Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

घण्टीलाई उछिन्दै माओवादी भयो तेस्रो, ‘रुख’ले खोस्यो ‘घण्टी’को थप एक सिट [समानुपातिक अपडेट : शनिबार राति १०]

Posted on November 26, 2022November 26, 2022 by Salokya

देशभर भइरहेको समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगले उपलब्ध गराएको शुक्रबार राति १० बजेसम्मको अपडेट अनुसार ७९ लाख भोट गनिसकियो। १ करोड ९ लाख जति भोट खसेको भनिएको छ।

यो हिसाबमा गणना गरी हेर्दा हिजोको हाम्रो अपडेट भन्दा एक सिटमात्र हेरफेर भएको छ। तर सबैभन्दा ठूलो परिवर्तन भने घण्टीलाई उछिन्दै माओवादीको हँसिया हथौडा तेस्रो हुन सफल भएको छ।

समानुपातिकमा सिट जित्नका लागि कुनै पनि पार्टीले देशभर पाएको मतलाई एउटा निर्वाचन क्षेत्र जस्तै मानेर गणना गरिन्छ। हालसम्मको मतगणना अनुसार कसको कति सिट हुन्छ त ?

माओवादी तेस्रो बन्न सफल

मतगणना सुरु भए लगत्तै प्रत्यक्ष र समानुपातिक दुवैमा माओवादीलाई उछिन्दै घण्टी तेस्रो भइरहेको थियो। तर पछि आफ्नो प्रभाव क्षेत्रहरुमा गणना सुरु भएपछि प्रत्यक्षमा माओवादीले घण्टीलाई उछिन्यो। समानुपातिकमा भने आज बल्ल माओवादीले घण्टीलाई उछिन्न सफल भएको हो।

पछिल्लो चार दिनको मतगणनामा समानुपातिकमा पहिलेको दरमा मत नआएकोले घण्टीको चार सिट घटिसकेको छ। हिजोको अपडेटमा भन्दा आज घण्टीले एक सिट गुमाएको छ र त्यसलाई बढी भोट ल्याएर आफ्नो पोल्टामा पार्न सफल भएको छ कांग्रेसले। यसअनुसार घण्टीको सिट आजसम्मको गणना अनुसार १४ हुने देखिन्छ। माओवादीको १५ सिट भने कायम छ। एक सिटले माओवादीले समानुपातिकमा घण्टीलाई उछिनेको छ।

त्यस्तै ठूला दुई दलहरुबीचको अन्तर पनि मात्र एक सिट छ। एमालेले ३५ सिट पाउनेछ भने कांग्रेसको ३४ रहेको छ।

कलमले सिट पाउला?

माधव नेपाल नेतृत्वको ‘कलम’ले सिट पाउँछ कि पाउँदैन भन्ने चासो धेरैको रहेको छ। एमाले अध्यक्ष केपी ओलीले त समानुपातिक मतगणनामा धाँधली गरेर अर्कैको भोट कलममा राख्न सक्ने षड्यन्त्र हुन सक्ने भनेर सामाजिक सञ्जालमै लेखेका छन्।

हाम्रो गणना अनुसार कलमले अहिलेसम्म सिट पाएको छैन।

किन ?

किनभने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार कूल सदर मतको तीन प्रतिशत मत ल्याउनेले मात्र समानुपातिक सिट पाउँछन्। तीन प्रतिशत भन्दा कम मत ल्याउनेको मत समानुपातिक सिटका लागि गणना हुँदैन। अर्थात् ती मत बदर सरह हुन्छन्। किनभने तीन प्रतिशत मत ल्याउनेको मात्र कूल मत गणना हुन्छ।

यस अनुसार हालसम्मको मतगणनाका आधारमा कलमले कूल गणना भएको मतको तीन प्रतिशत ल्याउन नसकेकोले कुनै सिट पाएको छैन।

समानुपातिकमा सिट पाउनेमा ६ वटा बाहेक अरु पार्टीको इन्ट्री हुन सकेको छैन। हालसम्म एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाले बाहेक अरुले सिट पाउन सकेको छैन।

(नोट : यो नै अन्तिम हैन, अझै धेरै ठाउँको मत गन्न बाँकी नै छ। मत थपिएसँगै सिट संख्या हेरफेर हुनेछ। तर मतगणना लगभग सकिन लागेकोले अब त्यति धेरै फेरबदल हुने सम्भावना छैन। केही सिट तलमाथि हुनसक्छ।)

हामीले यो गणना कसरी गर्‍यौँ ?

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ मा समानुपातिक सिटका लागि यस्तो प्रावधान छ-

मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक दलको लागि खसेको मतलाई भाग गर्ने पद्वतिले श्रृङ्खलावद्ध रुपमा भाग गरिनेछ । यस अनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरुले भाग गरिन्छ । (उदाहरण: १, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ । भागफल प्राप्त भएपछि सीट सङ्ख्याहरु ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै सीट नसकिँदासम्म बाँडफाँट गरिनेछ । यसरी बाँडफाँट गर्दा कुनै दलले जतिसुकै मत प्राप्त गरेको भए तापनि त्यस्तो दलले बन्दसूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही त्यस्तो राजनीतिक दलले प्राप्त गर्ने सीटको बाँडफाँट गरिनेछ ।

यही मतपरिणाम विभाजक सूत्र प्रयोग गरी समिर केसीले यो गणनाका लागि सघाएका हुन्।

हामीले यसअघि पहिलो संविधान सभा, दोस्रो संविधान सभा निर्वाचन र अघिल्लो निर्वाचनमा पनि यस्तो गणना गरेका थियौँ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme