चार्ल्स शोभराज गुरूमुखलाई ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहर गरी फैसला गरेको देखिन्छ।

शोभराजले भक्तपुर जिल्ला अदालतविरुद्ध सर्वोच्चमा दिएको रिटमा भएको फैसलाको यो अंश हेर्दा पनि यो कुरा प्रष्ट हुन्छ।

आरमण्डको लाश २०३२ पुस ६ गते भक्तपुरस्थित साँगा भञ्ज्याङको सडक किनारामा भेटिएको थियो र भक्तपुर जिल्ला अदालतले तत्काल अभियुक्त खुल्न नआएको कारण मिति २०३३ पुस २२ गते मुद्दा तामेलीमा राखेको थियो। सुरुमा त प्रहरीले आरमण्डले नै कोन्नीको हत्या गरेको ठानेको थियो। यो विषयमा थप बुझ्न पढ्नुस् यो ब्लग- चार्ल्स शोभराज जसले नेपालमा दुई जनाको हत्या यसरी गरेका थिए

संक्षेपमा चार्ल्स शोभराजले नेपालमा दुई विदेशीको हत्या गरेको ठहर भएर सजाय पाएको थियो। त्यसमध्ये काठमाडौँ जिल्ला अदालतमा कोन्नी जो ब्रोन्जिचको मुद्दा चलेको थियो भने भक्तपुर जिल्ला अदालतमा आरमण्ड लरेन्ट क्यारियरेको।

घटनास्थल (यो केसमा लाश जहाँ भेटिएको) जहाँ त्यहीँ मुद्दा चल्छ। कोन्नीको लाश काठमाडौँको सिनामंगल जाने रोडमुनि फेला परेको थियो भने आरमण्डको लाश साँगा भञ्ज्याङको सडक किनारामा।

हरि अधिकारीले स्मृति लेख्दा यही तथ्य भुल्न पुगे। लेखकले भुल्दा सच्याउने कपि एडिटरले हो। कपि एडिटर पनि त्यहीँ चुके। र, हाइलाइटमा नै गलत तथ्य यसरी लेख्न पुगे-

अनि लेखमा पनि उल्टोपाल्टो हुन गयो। भक्तपुरमा पुरुष (आरमण्ड लरेन्ट) र काठमाडौँमा महिला (कोन्नी) को शव फेला परेको थियो। मूल तथ्यमा नै गल्ती भएपछि लाश भेटिएको पो त्यो ठाउँमा हत्या गरेकै त्यही ठाउँमा भनेर कसरी थाहा पाए लेखकले भनेर सोधिरहनु पनि उचित लागेन।

के अब यो गल्ती सच्चिएला त ?

गल्ती अरु पनि

लेखमा जोसेफ नाथनलाई आप्काका कर्पोरेट इडिटर भनेर चिनाइएको छ। जबकि उनी एडिटोरियल एडभाइजर मात्र थिए। यो कुरा टिएचटीमै प्रकाशित यो समाचारबाट प्रष्ट हुन्छ-

तर माथिको लाश फेला परेको ठाउँ र मुद्दा चलेको अदालतै फरक परे जस्तो यो ठूलो गल्ती भने होइन।

त्यस्तै शकुन्तला (निहिताकी आमा) ले लेखकलाई परिचय गराउँदै  ‘चार्ल्स ! दिस इज मिस्टर हरि अधिकारी, योर इन्टर्प्रेटर फर टुडे ’ भनेको दावी गरिएको छ सन् २००३ मा अर्थात् २०५९ २०६० सालतिर। तर चार्ल्सको केसमा शकुन्तला जोडिएको २०६४/६५ सालतिर बल्ल हो भन्ने पनि कुरा छ। यसमा भने ठ्याक्कै माथि जस्तो प्रमाण नपाएकोले यही भन्न सकिएन।

1 thought on “हरि अधिकारीले शोभराजको संस्मरण लेख्दा बिर्सिएको तथ्य”

  1. bhojraj shrestha says:
    January 4, 2023 at 6:56 pm

    इस्वी संवत् २००३ अर्थात् विक्रम संवत् २०५९ नभएर २०६० साल हो । त्यसमा तपाईंको पनि त्रुटि भएको देखियो सच्याउनुहोला ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme