Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सिके राउतको ‘लाउडस्पिकर’ले गर्‍यो समानुपातिकमा ‘इन्ट्री’, ठूला दलको सिट घट्यो (अपडेट : सोमबार मध्यरात)

Posted on November 29, 2022November 29, 2022 by Salokya

देशभर भइरहेको समानुपातिकतर्फको मतगणना अब अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले उपलब्ध गराएको आइतबार राति १० बजेसम्मको अपडेट अनुसार झण्डै ९५ लाख भोट गनिसकियो। १ करोड ९ लाख जति भोट खसेको भनिएको छ।

तपाईँहरुले हाम्रो समानुपातिक भोट अपडेट हेरिरहनुभएको भए याद गर्नुभएको होला, हरेक दिन केही लाखको संख्यामा मत गनिन्छ तर सिट संख्यामा भने थोरै मात्र हेरफेर हुन्छ।

तर आज भने पाँच सिटको हेरफेर भएको छ। यसको कारण हो सिके राउत नेतृत्वको जनमत पार्टी (लाउडस्पिकर चिह्न) ले थ्रेसहोल्ड कटाउनु।

समानुपातिकमा सिट जित्नका लागि कुनै पनि पार्टीले देशभर पाएको मतलाई एउटा निर्वाचन क्षेत्र जस्तै मानेर गणना गरिन्छ। हालसम्मको मतगणना अनुसार कसको कति सिट हुन्छ त ?

लाउडस्पिकरको इन्ट्री

यसअघि तराई मधेशमा प्रशस्त भोट रहेको उपेन्द्र यादवको जसपाले मात्र समानुपातिकमा सिट पाउने देखिएकोमा आजदेखि उनै यादवलाई पराजित गर्ने सिके राउतको जनमत पार्टीको इन्ट्री भएको हो।

यो पार्टीले प्रत्यक्षतर्फ एक सिट जितेको कारण समानुपातिकमा पनि सिट जितेपछि राष्ट्रिय पार्टी बन्नेछ। राष्ट्रिय पार्टी हुँदा राजनीतिक महत्त्वका साथै संसदमा एउटा संसदीय दलको कार्यालय सहित सांसदको सङ्ख्या अनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन्। त्यसबाहेक राष्ट्रिय मान्यता प्राप्त दलले पाएको मत अनुसार मतपत्रमा चुनाव चिन्ह पनि सबैभन्दा अगाडिबाट क्रमशः राखिन्छ।

ठूला दलको सिट घट्यो, जसपाको बढ्यो
नयाँ पार्टीको समानुपातिकमा इन्ट्री भएसँगै माथिल्लो सूचीमा रहेका चार पार्टीहरुको एक-एक सिट घटेको छ। यसअनुसार हिजोको अपडेटमा भन्दा एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको एक एक सिट घटेको छ।

यसअनुसार एमाले ३४, कांग्रेस ३२, राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादीको समान १४-१४ सिट रहेको छ।

राप्रपाको ७ सिट कायम रहेको छ भने जसपाको भोट संख्या बढेकोले उसको सिट पनि हिजोको भन्दा एक बढेको छ। अहिले उसको सिट ५ हुन पुगेको छ।

कलमले सिट पाउला?

माधव नेपाल नेतृत्वको ‘कलम’ले सिट पाउँछ कि पाउँदैन भन्ने चासो धेरैको रहेको छ। किनभने सत्तारुढ गठबन्धनमा सामेल यो पार्टीले प्रत्यक्षतर्फ १० सिट जितेको छ। तर समानुपातिकमा सिट नजिते यो राष्ट्रिय पार्टी हुन सक्दैन।

हाम्रो गणना अनुसार कलमले अहिलेसम्म सिट पाएको छैन।

किन ?

किनभने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार कूल सदर मतको तीन प्रतिशत मत ल्याउनेले मात्र समानुपातिक सिट पाउँछन्। तीन प्रतिशत भन्दा कम मत ल्याउनेको मत समानुपातिक सिटका लागि गणना हुँदैन। अर्थात् ती मत बदर सरह हुन्छन्। किनभने तीन प्रतिशत मत ल्याउनेको मात्र कूल मत गणना हुन्छ।

यस अनुसार यो ब्लग लेख्दासम्मको 94,86,586 मत गनिएकोमा उसले २.७६% मत ल्याएको छ। समानुपातिकमा सिट ल्याउने नजिक नजिक पुगे पनि यो पार्टीले देशभरका अन्य स्थानमा भएको मतगणनामा ल्याएको मत हेर्दा बाँकी प्रतिशत पुर्‍याउन सक्ने हो कि होइन, शंका छ।

हालसम्म समानुपातिकमा सिट पाउनेमा ७ वटा दल भएको छ। एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमतले बाहेक अरुले सिट पाउन सकेको छैन।

(नोट : यो नै अन्तिम हैन, अझै मत गन्न बाँकी नै छ। मत थपिएसँगै सिट संख्या हेरफेर हुनेछ। तर मतगणना लगभग सकिन लागेकोले अब त्यति धेरै फेरबदल हुने सम्भावना छैन। केही सिट तलमाथि हुनसक्छ।)

हामीले यो गणना कसरी गर्‍यौँ ?

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ मा समानुपातिक सिटका लागि यस्तो प्रावधान छ-

मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक दलको लागि खसेको मतलाई भाग गर्ने पद्वतिले श्रृङ्खलावद्ध रुपमा भाग गरिनेछ । यस अनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरुले भाग गरिन्छ । (उदाहरण: १, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ । भागफल प्राप्त भएपछि सीट सङ्ख्याहरु ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै सीट नसकिँदासम्म बाँडफाँट गरिनेछ । यसरी बाँडफाँट गर्दा कुनै दलले जतिसुकै मत प्राप्त गरेको भए तापनि त्यस्तो दलले बन्दसूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही त्यस्तो राजनीतिक दलले प्राप्त गर्ने सीटको बाँडफाँट गरिनेछ ।

यही मतपरिणाम विभाजक सूत्र प्रयोग गरी समिर केसीले यो गणनाका लागि सघाएका हुन्। यसमा गणना भएको मतको तीन प्रतिशतलाई हामीले थ्रेसहोल्ड मानेका छौँ।

हामीले यसअघि पहिलो संविधान सभा, दोस्रो संविधान सभा निर्वाचन र अघिल्लो निर्वाचनमा पनि यस्तो गणना गरेका थियौँ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme