Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डिजिटल मतदानको नतिजा : घण्टी अगाडि, सूर्य दोस्रो र रुख तेस्रो

Posted on November 21, 2022November 21, 2022 by Salokya

त्यसो त इन्टरनेटमा गरिने मतदान र ब्यालेट बक्समा लगाइने स्वस्तिक छाप बीच अन्तर त हुन्छ नै। तर डिजिटल मतदान पनि मान्छेले नै गर्ने भएकोले यसले केही न केही संकेत त देखाउला नै, ठ्याक्कै यस्तै नभए पनि। नेपालभर प्रतिनिधि सभा र प्रतिनिधि सभाका लागि मतदान हुँदै गर्दा माइसंसार तपाईँले भोट हाल्न पाउनु भएको भए कुन चिह्नमा हाल्नुहुन्थ्यो शीर्षकमा एउटा डिजिटल मतदान खुला गरिएको थियो। उक्त मतपत्रमा देशभर प्रयोग गरिएको समानुपातिक तर्फको मतपत्रमा रहेका चुनाव चिह्नहरु नै राखिएको थियो। आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म कूल १२३९ ले मतदान गरे। यसको नतिजा यस्तो रह्यो।

कहाँबाट भोट ?

सबैभन्दा बढी भोट अर्थात् ७२८ भोट नेपालबाट आयो। त्यसैगरी अमेरिका दोस्रो, अस्ट्रेलिया तेस्रो रह्यो। यस्तै जापान, कोरिया, क्यानडा, जर्मनी, युएई, युके, डेनमार्क, कतार र भारतबाट पनि भोट गरिए। यी १२ देश बाहेक अरु केही देशबाट पनि मतदान गरिएका थिए।

आधाभन्दा बढीको रोजाई घण्टी

डिजिटल मतदानमा सहभागी मध्ये आधाभन्दा बढी अर्थात् ५४ प्रतिशतको रोजाई घण्टी अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टी थियो। दोस्रोमा भने नेकपा एमालेको सूर्य देखिएको थियो। सूर्यमा १४.४५% ले डिजिटल मतदान गरे।

गठबन्धन गरेर सत्तामा रहेको र चुनाव लडेको नेपाली कांग्रेसको रुख चुनाव चिह्नमा ११.४६ प्रतिशतमात्र मत पर्‍यो।

तेस्रो स्थानमा राप्रपाको हलो रहेको छ। गठबन्धन गरेर चुनावमा गएको माओवादी केन्द्रको हसिया हथौडा पाँचौँ नम्बरमा अर्थात् ६.३०% मत छ।

यदि साँच्चिकै यस्तै परिणाम समानुपातिकमा आएको भए यी पाँच पार्टीले मात्र तीन प्रतिशतको थ्रेसहोल्ड कटाउँथे र समानुपातिक सिट जित्थे।

डिजिटल मतदानमा माधव नेपाल नेतृत्वको कलम चुनाव चिह्नमा १.२१ % मात्र मत छ।

यो डिजिटल मतदानले नसमेटे पनि वास्तविक परिणाममा सिके राउत नेतृत्वको ‘हर्न’ छापले तराई मधेशमा राम्रै मत ल्याउने अपेक्षा छ। तर यो मतदानमा तीन भोट मात्र परेको छ। रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको ढकिया छापमा पनि राम्रै मत पर्ने अपेक्षा छ। तर यो डिजिटल मतदानमा दुई भोट मात्र परेको छ। यसले वास्तविक मतदानको नतिजालाई प्रतिबिम्बित पक्कै गर्ने छैन।

घण्टीको आकर्षण

डिजिटल मतदानमा घण्टीको आकर्षण देखिए झैँ वास्तविक मतदानमा पनि घण्टीको लहर देखिएको विभिन्न मिडियामा समाचार र एक्जिट पोल आएका छन्। यद्यपि समानुपातिकमा एक नम्बरमा नै घण्टी आउनु अपत्यारिलो हुनेछ। स्थापित दल र त्यसका नेताहरुप्रति देखिएको वितृष्णालाई घण्टीमा छाप हानेर खतराको घण्टी बजाउने देखिन्छ।

समानुपातिकमा पार्टी विभाजनका बावजुद एमाले दोस्रो स्थानमा साँच्चिकै आए पनि नआए पनि एमालेले यो चुनावमा आफ्नो शक्ति देखाउने निश्चित नै छ। एमालेबाट फुटेको एकीकृत समाजवादीले तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सक्ला? शंकै छ।

यो डिजिटल मतदानमा कांग्रेस तेस्रो स्थानमा देखिए पनि समानुपातिक मत साँच्चिकै त्यस्तो आउन असम्भव पनि छैन। किनभने रुखमा समानुपातिक भोट हालेर आरजु देउवा र मञ्जु खाँणलाई सांसद किन बनाउने भन्ने सेन्टिमेन्ट पनि सामाजिक सञ्जालमा देखिएकै हो।

यो चुनावले तेस्रो दलका रुपमा रहेको माओवादीको शक्तिलाई घटाउँछ त ?

वास्तविक मतगणनाको प्रतीक्षा गरौँ।

 

 

1 thought on “डिजिटल मतदानको नतिजा : घण्टी अगाडि, सूर्य दोस्रो र रुख तेस्रो”

  1. Narayan Manandhar says:
    November 22, 2022 at 8:01 am

    It will be interesting to have responses disaggregated by Nepal resident and non-Nepal resident, comparing them with actual outcome – to observe differences in reality vs. perception.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme