माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्ततः यस पटकको चुनावमा चितवन छाडेर गोरखामा उम्मेदवार बन्ने भएका छन्। माओवादी केन्द्रको पदाधिकारीको बैठकले अध्यक्ष दाहाललाई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको समाचार आएका छन्। छोरीलाई दुई पटक मेयर निर्वाचित गराइसकेका र भर्खरै मात्र घर बनाएको प्रचार गरेका प्रचण्ड चितवन छाडेर बाबुराम भट्टराईले छाडेको गोरखा-२ मा किन उक्लने भए त?
चितवन जिल्लामा रहेका कूल तीन वटा मध्ये हाइप्रोफाइल उम्मेदवारका कारण चर्चामा रहने निर्वाचन क्षेत्र हो चितवन क्षेत्र नम्बर ३। पछिल्लो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षित क्षेत्र खोज्ने क्रममा यो निर्वाचन क्षेत्रलाई लिएका थिए। उनले आफ्नी छोरी रेणु दाहाललाई यही क्षेत्रका अधिकांश निर्वाचन क्षेत्र पर्ने भरतपुर नगरपालिकामा दोस्रो पटक मेयरमा जिताउन सफल भएका पनि थिए। पहिलो पटक मतपत्र च्यातेर कठिन जित निकाले पनि दोस्रो पटकको कार्यकालका लागि भने उनी सहजै विजयी भएकी थिइन्। यसका पछाडि त्यहाँ उनले गरेका विकास निर्माणको काम र यसका लागि छुट्याइएको बजेट प्रमुख कारणका रुपमा लिइन्छ।
संविधान सभाको पहिलो निर्वाचन २०६३ मा प्रचण्ड रोल्पा २ र काठमाडौँ १० मा निर्वाचित भएका थिए जसमा उनले काठमाडौँ १० रोजेर रोल्पा २ छाडेका थिए। तर २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा उनै प्रचण्ड काठमाडौँ १० मा कांग्रेसका लो प्रोफाइल नेता राजन केसीसित ८ हजार मतले पराजित भए।
दोस्रो संविधानसभाको निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट ९ सय २३ मतको झिनो अन्तरले जिते पनि बत्ती निभाएर मत गनेर उनलाई जिताइएको आरोप लाग्ने गर्छ (यता हेर्नुस्)
नयाँ संविधानमा दुई निर्वाचन क्षेत्रमा उम्मेदवार बन्न नपाइने भएपछि प्रचण्डले देउवाको डडेलधुरा र ओलीको झापा जस्तै स्थायी र पकड क्षेत्रका रुपमा चितवन बनाउन खोजेको भान हुन्थ्यो। यद्यपि उनी यो क्षेत्रबाट एक पटक मात्र निर्वाचित भएका थिए।
कास्कीमा जन्मिए पनि प्रचण्डको बाल्यकाल चितवनको शिवनगरमा बितेको हो। दोस्रो पटक कांग्रेससितको गठबन्धनमा प्रधानमन्त्री बनेपछि उनले चितवन लक्षित राजनीति गरे। सडक निर्माणका लागि ठूलो बजेट रकमान्तर गरे। क्लब र सहकारीलाई समेत बजेट छुट्याए। (यता हेर्नुस्)
चितवन ३ को इतिहास कस्तो?
चितवन ३ मा परम्परागत रुपमा प्रतिस्पर्धा नेपाली कांग्रेस र कम्युनिस्ट दलहरुकै हो। तर यसमा निर्वाचन अघि हुने गठबन्धन र निर्वाचनमा आउनले लहरले पनि प्रभाव पार्ने गरेको छ।
२०४८ : वाम गठबन्धनको प्रभाव
बहुदलीय व्यवस्था पुनर्स्थापनापछि भएको पहिलो निर्वाचनमा चितवन जिल्लामा वाम गठबन्धन भएको थियो। यस अनुसार तीन वटै क्षेत्रमा वाम गठबन्धनले विजय हासिल गर्न सफल भएको थियो भने सबै क्षेत्रमा नेपाली कांग्रेस निकट प्रतिस्पर्धी भएका थिए। वाम गठबन्धनका रुपमा चितवन १ मा एमालेका जागृतप्रसाद भेटवाल, चितवन २ मा नेकपा प्रजातान्त्रिकका भीमबहादुर श्रेष्ठ र चितवन ३ मा संयुक्त जनमोर्चाका अमिक शेरचन विजयी भएका थिए।
२०४८ को आम निर्वाचनको नतिजा
अमिक शेरचन संयुक्त जनमोर्चा (वाम गठबन्धन) २२,८९५
पृथ्वीमान गुरुङ (नेपाली कांग्रेस) १७,८०५
२०५१ को मध्यावधि : कांग्रेस विजयी
नेपाली कांग्रेसले सुविधाजनक बहुमत पाए पनि पार्टीको आन्तरिक किचलोका कारण पूरै अवधि सरकार चल्न सकेन। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद भंग गरेर मध्यावधि निर्वाचन गराए। देशभर कांग्रेसको शक्ति खस्किएर एमाले संसदमा सबैभन्दा ठूलो दल बने पनि चितवन जिल्लाका तीन मध्ये दुई क्षेत्रमा भने नेपाली कांग्रेसले जित हात पार्न सफल भएको थियो। यस पटक वाम गठबन्धन नगरेर तीन वटै क्षेत्रमा एमालेले उम्मेदवार उठाएको थियो तर चितवन २ मा मात्र काशिनाथ अधिकारीले कांग्रेसलाई हराउन सफल भए। जिल्लामा सबैभन्दा ठूलो अन्तरको विजय भने चितवन ३ मा भएको थियो।
२०५१ को मध्यावधि निर्वाचनको नतिजा
नेपाली काङ्ग्रेस डा. गङ्गाधर लम्साल २०,३२७
एमाले शैलेन्द्रकुमार पिया १५,१७७
राप्रपा कृष्णकुमार अधिकारी २,२०५
अन्य १,०१६
२०५६ : फेरि पनि कांग्रेसको पकड कायमै
मध्यावधि निर्वाचनले त्रिशंकु संसद जन्माएपछि तेस्रो शक्तिमा रहेको राप्रपाको साथ लिएर सरकार बनाउने र गिराउने खेल भयो र संसदीय व्यवस्थामा नै विकृति जन्माउने काम भयो। यस अवधिमा सुरुमा एमालेको अल्पमतको सरकारको नेतृत्व मनमोहन अधिकारीले गरे। नौ महिनामै त्यसलाई ढालेर कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री बने। एमालेले तेस्रो शक्तिका रुपमा रहेको राप्रपाका लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर देउवा सरकार ढाल्यो। कांग्रेसले राप्रपाका सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएर चन्द सरकार ढाल्यो। आलोपालो प्रधानमन्त्रीको सहमति अनुसार कांग्रेसका गिरिजाप्रसाद कोइराला पुनः प्रधानमन्त्री बने। उनकै नेतृत्वको सरकारले २०५६ सालको आम चुनाव गरायो। चुनावमा कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई आगामी प्रधानमन्त्रीको रुपमा निर्वाचन प्रचार गरेको थियो।
यही अवधिमा महाकाली सन्धीको विषयलाई लिएर २०५४ सालमा एमाले विभाजित भएर वामदेव गौतमको नेतृत्वमा राष्ट्रवादी धारका साथ माले गठन भयो।
२०५६ सालको चुनावमा पार्टी विभाजनको चोट भोगेको एमाले र राप्रपा दुवैको सिट संख्या घटेर नेपाली कांग्रेसले सुविधाजनक बहुमत ल्यायो। एमालेबाट टुक्रिएको मालेले एक सिट पनि जित्न सकेन।
चितवन जिल्लाका तीन वटै क्षेत्र पनि नेपाली कांग्रेसले नै जित्यो। चितवन ३ मा अघिल्लै सांसद डा. गंगाधर लम्साल विजयी भए।
२०५६ आम निर्वाचन नतिजा
नेपाली काङ्ग्रेस डा. गङ्गाधर लम्साल २३,२६५
एमाले नरबहादुर खाँड १४,४९९
माले शैलेन्द्रकुमार पिया ५,१६७
अन्य २,४४८
२०६४ : नयाँ शक्ति माओवादीको लहर
दोस्रो पटक बहुमत पाएको नेपाली कांग्रेस फेरि पनि आन्तरिक पार्टी द्वन्द्वमा त फँस्यो नै देश सशस्त्र द्वन्द्वमा पनि परिसकेको थियो। कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारविरुद्ध आफ्नै पार्टीका सांसदहरुले अविश्वास प्रस्ताव ल्याएर राजीनामा दिन बाध्य बनाएर गिरिजाप्रसाद कोइराला २०५७ सालमा पुनः प्रधानमन्त्री बने। यही बीचमा राजदरबार हत्याकान्ड भयो। माओवादी सशस्त्र द्वन्द्व चर्कँदै थियो। सेना परिचालन गर्ने प्रयास असफल भएपछि कोइरालाले राजीनामा दिए र शेरबहादुर देउवा दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भए। तर संकटकाल लगाउने कुरामा विभाजित भएपछि उनी पार्टीबाट त निश्कासित भए नै, नयाँ राजा ज्ञानेन्द्रले पनि असक्षम प्रधानमन्त्री भन्दै बर्खास्त गरे। कांग्रेस फुटाएर उनले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे।
सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन भने त्यसैको आडमा राजाले प्रत्यक्ष शासन हातमा लिए। दलहरु त्यसको विरोधमा थिए। माओवादी र सात दलबीच भएको सहमतिपछि २०६२/६३ को जनआन्दोलन भयो र लामो सकसका बीच संविधानसभाको निर्वाचन भयो।
आठ वर्षपछि नेपाली जनताले मतदान गर्न पाएका थिए। चुनावमा नयाँ शक्तिका रुपमा माओवादीको लहर आएको थियो। त्यही लहरले माओवादीलाई संसदको पहिलो शक्तिका रुपमा स्थापित गर्यो।
अघिल्ला चुनावभन्दा यो चुनाव यसकारण पनि फरक थियो कि नेपालमा पहिलो पटक समानुपातिक निर्वाचन प्रणाली पनि लागू भएको थियो।
अघिल्ला संसदीय निर्वाचनमा २०५ सदस्य मात्र हुन्थे भने यस पटकको निर्वाचनका लागि प्रत्यक्ष तर्फ २४० र समानुपातिक तर्फ ३३५ निर्वाचित हुन्थे। मनोनीतसमेत गरी ६०१ सदस्यको संविधान सभा थियो।
यही अनुसार चितवन जिल्लामा पहिलेका तीन निर्वाचन क्षेत्रको ठाउँमा पाँच निर्वाचन क्षेत्र बनाइएको थियो। नयाँ शक्तिका रुपमा माओवादीको लहरले जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो। चितवन १ मा मात्रै एमालेका लालमणि चौधरी जित्न सफल भए।
चितवन २, ३ र ४ मा कांग्रेस दोस्रो भयो।
निर्वाचनमा वाम गठबन्धन भएको थिएन। एक्लै लड्दा पनि एमाले चितवन ५ मा दोस्रो भएको थियो।
क्षेत्रगत विभाजनका कारण हालको चितवन ३ मा त्यतिबेलाको चितवन ३ र चितवन ५ का केही क्षेत्र पर्छन्।
२०६४ मा चितवन ३ को नतिजा
माओवादी नारायणप्रसाद दाहाल १७,८०४
नेपाली काङ्ग्रेस मैयादेवी श्रेष्ठ ११,८०२
एमाले देवीप्रसाद ज्ञवाली ८,६९०
माले खेमनाथ रेग्मी १,९०१
अन्य १,६५०
२०६४ मा चितवन ५ को नतिजा
जनमोर्चा नेपाल अमिक शेरचन १४३९७
कांग्रेस नारायण शर्मा पौडेल ६८०५
राप्रपा विक्रम पाण्डे ५६८९
माओवादी अम्बिका मुडभरी ३३००
२०७० : माओवादी खुम्चिएर कांग्रेस-एमाले हावी
संविधान बनाउन नसकेर संविधान सभा भङ्ग हुने मात्र होइन बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछिको कालमा जस्तो पटक पटक सरकार बन्ने र ढाल्ने काम यो अवधिमा भयो। यो अवधिमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री भए। माओवादी यति धेरै बदनाम भए कि सर्वोच्च अदालतका प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गैरदलीय सरकार बनाएर भएको दोस्रो संविधान सभाको निर्वाचनमा माओवादी तेस्रो स्थानमा खुम्चन पुग्यो। कांग्रेस सबैभन्दा ठूलो दल बन्यो भने एमालेले पनि आफ्नो स्थान मजबुत बनायो। समानुपातिकबाट राप्रपा नेपालले समेत राम्रो उपस्थिति संविधान सभामा बनाउन सफल भयो।
चितवनका पाँच निर्वाचन क्षेत्रमध्ये अघिल्लोमा चार सिट जितेको माओवादी सून्यमा झर्यो। चितवन २ र चितवन ४ मा कांग्रेस, चितवन १ र ३ मा एमाले र चितवन ५ मा राप्रपाले जित्यो।
क्षेत्रगत विभाजनका कारण हालको चितवन ३ मा त्यतिबेलाको चितवन ३ र चितवन ५ का केही क्षेत्र पर्छन्।
२०७० मा चितवन ३ को नतिजा
एमाले कृष्णभक्त पोखरेल १५६६१
कांग्रेस भीमबहादुर श्रेष्ठ १३२४४
माओवादी नारायणप्रसाद दाहाल ९०८५
२०७० मा चितवन ५ को नतिजा
राप्रपा विक्रम पाण्डे १०८५८
एमाले दानबहादुर तामाङ ८४०६
जनमोर्चा नेपाल अमिक शेरचन ६५५५
२०७४ : वाम गठबन्धनको प्रभाव, कांग्रेस खुम्चियो
दोस्रो संविधान सभाबाट संविधान त बन्यो तर संक्रमणकालीन अवस्थामा फेरि सरकार परिवर्तन भए। सुरुमा सुशील कोइराला नेतृत्वमा कांग्रेस-एमाले गठबन्धन सरकार बन्यो। संविधान बनिसकेपछि केपी ओली नेतृत्वमा सरकार बन्यो भने त्यसपछि प्रचण्ड अनि शेरबहादुर देउवा नेतृत्वको। भारतीय नाकाबन्दीका कारण केपी ओलीको राष्ट्रवादी छवि लोकप्रिय हुँदै थियो। देउवा नेतृत्वको गठबन्धन सरकारमा रहँदारहँदै माओवादी एमालेसँग पार्टी एकतासमेत गर्ने गरी गठबन्धन गरी निर्वाचनमा जाने भयो। देशै भर वाम गठबन्धनले उत्साहजनक मत ल्याउँदा कांग्रेस खुम्चियो।
चितवनका निर्वाचन क्षेत्र फेरि तीन वटामा सीमित भयो। यस पटक जिल्लाका तीन क्षेत्रमध्ये तीन वटैमा वाम गठबन्धन (एमाले-माओवादी) हावी भयो।
मत अन्तर साह्रै फराकिलो भए पनि वैकल्पिक शक्तिका रुपमा चर्चामा आएको विवेकशील साझा अरु स्थापित दलहरुलाई पछि पार्दै दुई वटा निर्वाचन क्षेत्रमा तेस्रो भएको थियो भने एउटामा चौथो।
चितवन ३ मा एमालेसित गठबन्धन गरी माओवादी अध्यक्ष प्रचण्ड उठेका थिए भने कांग्रेसले राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई समर्थन गरेको थियो।
नतिजा यस्तो रह्यो-
माओवादी पुष्पकमल दाहाल (प्रचन्ड) ४८२७६
राप्रपा प्रजातान्त्रिक (राप्रपाबाट टुक्रिएको दीपक बोहरा नेतृत्वको पार्टी) विक्रम पाण्डे ३८९३५
माले डम्बर श्रेष्ठ १५८७
विवेकशील साझा शरदराज पाठक ४४१
कुन- कुन ठाउँ पर्छ यो क्षेत्रमा ?
२०७४ सालमा निर्वाचन क्षेत्र निर्धारण आयोगले संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० निर्वाचन क्षेत्र निर्धारण गरेको थियो। यो व्यवस्था आगामी २० वर्षसम्मका लागि हुनेछ।
यसअनुसार चितवन जिल्लाले संघीय संसदका लागि ३ सिट र प्रदेश सभाका लागि ६ सिट पाएको छ।
विवरण यस्तो छ-
यी स्थानीय तहमा दुई पटक स्थानीय निर्वाचन भएको छ। त्यसमा प्राप्त मत यस्तो छ
भरतपुर महानगरपालिका : तेस्रो शक्ति माओवादी
भरतपुर महानगरपालिकामा परम्परागत शक्तिका रुपमा कांग्रेस र एमाले रहेको छ भने माओवादी तेस्रो शक्तिका रुपमा रहेको छ। खस्कँदै गए पनि राप्रपाको प्रभाव त्यहाँ छ। तेस्रो शक्तिका रुपमा रहे पनि माओवादीले कांग्रेससँग गठबन्धन गरी मेयर जित्दै आएको छ।
गठबन्धन गरेर मेयर माओवादीले जिते पनि अघिल्लो निर्वाचनमा यस क्षेत्रमा परेका १९ वटा वडाहरुमध्ये तीन वटा वडामा मात्रै माओवादीले जित्न सकेको देखिन्छ। धेरै जनसंख्या भएका १० वटामा वडाहरुमा कांग्रेस विजयी भएको छ भने ६ वटा वडामा एमाले।
धेरै वडाहरुमा मतदाताहरुले अघिल्लो पटक जुन पार्टीलाई चुनेका हुन्, त्यही पार्टी चुनेका देखिन्छन्। यस पटकको स्थानीय तहको निर्वाचनमा गठबन्धन संस्कृति मौलाएका कारण मतदाताहरुलाई धेरै च्वाइस पनि नभएको देखिन्छ। कतिपय वडामा कांग्रेस र एमालेका मात्रै उम्मेदवार थिए।
माओवादी तीन वटा वडामै सीमित रहेको छ भने पार्टी फुट र गठबन्धनका कारण एमाले ६ बाट ३ वडामा सीमित भएको छ। एमालेबाट फुटेको एकीकृत समाजवादीले २ वटा वडा जितेको छ। कांग्रेसले १० वटा र विद्रोही कांग्रेसले १ वटा वडा जितेको छ।
माडी नगरपालिका : राप्रपाको प्रभाव
माडी नगरपालिकाका सबै वडाहरु चितवन ३ अन्तर्गत पर्छन्।
मादीमा परम्परागत शक्तिका रुपमा कांग्रेस, एमाले, माओवादी र राप्रपा रहँदै आएका छन्। भरतपुरमा भन्दा २०७० मा विक्रम पाण्डेले निर्वाचन जितेको क्षेत्र समेत रहेको मादीमा राप्रपाको प्रभाव ज्यादा छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयरमा एकदमै झिनो मतको अन्तरले माओवादी, एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो भने राप्रपाको पनि उल्लेखनीय मत थियो। यस पटक गठबन्धन बनाएर प्रतिस्पर्धा गर्दा राप्रपासितको गठबन्धनको भरमा एमालेले मेयर जिते पनि राप्रपाले उपमेयर जित्न सकेन। वडागत नतिजामा भने अघिल्लो पटक कुनै वडा जित्न नसकेको राप्रपाले यस पटक दुई वटा वडा जित्न सफल भयो।
वडागत रुपमा कांग्रेस मादीमा कमजोर छ। अघिल्लो चुनावमा एउटा वडामात्रै जितेको कांग्रेसले यस पटक कुनै वडामा वडाध्यक्ष जित्न सकेन।
माओवादीले कूल चार वटा वडा जित्यो भने माओवादीसितको गठबन्धनमा समाजवादीले दुई वटा वडा जितेको छ। अघिल्लो पटक पाँच वटा वडा जितेको एमाले भने यस पटक एक वडामा सीमित भयो।
प्रदेश सभाको मतपरिणाम
प्रदेश सभा अन्तर्गत चितवन ३ मा दुई सिट रहेको छ। २०७४ को प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनका रुपमा एमाले र माओवादीले तालमेल गरेका थिए। भरतपुर महानगरपालिकाका केही वडामात्र रहेको प्रदेश सभा अन्तर्गत चितवन ३ (क) मा एमाले २४,८७५ मत ल्याई विजयी भयो। निकट प्रतिस्पर्धीमा कांग्रेस २३०४५ र विवेकशील साझा ६३५ थियो।
त्यस्तै मादी र भरतपुर महानगरपालिकाका केही वडा भएको चितवन ३ (ख) मा माओवादी २५०६१ मत ल्याई विजयी भयो। निकट प्रतिस्पर्धी कांग्रेस १५९४५, राप्रपा ४८४ र विवेकशील साझा ४३८ रह्यो। मादी नगरपालिकाको वडामा राप्रपाको प्रभावशाली उपस्थिति रहे पनि प्रदेश सभामा भने एउटा वडामा ल्याएको मत जति पनि प्रदेश सभाका उम्मेदवारले ल्याउन नसकेको देखियो।
गठबन्धनको भर नहुँदा प्रचण्ड पार लागे
चितवन ३ लाई प्रचण्डले आफ्नो सुरक्षित क्षेत्रका रुपमा राख्न खोजे पनि माओवादी यस क्षेत्रमा कसैसित गठबन्धन बिना जित्न नसक्ने स्थितिमा देखिन्छ। २०७२ को निर्वाचनमा प्रचण्डले एमालेसित गठबन्धन गरेर संसदीय निर्वाचन जितेको थियो भने स्थानीय तहको निर्वाचनमा कांग्रेससित गठबन्धन गरेर छोरी रेणु दाहाललाई मेयरमा जिताएको थियो।
कांग्रेसले पहिले जित्दै आएको इतिहास भएको यस निर्वाचन क्षेत्रमा कांग्रेस कार्यकर्ताहरुले २०७० सालदेखि गठबन्धनका नाममा कहिले राप्रपामा त कहिले माओवादीको चुनाव चिह्नमा भोट हाल्नु परिरहेको छ। यो असन्तुष्टिलाई विद्रोही उम्मेदवारको रुपमा पछिल्लो स्थानीय तहको निर्वाचनमा भूइँकटहर चिह्नका बागी कांग्रेस उम्मेदवारले क्यास गर्न खोजे पनि यसको फाइदा रेणु दाहाललाई नै भयो।
प्रचण्डलाई मन नपराउने एमाले, कांग्रेससहितको ठूलो तप्का त थियो नै, राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका टिभी प्रस्तोता रवि लामिछानेले पनि यही निर्वाचन क्षेत्रमा आँखा लगाइरहेका थिए। प्रचण्डलाई काठमाडौँ १० मा नचिनिएका राजन केसीले समेत हराएका थिए। त्यसैले चिनिएका अनुहारले हराउन नसक्ने भन्ने नहोला। त्यसैले आफूलाई असुरक्षित ठानी प्रचण्ड सुरक्षित स्थानको खोजीमा गोरखा पुग्नु पर्यो।
गोरखा कति सुरक्षित ?
चितवन छाडेर प्रचण्डले रोजेको गोरखा निर्वाचन क्षेत्र नम्बर २ चाहिँ कस्तो ठाउँ हो त ?
हालैको स्थानीय तह निर्वाचनमा गोरखाका ११ स्थानीय तहमध्ये ९ वटाको नेतृत्व माओवादीले जितेको थियो। २०७४ सालको निर्वाचनका बेला देशभर वाम गठबन्धनको लहर चलेको बेलामा गोरखा २ मा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार नारायणकाजी श्रेष्ठ पराजित भएका थिए। नयाँ शक्ति पार्टीबाट डा. बाबुराम भट्टराई यो क्षेत्रबाट विजयी भएका थिए। उनलाई नेपाली कांग्रेसले साथ दिएको थियो।
पहिलो संविधान सभा निर्वाचनमा भट्टराईले नै यहाँको चुनाव जितेका थिए। उनको जितको अन्तर सबैभन्दा ठूलो मध्ये एक थियो।
There should be a law or amendment on Constitution. An eligible person could take part in the election from only that constituency where he/she permanently resides hence from where the person received the CITIZENSHIP and/or where he/she registered to VOTE. Another amendment in the constitution needed is any kind of alliance should not be allowed between parties during the election. Rather this should be allowed only after the election to form a coalition government. Each party should battle election separately without any kind of alliance. Otherwise Democracy is meaningless. Lastly, all these corrupted politicians should be boycotted everywhere by the people.
गोरखा २ बाट ल्याइने मतपेटिका खोसिने र च्यातिने सम्भावना प्रबल!
प्रचन्ड, देउबा, ओली, झलनाथ, माधव, महन्त जस्ता नेताहरु चुनावी राजनीति छाडेर नँया पुस्तालाई अवसर र सल्लाह दिनेतिर लागे देशको भलो हुने हो| दश छोटो पद पाएर पनि अति भ्रष्ट, देश डुबाउने, नातेदार मात्र अघी सारने र असक्षम हुनेमा कमल थापा नम्बर वान, बिजय गच्छेदार, रामचन्द्रे, राजेन्द्र महतो, इश्वर पोखरेल आदि हुन| लोहनी, पशपती शमसेर, महत ब्रदर्सले पनि सन्यास नलिए छिट्टै मतदाताहरुले बाईबाई गरिदिनेछन|
यी महालालची, नातेदार र ठेकेदार बढावा गर्ने नाइके नेताहरुले देशलाई अझ भ्रष्ट पारे, कुशासन दिए| समानुपातिक शब्दलाई नै आफ्नो खल्तिको बोनस सरह ठानेर असमानुपातिक रुपमा दुरुपयोग गरेर संबिधान उदेश्य विपरित कार्य गर्दै आईरहेकाछन| तैपनी एमाले, काङ्रेस, माओवादी, असमाजवादी पार्टीहरुका अन्य नेताहरु मौन छन| नागरिक समाज, प्रबुद्द नागरिक र विज्ञहरु नबोलेर जितौरीको लाभांश लिने अपेक्षामा बसेका छन|
यी नेताहरुले स्वास्थ्य बीमा उँहाहरुकै खर्चमा अनिवार्य रुपमा गराउनुपर्नेछ| चुनावी राजनीतिबाट अलग हुनेमा बाबुराम भट्टराई र अष्टलक्ष्मीका असल उदाहरण स्वागतयोग्य छन|पदीय राजनीतिबाट पनि टाढा रहनुहोला| अन्यथा राज्यलाई बोझ बोकाएर ढुकुटीबाट यी महानुभवहरुका स्वास्थ्य उपचारका लागि अब उप्रान्त खर्च गर्नपाइने छैन| सुजाता कोइरालाको यो देशलाई के देन र योगदान छ र विगतमा उनलाई राज्यकोषबाट स्वास्थ्य उपचारका लागि लाखौं दिनपरो? आम जनताले स्वास्थ्य उपचार् गराउदा घरजग्गा बेचेर र ऋण काढेर खर्च गर्ने हुन| नेताहरुका पनि घर जग्गा छन, बैन्क ब्यालेन्स छन, छोराछोरी आफ्नतका सम्पत्ति छन, आर्थिक रुपले सम्पन्न र सक्षम छन| हुँदाहुँदै पनि राज्यलाई किन बोझ?
यी नेताहरुले पदमा रहदा वा नरहदा राज्यको कोषबाट कुनै पनि अवस्थामा खर्च गराउने छैन भनी वाचा गर्नपर्छ| छन कोही माईका लाल?
झलकराज
प्रचण्डलाई ससम्मान बिदा गरेर राजनैतिक सन्यास लिई बरीष्ट नेता बनेर बनाउने बाताबरण मिलोस, सत्तालिप्सा त्यागेर साधु बनेको राम्रो।
Manchhe marera sakti ma aaune manchhe kahile sadhu banla?