Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीन उपप्रधानमन्त्रीसहितको शपथ ग्रहणका तीन रोचक दृश्य

Posted on December 27, 2022 by Salokya

पुरानो ५ दलीय गठबन्धन भत्किएर नयाँ ७ दलीय गठबन्धन बनेपछि देशले नयाँ प्रधानमन्त्री हिजै पाइसकेको थियो। तर सोमबारको साइत जुर्‍यो नयाँ प्रधानमन्त्रीको शपथ ग्रहणको। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जना उपप्रधानमन्त्रीसहित आठ जनाको मन्त्रिपरिषद् बनाए। सबैको शपथ राष्ट्रपति भवन शितल निवासमा भयो। यो कार्यक्रमका तीन रोचक दृश्य यस्ता थिए।

१) निवर्तमान र वर्तमान प्रधानमन्त्रीको हाउभाउ

प्रधानमन्त्रीको कुर्सी छाड्दै गरेका शेरबहादुर देउवा र बस्दै गरेका प्रचण्ड। दुवै एउटै गठबन्धनमा चुनाव लडेका। दुवैका कार्यकर्ताहरुले एक अर्काको चुनाव चिह्नमा भोट मागेका। कतिपय निर्वाचन क्षेत्रमा त उनीहरुको चुनाव चिह्न नै थिएन, अर्कोमा भोट हाल्नु पर्ने। तर समयले यस्तो खेल्यो कि लुडोमा ९८ मा पुगिसकेको गोटी ९९ मा साँपले डसेर सीधै २ मा झर्न पुग्यो कांग्रेस। राष्ट्रपति र प्रधानमन्त्री दुवै नछोड्ने अडान राख्दा भएभरको सबै गुमाउनु पर्‍यो। कुन चाहिँ शक्तिले देउवालाई ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैनन् भनेर उचाले उचाले र थचारे, त्यो उनले गम्दै होलान्। तर फोटो पत्रकार नरेन्द्र श्रेष्ठको लेन्सले दुवैको हाउभाउ चाहिँ यस्तो गज्जबसित कैद गरे-

Nepal’s new Prime Minister Pushpa Kamal Dahal, known as Prachanda, (R) and outgoing Prime Minister Sher Bhadur Deuba (L) during the oath-taking ceremony at the presidential office in Kathmandu, Nepal, 26 December 2022. Epa/ Narendra Shrestha pic.twitter.com/9F5e0xL5G7

— Narendra Shrestha (@Narendraphoto) December 26, 2022

२) होस हराएका देउवा

शपथ ग्रहणका क्रममा देखिएको अर्को रोचक दृश्य थियो- देउवाको बेहोसी। शपथका लागि प्रचण्ड पहिलो पटक दौरा सुरुवाल लगाएर आएका थिए। पहिले दुई पटक प्रधानमन्त्री बन्दा उनले सुटप्यान्ट मै शपथ लिएका थिए। राष्ट्रपति, उपराष्ट्रपति र अरु संवैधानिक अंगका प्रमुखहरु पनि स्टेजमा उभिसकेका थिए। राष्ट्रपतिले शपथको व्यहोरा पढ्न थालिसकेका थिए, नयाँ प्रधानमन्त्रीले त्यसलाई पछ्याउन थालिसकेका थिए। तर देउवा भने बेहोसीमा कुर्सीमै बसिरहेका थिए।

पछाडिबाट राष्ट्रपतिका अङ्गरक्षक सैनिकले भनिसकेपछि बल्ल उनी उठे। अनि कोटको टाँक लगाए। उनी पछि उपप्रधानमन्त्रीहरुको शपथ हुँदासम्म त्यहाँबाट गइसकेका थिए। पूरै शपथको कार्यक्रमसम्म पनि बस्ने धैर्य उनको भएन।

३) चाइँचुइँले गरेको डिस्टर्ब

हाम्रो देशको व्यवस्थापन कस्तो हुन्छ भन्ने नमूना यो शपथ ग्रहण कार्यक्रममा देख्न पाइयो। उद्घोषकले बोल्दासम्म ठीकै थियो। तर जब राष्ट्रपतिले नवनियुक्त प्रधानमन्त्रीलाई शपथ ग्रहण गराउन थालिन्, तब सुरु भयो चाइँचुइँ। माइक यस्तोसँग बिग्रियो कि आवाजै राम्रोसँग सुन्न पाइएन। कहिले कसको आवाज नसुनिने, कहिले कसको। शपथको व्यहोरासमेत राम्रोसँग सुन्न पाइएन। पहिले त ‘त्यो पर्दैन’, ‘हिही’ गरेको आवाजसमेत सुनिने माइक हुन्थ्यो। यसपालि कसले के षड्यन्त्र गरेछन् कुन्नि !

हेर्नुस् नेपाल टेलिभिजनमा शपथ ग्रहणको दृश्य

आज मन्त्री बनेकाहरु

धन्न सात दलको गठबन्धनमा दुई दल राप्रपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भए। तर तीन जना उपप्रधानमन्त्री बनाउनै पर्‍यो। एउटा दोस्रो ठूलो दल एमालेको। अर्को तेस्रो ठूलो दल माओवादीको। अनि अर्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको।

तर उपप्रधानमन्त्रीको इतिहासमा चाहिँ यो कम नै हो। मन्त्री २५ भने पनि उपप्रम कति भन्ने तोकिएको छैन संविधानमा। उहिले बाबुराम भट्टराईले चार जना उपप्रम बनाउँदा रेकर्ड बनेको थियो। तर त्यसलाई केपी ओलीले तोडेका थिए २०७२ सालमा। त्यतिबेला ६ जना उपप्रम बनेका थिए- विजयकुमार गच्छदार, कमल थापा, टोपबहादुर रायमाझी, भीम रावल, सीपी मैनाली र चित्रबहादुर केसी।

1 thought on “तीन उपप्रधानमन्त्रीसहितको शपथ ग्रहणका तीन रोचक दृश्य”

  1. gehendra says:
    December 27, 2022 at 6:30 am

    महिला मन्त्रिले किन छुट्टै सपथ लिएको बुझ्न सकेन ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme