गत साउन महिनामा रवि लामिछाने आफ्नो नयाँ पार्टीको संगठन विस्तार गर्न नेपाल घुम्दै गर्दा विभिन्न जिल्लाको अवस्था हेरेर लेखिएको यो लेखको सम्पादित स्वरुप हिमाल खबरपत्रिकाको भदौ २०७९ अंकमा प्रकाशन भएको थियो। यहाँ क्लिक गरी हेर्न सकिन्छ। यहाँ त्यही लेखको पूरा अंश राखिएको हो। स्मरण रहोस्, यो साउनको माहौलमा लेखिएको सामग्री हो। त्यसपछि तीन महिनामा धेरै परिवर्तन भइसकेका छन्। पछिल्लो समयमा आएको उनको नागरिकता विवादबारे भ्याइए अर्को ब्लगमा लेखौँला।
***
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोक्ने निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै गरेको बेला नेपालगन्ज रंगशालामा बनाइएको मञ्चमा भाषण गर्न एक अधवैँशे पुरुषलाई डाकियो।
उनी कुर्सीबाट उठे। माइक अगाडि आए। र, भने- ‘नमस्कार, म रामबहादुर विश्वकर्मा।’
त्यसपछि लामो समय मौनता छायो। मुखबाट बोली नै फुटेन।
त्यहाँ भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रम चल्दै थियो। पछाडि बाँके जिल्ला भेलाको ब्यानर थियो तर मञ्चमा कुनै नेता बसेका थिएनन्। सहभागीहरुमध्येबाटै उद्घोषकले १० जनालाई मेरो परिकल्पनाको देश शीर्षकमा बोल्न तीन मिनेटको समय दिएका थिए।
आयोजक र सहभागीहरुले अनौठो मानेर आफूलाई हेरिरहेपछि उनी भक्कानिए। मौन वातावरणलाई चिर्दै अश्रुमिश्रित आवाजमा बोले, ‘मेरो देश यस्तो बनोस्, रवि लामिछाने जस्तो बनोस् !’
रामबहादुर विश्वकर्मासित रवि
‘यो धर्तीमा सबैभन्दा पाप गरिब भएर जन्मनु हो’, उनले अगाडि भने, ‘जो गरिब हुन्छ उसको यस्तो बनोस् उस्तो बनोस् भनेर अर्डर दिने हैसियत हुन्न।’
त्यही कार्यक्रमका अर्का सहभागी वक्ता बालकृष्ण चापागाइँले पनि भने, ‘रवि सरले जे परिकल्पना गर्नुभएको छ, मेरो देश त्यस्तै बनोस्।’
आफूलाई ‘गरिब’ भन्नेले समेत रविलाई गरेको यो ‘अन्ध-विश्वास’ उनको ‘नेतागिरी’ को होइन, टेलिभिजन प्रस्तोताका रुपमा बनाएको सेलिब्रिटी छविको उपज हो जसलाई उनले राजनीतिमा उपयोग गर्ने प्रयास गरिरहेका छन्।
राजनीतिमा सेलिब्रिटी
राजनीति र मिडियाको सम्बन्ध बारे अध्यापन गराउने प्राध्यापक जोन स्ट्रिटका अनुसार टेलिभिजनबाट राजनीतिमा ‘सेलिब्रिटी इन्फ्लुएन्स’ गर्न सजिलो हुन्छ। कारण, अरु माध्यमभन्दा बढी दर्शकसँग नजिक महसूस गराउने र जनताको मानवीय पक्षमा बढी केन्द्रित हुने यसको विशेषता।
अघिल्ला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प राजनीतिमा आउनु अघि टेलिभिजन रियालिटी सोहरु द अप्रेन्टिस र द सेलिब्रिटी अप्रेन्टिसका प्रस्तोता थिए। तर उनको कार्यकालले अमेरिकालाई कसरी विभाजित गर्यो, जगजाहेर छ।
विश्व नै प्रभावित हुने गरी रुससित युद्धमा होमिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सत्तामा पुर्याउने माध्यम पनि राजनीति वा नेतृत्वको कुनै अनुभव नभएर टेलिभिजन सिरिज नै हो। ट्रम्प त टिभी शो होस्ट मात्र नभएर व्यवसायी पनि थिए। नयाँ दल खोलेर नभई रिपब्लिकन पार्टीबाट उनले राजनीति थाले। तर सन् २०१५ मा प्रसारण सुरु भएको ५१ भागको सिरिज सर्भेन्ट अफ दि पिपुल यति लोकप्रिय भयो कि त्यही नामको पार्टी तीन वर्षपछि दर्ता गरियो। राष्ट्रपतिको भूमिकामा रहेका उनै कलाकार जेलेन्स्की नै राष्ट्रपतिका उम्मेदवार भए र चुनाव जिते।
छिमेकी देश भारतमा पनि टेलिभिजनको लोकप्रियतालाई भजाएर राजनीतिमा आएको उदाहरण देख्न सकिन्छ। ‘क्युँकी सास भी कभी बहु थी’ नामको टिभी सिरियलबाट चर्चित भएकी स्मृति इरानी कांग्रेस नेता राहुल गान्धीलाई अमेठीबाट पराजित गर्दै संसदीय चुनाव जितेर हाल केन्द्रीय मन्त्री छिन्।
पत्रकारिता गरेर राजनीतिमा आएर प्रधानमन्त्रीसम्म बनिसकेको उदाहरण हेर्न अन्त कतै जानै पर्दैन। दुई पटक प्रधानमन्त्री भएका नेपाली कांग्रेसका संस्थापक नेता स्व. कृष्णप्रसाद भट्टराई युवावस्थामा पत्रकार नै थिए। तर सेलिब्रिटी छविको उपयोग गर्दै नयाँ राजनीतिक दल नै गठन गरेर निर्वाचन लडेको इतिहास भने नेपालमा गतिलो छैन- तत्कालीन साझा पार्टीका रविन्द्र मिश्रले गर्दा। तर यस्तो महत्त्वाकांक्षी सोच रविलाई कसरी आयो?
‘अन्ध-विश्वास’
२०७३ सालको मंसिरदेखि उनले न्युज २४ टेलिभिजनमा चलाउन थालेको कार्यक्रम ‘सीधा कुरा जनतासँग’ ले छोटो समयमै उनलाई ‘अन्ध-विश्वास’ गर्नेको ठूलो जमात् खडा गरेको छ, जुन भर्चुअल रुपमा सामाजिक सञ्जालमा मात्र होइन, पार्टी घोषणापछि देशका विभिन्न सहरमा गरेका भेलाहरुमा पनि प्रत्यक्ष देख्न सकिन्छ।
ती भेलाहरु कुनै बेला राजनीतिक दलका सभा जस्ता नभएर सेलिब्रिटी हेर्न आएका भिड जस्ता देखिन्छन्। किनकि अधिकांश सहभागीहरु आफ्नो मोबाइलमा ‘रवि दाइ’सित सेल्फी खिच्न होडबाजी गरिरहेका हुन्छन्। ‘रवि दाइ’ को भाषण सुरु भएपछि कयौँ मोबाइलहरु उनको बोली कैद गर्न थाल्छन्। रातो र चन्द्र सूर्य गीतको रिमिक्स संस्करण स्पिकरमा घन्काएर सभास्थलमा ‘इन्ट्री मार्ने’ र भाषण सकिएपछि त्यही गीत घन्काउँदै राष्ट्रिय झण्डा मञ्चबाट हल्लाउँदै गर्दा तलबाट सहभागीहरुले हुटिङ गरेको दृश्यले राजनीतिक भेला म्युजिकल कन्सर्ट जस्तो पनि देखिन पुग्छ।
टेलिभिजन कार्यक्रमको जगबाट उनले सामाजिक सञ्जालमा पनि गतिलो पकड जमाएका छन्। नेपालमा धेरैले चलाउने फेसबुकमा उनलाई १० लाखभन्दा बढीले पछ्याउँछन् जुन प्रधानमन्त्री शेरबहादुर देउवाको भन्दा करिब ८ लाख, पूर्व प्रधानमन्त्री केपी ओलीभन्दा ७ लाख र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा ६ लाखले बढी हो।
सुर्खेतको सभा हलमा साउन १७ गते भएको यो पार्टीको कर्णाली प्रदेश भेलाका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका थिए। नयाँ बनेको यो हलमा खचाखच मान्छे भरिएका देखिन्थे। भेलामा सहभागी मध्ये एक, ८० वर्षका पदमलाल जैसीले रवि लामिछानेलाई टिभीमा हैन मोबाइलमा देखिरहेको भएर हेर्न आएको बताए।
उनको सेलिब्रिटी क्रेजको झलक २०७६ सालमा देखिएको थियो जब उनलाई शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतमा राखिएको थियो। त्यतिबेला देशका विभिन्न शहरमा उनको समर्थनमा प्रदर्शन भएका थिए। मर्नुअघि पुडासैनीले बनाएको भिडियोमा उनले लगाएका आरोपहरुलाईसमेत समर्थकहरुले वास्ता गरेनन्। यो अन्ध-विश्वास नै उनको ठूलो शक्ति हो, जसको उपयोग उनले राजनीतिमा उत्रन गरेका छन्। यसैको बलले निर्वाचनमा उनीविरुद्ध हुनसक्ने प्रोपगाण्डा निस्तेज हुनसक्छन्।
चितवनकै केसपछि एक दिन राजनीतिमा आउनु पर्छ भन्ने सोच बलियो बनेको रवि बताउँछन्। त्यसपछि नै नेता छान्ने रियालिटी शो ‘द लिडर’को घोषणा भएको थियो। यो कार्यक्रममा सहभागी हुने राम्रा सहभागीहरुलाई लिएर पार्टी दर्ता गर्ने उनको सोच थियो। तर कोरोना भाइरसको संक्रमणले लकडाउनका कारण यो कार्यक्रमको अडिसन नै हुन सकेन।
‘इथिक्स’ ले नबाँधिएका रवि
‘सीधा कुरा’ टेलिभिजनमा प्रसारण भएका ६ वर्षमा चार पटक सरकारको नेतृत्व परिवर्तन भयो। उनले अधिकांश कार्यक्रमको सुरुमा बोल्ने ‘मोनोलग’ मा नेताकै आलोचना हुन्थे। नेपाली समाजलाई सबैभन्दा छुने विषय – वैदेशिक रोजगारीको ठगी, विमानस्थल अध्यागमनको बेथिति अनि भ्रष्टाचारमा उनी आक्रामक भएर लागे। लाइभ अन्तर्वार्तामा झाँको झार्ने कामदेखि अलपत्र परेकाहरुको उद्दारसम्मका घटनाले नै उनलाई चर्चित बनायो। जनतालाई आफ्नो कुरा यही कार्यक्रममा आउँछ, आफ्नो समस्याको समाधान यही कार्यक्रमले गर्छ भन्ने विश्वास जित्न सफल भयो यो कार्यक्रम। समस्या समाधान हुने आशामा मान्छेहरुको भिड प्रहरी चौकीमा भन्दा बढी उनको अफिसमा देखिन थाले।
तर दर्शकमाझ रविको यो छवि पत्रकारिताको सीधा बाटोबाट भन्दा पनि इथिक्सको घेरा तोडेर बनेको हो। नत्र कुनै राष्ट्रिय टेलिभिजनको कार्यक्रम प्रस्तोताले ‘लाज पचेका नकचराहरूलाई टुँडिखेलमा राखी उडेर घुमाएर एक–एक किक हान्न मन छ, त्यो पनि नाकको डाँडी भाँचिने गरी’ भनेको इतिहास छैन। प्रेस काउन्सिलले सचेत गराउँदै पत्र पठाउँदा उनले जवाफ लेखेका थिए, ‘म पत्रकार होइन, भइसकेको छैन।.. अहिलेको अवस्थामा प्रेस पास लिनुभन्दा म यो पेशा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न पाए बरु गर्वको अनुभूति गर्नेछु।’
नियामक निकायलाई यो जवाफ उपयुक्त नभए पनि अन्ध समर्थकहरुले साइबर युद्ध छेडेरै उनको समर्थन गरेका थिए।
त्यही बिन्दास अनि निडर देखिँदै कार्यक्रममा जे पनि बोलिदिने उनको एकोहोरो प्रवचन, अतिथिलाई हप्काए जस्तो, थर्काए जस्तो गरी प्रश्न सोध्ने उनको शैलीलाई दर्शकले रुचाए।
यद्यपि आफ्नोसमेत हिस्सा राखेर सुरु गरिएको ग्यालेक्सी फोर के टेलिभिजनमा आएपछि भने उनको त्यो चर्को बोली केही मत्थर देखियो। पहिलो जस्तो ठाडो हैन कुटनीतिक भाषा उनको मुखबाट सुन्न थालियो। समग्रमा उनी ‘इथिक्स’मा बाँधिएको देखियो।
सामाजिक सञ्जालको भिडले उनलाई टिभीमा चिच्याएर मात्र हुँदैन, नेतृत्व लिन राजनीतिमा आउनु पर्छ भनेर माग गरेको अलि पहिलेदेखि नै हो। त्यसबाट पनि उनी प्रभावित भएको देखिन्छ। आफ्नो कार्यक्रम ‘सीधा कुरा’ले लोकप्रियताको शिखर चुम्दै गर्दा गर्दा राजनीतिमा आउनु पर्छ कि भन्ने सोच भएको रविले बताए। ‘स्थानीय तहको निर्वाचनमा काठमाडौँको मेयरमा उठौँ कि भन्ने सोच चाहिँ आएको थियो’, उनले भने।
तर उनले यसलाई गम्भीर रुपमा भने लिएका थिएनन्। आफ्नो गृहजिल्ला काभ्रेमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनको नतिजाले आफूलाई दल खोलेर राजनीतिमा आउन प्रेरित गरेको बताए।
स्थानीय तह निर्वाचन २०७९ मा स्थापित दलहरुलाई पराजित गर्दै देशका केही सहरमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। विशेष गरी काठमाडौँको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा बालेनको निर्वाचन प्रचारको नयाँ शैली र उनको जित धेरैका लागि अप्रत्याशित थियो। स्वतन्त्र उम्मेदवारको पक्षमा उभिएको यही जनलहरलाई देखेरै बालेन निर्वाचित भएको घोषणाको एक महिना नबित्दै रविले त्यही स्वतन्त्र शब्दलाई उपयोग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे। त्यसका लागि उनले आफ्नो नेतृत्वमा सुरु भएको ग्यालेक्सी फोरके टेलिभिजनलाई एक वर्ष पनि नपुग्दै राजीनामा दिएका थिए।
पत्रकारितामा इथिक्समा नबाँधिएर लोकप्रियता कमाए जस्तो राजनीतिमा सहज पक्कै हुने देखिन्न। तर पत्रकारितामा जसरी फरक शैलीमा उनी जनतासँग नजिक भए, त्यसरी नै राजनीतिमा पनि फरक गर्न सक्लान् ?
फेवातालमै सेट बनाएर कार्यक्रम चलाउने आइडिया उहिल्यै लगाएका उनले केही प्रयास भने गरेको देखिन्छ। उनको दलको कार्यक्रममा मञ्चमा नेतालाई राखिँदैन, सहभागीबाट छानिएका १० जनालाई राखिन्छ। उनीहरुको कुरालाई नेताले मञ्च मुनि बसेर सुन्छन्। कार्यक्रम निर्धारित समयमा घण्टी बजाएर सुरु गरिन्छ। राज्यको कुनै पनि तहको निर्वाचनमा उम्मेदवारीको टिकट प्राइमरी (साधारण सदस्यहरुको मतबाट) दिने, भ्रातृ संगठन र कार्यकर्तारहित पार्टी बनाउने उद्घोष पनि यो पार्टीले गरेको छ।
सुर्खेतमा सेल्फी खिच्नेको भीडले धकेलाधकेल हुँदा चुँडिएको एक सहभागीको चप्पल।
भीडबाट निर्देशित हुने कि भीडलाई निर्देशन गर्ने ?
सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरुले सामान्यतया भीडले रुचाउने विषय नै बोल्ने, देखाउने गर्छन्। कोरोना भाइरसको भ्याक्सिन नेपालमा बनेकोदेखि भूताहा घरसम्म- उनको कार्यक्रम सीधा कुराका धेरै एपिसोड त्यस्ता थिए। भ्युज बढ्नलाई सघाए पनि यसले सही कुरा पनि उठाउन नसक्ने र गलतको पक्षपोषण गर्ने खतरा हुन्छ। तर एउटा नेताले भीडको कुरा नसुनी सही र गलत बुझाएर आफ्नो एजेन्डामा डोर्याउने क्षमता राख्नु पर्छ। नेतृत्वको अनुभव त्यही भएर आवश्यक हुन्छ। आफूसित नेपालमा त्यस्तो कुनै नेतृत्वको अनुभव नभएको उनले स्वीकारे। तर अमेरिकामा हुँदा आफू कार्यरत संस्थामा ठूलै समूहको नेतृत्व गरेको र ग्राहकको समस्या समाधानको सीप आफूले विकास गरेको दावी उनको रह्यो।
गणतन्त्र र संघीयताको विरोध अहिले सामाजिक सञ्जालमा बढी हुने गर्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजेन्द्र लिङदेनको नेतृत्व भएपछि यही मुद्दा उठाएर उनी सामाजिक सञ्जालमा धेरै लोकप्रिय भइरहेका थिए। स्थानीय निर्वाचनभन्दा अघि रवि लामिछाने पनि राप्रपा प्रवेश गर्ने बारे छलफल भएको थियो। राप्रपाको पुरातन शक्ति र रविको सेलिब्रिटी छविको समागमले हजारौँको बलिदानपछि आएको व्यवस्थामा चुनौति थपिने सम्भावना हुन सक्थ्यो। तर स्थापित पार्टीमा प्रवेशको सहज बाटो छाडेर नयाँ पार्टी खोल्ने जोखिम मोलेबाट उनी भीडबाट निर्देशित नहुन खोज्ने प्रयास गरेको देखिन्छ। यद्यपि, गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा यो पार्टीको स्पष्ट धारणा अझै आएको देखिन्न। यसले सामाजिक सञ्जालको भिडले चाहेको भन्दा फरक विचार राख्न पार्टी डराएको पनि देखिन्छ।
वैकल्पिक राजनीतिमा आशा भएकाहरु संगठित भएको साझा (पछि विवेकशील साझा) पार्टीको नेतृत्व गरेका पूर्व सञ्चारकर्मी रवीन्द्र मिश्रले पनि यस्ता विषयमा सुरुमा प्रष्ट धारणा नराखेर पछि संघीयता खारेज गर्ने, राजतन्त्र राख्ने र धर्म निरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने धारणा राखेसँगै विवेकशील साझा छिन्नभिन्न भयो। स्थानीय तहको निर्वाचनमा समेत यसको प्रदर्शन बिर्सनलायक रह्यो।
राष्ट्रिय स्वतन्त्र पार्टीका भेलाहरुमा प्रवक्ता डा. मुकुल ढकाल यस्ता विषयमा पार्टीभित्रै विचार उठाउने अधिकार रहने र पार्टीभित्रै सुनुवाई हुने र पारित भएमा पार्टीको आधिकारिक एजेन्डा, नीति र विचार हुने बताउँछन्। तर यसले प्रमुख विषयमा स्पष्ट नभई जनतामा जाने र जनमत पाइसकेपछि बल्ल त्यस्तो विषयमा धारणा आउने भएकोले लामो संघर्ष र थुप्रैको बलिदानपछि आएको व्यवस्था संस्थागत नहुँदै धरापमा पर्ने खतरा हुन्छ।
पुराना दल र नेताहरुले अवस्था खराब हुनमा व्यवस्थाको दोष नभएको बुझाएर मात्र पुग्दैन, नयाँ ढंगबाट काम गर्ने वाचा गर्दै मतदातालाई आश्वस्त तुल्याउन नसके भिडको राजनीति हावी हुनसक्छ।
बज्ला त ‘घण्टी’ ?
सामाजिक सञ्जालको शक्ति यस पटकको स्थानीय तहको निर्वाचनमा देखियो। प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा यसको असर हेर्न बाँकी छ। यी निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष उम्मेदवार मात्र नभई देशभरबाट प्राप्त हुने मतका आधारमा समानुपातिक उम्मेदवार पनि निर्वाचित हुन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको शक्ति सामाजिक सञ्जालको मात्र होइन, यसका सभापति रवि लामिछानेले देशकै लोकप्रिय टेलिभिजन कार्यक्रमबाट हासिल गरेको सेलिब्रिटी क्रेज पनि हो। तर त्यो भोटमा परिणत हुन्छ कि हुँदैन भन्ने परीक्षण बाँकी छ। कूल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउन सक्यो भने समानुपातिक मतबाट यो पार्टीले संसदमा प्रतिनिधित्व गर्न पाउनेछ। अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीभन्दा बढी भोट ल्याए पनि थ्रेसहोल्ड कटाउन नसक्दा विवेकशील साझाले समानुपातिकमा कुनै सिट जित्न सकेको थिएन। यद्यपि ४ लाख ७० हजार भोट कटाउने मधेशकेन्द्रित दुई पार्टीले ६-६ सिट पाएका थिए। नयाँ पार्टी भनेर स्थापित दलहरुले बेवास्ता गर्दै गर्दा घण्टीले नसोचेको मत समानुपातिकमा ल्याएर आगामी संसदमा प्रतिनिधित्व गर्यो भने अनौठो हुने छैन। किनभने यस पटकको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुई वटा मत राख्न पाइन्छ।
तर, विद्यमान परम्परागत दल र त्यसका पुराना नेताहरुप्रतिको वितृष्णाले मतदाता विकल्प खोज्नेतिर लाग्छन् कि लाग्दैनन् भन्ने थाहा पाउन मंसिर ४ को निर्वाचन नै पर्खनु पर्ने हुन्छ।
चितवनमा चुनावअघि गरिएको कोणसभाको दृश्य
चितवन, झापा, धरान, विराटनगर, कास्की, धनगढी, सुर्खेत, नेपालगन्ज, दाङ र बुटवलमा भएका भेलाहरुमा भएका स्वस्फूर्त सहभागिताले आफूहरुको हौसला बढेको पार्टीका केन्द्रीय सदस्य दीपक बोहोरा बताउँछन्। ‘सामाजिक सञ्जाल र बाहिर गरिएका सामान्य प्रचारकै भरमा हामीले सोचेभन्दा बढी सहभागी भएर हलमा अट्ने स्थिति भएन’, उनले भने।
यी भेलाहरुमा कहिल्यै कुनै पार्टीका सदस्य नभएकाहरु समेत नागरिकता र मतदाता परिचयपत्रको नम्बरसमेत राखी फाराम भरी सदस्यता लिइरहेको दृश्य देख्न सकिन्छ। तर यस्ता सदस्यहरुको भोट मतपेटिकामा सोही पार्टीलाई खस्छ कि खस्दैन, मंसिरमा मतगणनापछि मात्रै थाहा हुनेछ। तर जसरी काठमाडौँमा बालेनलाई हलुका रुपमा परम्परागत दलहरुले लिए, त्यसरी रवि लामिछानेको पार्टीलाई लिने हो भने यस पटक उनीहरुले आफ्नो ठानेका भोट बैँकबाट थुप्रै भोट हराउने निश्चित छ।
रवि लामिछानेको सेलिब्रिटी क्रेजले भीड जम्मा भए पनि देखाउने उम्मेदवार र नेताको अभाव छ यो पार्टीमा। रवि टेलिभिजन प्रस्तोताका रुपमा जमे पनि नेताको नयाँ अवतारमा जम्न बाँकी नै छ। उनका भाषणहरु दमदार सुनिन्न।
‘टिभीमा बोल्न भन्दा भाषण गर्न गाह्रो रहेछ’, रवि स्वीकार्छन्, ‘टिभीमा दस्तावेज र फ्याक्टका आधारमा बोलिन्थ्यो, भाषणमा अमूर्त कुराहरु पनि बोल्नु पर्ने रहेछ। टिभीमा बोल्दा क्यामेरामा मात्र हेरे पुग्छ तर भाषणमा हलमा भएका सबैलाई हेरेर कनेक्ट हुनु पर्ने रहेछ, यसले निकै ऊर्जा खर्च हुन्छ।’
यसले देखाउँछ, रवि टिभीबाट राजनीतिमा आएर एउटा प्रयोग गर्दैछन्, दर्शक मतदाताका रुपमा नयाँ नेतालाई चुन्ने कि नचुन्ने अर्को प्रयोग गर्दैछ। यो प्रयोगले देशलाई फाइदा गर्ने हो कि बेफाइदा, जवाफ प्रयोगको नतिजा आइसकेपछि मात्र थाहा हुनेछ।
I have zero percent expectations from the leadership of Rabi in our politics. Politics is much more than seeking publicity and popularity which is his core strength. Like Mishra he too can pick the topic of popular public anger I wont be surprised if public seeking change pick him for a change and then make him winner. I used to watch The Apprentice and also used to like Trump [. Earlier, I could not understand why mainstream media in US were totally against him. It took me four years to understand the reality of height of his stupidity. Although, I am not an Americans but how a useless and stupid leader like Trump in US can affect our life here, made me realize the seasoned journalist farsightedness which I felt it during his time. However, I hope the local public will be much more wiser to pick a right leader for better future.
नेता जे, जस्तो आए पनि नेपाालीहरु सबैको चौतर्फी भलो भएको हेर्न चाहन्छन् । एउटा खराब नेताले जित्यो भने सबैको खराब र एउटा असल नेताले जित्यो भने सबैको असल हुन्छ । जो पहिलोचोटी चुनाजमा भाग लिइरहेका छन्, तिनीहरु ‘टेस्टेड’ छैनन्, समयकालसँगै तिनीहरु ‘टेस्ट’ त अवश्य हुन्छ नै । नेपाली जनताले फेल भएकाहरुलाई कदापि स्वीकार्ने छैनन् । सबै स्वतन्त्र उम्मेद्वारहरुलाई सफलताको शुभकामना छ । चेतना भया !