Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मतदानको अघिल्लो दिन फेक स्क्रिनसटले हङ्गामा, यसरी सजिलै बनाउन सकिन्छ

Posted on November 20, 2022 by Salokya

मतदानको अघिल्लो दिन ‘प्रचण्डबाहेक अन्य माओवादी उम्मेदवारलाई भोट नहाल्न कांग्रेसले गोप्य सर्कुलर जारी गर्‍यो’ भन्दै सामाजिक सञ्जालमा सूचना भाइरल भयो।

खासमा त्यो मिथ्या सूचना थियो। तर सेतोपाटी, नयाँ पत्रिका जस्ता मिडियाको अनलाइनमा छापिए झैँ लाग्ने गरी स्क्रिनसट पनि त्यसमा राखिएको थियो।

झट्ट हेर्ने मान्छे एक पटक त झुक्किन बेर लाउँदैन थियो। त्यही भएर यस्ता स्क्रिनसट यति धेरै फैलिए कि हङ्गामा नै भयो।

मिथ्या सूचना र फ्याक्ट चेकबारे प्रशिक्षणको क्रममा मैले बारम्बार स्क्रिनसटहरुको भर हुँदैन, कसरी सजिलै यस्तो बनाएर झुक्याउन सकिन्छ भन्ने बारे पहिले फैलिएका केही उदाहरणसहित बुझाउने काम गरिरहेको हुन्छु।

तर ती उदाहरण यस पटक जस्तो यति व्यापक भएको थिएन।

यसपालि केही पत्रकारहरुले नै यी स्क्रिनसट फैलाएको देखियो। केही पत्रकार झुक्किएको पनि देखियो। एमालेसम्वद्ध प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले समेत फेसबुकमा यस्तो स्क्रिनसट सेयर गरेको भेटियो।

त्यसो त कुनै पनि पोस्टमा स्क्रिनसट बाहेक समाचारको लिङ्क नभएको देखेरै यो गलत हो भनेर थाहा पाउन सकिन्थ्यो। तर पनि झट्ट हेर्दा त हो जस्तो पनि लागिहाल्ने। योजनावद्ध रुपमा नै व्यापक रुपमा यस्ता स्क्रिनसट फैलाइयो।

त्यसैले त पार्टी आवद्ध पत्रकार संस्थाहरुमात्र हैन पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिलले समेत विज्ञप्ति निकाल्यो। अझ यतिले नपुगेर कांग्रेस र माओवादीको संयुक्त विज्ञप्तिसमेत निस्कियो। यसबारे फ्याक्ट चेक पढ्न छुटाउनु भएको भए यता क्लिक गर्नुस्।

कस्तो कस्तो फेक स्क्रिनसट फैलाइयो?

प्रेस चौतारीका अध्यक्षसमेत रहेका पत्रकार गणेश बस्नेतले आफ्नो फेसबुकमा शनिबार मध्याह्न ‘प्रचण्डबाहेक माओवादीका अन्य उम्मेदवारलाई भोट नहाल्न कांग्रेसको निर्देशन’ लेख्दै सेतोपाटीमा प्रकाशित जस्तो देखिने एउटा स्क्रिनसट सेयर गरेका थिए। पछि उनले यो समाचार सही हो कि होइन भनेर पोस्ट गरेको स्पष्टीकरण फेसबुकमा दिए। तर उनलाई थाहा भएन होला, फेसबुकमा स्टायटस सम्पादन गर्दा त्यसको जानकारी पनि त्यहाँ हुन्छ। हेर्नुस् एडिट हिस्ट्रीको स्क्रिनसट

त्यसैगरी प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश आचार्यले पनि यही स्क्रिनसटसहितको स्टायटस राखेका थिए। तर पछि उनले त्यो हटाए। उनले सेतोपाटीसँगै उज्यालोमा प्रकाशित समाचार जस्तो देखिने स्क्रिनसट पनि राखेका थिए।

नेकपा एमाले नाम भएको फेसबुक पेजले पनि यस्तै स्क्रिनसट राखेर माओवादीकै आधिकारिक मिडियाले लेखेको कसरी झुटो हुनसक्ला भनेर समेत लेखेको देखियो

नयाँ पत्रिकाको स्क्रिनसट

नयाँ पत्रिकाको झैँ देखिने स्क्रिनसटमा ‘माओवादीलाई भोट नदिन कांग्रेसको सर्कुलर आपत्तिजनक – प्रचण्ड’ शीर्षक राखिएको छ। सो समाचारमा कमलराज भट्टको बाइलाइन पनि देखिन्छ।

तर फेसबुकमा पत्रकार भट्टले याे समाचार नयाँ पत्रिकामा प्रकाशित नभएकाे, नलेखिएकाे भन्दै दुष्प्रचार राेक्न सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएका छन्।

उनले निर्वाचन आयोगमा निवेदन दर्ता गरी प्रेस काउन्सिल र साइबर ब्युरोलाई समेत बोधार्थ दिएको पनि फेसबुकमा जानकारी दिएका छन्। हेर्नुस् उनको निवेदन।

नेपाल पत्रकार महासंघ, नयाँ पत्रिका प्रतिष्ठानले पनि विज्ञप्ति जारी गर्दै सो शीर्षकको समाचार नयाँ पत्रिकाको अनलाइनमा प्रकाशन नभएको स्पष्ट पारेको छ।

हामीले नयाँ पत्रिकाको वेबसाइटमा र गुगलमा खोज्दा पनि यो शीर्षकको समाचार त्यसमा प्रकाशन भएको भेटेनौँ।

उज्यालोको स्क्रिनसट

त्यस्तै रुटिन अफ दार्चुला बन्द नामको फेसबुक पेज र अन्य विभिन्न फेसबुक प्रोफाइल र पेजहरुले उज्यालो अनलाइनको जस्तो देखिने स्क्रिनसट सेयर गरेका छन्, जसको शीर्षक ‘माओवादीले पाएका क्षेत्रमा अन्य अनुकूल उम्मेदवारलाई जिताउनु – कांग्रेस सर्कुलर (अडियो सहित)’ राखिएको छ।

हामीले उज्यालो अनलाइन र गुगलमा खोज्दा पनि  यो शीर्षकमा त्यसमा समाचार प्रकाशन भएको भेटेनौँ।

यसरी अनलाइनखबरको जस्तो देखिने अर्को स्क्रिनसट पनि भाइरल भयो।

प्रेस काउन्सिलले शनिबारै विज्ञप्ति जारी गरी केही सञ्चार माध्यमको मास्टहेड प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा अफवाहपूर्ण, दुष्प्रचारयुक्त, गलत एवं भ्रामक समाचार बनाई सामाजिक सञ्जालबाट सम्प्रेषण भएको भन्दै ती शीर्षकमा त्यस किसिमका कुनै समाचार ती मिडियाले सम्प्रेषण नगरेको जवाफ प्राप्त भएको उल्लेख गरेको छ। हेर्नुस् काउन्सिलको विज्ञप्ति।

नेपाल पत्रकार महासंघले पनि केही स्थापित सञ्चारमाध्यममा प्रकाशन नै नभएको विषय वस्तुलाई प्रविधिको दुरुपयोग गरेर प्रस्तुत गरी सामाजिक सञ्जालमा पोष्ट गरिएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हेर्नुस् महासंघको विज्ञप्ति

यस्तै नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयका मुख्य सचिवले शनिबार संयुक्त वक्तव्य जारी गर्दै नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा  (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरुमा प्रेषित सूचनाप्रति दुबै पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। विज्ञप्तिमा यसलाई यस्ता भ्रमपूर्ण  र मिथ्या सूचना भनिएको छ। हेर्नुस् विज्ञप्ति 

एमालेविरुद्ध पनि फेक स्क्रिनसट

एमाले नजिककाहरुले कांग्रेस-माओवादी गठबन्धनविरुद्ध लक्षित गरेर फेक स्क्रिनसट उत्पादन र वितरण गरेपछि एमालेविरुद्ध पनि त्यस्ता सामग्री देखिए। यद्यपि त्यो धेरै फैलिएको भने देखिन्न। यसैको एउटा उदाहरण हो यो सेतोपाटीमा छापिएको जस्तै देखिने नक्कली स्क्रिनसट।

त्यसैगरी यो अर्को सेतोपाटीको स्क्रिनसट पनि कमेन्टहरुमा देखिएको थियो जो एमालेविरुद्ध लक्षित छ-

हुँदाहुँदा गणेश बस्नेतले समेत आफ्नो अनलाइन जनताटाइम्सको फेक स्क्रिनसट आएको भन्दै कारबाही गर्न स्टायटस लेखेको पनि देखियो।

कसरी बन्छ यस्तो फेक स्क्रिनसट ?

धेरैले यस्तो स्क्रिनसटलाई फोटोसप गरेर बनाएको भन्ने गर्छन्। तर सम्बन्धित पेजबाटै पोस्ट भएको स्ट्याटस जस्तो देखिने गरी वा कुनै मिडियामा छापिए जस्तो देखिने गरी फेक स्क्रिनसट बनाउन फोटोसप नै गरिरहन जरुरी छैन। सामान्य एचटिएमएल जानेको व्यक्तिले वेब ब्राउजरबाटै सजिलै त्यस्तो नक्कली स्क्रिनसट बनाउन सक्छन्।

हेर्नुस् उदाहरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme