Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माफी मागेको ? प्रायश्चित्त गरेको? : चोलेन्द्रको समाचारमा मिडिया यसरी चिप्लिए

Posted on September 5, 2022September 5, 2022 by Salokya

रञ्जन कोइराला (आफ्नै श्रीमती मारेर लाश जलाउने सशस्त्र प्रहरीका पूर्व डिआइजी) लाई कैद माफको फैसलामा गल्ती भयो भन्दै माफी मागे चोलेन्द्रले।

रन्जन कोइरालको फैसलाका विषयमा चोलेन्द्रको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ

रञ्जन कोइरालाको कैद छुट दिने फैसलाप्रति आफूलाई ‘गिल्टी फिल’ भएको बताए।

यी केही वाक्य नेपालका नाम चलेकै मिडियामा आएका हुन्।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेर निलम्बनमा राखेपछि महिनौँ त्यसलाई यत्तिकै थन्काएर अहिले बल्ल प्रक्रिया अघि बढाइएको छ। यतिबेला महाभियोग सिफारिस समितिले चोलेन्द्रसित लागेका आरोप बारे बयान लिँदैछ। चोलेन्द्र कस्ता हुन्, उनले के-केसम्म गरेका थिए भन्ने बारेमा मिडियामा प्रशस्तै खबर आइसकेको छ। त्यतातिर नजाम्। उनले जवाफ दिएको विषयमा मिडियामा कसरी समाचार आयो र खासमा उनले के भनेका हुन्, त्यो बारेमा यसो नदुखेको कपाल डोरी बाँधी बाँधी दुखाउन मन लागेको क्या 🙂

सबैभन्दा पहिला देशकै जेठो अखबार गोरखापत्रको समाचारमा जाउँ। आज गोरखापत्रको पहिलो पेजको समाचारमा लेखिएको छ-

‘निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद छुट दिने फैसलाप्रति आफूलाई ‘गिल्टी फिल’ भएको बताउनुभएको छ।’  हेर्नुस् अर्काइभ लिङ्क

के साँच्चै चोलेन्द्रले गिल्टी फिल गरेको बताएकै हुन् त ? यो भिडियोको अंश हेर्नुस्-

https://mysansar.com/wp-content/uploads/2022/09/video-dbd99edc-6aee-44fd-9e4c-7a5ce4ef15ce-1662348812.mp4

 

सेतोपाटीले अपलोड गरेको ३५ मिनेटको भिडियो यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ।

कसैले माथिको भिडियो हेर्न नसक्नुभए, चोलेन्द्रले भनेका छन्- ‘यो आधार (रन्जनको कैद सजाय घटाएको) बाट मलाई महाभियोग लाग्छ भने मलाई यसमा कुनै किसिमको आपत्ति र मैले यसमा गिल्टी फिल म गर्दिनँ।’

लु भो त अब, गिल्टी फिल गर्दिनँ भनेर बकाइदा भनेको छ, समाचारमा चाहिँ लिडलाइनमा नै ‘आफूलाई गिल्टी फिल भएको बताउनुभएको छ’ आएछ।

चोलेन्द्रले नै फिल नगरेको गिल्टी गोरखापत्रमा समाचार लेख्ने वा सम्पादन गर्नेले कसरी गरेछन्। पत्रकारितामा भावुक हुँदा पनि चिप्लिने रैछ कि कसो।

खासमा गोरखापत्रको त्यही समाचारमा मुनितिर चोलेन्द्रको कोट भने सही छ फेरि। हेर्नुस्-

लिडलाइनमा गिल्टी फिल गरेको बताएर मुनि कोटमा चाहिँ गिल्टी फिल गर्दिनँ भनेर कसरी दोहोर्‍याउने हो ? छैन त अचम्म ! यो चाहिँ गोरखापत्रको सम्पादकलाई गएर सोध्नुपर्ने विषय हो।

प्रायश्चित पनि गराइदिए मिडियाले

गोरखापत्रपछि अब कान्तिपुर तिर लागौँ। कान्तिपुर अनलाइनको समाचारमा लेखिएको यस्तो छ-

अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्।

माथि सेतोपाटीले राखेको भिडियो हेर्नुभयो भने तपाईँलाई थाहा हुन्छ, कान्तिपुरमा जे कोट राखिएको छ, चोलेन्द्रले ठ्याक्कै त्यही भनेका होइनन्।  कोटभित्र राखेपछि जे बोलेको हो, त्यही राख्नु पर्ने त पत्रकारिताको सिद्धान्त नै हो।

कान्तिपुरको समाचारमा आफूले गरेको त्यो गल्तीमाथि प्रायश्चित भएको पनि उल्लेख गरे लेखिएको छ, प्रायश्चित भन्ने शब्द त उनले उच्चारणै गरेको देखिएन भिडियोमा।  यो आधारबाट महाभियोग लाग्छ भने मलाई कुनै किसिमको आपत्ति र गिल्टी फिल गर्दिनँ भन्नु प्रायश्चित हुन्छ कि चुनौति दिएको हुन्छ ?

अनलाइनखबर हेरौँ। हेडलाइनै छ- रञ्जन कोइरालाको मुद्दा फैसलाबारे चोलेन्द्रको बयान : मलाई प्रायश्चित्त छ

समाचारमा चोलेन्द्रको कोट भन्दै लेखिएको छ- ‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनतासमक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित्त भएको छ।’ हेर्नुस् अर्काइभ लिङ्क

प्रायश्चित्त भएको छ त उनले भनेकै देखिन्न भिडियोमा।

अर्को दैनिक हेरौँ-

राजधानी दैनिकले हेडलाइनै राखिदिएछ-  क्षमा चाहन्छु, मलाई प्रायश्चित छ भनेर।

समाचारमा लेखिएको छ-

हेर्नुस् अर्काइभ लिङ्क

जनतासमक्ष क्षमा चाहन्छु त भनेकै छैन भिडियो हेर्दा, प्रायश्चित भएको छ त झन् भनेकै छैन।

Guilty feel गर्दिनँ भनेर अङ्ग्रेजीमा भनेको नबुझेर प्रायश्चित लेख्दिएका त हैनन् पत्रकारले ? एक जना साथीले मलाई यो समाचार कुनै न्युज एजेन्सीबाट आएको बताए। अचेल निजी न्युज एजेन्सीको समाचारमा स्रोत उल्लेख गरिँदैन। मिडियावालाको सोच हुन्छ- पैसा पनि तिर्ने, क्रेडिट पनि दिनु पर्ने ? दिइन्न ! तर यसो गर्दा एजेन्सीको गल्ती पनि आफ्नो टाउकोमा आइलाग्छ। यो समाचारका केही अंश अर्थात् ‘जनतासमक्ष क्षमा चाहन्छु र यसप्रति मलाई प्रायश्चित भएको छ’ शब्दलाई गुगलमा सर्च गर्दा प्रशस्तै नतिजा भेटियो।

खबरहबदेखि डिसीनेपाल, फरकधार, खरिबोटसम्म प्रशस्तै अनलाइनहरुले यही हालेको भएर न्युज एजेन्सीबाट बनेको समाचार हुनसक्ने सम्भावना देखियो।

गुगलको नतिजा यहाँ क्लिक गरी हेर्नुस्।

माफी मागेको हो त ?

अब एक पटक अर्को अनलाइन हेरौँ- उकेरा। यसको हेडलाइन छ- रञ्जनको कैद माफको फैसलामा गल्ती भयो भन्दै माफी मागे चोलेन्द्रले। हेर्नुस् अर्काइभ लिङ्क

समाचारको लिडलाइनमा लेखिएको छ- महाअभियोगको तेस्रो दिन बयानका लागि उपस्थित निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूले गरेको फैसलामध्ये रञ्जन कोइरालाको फैसलामा न्यायिक विचलन भएको स्वीकार गरेका छन्।

यो पनि भ्रामक छ।

चोलेन्द्रको बयान हेर्ने हो भने उनले यो फैसलाको प्रतिरक्षा गरेका छन्, न कि न्यायिक विचलन भएको स्वीकार गरेका। उनले चुनौति दिएका छन्- न्यायाधीशलाई विवेक प्रयोग कानुनले दिएको अधिकार हो। मैले कानुनले दिएको अधिकारअनुसार विवेक प्रयोग गरेको हुँ। विवेकमा प्रश्न उठाउन पाइँदैन।

अझ यसैका आधारमा महाभियोग लगाउने भए लगाऊ तर म गिल्टी फिल गर्दिनँ समेत भनेका छन्।

अनि कहाँबाट न्यायिक विचलन भएको स्वीकार गरे त ? अचम्म !

माफी मागेको वा गल्ती स्वीकारेको हो त भन्ने प्रश्नको उत्तरमा चाहिँ यो कुरा अलि अमूर्त रुपमा आएको छ। हो, उनले बोल्ने क्रममा क्षमा चाहन्छु र गल्ती भन्ने शब्द पनि परेको छ। तर यसलाई समग्र रुपमा हेर्नुपर्छ।

अनलाइनखबरले भिडियोबाट चोलेन्द्रको बयान शब्दमा उतारेको छ। यसलाई समग्र रुपमा हेर्दा चोलेन्द्रले गल्ती गरेको, माफी मागेको देखिन्छ त ?

“राय लगाउने सबै इजलासबाट भएको हो । हिजो पनि थियो, आज पनि छ । मलाई दुःख लागेको छ । दुःख यसकारण लागेको छ कि साढे ८ वर्षको राय लगाउँदा त्यसबाट पीडित परिवार लगायतबाट प्रश्न उठाइयो । यसबाट मलाई पनि दुःख लागेको छ । यो कुरा नभइदिएको भए हुने रहेछ भन्ने फिल गरेको छु । मलाई पनि दुःख लागेको छ । यसबाट गल्ती भा’छ, यसबाटै महाअभियोग लागेर अवकाश दिनुपर्ने अवस्था छ भने म हार्दिकतापूर्वक जनता र समितिसामु अनुरोध गर्छु, मैले कानुनले दिएको अधिकारअनुसार विवेक प्रयोग गरेको हुँ । विवेकमा प्रश्न उठाउन पाइँदैन । र पनि गम्भीर गल्ती भएकै हो भन्ने लाग्दछ भने यसमा कुनै अनियमितता, त्यसपछाडि भ्रष्टाचार भएको होइन । कानुनले दिएको अधिकार प्रयोग गरेर ती दुइटा बालकहरुकाे भरणपोषण गर्नुपर्ने दायित्व आमाको अभावमा बाबु भएको हुनाले यो घटना पनि पारिवारिक भएको हुनाले दिएको हुँ । अर्को न्यायाधीशलाई म आरोप लगाउँदिनँ । यसको मैले लिड गरेको हुँ, देशको प्रधानन्यायाधीश हुँ, मैले न्याय प्रशासनको जिम्मेवारी लिएको छु । यदि यसैबाट महाअभियोग लाग्छ र मैले अवकाश लिनुपर्छ भने मैले हार्दिकतापूर्वक क्षमा चाहन्छु । हार्दिकतापूर्वक अनुरोध गर्छु, यो आधारबाट महाअभियोग लाग्छ भने म कुनै आपत्ति र गिल्टी फिल गर्दिनँ ।”

उनले आफूलाई लगाएको आरोपको डिफेन्ड गरेका छन्। उनको बयानका शब्द शब्द सुन्ने हो भने फैसलामा जस्तो योजनापूर्वक हरेक शब्द सोचेर बोलेको देखिन्छ। यत्तिकै आधारमा महाभियोग लगाउने भए लगाऊ भनेर उनले यत्तिकै भनेका हैनन्, त्यो आधार बनाउने हो भने त महाभियोगमा कुनै न्यायाधीश पनि बच्लान् र? पूर्ण इजलासमा दिएको राय बृहत् इजलासले उल्ट्यायो भने पूर्ण इजलासका न्यायाधीशलाई महाभियोग लगाउनु ?

चोलेन्द्रले गल्ती स्वीकारेको नभई चुनौति दिएको देखिन्छ। तर मिडियामा माफी माग्यो, अझ प्रायश्चित्त गरेको समेत आयो।

यस्तो गलत समाचार लेखेकोमा लेख्ने र सम्पादन गर्ने सम्पादकहरुले चाहिँ प्रायश्चित्त गर्नु पर्ने कि नपर्ने ? प्रायश्चित्तको अर्थ शब्दकोशमा यस्तो छ-

र जाँदाजाँदै, नयाँ पत्रिकाको यो समाचार पढ्नुस्- श्रीमती हत्या गर्ने पूर्वडिआइजी रञ्जन कोइरालाको साढे ११ वर्ष कैद सजाय घटाएका जबराको महाभियोग सिफारिस समितिलाई चुनौती : न्यायाधीशको विवेकमाथि प्रश्न गर्न पाइन्न यो प्रकरणमा आजको पत्रिकामा नचुकेर समाचार लेख्ने नयाँ पत्रिका नै देखियो। तर उही नयाँ पत्रिकाले हिजो चोलेन्द्रले जनतासमक्ष माफी मागेको र प्रायश्चित गरेको समाचार यसरी लेखेको थियो- हेर्नुस् अर्काइभ लिङ्क

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme