Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समानुपातिक अपडेट : प्रतिनिधि सभाको समानुपातिकका ११० सिटमा कसको कति लाग्ने भयो भाग?

Posted on December 5, 2022December 5, 2022 by Salokya

समानुपातिक अपडेट (मंसिर १९, मध्याह्न १२ बजे)

प्रतिनिधि सभा निर्वाचन २०७९ अन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको सबै नतिजा आइसकेको छ। निर्वाचन आयोगको वेबसाइटमा भने यो ब्लग तयार पार्दासम्म दोलखा १ को परिणामको आधिकारिक घोषणा गरिएको छैन जहाँ माओवादी उम्मेदवारको अग्रता कायम छ। यसैलाई आधार मान्दा समानुपातिकतर्फको मतगणना पनि लगभग सकिएर केही हजार भोटको हिसाब अपडेट गर्न बाँकी भएको अनुमान गर्न सकिन्छ। हामीले यो हिसाब निकाल्दासम्म सोमबार मध्याह्न १२ बजे १ करोड ४ लाख २० हजार १२५ मतको अपडेट गरिएको छ। यस अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ ले गरेको व्यवस्था अनुसार हिसाब गर्दा समानुपातिकतर्फका ११० सिटमा कुन कुन दलको कति कति लाग्ने भयो त भाग?

सात पार्टीको सिट सुनिश्चित

कानुनले कूल सदर मतको ३ प्रतिशत मत ल्याए मात्रै समानुपातिकको सिट पाउने व्यवस्था गरेको छ। यस अनुसार थ्रेसहोल्ड कटाउन ३ लाख १२ हजार ६०४ मत आवश्यक हुन्छ। यदि यति मत नल्याएमा समानुपातिकको ११० सिटको भागवण्डाबाट त्यो पार्टी आउट हुन्छ। ती दलहरुले पाएको मतलाई सदर मत मानिन्न। अर्थात् ती मत बदर सरह हुन्छन्।

३ प्रतिशत भन्दा बढी मत ल्याउने दलहरु सात वटा छन्- एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी। अब यी सात दलले ल्याएको कूल मतलाई नै सदर मत मानिन्छ र हिसाब गरिन्छ।

हामीले गरेको हिसाब अनुसार यी सात दलमध्ये कसले कति सिट पाउँछन् त-

एमालेलाई सबैभन्दा बढी सिट

हाम्रो गणना अनुसार एमालेले सबैभन्दा बढी ३३ सिट पाउनेछ। एमालेभन्दा एक लाख चानचुन कम भोट ल्याएको कांग्रेसले एमालेभन्दा एक सिट कम ३२ सिट पाउनेछ।

माओवादी र पहिलो पटक चुनाव लड्दै गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दुवैले ११ लाख भोट ल्याएका छन्। रास्वपा भन्दा माओवादीले ३८ हजार चानचुन बढी भोट ल्याएको छ। तर मत परिणाम विभाजक सूत्रबाट हिसाब गर्दा दुवै पार्टीले समान १४-१४ सिट पाउने छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट पाउनेछ।

तराई मधेश केन्द्रित दुई पार्टी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीबीच २६ हजार चानचुन मत अन्तर छ। तर मत परिणाम विभाजक सूत्रबाट हिसाब गर्दा दुवै पार्टीले समान ५-५ सिट पाउने देखिएको छ।

माधव नेपालको ‘कलम’लाई थोरै ‘मसी’ पुगेन

त्यतिबेला साना दलहरुको विरोधका बावजुद समानुपातिक निर्वाचन प्रणालीमा ३ प्रतिशतको थ्रेसहोल्ड राखिएको थियो। यसको सबैभन्दा ठूलो मार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई परेको छ। उनको पार्टीको कलम चुनाव चिह्न थोरै मतको अन्तरले समानुपातिकमा सिट पाउनबाट वञ्चित भयो।

सोमबार मध्याह्नसम्म उनको पार्टीले २ लाख ९४ हजार ३६२ मत पाएको थियो। त्यसमा १८ हजार २४२ थप मत पाएको भए थ्रेसहोल्ड कटाएर यो पार्टीले पनि समानुपातिकमा सिट पाउन सक्थ्यो।

यही अन्तिम हो ?

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सिट बाँडफाँटको हिसाब गर्न देशभरबाट खसेका सम्पूर्ण मतको एकीकृत हिसाब गर्नुपर्छ। यो निर्वाचन आयोगले सोमबार मध्याह्नसम्म आफ्नो वेबसाइटमा अपडेट गरेको तथ्याङ्कका आधारमा निकालिएको हिसाब हो। यसमा केही हजार मत थपघट हुन बाँकी नै होला। तर ती थप मत सबै पार्टीमा बाँडिने हुनाले र ठूलो संख्यामा मतगणना भइसकेकोले अहिलेको सम्भावित सिट संख्यामा खासै फरक हुने हामीलाई लाग्दैन। यद्यपि तथ्याङ्कमा नाटकीय परिवर्तन आए केही सिट फेरबदल हुन सक्ने सम्भावना बाँकी नै छ।

हामीले यो गणना कसरी गर्‍यौँ ?

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० र अनुसूचि २ मा समानुपातिक सिटका लागि यस्तो प्रावधान छ-

मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक दलको लागि खसेको मतलाई भाग गर्ने पद्वतिले श्रृङ्खलावद्ध रुपमा भाग गरिनेछ । यस अनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरुले भाग गरिन्छ । (उदाहरण: १, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ । भागफल प्राप्त भएपछि सीट सङ्ख्याहरु ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै सीट नसकिँदासम्म बाँडफाँट गरिनेछ । यसरी बाँडफाँट गर्दा कुनै दलले जतिसुकै मत प्राप्त गरेको भए तापनि त्यस्तो दलले बन्दसूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही त्यस्तो राजनीतिक दलले प्राप्त गर्ने सीटको बाँडफाँट गरिनेछ ।

यही मतपरिणाम विभाजक सूत्र प्रयोग गरी समिर केसीले यो गणनाका लागि सघाएका हुन्।

हामीले यसअघि पहिलो संविधान सभा, दोस्रो संविधान सभा निर्वाचन र अघिल्लो निर्वाचनमा पनि यस्तो गणना गरेका थियौँ।

 

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme