– राजु आचार्य –
हाम्रा पूर्खाहरूले सार्वजनिक क्षेत्रमा चौतारा बनाएर गफिने, सल्लाह गर्ने र थकाई बिसाउने ठाउँ बनाएका थिए। यस्ता ठाउँहरूमा सभा सम्मेलन हुन्थ्यो। गाउँका नीतिनियम बन्थे। यिनै चौतारामा रहेका वर, पिपल पुजिन्थे। चराहरूको आश्रय स्थल बनेको थियो।
विक्रम संवत २०३४ सम्म पोखरा उपत्यकामा मात्र ६३२ वटा चौताराहरु रहेको अनुमान गरिन्छ। तर, अहिले चौतारा कहाँ छ भन्दै खोज्नु पर्ने अवस्था आइसक्यो। चौतारामा राखिएका पानीका घैँटाहरु त लोप नै भइसके।
अहिले चौतारामा बस्नको लागि कताबाट छिर्ने हो भनेर एक पटक हेर्नुपर्छ। भेटिए पनि भित्र गएर बस्न मनै लाग्दैन। फोहर छ। तीनतिरबाट घरले छेकेर चौतारामा हावा चल्दैन। रुखहरू प्लास्टिकका जस्ता लाग्छन्। हाँगाहरू काटिएका छन्। कङक्रिटका स्याउ, केरा बनाएर नयाँ नाम दिएको छ।
यस्ता चौताराहरु देखेपछि माथिबाट हाम्रा पुर्खाहरूले के भन्दा हुन्? यस्तो हुँदा पनि सम्बन्धित निकायहरू किन मौन बस्छन् कुन्नि ?
गण्डकी प्रदेशले चौतारा संरक्षणको लागि ऐन नै बनाएको छ- ‘वर पिपल समि र चौतारो संरक्षण ऐन २०७५’। नेपाल भरमै यस्तो ऐन बनाउने पहिलो प्रदेश हो गण्डकी। यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ ऐन। तर ऐन कानुन बनाएर मात्र भएन। यस्तो लाग्छ कानुन कार्यान्वयन गर्नेहरु निदाएर बसेका छन्।
स्मार्ट सिटीको नारा फलाकेर नथाक्नेहरूले तस्विरमा देखिएको पोखराको एउटा चौताराको नाम भने यस्तो राखिदिएका रहेछन्- ‘वातावरण मैत्री चौतारो’।