Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समानुपातिक अपडेट : ‘घण्टी’को एक सिट ‘सूर्य’ले खोस्यो, एमाले-कांग्रेसबीच दुई सिटको अन्तर

Posted on December 5, 2022 by Salokya

समानुपातिक अपडेट (मंसिर १९, राति ८:३० बजे)

प्रतिनिधि सभा निर्वाचन २०७९ अन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको सबै नतिजा आइसकेको छ। निर्वाचन आयोगको वेबसाइटमा पनि सबै १६५ को नतिजा अपडेट गरिएको छ। समानुपातिकतर्फको मतगणना सकियो कि सकिएन भन्ने बारे कुनै जानकारी राखिएको छैन। तर हामीले सोमबार मध्याह्न १२ बजे निकालेको हिसाब भन्दा २७ हजार ६२४ मत थप भई कूल १ करोड ४ लाख ४७ हजार ७४९ मतको अपडेट गरिएको छ। यस अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ ले गरेको व्यवस्था अनुसार हिसाब गर्दा समानुपातिकतर्फका ११० सिटमा कुन कुन दलको कति कति लाग्ने भयो त भाग भनी हिसाब गर्दा मध्याह्नको हिसाबमा भन्दा एक सिट घटबढ भएको छ।

घण्टीको सिट खोस्यो सूर्यले
साढे २७ हजार थप मत गणना हुँदा एमालेको मत तुलनात्मक रुपमा बढी भएर राष्ट्रिय स्वतन्त्र पार्टीको कम भएको कारण अघिल्लो अपडेटमा भन्दा एक सिट हेरफेर भएको छ। यसअनुसार घण्टीको एक सिट सूर्यतर्फ भएको छ।

त्यस अनुसार एमाले र कांग्रेसको समानुपातिकमा सिटको अन्तर दुई हुन पुगेको छ।

सात पार्टीको सिट सुनिश्चित

कानुनले कूल सदर मतको ३ प्रतिशत मत ल्याए मात्रै समानुपातिकको सिट पाउने व्यवस्था गरेको छ। यस अनुसार थ्रेसहोल्ड कटाउन ३ लाख १२ हजार ६०४ मत आवश्यक हुन्छ। यदि यति मत नल्याएमा समानुपातिकको ११० सिटको भागवण्डाबाट त्यो पार्टी आउट हुन्छ। ती दलहरुले पाएको मतलाई सदर मत मानिन्न। अर्थात् ती मत बदर सरह हुन्छन्।

३ प्रतिशत भन्दा बढी मत ल्याउने दलहरु सात वटा छन्- एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी। अब यी सात दलले ल्याएको कूल मतलाई नै सदर मत मानिन्छ र हिसाब गरिन्छ।

हामीले गरेको हिसाब अनुसार यी सात दलमध्ये कसले कति सिट पाउँछन् त-

एमालेलाई सबैभन्दा बढी सिट

हाम्रो गणना अनुसार एमालेले सबैभन्दा बढी ३४ सिट पाउनेछ। एमालेभन्दा एक लाख २८ हजार ८४३ कम भोट ल्याएको कांग्रेसले एमालेभन्दा दुई सिट कम ३२ सिट पाउनेछ।

माओवादी र पहिलो पटक चुनाव लड्दै गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दुवैले ११ लाख भोट ल्याएका छन्। रास्वपा भन्दा माओवादीले ३८ हजार चानचुन बढी भोट ल्याएको छ। तर मत परिणाम विभाजक सूत्रबाट हिसाब गर्दा माओवादीले १४ र रास्वपाले १३ सिट पाउने देखिन्छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट पाउनेछ।

तराई मधेश केन्द्रित दुई पार्टी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीबीच २६ हजार चानचुन मत अन्तर छ। तर मत परिणाम विभाजक सूत्रबाट हिसाब गर्दा दुवै पार्टीले समान ५-५ सिट पाउने देखिएको छ।

माधव नेपालको ‘कलम’लाई थोरै ‘मसी’ पुगेन

त्यतिबेला साना दलहरुको विरोधका बावजुद समानुपातिक निर्वाचन प्रणालीमा ३ प्रतिशतको थ्रेसहोल्ड राखिएको थियो। यसको सबैभन्दा ठूलो मार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई परेको छ। उनको पार्टीको कलम चुनाव चिह्न थोरै मतको अन्तरले समानुपातिकमा सिट पाउनबाट वञ्चित भयो।

सोमबार मध्याह्नसम्म उनको पार्टीले २ लाख ९४ हजार ५०४ मत पाएको थियो। त्यसमा १८ हजार ९२८ थप मत पाएको भए थ्रेसहोल्ड कटाएर यो पार्टीले पनि समानुपातिकमा सिट पाउन सक्थ्यो।

यही अन्तिम हो ?

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सिट बाँडफाँटको हिसाब गर्न देशभरबाट खसेका सम्पूर्ण मतको एकीकृत हिसाब गर्नुपर्छ। यो निर्वाचन आयोगले सोमबार रातिसम्म आफ्नो वेबसाइटमा अपडेट गरेको तथ्याङ्कका आधारमा निकालिएको हिसाब हो। यसमा मत थपघट हुन बाँकी छ कि छैन प्रष्ट छैन। ठूलो संख्यामा मतगणना भइसकेकोले अहिलेको सम्भावित सिट संख्यामा खासै फरक हुने हामीलाई लाग्दैन।

हामीले यो गणना कसरी गर्‍यौँ ?

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० र अनुसूचि २ मा समानुपातिक सिटका लागि यस्तो प्रावधान छ-

मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक दलको लागि खसेको मतलाई भाग गर्ने पद्वतिले श्रृङ्खलावद्ध रुपमा भाग गरिनेछ । यस अनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरुले भाग गरिन्छ । (उदाहरण: १, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ । भागफल प्राप्त भएपछि सीट सङ्ख्याहरु ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै सीट नसकिँदासम्म बाँडफाँट गरिनेछ । यसरी बाँडफाँट गर्दा कुनै दलले जतिसुकै मत प्राप्त गरेको भए तापनि त्यस्तो दलले बन्दसूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही त्यस्तो राजनीतिक दलले प्राप्त गर्ने सीटको बाँडफाँट गरिनेछ ।

यही मतपरिणाम विभाजक सूत्र प्रयोग गरी समिर केसीले यो गणनाका लागि सघाएका हुन्।

हामीले यसअघि पहिलो संविधान सभा, दोस्रो संविधान सभा निर्वाचन र अघिल्लो निर्वाचनमा पनि यस्तो गणना गरेका थियौँ।

 

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme