Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतमा नेपाली कुटिएको भन्दै भाइरल गरिएको भिडियोको वास्तविकता

Posted on October 16, 2022 by Salokya

के तपाईँले भारतमा नेपाली नागरिकलाई निर्ममतापूर्वक कुटियो लेखिएको एउटा भिडियो फेसबुकमा देख्नुभएको छ? भिडियोमा भारतीय भाषा बोल्दै नाङ्गै बनाई पाइपले जिउमा र पैतालामा भक्कुमार चुटेको देख्दा हेर्नेहरु भावुक हुन्छन्। १० हजारभन्दा बढी पटक सेयर भएको भएर यो भिडियो तपाईँको फेसबुक फिडमा पनि आइपुगेको हुनसक्छ।

तर नझुक्किनुस्, नेपाली नागरिक भन्दै भाइरल गरिए पनि नेपाल फ्याक्ट चेकको तथ्य जाँचमा यो घटना भारतको राजस्थानमा भएको सही भए पनि कुटिएका व्यक्ति नेपाली नागरिक नभएर भारतकै भएको खुलेको छ। यो सम्बन्धी तथ्य जाँच पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ। थप जानकारीसहितको ब्लग तल प्रस्तुत छ-

कसले गर्‍यो भाइरल ?

दुनिया नामको फेसबुक पेजले ‘भारतमा एक नेपाली यसरी कुटिए भनेर यो भिडियो अहिले जताततै सामाजिक सञ्जालमा देखिएको’ दावी गर्दै शनिबार राति १० बजे यस्तो पोस्ट गरेको थियो। हेर्नुस् स्क्रिनसट तल-

भिडियोमा प्रस्तोताले भनेको सुनिन्छ- ‘भारतमा एक नेपालीलाई कुटपिट गरिएको छ। केका लागि कुटियो र किन कुटियो भन्ने कुरा हामी बुझिरहेका छौँ।’

हामीले यो स्क्रिनसट लिँदा तीन घण्टाको अवधिमा यो पोस्टमा ५ हजार २ सय रियाक्सन, १ हजार ९ सय सेयर र ७३४ कमेन्ट थिए। सँगै पोस्ट गरिएको भिडियोमा एचटिभी लेखेको देखिन्छ। यसको फेसबुक पेजमा सुदूरपश्चिमको धनगढीबाट सञ्चालित ‘HTV Television को आधिकारिक फेसबुक पेज’ लेखिएको छ। र वेबपेज htvtelevision.com पनि उल्लेख छ।

टेलिभिजन भनेर नझुक्किनुस्

यसो हेर्दा सामान्य मानिस डोमेन नेममा टेलिभिजन देखेर झुक्किन सक्छन्। अझ भिडियोमा टेलिभिजनमा जस्तो समाचार पढ्ने मान्छे देखिएको र भिडियोमा ब्रेकिङ न्युज लेखेको देखिएपछि त टिभीबाटै यो समाचार आयो कि जस्तो लाग्न सक्छ।

तर होइन, डोमेन नेम टेलिभिजन राख्दैमा यो टेलिभिजन हुँदैन। टिभीमा जस्तो शैलीको ग्राफिक्स बनाउँदैमा यो टिभी समाचार हुँदैन।

कुनै पनि टेलिभिजनले यस्तो अपुष्ट समाचार राख्दैन। यो भिडियोमा प्रस्तोताले ‘भारतमा एक नेपालीलाई कुटपिट गरिएको छ’ भनेर ठोकुवा गरेको छ। यिनी नेपाली नै हुन् भन्ने के आधारमा भनियो, स्रोत के हो खुलाइएको छैन। अझ प्रस्तोताले ‘केका लागि कुटियो र किन कुटियो भन्ने कुरा हामी बुझिरहेका छौँ’ पनि भनेका छन्। के, किन, कहाँ, कसरी, कहिले नखुलीकन समाचार नै हुँदैन। त्यसैले यो समाचारको आवरणमा आफ्नो फाइदाका लागि रचिएको जालो हो।

यस्ता सामग्रीले कुनै देश वा समुदायविरुद्धको भावना भड्काउने जोखिम हुन्छ। त्यसैले यो सामान्य गल्ती होइन।

यसको वेबपेजमा सञ्चालकको नाम र नम्बर यसरी राखिएको छ-

 

आफैले राखेर जताततै सामाजिक सञ्जालमा भन्दै

दुनिया नामको यो फेसबुक पेजमा ‘जताततै सामाजिक सञ्जालमा भारतमा एक नेपाली कुटिएको’ भिडियो देखिएको दावी गरिए पनि हामीले फेसबुकमा खोज्ने क्रममा अरु तिर खासै यो भिडियो देखेनौँ। तर यही पेजले शनिबार दिउँसो २ बजेर ५१ मिनेटमा पनि यो भिडियो पोस्ट गरेको रहेछ। जुन भिडियो भाइरल भएको रहेछ। स्क्रिनसट हेर्नुस्। 

९ घण्टाको अवधिमा यो स्क्रिनसट लिँदासम्म यो भिडियोमा १५ हजार रियाक्सन देखिएको छ भने ९ हजार पटक यो सेयर भएको छ र यसमा ४ हजार कमेन्ट छन्।

के हो त साँचो कुरा ?

खासमा यो भारतीयले भारतीयलाई कुटेको भिडियो हो। थप जानकारी फर्स्ट इन्डिया न्युज राजस्थानको यो भिडियो समाचारमा छ-

फर्स्ट इन्डिया न्युज राजस्थानको भिडियो समाचार

समाचार अनुसार पिटाइ खाने व्यक्तिको नाम सुभाष चबरवाल हो। एक विवाहिता युवतीलाई फोन गरेर हैरान बनाएको आरोप लगाउँदै राजस्थानको नोहर, हनुमागनढमा स्थानीयले उनलाई कुटेका थिए। भिडियोमा स्थानीय संवाददाताले पिटाइ खाने युवक राजस्थानकै गाउँका बासिन्दा भएको बताएका छन्।

भिडियो ब्लर गरिएको भए पनि यसमा देखिएका दृश्य नेपालमा भाइरल भएको दृश्यसित मेल खाएको हामीले पायौँ। यो घटना भारतको राजस्थानको भएको थाहा पाएपछि राजस्थान कीवर्डसहित हालेर सामाजिक सञ्जालमा सर्च गर्ने क्रममा राजस्थानका भाजपा नेता लक्ष्मीकान्त भारद्वाजको भेरिफाइड ट्विटर ह्यान्डलबाट यही भिडियो सेयर भएको भेट्टायौँ। उनले पनि यो घटना भारतको राजस्थानको भएको उल्लेख गरेका छन्।

राजस्थान में जंगल राज की पराकाष्ठा , युवक को नग्न कर बुरी तरह मारा, बैखोफ होकर वीडियो बनाकर वायरल किया pic.twitter.com/JthGbR6iA0

— Laxmikant bhardwaj (@lkantbhardwaj) October 10, 2022

हेर्नुस् स्क्रिनसट। हेर्नुस् अर्काइभ

योबारे थप खोज्ने क्रममा हामीले भारतको दैनिक भाष्करको अनलाइनमा प्रकाशित यो समाचार भेट्टायौँ।

समाचारमा उल्लेख भए अनुसार यो घटना भारतको राजस्थानस्थित हनुमानगढ जिल्लाको गोगामेडी इलाकामा २९ सेप्टेम्बरमा भएको हो। पीडित २३ वर्षीय सुभाष त्यहीँको बडबिराना गाउँको बासिन्दा रहेको र मोबाइलमा विवाहित युवतीसँग कुराकानी गर्ने गरेको आरोपमा लुगा खोलेर कुटपिट गरिएको जानकारी त्यसमा दिइएको छ।

दैनिक भाष्करको अनलाइनमा प्रकाशित समाचारको स्क्रिनसट। हेर्नुस् अर्काइभ संस्करण

भारतको राजस्थानबाट सञ्चालित आपणी न्युजको अनलाइन संस्करणमा पनि भाइरल भएको भिडियोबारे समाचार छ।

उक्त समाचारमा पनि पिटाइ खाने युवक सुभाष राजस्थानकै बडबिराना गाउँ नजिकै बसोबास गर्ने उल्लेख छ।

महिलासित फोनमा कुरा गरेको आरोपमा २९ सेप्टेम्बरमा युवकलाई महिलाको गाउँ ढिलकीमा बोलाएर लुगा खोल्दै पाइपसमेतले कुटेको र त्यसको भिडियो खिचेर भाइरल गरिदिएको आपणी न्युजमा उल्लेख छ।

आपणी न्युजको समाचारको स्क्रिनसट। अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्

ल भो त अब, भारतमा भारतीयले भारतीयलाई कुटेको भिडियोलाई नेपालमा अर्कै प्रसंगमा किन भाइरल गर्नु ! यस्ता सामग्रीले तपाईँको भावनालाई उत्तेजित बनाउने भए पनि साँचो कुरा थाहा नपाई त्यसमा रियाक्ट, कमेन्ट र सेयर गर्दा गलत सूचना झन् फैलन जान्छ।

ट्विटरमा त आफूलाई अधिवक्ता तथा एउटा दलको बागमती प्रदेश कानुन तथा संसदीय मामिला विभाग प्रमुख बताउनेले  समेत नेपाली दावी गरेको यही भिडियो राख्दै मोदीलाई खबरदारी गर्दै वीर गोर्खालीको हात उठाउन नपरोस् लेखेर ट्विट गरेका रहेछन्। 

तथ्य जाँच

दावी : भारतमा एक नेपालीलाई निर्ममतापूर्वक कुटपिट गरियो। साथमा कुटपिट गरिएको भिडियो।

दावीकर्ता : दुनिया नामको फेसबुक पेज

तथ्य : भ्रामक सूचना । कुटपिट गर्दै गरेको भिडियो भारतको राजस्थानको हो। तर कुटाइ खाने व्यक्ति नेपाली नागरिक नभएर भारतकै राजस्थानको बडबिराना गाउँका सुभाष चबरवाल भएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme