Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नझुक्किनुस्, अर्जेन्टिनाले मेस्सीको फोटो भएको नोट जारी गरिसकेको छैन

Posted on December 21, 2022December 21, 2022 by Salokya

अर्जेन्टिनाले विश्वकप फुटबल जितेपछि कप्तान लियोनेल मेस्सीको सम्मानमा त्यहाँको बैँकले उनको तस्बिरअंकित नोट जारी गरेको दावी नेपाली अनलाइन र सामाजिक सञ्जालमा भाइरल भएको छ।

ती भाइरल सूचनाहरुमा मेस्सीको तस्बिरअंकित १००० पेसो (अर्जेन्टिनी मुद्रा) को नोटमा उनकै हस्ताक्षर पनि रहेको भनिएको छ।

तर हाम्रो तथ्य जाँचमा अर्जेन्टिनामा त्यस्तो नोट जारी भइनसकेको देखिएको छ।

यस्तो छ भाइरल सूचना

नेपालखबर अनलाइनले ‘अर्जेन्टिनाले १००० को नोटमा राख्यो मेस्सीको तस्बिर र हस्ताक्षर’ शीर्षकमा राखेको समाचारमा दावी गरिएको छ- ‘फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि उचालेर घर फर्किएलगत्तै अर्जेन्टिनाले मेस्सीको तस्बिरअंकित त्यहाँको मुद्रा पेसोको एक हजारको नोट जारी गरेको हो।’

समाचारमा नोटको भन्दै केही फोटोहरु पनि राखिएको छ।

हेर्नुस् अर्काइभ लिङ्क

पत्रकार भोजराज भाटले ‘अर्जेन्टिनाले विश्वकप जितेपछि लियो मेस्सीको तस्बिर सहितको १००० पेसोको सम्झनामा नोट जारी गरेको छ । जहाँ लियोनल मेस्सीको हस्ताक्षर हुनेछ’ लेख्दै अर्जेन्टिना फुटबल एसोसिएसनको फ्यानपेजको एउटा फोटोसहितको पोस्ट सेयर गरेका छन्। हेर्नुस् स्क्रिनसट  उक्त फ्यानपेजको यो पोस्ट बुधबार राति १० बजेसम्म १ हजारभन्दा बढी सेयर भइसकेको छ।

पूर्व सचिव भीम उपाध्यायले आफ्नो फेसबुकमा अर्जेन्टिनालाई विश्व कप जिताएर घर फर्किएसँगै अर्जेन्टिनाको सरकारले मेस्सीको सम्मानमा उनको फोटो र हस्ताक्षर सहित त्यहाँको बैंक नोट जारी गरेको दावी गर्दै फोटोसहितको पोस्ट गरेका छन्। बुधबार रातिसम्म त्यसमा ५ हजारभन्दा बढी रियाक्सन, ३५६ कमेन्ट र ११३ सेयर छन्। हेर्नुस् स्क्रिनसट-

त्यसैगरी मेरोक्रिकेट नामको फेसबुक पेजले ‘विदेशमा खेलाडीलाई राजा भन्दामाथिको इज्जत। अर्जेन्टिनाले विश्वकप जितेपछि लियो मेस्सीको तस्बिरसहितको १००० पेसोको नोट जारी गरेको’ दावी गरेको छ। बुधबार रातिसम्म यो पोस्टमा १ हजारभन्दा बढी रियाक्सन, ३१ कमेन्ट र ४९ सेयर देखिन्छ।

त्यस्तै २ लाख ४८ हजार फलोअर भएका गोविन्द गिरीले पनि यही नोटको फोटो राख्दै मेस्सीको तस्बिरसहितको नोट जारी गरेको दावी गरेका छन्। उनको यो पोस्टमा बुधबार रातिसम्म ८१८ रियाक्सन, २६ कमेन्ट र ५० सेयर छन्। हेर्नुस् स्क्रिनसट

के हो तथ्य ?

यो विषयमा थप जानकारी पाउनका लागि हामीले अर्जेन्टिनी तथ्य जाँच गर्ने संस्था चेकाडोमा सम्पर्क गर्‍यौँ। त्यहाँबाट हामीलाई केही स्पेनी भाषाका वेबसाइटका लिङ्क प्राप्त भयो। ती वेबसाइटहरुमा अर्जेन्टिनी राष्ट्र बैँकमा मेस्सीको तस्बिरसहितको नोट जारी गर्ने विषयमा ‘जोकका रुपमा’ छलफल भएको तर त्यो विश्वकप जित्नुभन्दा अगाडि नै रहेको उल्लेख छ।

अर्जेन्टिनाको न्युजपोर्टल रियोनेग्रोले डिसेम्बर १९ मा प्रकाशित समाचारमा सेन्ट्रल बैँक अफ दि अर्जेन्टाइन रिपब्लिकको बिहीबार (विश्वकप फाइनल हुनुभन्दा अगाडि) बसेको बोर्ड बैठकमा अहिलेलाई सोसल नेटवर्कमा हल्लामात्रै भए पनि मेस्सीको अनुहारसहितको नोट जारी गर्ने सम्भावनाको विषयमा अध्ययन गरिरहेको उल्लेख छ। हेर्नुस् समाचारको अर्काइभ लिङ्क। 

त्यसैगरी स्पेनी भाषाको वेबसाइट मेडियोटियम्पोमा अर्जेन्टिनी नोटमा मेस्सीको तस्बिर राख्ने सम्भावनाको विषयमा अध्ययन भइरहेको उल्लेख गर्दै यो सूचनाले अर्जेन्टिनी फ्यानहरु निकै उत्साहित भए पनि वास्तवमा अहिलेलाई यो सब कुरा जोकका रुपमा राखिएको प्रस्ताव मात्रै भएको उल्लेख छ।

मेडियोटियम्पो लेख्छ, भविष्यमा यो सम्भावना साकार हुन सक्ने भए पनि अहिलेलाई वास्तविकताबाट यो धेरै टाढा देखिन्छ। अर्जेन्टिनाले सन् १९७८ मा विश्वकप जित्दा स्मृतिका रुपमा सिक्का भने जारी गरिएको थियो।हेर्नुस् समाचारको अर्काइभ लिङ्क।

त्यस्तै अर्को स्पेनी भाषाको न्युजपोर्टल क्रोनिस्टामा के केन्द्रीय बैँकले मेस्सी नोट जारी गर्ने योजना बनाएको हो सबहेडलाइनमा आर्थिक पत्रकार इग्नासियो ओलिभेरा डलले पुष्टि गरेको भन्दै बिहीबार रातिको बोर्ड बैठकमा स्मृतिका लागि नोट निकाल्ने सम्भावनाका विषयमा जोक गरिएको उल्लेख गरेको छ। बोका जुनियर्सका समर्थक डाइरेक्टर लिसान्ड्रो क्लेरी र एडुयार्डो हेकरले यसको समर्थन गरेका रहेछन्। सबैभन्दा बढी समर्थन चाहिँ मेस्सीको अनुहार एक हजार पेसोको नोटमा राख्नेमा भएको त्यसमा उल्लेख छ। हेर्नुस् अर्काइभ लिङ्क। 

त्यसैगरी अरु स्पेनी भाषाका न्युजपोर्टलहरु लिबेरो, ला रिपब्लिका, एल फिनान्सियरोमा पनि अर्जेन्टिनाको केन्द्रीय बैँकको बैठकमा यो विषयमा छलफल भएको उल्लेख छ। कुनैमा पनि अहिले नै मेस्सीको तस्बिरअङ्कित नोट जारी भइसकेको उल्लेख छैन।

तथ्य जाँच

दावी : अर्जेन्टिनाले मेस्सीको तस्बिरअंकित त्यहाँको मुद्रा पेसोको एक हजारको नोट जारी गरेको छ।

दावीकर्ता : नेपालखबर अनलाइन तथा विभिन्न फेसबुक पेज र प्रोफाइलहरु

तथ्य : भ्रामक सूचना। अर्जेन्टिनाको केन्द्रीय बैँकको बैठकमा मेस्सीको तस्बिर अङ्कित नोट जारी गर्ने विषयमा छलफल भएको त्यहाँका न्युजपोर्टलहरुले जनाएका छन्। तर त्यस्तो नोट जारी भइसकेको भने छैन। सामाजिक सञ्जालमा भेटिएका नोटहरु वास्तविक हैनन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme