Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब कसरी हुन्छ मतगणना ? यस्तो छ सात प्रक्रिया

Posted on November 20, 2022November 20, 2022 by Salokya

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत देशभर मतदान सकिसकेको छ। अब मतगणना कसरी हुन्छ त?

त्यसको प्रक्रिया यस्तो छ-

१) मतगणनाको सूचना

सबै ठाउँको मतपेटिका आएपछि निर्वाचन अधिकृतले मतगणना गर्ने स्थान, मिति र समय उल्लेख गरी सूचना प्रकाशन गर्छन्।

तर पुनः मतदान हुने भएमा त्यस्तो मतपेटिका मतगणनास्थलमा प्राप्त नभएसम्म अन्य मतदान केन्द्रको मतगणना हुँदैन।

मतगणना सरकारी कार्यालय वा सार्वजनिक भवनमा हुन्छ।

२) अलग अलग कोठामा मतगणना

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना एकै पटक गर्नुपर्दा अलग अलग कोठामा गरिन्छ। तर त्यसो गर्न नसकिए मतपत्र नमिसिने गरी एउटै कोठामा पनि गर्न सकिन्छ।

३) मतगणना प्रतिनिधि नियुक्त

मतगणनामा उम्मेदवार वा दलले प्रतिनिधि नियुक्त गर्न पाउँछन्। तर त्यसो गर्दा सम्बन्धित निर्वाचन क्षेत्र अन्तर्गतको गाउँपालिका वा नगरपालिकाकाको वडाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र लेखपढ गर्न जान्ने व्यक्तिलाई नियुक्त गर्नुपर्ने प्रावधान छ।

४) चार वटै मतपत्रको गणना एकै पटक

निर्वाचन अधिकृतले प्रतिनिधि सभा सदस्यतर्फ प्रत्यक्ष र समानुपातिक अनि प्रदेश सभा सदस्यतर्फ प्रत्यक्ष र समानुपातिक गरी चार वटै मतपत्रको गणना एकै समयमा गर्नुपर्ने प्रावधान छ। तर एकै पटक गर्न नसकिने अवस्था भएमा पहिले प्रतिनिधि सभा सदस्यको मत गनिनेछ। त्यसपछि प्रदेश सभाको गरिन्छ।

५) खन्याउने, देखाउने, गन्ने

मतगणनाको प्रक्रिया यस्तो हुन्छ- सबैभन्दा पहिला सुरक्षण सिल तोडी खोलिन्छ। त्यसपछि मतपेटिकामा रहेका सबै मतपत्र मतगणना गर्ने टेबुल वा स्थानमा खन्याइन्छ। अनि रित्तो भएको मतपेटका उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई देखाइन्छ।

मतपत्र खन्याउँदा एक भन्दा बढी मतदान केन्द्रका मतपत्रहरु एकै स्थानमा मिसाई मतगणना गरिन्छ।

मतपत्रहरु खोलेर निर्वाचन चिह्न भएको भाग घोप्ट्याएर राखिन्छ। त्यसपछि सुविधा अनुसार ५० वा १०० को ठेली बनाई धागो वा रबरले बाँधी राखिन्छ। प्रत्येक ठेलीबाट क्रमशः मत गनिन्छ।

६) पहिले बदर अनि सदर

ठेलीबाट बदर मत र अलग अलग निर्वाचन चिह्नको सदर मत छुट्याई सबैभन्दा पहिले बदर मतपत्रहरु गनिन्छ। त्यसपछि निर्वाचन चिह्न अनुसार सदर मत गनिन्छ।

७) अपडेट कसरी गरिन्छ ?

मतपरिणामको विवरण मतगणना फाराममा चढाइन्छ। मतगणना कार्यको प्रगति र नतिजाको विवरण एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली (IEIMS)मा इन्ट्री गरी आयोगमा पठाइन्छ। त्यसपछि सूचना पाटी, माइकको माध्यमबाट सर्वसाधारणलाई जानकारी गराउनु पर्ने प्रावधान छ।

निर्वाचन आयोगले आफ्नो वेबसाइटमा आधिकारिक रुपमा परिणाम अपडेट गर्नेछ। त्यसैगरी विभिन्न मिडियाले पनि अपडेट गर्नेछन्।

(यसमा प्रयोग भएका फोटोहरु पुराना हुन्)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme