Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अर्जेन्टिनीहरुले नेपालको झण्डा जलाएको भन्दै भाइरल भएको फोटोको तथ्य यस्तो छ

Posted on December 18, 2022 by Salokya

विश्वकप फुटबलको फाइनल नजिकिँदै गर्दा सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भएको छ, जसमा अर्जेन्टिनाको झण्डा बोकेका केही व्यक्ति देखिएका छन् र उनीहरुले बेलायत र नेपालको झण्डा जलाइरहेका छन्।

अर्जेन्टिनीहरुले नेपालको झण्डा जलाएको दावी गर्दै सामाजिक सञ्जालमा यो फोटो पोस्ट भएको देखिन्छ।

तर हाम्रो तथ्य जाँचमा यो फोटो मिथ्या रहेको देखिएको छ।

कहाँ कस्तो दावी ?

फेसबुकमा पुजना नामको प्रयोगकर्ताले अर्जेन्टिनीहरुले हाम्रो देश नेपालको झण्डा कयौँ पटक जलाएको दावी गर्दै यो फोटोसहितको पोस्ट गरेका छन्। आइतबार दिउँसोसम्म यो पोस्टमा ७६ रियाक्सन, ४९ कमेन्ट र २४ सेयर देखिन्छ।

त्यसैगरी टिकटकमा @frustratezhima युजर नेमबाट पोस्ट भएको नेपालको झण्डा जलाएको यही फोटोसहितको भिडियोमा आइतबार दिउँसोसम्म ९८ हजार भ्युज पुगेको छ भने २६५४ रियाक्सन र २२४ कमेन्ट देखिन्छ।

फेसबुकमा ‘अर्जेन्टिना नेपाल झण्डा’ लेखी सर्च गर्दा अरु थुप्रैले पनि यो फोटो पोस्ट गरेको देख्न सकिन्छ।

के हो तथ्य ?

हामीले भाइरल भएको फोटोमा रहेको लोगो र अक्षरबारे खोज्दा यो अर्जेन्टिनाको एउटा मन्त्रालयको लोगो र नाम रहेको भेट्यौँ। दायाँ छेउमा लेखिएको ’38 años, ni olvido ni perdón a Gran Bretaña y Nepal’ लाई अङ्ग्रेजीमा गुगलको सहायताले अनुवाद गर्दा ’38 years, neither forget nor forgive Great Britain and Nepal’ लेखिएको पायौँ।

तर उक्त मन्त्रालयको वेबसाइटमा यो फोटोसहितको डकुमेन्ट हामीले फेला पार्न सकेनौँ।

यो फोटोलाई गुगलमा रिभर्स इमेज सर्च गर्दा हामी ६ वर्षअघि अर्थात् २०१६ अक्टोबर २१ तारिखमा न्यु चाइना टिभीले युट्युबमा अपलोड गरेको यो भिडियोमा पुग्यौँ-

यो भिडियो अर्जेन्टिनीहरुले माल्भिनास आइल्यान्ड र बेलायतीहरुले फकल्यान्ड भन्ने गरेको ठाउँमा बेलायतले गर्न लागेको सैनिक अभ्यासको विरोधमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सस्थित बेलायती दूतावासबाहिर गरिएको प्रदर्शनको भएको त्यसमा उल्लेख गरिएको छ।

सोही भिडियोको थम्बनेलमा प्रयोग भएको फोटोलाई नै सम्पादन गरी नेपालको झण्डा राखी अहिले भाइरल भएको फोटो बनाएको हामीले पायौँ। किनभने त्यसमा नेपालको झण्डा बाहेक अरु सबै विषय हुबहु देखिन्छन्।

हेर्नुस् नक्कली र सक्कली फोटोको तुलना

नक्कली फोटो हेर्न यहाँ क्लिक गर्नुस्।

सक्कली फोटो हेर्न यहाँ क्लिक गर्नुस्।

तथ्य जाँच

दावी : अर्जेन्टिनामा नेपालको झण्डा जलाइयो (फोटो)

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ताहरु।

तथ्य : मिथ्या सूचना। उक्त फोटो २०१६ अक्टोबर २१ मा ब्युनस आयर्समा भएको प्रदर्शनको हो र त्यसमा सम्पादन गरी नेपालको झण्डा थपिएको हो।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme