Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओलीको नगरमा झापाली साथीले झण्डै डुबाए, गफ भोलिपल्ट ‘भेरिफाइ’ गर्न निस्कँदा..

Posted on September 16, 2022September 16, 2022 by Salokya

पत्रकारहरुलाई फ्याक्ट चेकको बारेमा एउटा क्लास लिइदिनुपर्‍यो भनी झापाबाट निम्तो आएको धेरै समय भइसकेको थियो। यो हप्ता बल्ल समय मिलाइयो।

कार्यक्रम सकिएपछि भोलिपल्ट बल्ल फर्कने योजना थियो। त्यो रात आयोजक साथीहरुसँगै इलाममा बस्न जाने कि लामो समय भेट नभएका अर्कै साथीसँग दमकमा बस्ने- दुई विकल्प थियो। इलामको कन्याम अस्ति भर्खरै पनि गइसकेको हुनाले दमकै बस्ने एकल निर्णयमा लालमोहर लगाइयो। दमक- पूर्व प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र। अहिलेसम्म नघुमेको ठाउँ। साथी पनि फेरि सस्पेन्स, थ्रिलर कथा वा फिल्म हेर्नै नपर्ने गरी गफ सुनाउन खप्पिस ! सुन्न पनि रमाइलो ! पहिलो पटक दमक आएको, घुमाउनु पर्छ नि भनेकोले कामधाम पर सारेरै मेरो गाइड बन्न तयार भए साथी।

 

तर अप्ठेरो के पर्‍यो भने उज्यालोमै कार्यक्रम स्थल बुधबारेबाट बिर्तामोड हुँदै दमक आइपुग्दानपुग्दै अँध्यारो भइसक्यो।

म चाहिँ बिर्तामोडबाट दमक जाबो ३२ किलोमिटरको बाटो, खासै समय नलाग्ला भन्ठानिरा। केको नलाग्नु, ठाउँठाउँमा चार पाङ्ग्रे केही समय रोकिँदा झण्डै दुई घण्टा पो लाग्यो त। त्यो बीचमा सन्दीप लामिछाने किन निर्दोष भन्ने गफ कान पाकिने गरी सुन्नुपर्‍यो।

अँध्यारो भएर के भो त।  मैले साथीलाई भनेँ, ‘दमकको नाइट लाइफ देखाउनुस्।’

साथीले जवाफ दियो, ‘काठमाडौँ, पोखरा, धरान जस्तो नाइट लाइफ हुँदैन यहाँ, ७ बजे नै बन्द हुन्छ।’

तैपनि यसो दमक बजार रात्रि चमकधमक हेर्न चार पाङ्ग्रेमा हामी निस्कियौँ।

अँध्यारोमा यताउता देखाउँदै मलाई साथीले एउटा ठाउँमा पुर्‍यायो। गाडी सडक छेउमा राख्यो र सोध्यो, ‘तपाईँ सिक्किम जानुभा छ?’

‘अहँ छैन।’

‘सिक्किमकै स्टाइलमा यहाँ एउटा बजार बनाइएको छ’, दमक नगरपालिकाको वडा नम्बर ६ स्थित शंखधर साख्वाको शालिक रहेको ठाउँबाट अघि बढ्दै उनले भने, ‘यो नमूना पार्क र नमूना बजार हो।’

दायाँ-बायाँ घर र पसल। बीचमा साना रुखसहितको हरियाली। त्यसलाई बार बारेर दुवैतिर फर्किने गरी बस्ने कुर्सीहरु। सडक चाहिँ पिच होइन।

‘लगभग १७० मिटरको बाटोमा गाडी छिर्न नदिएर यस्तो पार्क बनाइएको हो’, साथीले गौरवका साथ सुनायो।

अहो, क्या गज्जबको काम गरेछन्। म दङ्ग परेँ। हाम्रो न्युरोड पनि यस्तो बनाउन पाए गजब हुन्थ्यो- म मनमनै सोच्दै थिएँ।

छेउछाउमा केही मोटरसाइकल रोकिएका थिए। त्यता आँखा डुलाएको देखेपछि साथीले भन्यो, राति भएकोले मोटरसाइकल राखेका, उज्यालोमा राख्न दिँदैनन्।

हुन पनि त्यहाँ सवारी निषेधित क्षेत्र लेखिएको थियो।

अहो, ओलीको निर्वाचन क्षेत्रमा गजबको काम गरेछन्। यो त काठमाडौँलाई पनि नमूना हुनसक्छ। यसबारे ब्लग लेख्नुपर्छ भनेर केही फोटो खिचेँ।

केपी ओलीले नै ७५ सालमा उद्घाटन गरेका रहेछन् यो पार्क। १ करोड ३५ लाखको लागतमा बनेको रहेछ यो पार्क।

त्यो रात अरु ठाउँ घुमेर फर्कियौँ।

भोलिपल्ट काठमाडौँ फर्कन एयरपोर्टतिर लाग्दै गर्दा मैले फेरि एक पटक उज्यालोमा यही ठाउँ हेर्न रहर गरेँ।

साथीले मलाई फेरि त्यही ठाउँ पुर्‍यायो।

धन्न म फेरि पुगेछु। नत्र झापालीको गफ सुनेर सबै कुरा पत्याइन्थ्यो।

त्यो नमूना पार्क हिजो रातिको जस्तो थिएन। त्यहाँ दुई तर्फी मोटरसाइकल आवतजावत त गरिरहेकै थियो, सिटी सफारी भनिने विद्युतीय रिक्सा पनि कुदिरहेकै थियो। राति जस्तो सडकमा निस्फिक्री हिँड्न पाइरहेको थिइनँ।

अहो, हिजो झापालीको गफ सुनेर भेरिफाइ गर्न फेरि नआएको भए त… सोच्दै मात्र थिएँ, एउटा सफारीले बाइकलाई हान्दिएछ। अनि दुई झापालीको त्यहीँ लफडा !

लायन्स स्तम्भ नजिकै सफारीले मोटरसाइकललाई हानेपछि भइरहेको विवाद

हैट, हिजो हावा गफ दिने ! भनेर साथीलाई भनेको, म पनि नआएको धेरै भयो- पहिले चलाउन दिन्न थियो, अहिले चलाउन थालेछन् पो भन्छ त।

त्यसपछि उसैले फेरि गफ दिन थालिहाल्यो, झापाली न पर्‍यो ! भन्दै थियो- कन्सेप्ट त राम्रो हो, तर टिकाउन सकेनन्। नेपाली हो नि !

गाडी छिराउन दिँदैन भनेर राति गफ दिएको ठाउँमा बिहान पुग्दा दुई पाङ्ग्रे र तीन पाङ्ग्रेको जाम। 

अनि डस्टबिन देखाउँदै भन्यो, ल हेर्नुस् त यस्तो बिग्रेको डस्टबिन यहाँ राख्ने हो त, तुरुन्त फेरिहाल्न पर्‍यो नि।

साँच्चै, सवारी साधन रोकेर सडकमा हिँड्ने र बस्ने ठाउँ राखेर, बजार राख्ने कुरा अरु देशहरुमा पनि भएको र हामीले पनि लागू गर्दा राम्रो हुने कन्सेप्ट हो। त्यति सानो ठाउँमा पनि मोटरसाइकल र सफारी प्रवेश नरोकी बाटो जाम हुने बनाएको चाहिँ ठीक लागेन।

दुई पाङ्ग्रे त फेरि जता पनि रोक्ने रहेछन्।

तीन पाङ्ग्रेलाई यसरी यात्रु नै कुर्न त दिन हुन्थेन।

यो बाटोबाट भने सवारी साधन प्रवेश निषेध लेखेर बार पनि बनाइएको छ। तर त्यहीँ पारी सफारीहरु भने यात्रु कुरेर बसिरहेका छन्। अनि पुरै बार लगाइएको पनि होइन। दुई पाङ्ग्रे त छिर्न सकिहाल्ने रहेछ।

भिडियो हेर्नुस्-

1 thought on “ओलीको नगरमा झापाली साथीले झण्डै डुबाए, गफ भोलिपल्ट ‘भेरिफाइ’ गर्न निस्कँदा..”

  1. अभागी कान्छा गाउले says:
    September 17, 2022 at 1:08 am

    धन्न फेरी हेर्न पुग्नु भएछ र राम्रो भयो नत्र त…… कुन तोर्पे रैछ यार यसरी झुट बोल्ने, एक साल अगाडी म पुग्दा सिटी सफारी र भटभटे यस्तै चली रहेको रोकी रहेको र मैले नि भटभटे पार्क त एक्छिन गरेको थिए ! तर कसैले कै भनेनन ! हजुरलाइ कुन तोर्पे झापलीले यस्तो गफ म लज्जित नै भए

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme