Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समानुपातिकको मतगणना सकिँदा कुन दलले कति पाउने भए सिट ?

Posted on December 6, 2022December 7, 2022 by Salokya

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ समानुपातिक प्रणालीतर्फको मतगणना सकिएको जनाएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले आयोगको वेबसाइटमा राखिएको मत नै फाइनल मत भएको बाह्रखरीलाई बताएका छन्। त्यसो भए मतगणना सकिँदा कुन दलले कति पाउने भए त सिट ? आउनुस्, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा रहेको मत परिणाम विभाजक सूत्र अनुसार हिसाब गरौँ।

एमालेलाई सबैभन्दा धेरै मत

निर्वाचन आयोगको वेबसाइटमा राखिएको विवरण अनुसार कूल सदर मत १ करोड ५ लाख ६० हजार ६७ भएको छ।  त्यसमा सबैभन्दा बढी एमालेले २६.९ प्रतिशत मत ल्याएर पहिलो भएको छ। दोस्रो भएको नेपाली कांग्रेसले २५.७ प्रतिशत मत ल्याएको छ। तेस्रोमा रहेको माओवादीको मत ११.१ प्रतिशत छ। पहिलो पटक चुनाव लड्दै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले १०.७ प्रतिशत मत ल्याएर चौथो हुन सफल भएको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको ५.६ प्रतिशत मत रहेको छ भने जनता समाजवादी पार्टीको ४ प्रतिशत र पहिलो पटक प्रतिनिधि सभाको चुनाव लडेको जनमत पार्टीले ३.७ प्रतिशत मत ल्याएको छ। यी सात दलले मात्र ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेर समानुपातिकमा सिट पाउन सफल भए।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले २.८ प्रतिशत मात्र मत ल्याएर समानुपातिकमा सिट पाउन सकेन।

कुन दलले कति मत ल्याए?

समानुपातिक निर्वाचनतर्फ भाग लिएका ४७ दलहरुमध्ये कुन दलले देशभरबाट कति मत ल्याए ? हेर्नुस्-

कसलाई कति सिट ?

यति मत अनुसार मत परिणाम विभाजक सूत्र प्रयोग गर्दा कुन दलले कति सिट पाउँछन् त ? हेर्नुस् चार्ट-

एमाले र कांग्रेसबीच दुई सिटको अन्तर

मत परिणाम विभाजक सूत्र प्रयोग गर्दा दुई ठूला दल एमाले र कांग्रेसबीच समानुपातिकमा दुई सिटको अन्तर हुने देखिएको छ। एमाले र कांग्रेसबीच १ लाख ३० हजार ४१६ मतको अन्तर छ। एमालेले ३४ र कांग्रेसले ३२ सिट पाउने छन्।

माओवादी र घण्टीबीच एक सिटको अन्तर

मतगणना चल्दै गर्दा सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी समानुपातिकमा धेरै बजेको थियो। तेस्रो स्थानमा निकै लामो समयसम्म घण्टी रहेको थियो। तर मतगणना सकिँदै गर्दा भने माओवादीले घण्टीलाई उछिन्न सफल भयो।

माओवादीले ११ लाख ७५ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार मत ल्यायो। रास्वपा ४५ हजार ३४० भोटले माओवादी भन्दा पछाडि रह्यो। फलस्वरुप मत परिणाम विभाजक सूत्रमा माओवादी भन्दा एक सिट पछि रह्यो।

माओवादीले १४ र राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाउने भयो।

जसपा र जनमतलाई बराबर सिट

तराई मधेशकेन्द्रित दुई दल उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टी दुवैले थ्रेसहोल्ड कटाए। जनमत भन्दा जसपाको मत २६ हजार ६५८ ले बढी छ। तर दुवै दलले समानुपातिकमा ५-५ सिट पाउने भएका छन्। जनमतले पहिलो पटक प्रतिनिधि सभाको चुनावमा सहभागिता जनाएको हो।

राप्रपालाई फाइदा 

अघिल्लो चुनावमा थ्रेसहोल्ड कटाउन असफल भएर कुनै सिट पाउन नसकेको राप्रपाले यस पटक राम्रो प्रगति गरेको छ। ५ लाख ८८ हजार भोट कटाएको राप्रपाले समानुपातिकमा ७ सिट पाउने छ।

माधव नेपाललाई पुगेन साढे १८ हजार मत 

तीन प्रतिशत थ्रेसहोल्डका कारण माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी थोरै भोटले समानुपातिकमा सिट पाउन र राष्ट्रिय पार्टी बन्नबाट चुकेको छ। एकीकृत समाजवादीको चुनाव चिह्न कलममा १८ हजार ४१२ थप मत परेको भए यो पार्टीले पनि समानुपातिकमा भोट पाउँथ्यो।

हामीले यो गणना कसरी गर्‍यौँ ?

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० र अनुसूचि २ मा समानुपातिक सिटका लागि यस्तो प्रावधान छ-

मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक दलको लागि खसेको मतलाई भाग गर्ने पद्वतिले श्रृङ्खलावद्ध रुपमा भाग गरिनेछ । यस अनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरुले भाग गरिन्छ । (उदाहरण: १, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ । भागफल प्राप्त भएपछि सीट सङ्ख्याहरु ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै सीट नसकिँदासम्म बाँडफाँट गरिनेछ । यसरी बाँडफाँट गर्दा कुनै दलले जतिसुकै मत प्राप्त गरेको भए तापनि त्यस्तो दलले बन्दसूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही त्यस्तो राजनीतिक दलले प्राप्त गर्ने सीटको बाँडफाँट गरिनेछ ।

यही मतपरिणाम विभाजक सूत्र प्रयोग गरी समिर केसीले यो गणनाका लागि सघाएका हुन्।

हामीले यसअघि पहिलो संविधान सभा, दोस्रो संविधान सभा निर्वाचन र अघिल्लो निर्वाचनमा पनि यस्तो गणना गरेका थियौँ।

अपडेट (मंसिर २१) : निर्वाचन आयोगले आधिकारिक रुपमा सिट संख्या निर्धारण गरेको छ, जुन हाम्रो हिसाबसँग मिल्छ-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme