Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘टेलिग्राम’मा आपत्तिजनक नाबालिग यौन सामग्री : खबरदार, अन्तर्राष्ट्रिय दुराचारीको सूचीमा पर्नुहोला !

Posted on September 16, 2022 by क्रान्ति

मेसेजिङ एपहरू जीवनको अभिन्न अङ्ग जस्तै भइसके। चिनेजानेका मानिसहरूदेखि व्यापार गर्नसमेत यस्ता एपहरू अत्यन्तै सहयोगी छन्। हरेकजसो यस्ता एपमा सामूहिक रुपमा विभिन्न मानिसहरूसँग एकैसाथ कुरा गर्ने ‘ग्रुपच्याट’ फिचर पनि राखिएकै हुन्छ र सायद परिवार तथा साथीहरूसँग जोडिन हामीमध्ये धेरैजनाले यसको प्रयोग पनि गरेकै छौं होला। आजकल यस्तै मेसेजिङ एपहरूको सूचीमा ‘टेलिग्राम’ पनि प्रचलित हुँदै गइरहेको छ, तर अरू एपको तुलनामा प्रयोगसँगै यसको दुरुपयोग पनि असाध्यै भएको छ। अन्य सामाजिक सञ्जाल तथा मेसिजिङ एपहरूमा अवैध र नियन्त्रित सामग्रीहरू टेलिग्राममा खासै नियन्त्रित छैनन् र यसको फाइदा केही यौनजन्य सामग्री राखेर हजारौं मानिसहरूको सदस्यता जोड्न खोज्ने मानिसहरूले खुला रुपमा लिँदै छन्।

मुलुकी अपराध संहितामा रहेको व्यवस्था

१२१. अश्लिल किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुनेः (१) कसैले सार्वजनिक रुपमा अश्लिल किताब, पर्चा बनाउने लगायतका देहायको कुनै काम गर्न हुँदैनः–
(क) शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्वीर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न,
(ख) त्यस्तो अश्लील वस्तु खरीद बिक्री वा वितरण गर्न वा भाडामा दिन वा सर्वसाधारणलाई देखाउन वा त्यस्तो गर्ने नियतले अाफ्ना साथमा राख्न,
(ग) कुनै व्यक्तिबाट त्यस्तो अश्लिल वस्तु यस प्रकार प्राप्त हुन सक्छ भनी विज्ञापन दिन,
(घ) त्यस्तो अश्लिल वस्तु बिक्री वितरण गर्ने उद्देश्यले निकासी वा पैठारी गर्न वा आफूसँग बोक्न ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि वैज्ञानिक, शैक्षिक, कलात्मक, साहित्यिक, अनुसन्धानमूलक, ज्ञानवर्द्धक महत्व वा अभिरुचीको वा धार्मिक प्रयोजनको लागि राखिएको वा बनाइएको कुनै कृतिको हकमा यस दफाको व्यवस्था लागू हुने छैन ।

नेपाली कानुन अनुसार वयस्क नै उमेरका व्यक्ति रहेको यौन सामग्री नै हेर्नु, बनाउनु र/वा फैलाउनु गैर-कानुनी छ। तर अन्तर्राष्ट्रिय रुपमा निकै नै ठूलो र विभिन्न देशहरूमा कानुनी रुपमा नियन्त्रित हुँदै चल्न दिइएको ‘पोर्न’ वा ‘एडल्ट एन्टरटेन्मेन्ट कन्टेन्ट’ उद्योगको नेपालमा पनि ठूलो संख्यामा उपभोक्ता रहेको बुझ्न खासै गाह्रो छैन।

कुनै पनि नेपाली व्यक्ति संलग्न यौन भिडियोलाई ‘कान्ड’ भन्दै (जस्तै, अस्ट्रेलिया कान्ड, जापान कान्ड आदि) जताततै चर्चाहरूले र अन्तर्राष्ट्रिय पोर्न साइटहरूमा सहजै भेटिनाले नै नेपालमा यस्ता सामग्री कति धेरै फैलिएको छ भन्ने प्रष्ट हुन्छ। हुनत विभिन्न देशहरूले कानुनी रुपमा नियन्त्रित गर्न खोजे पनि नियन्त्रण गर्न त्यति सफल नरहेको भन्न पनि सकिन्छ।

यद्यपि वयस्क उमेरका मानिसहरूको यौन सामग्रीमा खासै अङ्कुसे नलागे पनि, विश्वका विभिन्न देशहरू नाबालिग उमेरका, अर्थात बच्चाहरू संलग्न सामग्रीमा भने अन्तर्राष्ट्रिय जगत कडै रुपमा प्रस्तुत भएका छन्। फेसबुक, ट्विटर, टिकटक, युट्युब, आदि जस्ता अति प्रचलित साइटहरूमा त यस्ता सामग्री राख्ने व्यक्तिहरूलाई सिधै प्रतिबन्धित गर्नुका साथै त्यस्ता व्यक्तिहरूको विवरण अमेरिकी तथा अन्य देशहरूको प्रहरी तथा सरकारमा सिधा पठाइन्छ। साथै उन्नत एआई वा स्वचालित प्रणालीहरूको मद्दतले यस्ता सामग्री समेत निगरानी तथा प्रतिबन्धित गर्ने पनि गरिन्छ र यस्ता सामग्री फैलाउनेहरूलाई समेत गैरकानुनी सूचीमा पठाउन सक्छन्।

तर हालसम्म तुलनात्मक रुपमा कम प्रयोगकर्ता र सर्वव्यापी रुपमा प्रचलित नभइसकेको टेलिग्राम जस्ता एपमा यस्ता प्रणाली प्रभावकारी नभएको हुँदा नाबालिक संलग्न यौन सामग्री समेत देखिन थालेका छन्। यद्यपि नेपालमा खासै राम्ररी लागू नगरिए पनि, यस्ता सामग्री फैलाउने व्यक्तिहरूलाई अन्य विभिन्न देशका सुरक्षा संयन्त्रहरूले निगरानी भने गर्न सक्छ र यसका प्रयोगकर्ता र सदस्य अन्तर्राष्ट्रिय कालोसूचीमा समेत पर्न सक्ने सम्भावना प्रबल रहन्छ।

के सबै फैलाउने व्यक्तिहरू र उपभोक्ताहरूलाई असर पर्न सक्छ?

नेपालमा पनि केही वर्षदेखि विद्युतीय कारोबार ऐन लागू भएर त्यसबाट विभिन्न व्यक्तिहरूलाई सामाजिक सञ्जालमा बेइज्जती गर्नेदेखि यौन सामग्री फैलाउनेसम्मका कार्य गरेको आधारमा कानुनी कारबाही गरिएको छ।

यस्तो कारबाहीमा केही त्यस्ता उदाहरणहरू पनि छन् जसमा अनिच्छित रुपमा खिचिएका सामग्रीहरू फैलाउने व्यक्तिहरुलाई जेल सजाय र उच्च जरिवानासम्म गरिएको छ। नेपाली कानुन पनि बाल दुर्व्यवहारको कुरामा कडा रुपमै पेश भएको हुँदा, नेपालमै खिचिएका वा नेपाली बालबालिका देखिएका सामग्रीहरू फैलाउने व्यक्तिहरूलाई विशेषतः अझ बढी निगरानी हुन सक्ने कुरा अनुमान गर्न त्यति गाह्रो छैन।

गएका महिनाहरूमा नेपालका सिने तथा खेलकुद क्षेत्रका चर्चित केही पुरुषहरूले नाबालिगसँग यौन सम्बन्ध राख्दा त्यस्तो स्थितिमा बलात्कार समेत भन्न सकिने कानुनी प्रावधान नेपालमा रहेको देखिँदा नेपालमा नाबालिग दुर्व्यवहारलाई संवेदनशील रुपमा लिइन्छ भन्ने कुरा पनि छर्लङ्गै बुझ्न सकिन्छ।

यसरी कुनै बालिग संलग्न सामग्री हेर्दा वा फैलाउँदा सरकारसँग कारबाही गर्न कानुनी आधार त अवश्य नै धेरै नै बलियो हुन्छ। यदि कसैले आफ्नो मोबाइल वा ल्याप्टपमा यस्ता सामग्री सेभ गरेर राखेको भएका सुरक्षा निकायले खोजबिन गरेर फेला पारेको स्थितिमा नाबालिग यौन सामग्रीको आधारमा थप कानुनी जटिलता पर्न सक्ने आधार पनि प्रबल रहन्छ।

साथै नेपाल बाहेक अन्तर्राष्ट्रिय रुपमा पनि यस्ता सामग्रीको कडा रुपमा नियन्त्रण हुने हुँदा यस्ता बाल यौनजन्य सामग्री रहेको अनलाइन समूहहरू तथा साइटहरूबाट पन्छिनु नै बुद्धिमानी मान्न सकिन्छ। अहिले सम्मको नजिर हेर्दा सबै चर्चित अनलाइन प्लेटफर्महरूको प्रयोगकर्ता संख्या बढ्दै जाँदा त्यसमा कानुनी निगरानी पनि बढेर खुलम-खुला गरिने गैरकानुनी गतिविधिहरूमा कुनै न कुनै समयमा नियन्त्रण लाग्छ। टेलिग्राममा पनि आजकल गैरकानुनी सामग्री फैलाउने ग्रुपहरूमा नियन्त्रण र प्रतिबन्ध हुन थालेको छ, र ढिलो-चाँडो विभिन्न नेपाली ग्रुपहरूमा पनि त्यसको असर पर्छ नै। अझ टेलिग्राममा सदस्यहरू जोडिएका नाम सबैले हेर्न मिल्ने हुँदा यस्तो अभिलेख पनि तथ्याङक र प्रमाण निकाल्न चाहनेहरूले सूचिकृत गर्न सक्छन्। यस्ता सूचीबाट केही अवस्थाहरूमा व्यक्तिहरूलाई सिधा पहिचान समेत गर्न सकिन्छ।

त्यसैले कसैले ‘काण्ड हेर्ने लिङ्क’ भन्दै तपाईंलाई कुनै एप वा मेसेन्जर ग्रुपको लिङ्क पठाएमा, अथवा आफै जिज्ञासु हुँदै तपाईंले त्यस्तो ग्रुप यस्ता मेसेजिङ एप भेटाउनु भएमा आफ्नो विवेक प्रयोग गरेरै मात्र सहभागी हुनुहोस्।

अनायासै यस्ता ग्रुपमा प्रवेश गर्नु भएमा वास्तविकता थाहा पाएपछि सक्दो छिटो निक्लनु होस्। चाहे तपाईंले आफैले भेट्नु भएको होस् वा तपाईंका कुनै मित्रले थाहा दिएको होस्, तपाईं यस्तो समूहमा पस्नु भनेको जोखिम त हुन्छ नै।

अति गोप्य भनेर केही वर्ष अगाडि ‘टोर’ ब्राउजरबाट समेत अवयस्क पोर्न वितरण गर्न समूहका नाइकेहरू तथा सदस्यहरूलाई पुलिसले खोजेर अन्तर्राष्ट्रिय कारबाही गरेको प्रशस्त उदाहरणहरू हाम्रो अगाडि छन्। झन् टेलिग्राम जस्ता सार्वजनिक रुपमा सहजै डाउनलोड गर्न सकिने एपबाट अनुसन्धान गर्न त टोरको तुलनामा अति नै सहज हुन्छ।

त्यसैले धेरैले चलाउँछन् भन्दैमा कुनै पनि एप नबुझी नचलाउनु होस् र आफ्नो डेटा सुरक्षामा सधैँ ध्यान पुर्‍याउनुहोस्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme