Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चुनावका लागि चार दिन सार्वजनिक विदा भनेर मिडियाले यसरी झुक्याए

Posted on November 16, 2022 by Salokya

के तपाईँले पनि कुनै मिडियामा वा सामाजिक सञ्जालमा मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सरकारले चार दिन सार्वजनिक विदा दिने निर्णय गरेको खबर पढ्नु भएको र त्यसलाई विश्वास गर्नुभएको छ ?

त्यसो हो भने तपाईँ भ्रममा पर्नुभयो।

खास कुरा त्यसो होइन। यस विषयमा नेपालफ्याक्टचेकले तथ्य जाँच गरिसकेको छ। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ। भएको के हो त ?

सरकारी मिडिया नै भ्रम फैलाउन अगाडि

सरकारी अखबार गोरखापत्रको अनलाइन संस्करणमा २९ कात्तिक २०७९ मंगलबार ‘निर्वाचनमा चार दिन बिदा दिने सरकारको निर्णय’ शीर्षकमा समाचार राखेको देखिन्छ।

समाचारमा मंसिर २ देखि ५ गतेसम्म चार दिन सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको दावी गरिएको छ।

माथि हेर्नुस् गोरखापत्रको अनलाइनमा प्रकाशित समाचारको स्क्रिनसट

त्यसैगरी अङ्ग्रेजी दैनिक दि राइजिङ नेपालको अनलाइन संस्करणमा पनि Govt. decides to grant four-day public holiday for elections शीर्षकमा समाचार राखिएको छ। हेर्नुस् अर्काइभ। 

यस्तै थाहा सञ्चार नेटवर्कमा आवद्ध देशका विभिन्न एफएममा एकसाथ प्रसारण हुने थाहाखबरले पनि निर्वाचनका लागि चार दिन सार्वजनिक विदा दिने सरकारको निर्णय भएको दावी गर्दै समाचार प्रसारण गरेको छ।

हाम्रा कुरा अनलाइनले भने सरकारले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर तीन दिन सार्वजनिक बिदा दिएको दावी गर्दै समाचार राखेको छ। हेर्नुस् अर्काइभ लिङ्क। 

सामाजिक सञ्जालमा अरु थुप्रै अनलाइनले पनि चार दिन सार्वजनिक विदा दिइएको दावी गरेका सूचना राखेका छन्।

सरकारी मिडियाले नै समाचार राखेपछि त हो भन्ने परिहाल्छ। सरकारले गरेको निर्णयको आधिकारिक सूचना सरकारी मिडियाबाट नपाए कहाँबाट पाउने ?

समाचार अनुसार त चार दिन सार्वजनिक विदा हुने भयो। सार्वजनिक भनेपछि सबै ठाउँमा विदा हुनु पर्ने भो। तर त्यसो रहेनछ।

खास कुरा यस्तो

हामीले यस विषयमा थप जानकारीका लागि गृह मन्त्रालयको आधिकारिक विज्ञप्ति खोज्यौँ। गृह मन्त्रालयको आधिकारिक वेबसाइटमा विज्ञप्ति राखिएको छ। हेर्नुस् अर्काइभ लिङ्क।

प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा मंसिर २ देखि ५ गतेसम्म अर्थात् चार दिन मतदानस्थल रहेका शिक्षण संस्था/विद्यालयमा (मात्र) विदा हुने उल्लेख छ।

सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा भने मतदानको दिन मंसिर ४ र त्यसको भोलिपल्ट मंसिर ५ गते दुई दिन सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। मंसिर ३ गते शनिबार परेकोले लगातार तीन दिन विदा हुने देखिन्छ।

समाचारहरुले चार दिन सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा हुने अर्थ आउने भए पनि यो सही होइन। सरकारले मंसिर २ गते मतदान स्थल रहेका शिक्षण संस्था/विद्यालयमा मात्र विदा हुने निर्णय गरेको हो। मतदान स्थल नरहेका शिक्षण संस्था/विद्यालयमा त्यो दिन विदा नहुने भएकोले त्यसलाई सार्वजनिक विदामा राख्न मिल्छ र? पक्कै पनि मिल्दैन।

गोरखापत्रको आचार संहिता विपरीत काम

गोरखापत्रले सुरुमा चार दिन सार्वजनिक विदाको समाचार राखिसकेपछि त्यसलाई पछि सच्याएर ‘निर्वाचनमा विद्यालय चार दिन बिदा दिने सरकारको निर्णय’ राखिएको छ।

गोरखापत्रमा सच्याइएको समाचार

पहिले गल्ती लेखेको भए सच्याउँदा त्यसको सूचना दिनु पर्ने भए पनि गोरखापत्रले सुटुक्क समाचार सच्याएर आचार संहिता विपरीत का गरेको छ। अहिलेको समाचारको हेडलाइन पनि भ्रामक नै छ। सरकारले सबै विद्यालयमा चार दिन विदा दिने निर्णय गरेको होइन। मतदान केन्द्र रहेका विद्यालयका हकमा मात्र यो लागू हुने हो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme