Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मतदान सकियो, अब के हुन्छ? यस्तो छ मतगणना सुरु हुनुअघिका प्रक्रिया

Posted on November 20, 2022November 20, 2022 by Salokya

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य २०७९ अन्तर्गत आज देशभर मतदान निर्धारित समय अनुसार साँझ ५ बजे सकियो।

मतदान सकिएपछि के के हुन्छ त? निर्वाचन आयोगले तयार पारेको निर्देशिका अनुसार अब हुने प्रक्रिया यस्ता छन्-

मतदान गर्न तोकिएको समय समाप्त भएपछि मतदान अधिकृतले सो मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतपत्र रहेका सबै मतपेटिकाको मतपत्र खसाल्ने प्वाल बन्द गरी आयोगले उपलब्ध गराएको सुरक्षण सिल लगाउने छन्।

यसो गर्दा मुचुल्का तयार गरिनेछ र त्यस्तो मुचुल्कामा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको समेत सहीछाप गराउने छन्।

फाँटवारी बनाउने

मतदान अधिकृतले मतदानको काम समाप्त भएपछि मतपत्रको फाँटवारी तयार गर्छन्। फाँटवारी तयार गरेपछि सो फाँटवारीमा मतदान अधिकृतले सहीछाप गर्नु पर्नेछ र सो स्थानमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको समेत सहीछाप गराउने छन्।

यसो गर्दा प्रतिनिधि सभा तर्फ प्रत्यक्ष र समानुपातिक अनि प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिक छुट्टिने गरी तयार पार्छन्।

लाहाछाप लगाउने

मतदान अधिकृतले मतदान केन्द्रमा मतदानको काम समाप्त भएपछि कागजपत्र र मतपत्रहरू छुट्टाछुट्टै खाममा बन्द गरी लाहाछाप लगाउने छन्। मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिले समेत आफ्नो लाहाछाप लगाउन चाहेमा लगाउन दिइन्छ।

मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिले सहीछाप नगरेमा मुचुल्कामा सोही व्यहोरा जनाई मतदान केन्द्रमा उपस्थित अन्य दुई जना व्यक्तिको सहीछाप गराउनु पर्नेछ।

 

मतपेटिकासँगै आउन सक्ने

मतदानको काम समाप्त भएपछि मतदान अधिकृतले मतदान केन्द्रबाट मतपेटिका लिएर मतगणना हुने स्थानतर्फ जाँदा उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिहरू मतपेटिकाको सुरक्षाको लागि मतदान अधिकृतसँगै जान चाहेमा मतदान अधिकृतले आफूसँग आउन दिनु पर्ने व्यवस्था छ। त्यसैगरी मतपेटिका राखेको कोठा बाहिर बस्न चाहेमा बस्नको लागि अनुमति दिनु पर्ने व्यवस्था छ।

तर मतदान अधिकृतसँग आउने व्यक्तिलाई कुनै अवस्थामा पनि मतपेटिका समाउन वा छुन दिनु हुँदैन भनिएको छ।

मतपेटिका र मतदान सामग्री बुझाई भरपाई लिने

मतदान अधिकृतले सम्बन्धित मतदान केन्द्रबाट ल्याएका मतपेटिका, प्रयोग नभएका मतपत्र लगायतका खामबन्दी गरिएका कागजात, वितरण गर्न बाँकी रहेका मतदाता परिचयपत्र तथा निर्वाचन सम्बन्धी सम्पूर्ण सामग्रीको विवरण दुई प्रति तयार गरी सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउनु पर्नेछ।

सामग्री बुझाउँदा मतदान अधिकृतले मतदातालाई बुझाउन बाँकी मतदाता परिचयपत्र, परिचयपत्र बुझाएको भरपाई, आफ्नो पोलबुक र मतदाताको तथ्याङ्क फाराम सिलबन्दी नगरी निर्वाचन अधिकृतलाई बुझाउनु पर्नेछ।

मतपेटिका बन्द गरेको बिर्कोको सुरक्षणसिल चुँडिएमा

मतपेटिका ल्याउँदा बाटोमा मतपेटिकाको सुरक्षणसिल चुँडिएको देखिएमा मतदान अधिकृतले त्यसको प्रतिवेदन निर्वाचन अधिकृतलाई दिनु पर्नेछ र निर्वाचन अधिकृतले मतदान अधिकृतसँगै आएका उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिबाट समेत सो कुराको जानकारी वा प्रतिवेदन लिन सक्नेछ।

प्रतिवेदनबाट कसैको गफलतले मतपेटिकाको सुरक्षणसिल चुँडिएको होइन भन्ने कुरा प्रमाणित भएमा बाहेक मतपेटिकामा लगाएको सुरक्षणसिल जानाजानी चुँडाएको प्रमाणित भएमा वा आशंका लागेमा निर्वाचन अधिकृतले सो कुराको प्रतिवेदन तुरुन्त आयोगमा दिनु पर्नेछ र त्यस्तो अवस्थामा आयोगको निर्देशन बमोजिम गर्नु पर्नेछ।

मतपेटिका राख्ने तथा मतगणना गर्ने ठाउँको व्यवस्था गर्ने

निर्वाचन अधिकृतले मतदान अधिकृतले ल्याएका मतपेटिका बुझी लिनु भन्दा पहिले नै मतपत्र भएको मतपेटिका राख्ने ठाउँ तथा मतगणना गर्ने स्थानको आवश्यक सुरक्षाको प्रबन्ध मिलाउनु पर्नेछ। यसरी सुरक्षा प्रबन्ध मिलाउनको लागि निर्वाचन अधिकृतले स्थानीय प्रशासन र अन्य सुरक्षा निकाय समेतको सहयोग लिन सक्नेछ।

मतपेटिका सङ्कलन गर्ने

निर्वाचन अधिकृतले मतदान अधिकृतबाट प्राप्त मतपेटिका तथा अन्य निर्वाचन सामग्री बुझी लिन र त्यसको भरपाई गरिदिन आवश्यक कर्मचारी खटाउन सक्नेछ। यसरी कर्मचारी खटाउँदा सहायक निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारीलाई प्राथमिकता दिई खटाउनु पर्नेछ।

निर्वाचन अधिकृतले मतदान अधिकृतले बुझाएका मतपेटिका सङ्कलन गरी  एउटै कोठामा सुरक्षित राख्ने छन्। त्यसपछि मतगणनाको प्रक्रिया सुरु हुनेछ।

(यसमा प्रयोग भएका फोटो अघिल्लो निर्वाचनका हुन्)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme