Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धमिलो भिडियोमा माछा मार्ने दाउ : वाइसिएल, बालेन समर्थकदेखि राप्रपा समर्थकसम्म

Posted on August 31, 2022August 31, 2022 by Salokya

‘धमिलो पानीमा माछा मार्ने’

यो पुरानो उखान तपाईँहरुले सुन्दै आउनुभएको होला। अब अहिलेको डिजिटल युगमा यो उखान परिवर्तन गर्ने बेला भइसक्यो। अब धमिलो पानीमा हैन, धमिलो भिडियोमा भ्रम फैलाउँदै माछा मार्ने दाउ खेलिन्छ।

प्रसंग भर्खरै सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोको हो। के तपाईँले पनि फेसबुकमा एमाले सांसद महेश बस्नेतलाई कुटेर लखेटेको लेखिएको भिडियो हेर्नुभएको थियो? त्यो भिडियो किन गलत हो भन्ने कुरा नेपालफ्याक्टचेकले तथ्य जाँच गरिसकेको छ। छुटाउनुभएको भए यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ। भाइरल भएको भिडियोको ओरिजिनल फाइल, त्यसलाई सबैभन्दा पहिले सामाजिक सञ्जाल टिकटकमा अपलोड गरिएको भिडियो, त्यो भिडियो खिच्ने पत्रकार विजय नेपालको भनाई र त्यतिबेला प्रकाशित समाचारहरुको विश्लेषण गर्दा महेश बस्नेतले फेसबुकमा मात्रै पिटाइ खाएको देखियो। त्यो भाइरल भएको धमिलो भिडियोको ओरिजिनल फाइल हेर्दा हातपात गर्न खोजिएका व्यक्तिको अनुहार प्रष्टै देखिन्छ। उनी त चौतारा साँगाचोकगढीको माओवादीबाट चुनाव लडेर मेयर पदमा निर्वाचित कृष्णप्रसाद सापकोटा रहेछन्।

कसरी भाइरल भयो भिडियो?

यो भिडियो कुन सन्दर्भमा भाइरल भयो भन्ने कुरा पनि बुझ्दा राम्रो। काठमाडौँ महानगरपालिकामा स्वतन्त्रबाट उठेर मेयरमा जितेका बालेन शाह फोहर उठाउन नसकेर बदनाम हुन थालिसकेका थिए। स्वतन्त्र पनि खासै गतिला हुन्नन् भन्ने हुन थालिसकेको थियो। तर अचानक बालेनले एक्सन देखाउन थाले। नक्सा विपरीत अनधिकृत संरचना भत्काउन बालेन आफै उत्रिए। त्यही क्रममा बानेश्वरको अल्फाबिटा भवन पनि पर्‍यो। अल्फाबिटाका निर्देशक द्विराज शर्मा र बालेनबीच चर्काचर्की भएको भिडियोसँगै शर्मा र केपी ओलीसँगै भएको फोटो पनि भाइरल भयो। त्यही मेसोमा महेश बस्नेत र बालेनबीच फेसबुकमै कमेन्ट हानाहान भयो।

बालेन समर्थक र महेश बस्नेत समर्थकबीच साइबर द्वन्द्व पनि त्यतिबेलै सुरु भयो। २०७९ भदौ १३ गते सोमबार एमालेले भक्तपुरमा आयोजना गरेको एउटा कार्यक्रममा  महेश बस्नेतले गरेको भाषणका समाचार र भिडियो क्लिप भाइरल भए। नागरिकन्युजमा प्रकाशित समाचारमा उनले ‘बालेन शाह, रविन्द्र मिश्र, रवि लामिछाने, रमेश खरेलका नाममा विभिन्न खालका अन्तराष्ट्रिय मिसनहरु परिचालित भएको’ भनेको र ‘सकभर मुखले सम्झाउनुहोस,  मुखले सम्झाउँदा मानेनन भने हात गोडा के केले सम्झाउने हो सम्झाउनुहोस्, परेको कुरा पार्टीले व्यहोर्छ’  भनेको उल्लेख छ। उक्त कार्यक्रमको सामाजिक सञ्जालमा भिडियो पनि देख्न सकिन्छ।

महेश बस्नेतले त्यसो भनेको भोलिपल्ट उनलाई कुटेर लखेटेको दावी गर्दै त्यो धमिलो भिडियो विभिन्न व्यक्तिको प्रोफाइल, फेसबुक पेज र ग्रुपहरुबाट सेयर हुन थालेको हो। केही भिडियोहरुमा लाखभन्दा बढी भ्युज देखिन्छ।

भाइरल भएको भिडियो

रमाइलो त के भने यो धमिलो भिडियोमा माछा मार्न वाइसिएलदेखि बालेन समर्थक र राप्रपा समर्थकसम्म लागेका छन्।

यो भिडियो सुरुमा सेयर गर्नेमध्ये एक केशव थुलुङले सुरुमा वाइसिएल समर्थकले महेश बस्नेतलाई कुटपिट गरेको लेखेका रहेछन्, तर पछि त्यसलाई एडिट गरेर बालेन समर्थक बनाएका रहेछन्।

तर उनले एडिट गरे पनि यो वाइसिएल समर्थकले कुटपिट गरेको भनेरै भाइरल भइसकेको थियो। त्यसो भए पनि बालेन समर्थकद्वारा महेश बस्नेत कुटपिट लेखिएका भिडियो पनि प्रशस्तै छन्।

धमिलो भिडियोमा माछा मार्न राप्रपा समर्थक मात्र किन कम? राप्रपा समर्थकद्वारा कुटपिट भनेर पनि फेसबुकमा हालियो।

धमिलो नभएको ओरिजिनल भिडियो तल हेर्नुस्

धमिलो भिडियोमा माछा मार्नेहरु प्रशस्त भएको देखेपछि तपाईँलाई ओरिजिनल भिडियो चाहिँ कस्तो छ होला भन्ने भयो होला। ओरिजिनल भिडियो तल हेर्नुस्-

भएको के थियो यो भिडियोमा ?

हामीले यो भिडियो टिकटकमा २०२२ अप्रिल २५ तारिखमा अपलोड गर्ने पत्रकार विजय नेपालसित यसबारे थप जानकारी माग्यौँ। उनी स्थानीय अनलाइन खुल्लापाना डट कमका सम्पादक पनि हुन्। स्थानीय तहको निर्वाचन २०७९ को उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन २०७९ वैशाख १२ गते चौतारी साँगाचोकगढी नगरपालिका भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाहिर यो भिडियो गोप्रो क्यामेराबाट खिचेको उनले जानकारी दिए।

उनका अनुसार उक्त नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको थियो तर मनोनयन दर्ता भन्दा अघिसम्म यो विषय गोप्य राखिएको थियो। जुलुससहित नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार कृष्णप्रसाद सापकोटा मनोनयन दर्ता गर्न आउँदै गर्दा सो हातपातको प्रयास भएको थियो।

कान्तिपुर २०७९ वैशाख १३ मा प्रकाशित ‘चौतारा झडप : सिसा तोडफोड गर्ने तीन जना पक्राउ, अन्य फरार’ शीर्षकको समाचारमा पनि उनले दिएको जस्तै जानकारी भेटियो। समाचारमा ‘सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरको चौतारा बजारमा असन्तुष्ट पक्षबाट उम्मेदवारी दर्ताको क्रममा भएको झडपमा तोडफोड सुरु गर्नेमध्ये तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको’, ‘मनोनयन दर्ता गर्न खोज्दै अघि बढेका माओवादी-समाजवादीको हुलबीच धकेलाधकेल सुरु भयो’ र ‘जुलुसकै बेला माओवादीको तर्फबाट मेयर उम्मेदवार कृष्णप्रसाद सापकोटा देशबन्धुमाथि हातपातको प्रयास भयो। समाजवादीका नेता सोम सापकोटा र सुभाष कर्माचार्यलाई समेत ‘टार्गेट’ गरियो’ लेखिएको छ। हेर्नुस् समाचारको अर्काइभ लिङ्क।

ओरिजिनल भिडियोबाट निकालिएको स्क्रिनसट जसमा अनुहार स्पष्ट देखिन्छ, महेश बस्नेत दावी गरिएका व्यक्ति चौतारा साँगाचोकढी नगरपालिकाका वर्तमान मेयर कृष्णप्रसाद सापकोटा हुन्।

पत्रकार विजय नेपालका अनुसार उनले यो भिडियोको ‘पुलिस खै’ वाक्य बोलिएका केही अंश स्लो मोसनमा बनाएर ५१ सेकेन्डको भिडियो टिकटकमा हालेका हुन्। त्यसैका केही अंश निकालेर अनुहार नचिनिने गरी बनाइएको भिडियो हाल सामाजिक सञ्जालमा गलत विवरणका साथ भाइरल भएको हो।

माछा मार्ने प्रयासपछिका असर

एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल (जसका इञ्चार्ज महेश बस्नेत हुन्) अन्तर्गतको साइबर सर्कलले साइबर ब्युरोमा भ्रम फैलाउनेलाई कारबाही गर्न निवेदन दिएको पत्र सामाजिक सञ्जालमा देखियो।

साइबर सर्कलले उजुरी हालेकाहरु वाइसिएलका कार्यकर्ता परेछन्। त्यसपछि वाइसिएलका कार्यकर्ताहरुले फेसबुकमा वाइसिएलका अध्यक्ष चुप बसेको भन्दै आलोचना गर्न थाले।

त्यसपछि वाइसिएलका अध्यक्ष सुबोध सेर्पालीले आपसी छलफल गरी विषयहरु सुल्झाउन र थप मनमुटावको बाटो नरोज्न प्रस्ताव गरे।

 

खासमा  ‘मुखले सम्झाउँदा मानेनन भने हात गोडा के केले सम्झाउने हो सम्झाउनुहोस्, परेको कुरा पार्टीले व्यहोर्छ’ भन्नु पनि कुट भनेर उक्साउनु जस्तै हो। यता, महेश बस्नेतलाई कुटपिट गरियो भनेर झुटो भिडियो फैलाइयो। दुवै कुरा गलत हो। तर दुवै गर्नेलाई खासै केही कारबाही हुने लक्षण चाहिँ देखिन्न।

नेताको भाषणमा के कारबाही हुनु ! अर्कोतिर झुटो भिडियो फैलाउने पनि दलकै कार्यकर्ता रहेछन्। उनीहरुलाई पनि के नै कारबाही होला र। लास्टमा झुटो भिडियोलाई साँचो भन्ठानेर यसो सेयर गर्नेहरु चाहिँ पक्राउ नपरुन् फेरि। एउटा उदाहरण यता छ- ‘विद्या जिस्काउँछस्’ ओलीको नक्कली आवाजको ट्रोल भिडियो : बनाउने पत्ता लागेन, नाबालकलाई मुद्दा

1 thought on “धमिलो भिडियोमा माछा मार्ने दाउ : वाइसिएल, बालेन समर्थकदेखि राप्रपा समर्थकसम्म”

  1. शैलेन्द्र ढकाल says:
    September 7, 2022 at 4:38 pm

    माइसंसार फ्याक्टचेकमा मात्र भुलेको देख्दा झ्याउ लाग्यो/ देशमा धेरै नया नया बिसयहरु उठान भएका छन/ माइ संसारले ती बिसयहरु समेटेर लेख लेख्नु पर्यो अनि कमेन्ट सेक्सन एक्टिभ राख्न सके सम्म सबै कमेन्ट लाइ ठाउँ दिनु पर्यो/ हामीलाई पुरानो माइसंसार चाहियो सालोक्य ज्यु / झ्याउ भो झ्याउ भो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme