Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

झापामा हुँदै नभएको बाघले आतंक मच्चाएको त्यो समाचार..

Posted on September 17, 2022September 17, 2022 by Salokya

झापामा हात्ती आतंकबारे त समाचार निकै आउँछ। तर बाघ भेटिएको वा बाघले आतंक मच्चाएको खबर याद गर्नुभएको छ?

पक्कै छैन।

तर एक पटक झापामा बाघ भेटिएको समाचार आएको रहेछ। त्यो पनि सरकारी समाचार एजेन्सी राससमा।

हुँदै नभएको बाघ भेट्टाइदिने यो समाचार आउनुको पछाडिको कथा झन् रोचक रहेछ। अस्ति झापामा फ्याक्ट चेक बारे पत्रकारहरुसित अन्तर्क्रिया गर्न पुगेको थिएँ। त्यसमा उनीहरुले सुनाएका झापाली किस्सा रोचक थिए। त्यसैमध्ये एक थियो यो बाघे समाचार।

उनीहरुले सुनाए अनुसार भएको के रहेछ भने (यहाँ किस्सा सुनाउने र किस्साका पात्र पत्रकारहरुको नाम गोप्य नै राखौँ होला) एक जना राष्ट्रिय दैनिकका पत्रकारले आफ्नो पत्रिकामा पठाउने समाचार सुटुक्क कपि अनि पेस्ट गरेर अर्का पत्रकारले राससमा पठाउने रहेछन्।

दुवै पत्रकारले एउटै कम्प्युटर प्रयोग गर्ने रहेछन् कि त्यो कम्प्युटरमा दुवैको एक्सेस रहेछ वा के रहेछ कुरा बुझिएन। तर राष्ट्रिय दैनिकका पत्रकारले पठाउने समाचारको कम्प्युटरबाट फाइल खोलेर, चोरेर राससका पत्रकारले आफ्नो समाचार बनाउने रहेछन्।

ती राष्ट्रिय दैनिकका पत्रकार हैरान। जहिले पनि आफूले लेखेको समाचार राससमा पनि आउने।

एक दिन उसले झापाली बुद्धि लगाएछ। झापामा बाघ भेटिएको एउटा नक्कली समाचार सम्बन्धित अधिकारी, स्थानीय आदिको कोट सोट हालेर तयार पारेछन्। यसो पढ्दा सबै अङ्ग पुगेको सक्कली समाचार झैँ लाग्ने! त्यसपछि त्यो समाचारको फाइल डेस्कटपमै देखिने गरी राखेछन्।

राससका पत्रकारलाई त्यो समाचार नक्कली भन्ने के थाहा ! अरु बेला जस्तै समाचार कपि अनि पेस्ट गरेर राससमा पठाइदिए।

झापाबाट रिपोर्टरले पठाएको त्यो समाचारमा राससको डेस्कले कुनै शंका गरेनछ। अनि त के छ र, राससको बुलेटिनमा त्यो नक्कली समाचार छापिएछ। राससमा छापिएपछि राससका ग्राहकहरुले पनि झापामा बाघ भेटिएको समाचार राखिहाले।

अनि त्यसपछि के भयो त ? मैले जिज्ञासा राखेँ।

उनीहरुले भने अनुसार, वनका कर्मचारीले मैले त्यसो भनेको होइन भनेर खण्डन गरे। कहाँ झापामा बाघ भेट्टिनु ! तर त्यो हुँदै नभएको बाघ भेटिएको समाचार यत्तिकै गुपचुप भयो। सच्याउने, माफी माग्ने काम भएन।

रमाइलो लाग्यो मलाई यो कुरा। काठमाडौँ आएर झापामा बाघ भेटिएको बारे राससको कुनै समाचार छापिएको छ कि छैन भनेर गुगल गरेँ।

झापा र बाघ किवर्ड राखी सर्च गर्दा २०७४ सालका दुई वटा समाचार राससको क्रेडिटमा भेटियो।

एउटाको हेडलाइन थियो : झापाको गौरादहमा बाघ काे बिगबिगि, स्थानीय त्रस्रीत

अर्को ब्लास्ट टाइम्सको हेडलाइन थियो : झापाको गौरादहमा बाघका कारण स्थानीय त्रसित

समाचारको अर्काइभ लिङ्क हेर्न माथिकै हेडलाइनमा क्लिक गर्दा हुन्छ।

ठ्याक्कै यही समाचार हो कि होइन त यकिन थाहा भएन, तर समाचार पढ्दा त्यस्तै लाग्यो। यही समाचार भए पनि नभए पनि कम्ता रोचक छैन यो पनि पढ्दा।

समाचारको लिडलाइनमा नै लेखिएको छ- झापाको गौरादह नगरपालिका– ७ स्थित बैगुनधुराका विभिन्न स्थानमा एक महिना अघिदेखि ‘बाघ’ देखिन थालेको छ ।

दोस्रो लाइनमा वन कार्यालयका अधिकारीलाई कोट गरिएको छ- ‘केराबारीदेखि कुञ्जीबारी जाने सडक खण्डमा रहेको चिया बगान र किस्ने खोलाको धारमा रहेको झाडीमा बाघ देखिने गरेको सूचना आएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए।’

समाचारको तेस्रो लाइनमा आएर बाघ खासमा बाघै हो कि होइन भन्ने निश्चित नभई चितुवा पनि हुनसक्नेमा गएको छ- उनले भने, ‘‘एक महिनादेखि त्यहाँको चिया बगानमा बाघ देखिएको खबर आएकाले अनुसन्धान गरिरहेका छौँ । चितुवा पनि बाघजस्तै देखिने भएकाले त्यो बाघ नभई चितुवा पनि हुनसक्छ ।”

अन्तिम लाइनमा त वडाध्यक्षले बाघ समातेर सम्बन्धित निकायमा बुझाउने भनेका रहेछन्- सो क्षेत्रमा देखिएको बाघले क्षति गर्न थालेकाले वन कार्यालय, सीमा सुरक्षा बल, इलाका प्रहरी कार्यालयलगायतको टोलीले बाघ समाएर सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको गौरादह– ७ का वडा अध्यक्ष बलराम खरेलले जानकारी दिए ।

आफ्नै आमालाई रुखमा चढाएर फोटो !

पत्रकारहरुले सुनाएको अर्को किस्सा पनि रोचक थियो। एक जना राष्ट्रिय दैनिककै पत्रकारले आफ्नै आमालाई रुखमा चढाएछन् र तलबाट आफैले फोटो खिचेछन्।

त्यसपछि युवा विदेशिएपछि गाउँका वृद्ध महिलाले कसरी काम गरिरहेका छन् भन्ने बयान क्याप्सनमा राखी फोटो पठाएछन्।

अरुलाई त खासै थाहा भएन होला। तर फोटोग्राफरको नाम र फोटोकी महिला चिन्नेहरुले त चाल पाइहाले। त्यसपछि झापाका पत्रकारहरु माझ यो किस्सा पनि लोकप्रिय बनेको रहेछ।

1 thought on “झापामा हुँदै नभएको बाघले आतंक मच्चाएको त्यो समाचार..”

  1. krisn says:
    September 29, 2022 at 1:03 pm

    why no update sir???

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme