के तपाईँले पनि नेपालको राजधानी काठमाडौँबाट सार्न लागिएको खबर पढ्नु/देख्नुभएको छ?
केही दिनदेखि फेसबुकमा यस्ता खबर भाइरल भएका छन्। त्यसमा दावी गरिए अनुसार राजधानी सार्न बहस भएका छन्, भित्रभित्रै सार्ने तयारीसमेत भइसकेको छ।
तर नझुक्किनुस्, ती खबर सही होइनन्। यसबारे नेपालफ्याक्टचेकको तथ्य जाँच छुटाउनुभएको भए यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।
भाइरल भयो यसरी
तपाईँ फेसबुकमा हुनुहुन्छ भने पक्कै पनि तपाईँको फिडमा एक न एक चोटी यो खबर आएको हुनुपर्छ। किनभने त्यहाँ यो भाइरल भइसकेको छ। तर रमाइलो चाहिँ के छ भने त्यस्तो ‘समाचार’ राख्ने कुनै पनि अनलाइनहरु गतिला छैनन्। मतलब न ती अनलाइनहरुको सम्पादक, न पत्रकार न सम्पर्क ठेगाना खुलाइएको छ।
तीन वटा उदाहरण हेर्नुस्-
१) पोलिटिक्स दैनिक। शीर्षक छ- ‘काठमाडौँबाट नेपालको राजधानी सार्ने’। यो अनलाइन कसले चलाएको हो? सम्पादक को हो ? कहाँबाट सञ्चालित हो? सम्पर्क ठेगाना के हो ? केही पनि यसमा खुलाइएको छैन। भूमिगत रुपमा सञ्चालित यही नाममात्रको अनलाइनको फेसबुक पेजमा भने यो खबरमा बिहीबार मध्याह्नसम्म १ हजार ८ सय रियाक्सन, ३०६ कमेन्ट र १० सेयर देख्न सकिन्छ। हेर्नुस् अर्काइभ लिङ्क।
२) इनेपालीसमाचार डट कम। अघिल्लो अनलाइनमा जस्तै यो अनलाइनमा पनि सम्पादकसहितका पत्रकारहरुको नाम र सम्पर्क ठेगाना उल्लेख छैन। हेर्नुस् अर्काइभ लिङ्क।
यसले राखेको समाचारलाई ‘रवि लामिछाने समर्थक’ नामको फेसबुक पेजले सेयर गरेको छ। नामबाटै थाहा हुन्छ, चर्चित व्यक्तिको नामको दुरुपयोग गरी फेसबुक पेज खोलिएको छ। ‘काठमाडौँबाट नेपालको राजधानी सारेर कहाँ लैजाने तयारी हुँदैछ?’ शीर्षकमा प्रकाशित एउटा लिङ्क यसले सेयर गरेको छ। उक्त लिङ्कमा १२ हजार रियाक्सन, १ हजार ७ सय कमेन्ट र १३२ सेयर देख्न सकिन्छ।
३) खुल्दुलीपोस्ट डट कम। यो अनलाइनमा पनि सम्पादक र अन्य पत्रकारहरुको नाम र सम्पर्क ठेगाना उल्लेख छैन। हेर्नुस् अर्काइभ लिङ्क।
अनलाइन नेपाल नामको फेसबुक पेजमा ‘काठमाडौँबाट नेपालको राजधानी सार्ने बहस, कहाँबाट आयो राजधानी सार्ने कुरा” शीर्षकको खुल्दुलीपोस्ट डट कमको एउटा लिङ्क सेयर गरिएको छ। बिहीबार मध्याह्नसम्म यो लिङ्कमा ६ हजार ३ सय रियाक्सन, २३१ कमेन्ट र ६६ सेयर देखिन्छ।
त्यसैगरी फेसबुकमा ‘भित्रभित्रै यसरी हुदैछ काठमाडौँबाट नेपालको राजधानी सार्ने तयारी’ शीर्षकका समाचार पनि देखिन्छन्। ‘नेपालको राजधानी सार्ने’ कीवर्ड राखेर फेसबुकमा सर्च गर्दा प्रशस्त लिङ्कहरु भेटिए।
भेरिफाइड पेजको अनभेरिफाइड कुरा
यो बारे फेसबुकमा समाचार खोज्दै जाने क्रममा ‘धनकुटा खबर’ नामको भेरिफाइड फेसबुक पेजमा पनि हामी पुग्यौँ। १५ नोभेम्बर २०२२ मा यसमा ‘काठमाडौँबाट नेपालको राजधानी सारेर कहाँ लैजाने तयारी हुँदैछ?’ शीर्षकको धनकुटाखबर डट नेटको एउटा लिङ्क सेयर गरिएको छ। यो लिङ्कमा बिहीबार मध्याह्नसम्म ३ हजार रियाक्सन, १ हजार ३ सय कमेन्ट र २३ सेयर देखिन्छ। यो अनलाइनमा पनि सम्पादक लगायत पत्रकारहरुको परिचय र सम्पर्क ठेगाना राखिएको छैन। हेर्नुस् अर्काइभ लिङ्क।
के हो तथ्य ?
सामाजिक सञ्जालमा सेयर भएका राजधानी सार्ने बारे खबर राख्ने अनलाइनहरुमा सञ्चालक, सम्पादक र पत्रकारहरुको नाम त छैन नै, कहाँबाट सञ्चालित हुन् भनी ठेगानासमेत राखिएको छैन।
प्रकाशित खबरका तथ्यहरु पनि मिल्दैनन्। पोलिटिक्सदैनिक नामको अनलाइनमा प्रकाशित समाचारमा लेखिएको छ- ‘निर्वाचन भएर प्रदेश सरकारहरु बनेको ३ वर्ष पुगिसक्दा पनि प्रदेश नम्बर १ र २ ले नाम नै राख्न सकेका छैनन्।’
जबकि प्रदेश सरकार बनेको ५ वर्ष पूरा भएर गएको मंसिर ४ मा नयाँ प्रदेश सभा सदस्यका लागि निर्वाचन भएर त्यसको नतिजासमेत आइसक्यो। प्रदेश नम्बर १ ले नाम राख्न नसकेको सही हो। तर प्रदेश नम्बर २ ले गत वर्ष अर्थात् २०७८ माघ ३ गते नै प्रदेशको नाम मधेश राखिसकेको छ। हेर्नुस् प्रदेश राजपत्रमा प्रकाशित सूचना।
समाचारमा सामान्य विषयमा पनि बेनामे स्रोत उल्लेख गरिएको छ जस्तै ‘एक जना वातावरणविद् भन्छन्’, एक जना सामाजिक अभियन्ता भन्छन्’।
प्रकाशित समाचारमा डा. बाबुराम भट्टराईले ‘काठमाडौँबाट राजधानी सारौँ’ भन्ने विषय उठान गरे भन्ने दावी गरिएको छ। हामीले यसबारे खोज्ने क्रममा डा. भट्टराईले गत वर्ष एउटा ट्विटमा यो विषय उल्लेख गरेको भेट्यौँ।
विकास र संरक्षण वीचको अन्तरसम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भूमाफियालाई छाडा छोड्दा काठमाण्डौ उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो! तुरून्त राष्ट्रिय भूउपयोग नीति लागू गरौं! संघीय राजधानी काठमाण्डौ बाहिर सारौं! pic.twitter.com/AsOiWbYKfv
— Baburam Bhattarai (@brb1954) January 19, 2021
यसले हाल फेसबुकमा भाइरल भएको यो खबर पुरानो सन्दर्भको हो भन्ने देखियो। थप खोज्ने क्रममा हामी बिजपाटी डट कममा पुग्यौँ। यो अनलाइनमा अप्रिल १३, २०२१ मा ‘काठमाडौँबाट राजधानी सारेर कहाँ लैजाने ?’ शीर्षकमा एउटा सामग्री छापिएको छ। अहिले भाइरल भएका समाचारको कन्टेन्ट यसैबाट कपिपेस्ट भएको देख्न सकिन्छ। हेर्नुस् अर्काइभ लिङ्क।
के छ राजधानी सम्बन्धी संविधानमा व्यवस्था ?
नेपालको संविधानको धारा २८८ मा राजधानी सम्बन्धी व्यवस्था गरिएको छ। उक्त धाराको उपधारा १ मा ‘नेपालको राजधानी काठमाडौँमा रहनेछ’ लेखिएको छ। उपधारा २ मा प्रदेशको राजधानी भने सम्बन्धित प्रदेश सभाको दुई तिहाइले बहुमतबाट निर्णय गरे बमोजिम हुने उल्लेख छ।
अतः नेपालको संघीय राजधानी सार्नका लागि धारा २८८ को उपधारा १ संशोधन गर्नुपर्ने हुन्छ। यसका लागि दुई तिहाई बहुमतसहित संविधान संशोधन गर्नुपर्ने हुन्छ।
राजधानी सार्ने बारे हाल कुनै बहस भएको छैन। पुराना, असान्दर्भिक समाचारलाई कपिपेस्ट गरी कोद्वारा सञ्चालित नखुलेका अनलाइन र फेसबुकबाट राजधानी सार्न लागेको सूचना भ्रामक रुपमा फैलाइएको देखिन्छ।
तथ्य जाँच
दावी : नेपालको राजधानी काठमाडौँबाट सारिँदैछ।
दावीकर्ता : विभिन्न अनलाइन तथा फेसबुक पेजहरु।
तथ्य : भ्रामक सूचना। पुराना र असान्दर्भिक सूचना कपिपेस्ट गरी सामाजिक सञ्जालबाट यसलाई फैलाइएको छ। अहिले राजधानी सार्नेबारे केही बहस भएको देखिन्न।