Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के सूर्य थापा र गोकुल बाँस्कोटालाई अदालतले जरिवानासहितको सजाय दिएको थियो?

Posted on December 26, 2022 by Salokya

पूर्व सचिव भीम उपाध्यायले शुक्रबार (२३ डिसेम्बर २०२२) मा फेसबुकमा सूर्य थापा र गोकुल बाँस्कोटाको तस्बिर राख्दै पूर्व मन्त्री हिसिला यमीलाई एसियाकै भ्रष्ट महिला भनेर आरोप लगाई पित पत्रकारिता गरेबापतको मुद्दामा काठमाडौं जिल्ला अदालतले एक हजार जरिवाना तोकेको दावी गरेका छन्।

तर हाम्रो तथ्य जाँचमा उपाध्यायको यो दावी मिथ्या देखिएको छ।

के थियो भाइरल स्टायटसमा ?

फेसबुकमा तीन लाखभन्दा बढी फलोअर्स भएका पूर्व सचिव भीम उपाध्यायले शुक्रबार यस्तो स्टायटस लेखे- हिसिला यमीलाई `एसियाकै भ्रष्ट महिला´ भनेर आरोप लगाई पित पत्रकारिता गरेबापतको मुद्दामा काठमाडौं जिल्ला अदालतले यी दुई पित पत्रकार एवं हालका सांसदलाई उहिले रू १०००/- जरिवाना ठोकेको रहेछ। संसदको गरिमा बढाउने जिम्मा अब यी दुई सांसद दाइभाइको हातमा पनि पुगेछ!

पोस्टसँगै सूर्य थापा र पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको फोटो पनि रहेको थियो।

सोमबार यो स्क्रिनसट लिँदासम्म यो पोस्टमा ३ हजार रियाक्सन, २५६ कमेन्ट र ८२ सेयर थिए। हेर्नुस् स्क्रिनसट

के हो तथ्य ?

हिसिला यमीको यो विषयमा हामीले भदौ २२, २०७७ मा एउटा तथ्य जाँच गरिसकेका छौँ। पढ्नुस्- के ‘न्युयोर्क टाइम्स’ले हिसिला यमिलाई एसियाकै भ्रष्ट महिला भनेर रिपोर्ट छापेको थियो?

उक्त तथ्य जाँचमा हामीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा ‘न्यूयाेर्क टाइम्सले २०७० सालमा “एसियाकै भ्रष्ट महिला” भनेर विशेष खाेज रिपाेर्ट प्रकाशित गरेकाे’ दावी गरेका थिए। हामीले उक्त तथ्य जाँचमा सो दावी गलत रहेको लेखेका थियौँ।

आफूलाई दक्षिण एसियाकै भ्रष्टाचारी महिला लेख्दै गाली बेइज्जती गरेको भन्दै हिसिलाले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको र सो मुद्दामा ‘त्यस्तो भ्रष्ट हुन् भन्ने आधार स्रोत उल्लेख नगरी ख्यातिमा धक्का पुर्‍याउने नियतले प्रकाशन गरेको पुष्टि भएको’ भन्दै गाली बेइज्जती गरेको ठहर गर्दै जरिवाना र क्षतिपूर्ति भराउने फैसला गरेको थियो।

यस्तो थियो समाचार र मुद्दामा भएको फैसला

क्राइम टुडे नामको मासिक पत्रिकाले जेठ २०७० (मे २०१३) को अङ्कको कभर पृष्ठमा  ‘एमाओवादी नेतृ यमि दक्षिण एसियाकै भ्रष्टाचारी महिला’ शीर्षक राखेको थियो। भित्रको पृष्ठ ६ र ७ मा यसबारे विस्तृत समाचार थियो।

यस विरुद्ध हिसिला यमिले ‘विपक्षी सम्पादक प्रकाशक आफैले मिथ्यापूर्ण समाचार तयार गरेको भन्दै क्राइम टुडेका प्रबन्ध निर्देशक रत्नमाया (आरएम) लामा, सम्पादक एफ.आर. दाहाल, सम्पादक/प्रकाशक एल.एस. लामा र समाचार छाप्ने इन्द्रेणी अफसेट प्रेससमेतलाई विपक्षी बनाई गाली बेइज्जती ऐन अनुसार मुद्दा दायर गरेकी थिइन्।

२०७० साल साउन ११ गते दायर गरिएको लिखित गाली बेइज्जती मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कार्कीको एकल इजलासले २०७१ असोज ३० गते ‘इज्जतमा धक्का पुर्‍याउने नियतले प्रकाशन गरेको पुष्टि भएकोले गाली बेइज्जती गरेको ठहर गरेको थियो। अदालतले प्रतिवादीहरुलाई दामासाहीले एक हजार रुपैयाँ जरिवाना र एक हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको थियो।

अदालतको आदेश यहाँ क्लिक गरी हेर्न सकिन्छ। 

सो लिखित गाली बेइज्जती मुद्दामा चार प्रतिवादी रत्नमाया लामा, एलएस लामा, एफआर दाहाल र इन्द्रेणी अफसेट प्रेस भएको अदालतको कागजमा देखिन्छ। उपाध्यायले दावी गरे जस्तो सूर्य थापा वा गोकुल बाँस्कोटाको नाम यसमा देखिन्न।

त्यसैले उनले दावी गरे जस्तो सूर्य थापा र गोकुल बाँस्कोटालाई हिसिला यमीको योसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतले जरिवाना ठोकेको देखिएन।

तथ्य जाँच

दावी : हिसिला यमीलाई `एसियाकै भ्रष्ट महिला´ भनेर आरोप लगाई पित पत्रकारिता गरेबापतको मुद्दामा काठमाडौं जिल्ला अदालतले यी गोकुल बाँस्कोटा र सूर्य थापालाई एक हजार रुपैयाँ जरिवाना गरेको।

दावीकर्ता : भीम उपाध्याय

तथ्य : मिथ्या सूचना । यससम्बन्धी लिखित गाली बेइज्जती मुद्दामा काठमाडौँ जिल्ला अदालतले क्राइम टुडे मासिक पत्रिकाका प्रबन्ध निर्देशक, प्रधान सम्पादक तथा प्रकाशक, सम्पादक र प्रेसलाई मात्र सजाय गरेको थियो। त्यसमा बाँस्कोटा र थापा परेका छैनन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme