बिहीबार जातीय सद्भाव भड्काउने खालको एउटा फेसबुक स्टायटसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भयो। स्क्रिनसट मञ्जु भण्डारीको थियो, जो यसपालिको चुनावमा मेयरमा पराजित भएकी थिइन् भने अघिल्लो कार्यकालमा उनी उपमेयर निर्वाचित भएकी थिइन्। अनि त्यो स्क्रिनसटलाई अझै फैलाएका थिए धरान उपमहानगरपालिकाका वर्तमान मेयर हर्क साम्पाङले। स्क्रिनसटका आधारमा मात्र यसलाई सही वा मिथ्या पत्ता लगाउन सम्भव नहुने भए पनि स्क्रिनसटमा देखिएका विभिन्न डिटेलहरुका आधारमा नेपालफ्याक्टचेकले यसबारे हिजै तथ्यजाँच गरेर यो स्क्रिनसट फेक भएको लेखिसकेको छ। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्। यो ब्लगमा किन मेयर साम्पाङ जस्ता व्यक्तिहरु यस्तोमा झुक्किनु अनौठो होइन भन्ने बारे आफ्ना केही अनुभव सुनाउँदैछु।
सांसदहरुसहित सहभागी एउटा दुई दिने आवासीय कार्यक्रम थियो काठमाडौँ नजिकै। मलाई मिथ्या सूचना र यसले पार्ने प्रभावबारे बताउनु पर्ने जिम्मेवारी दिइएको थियो।
भोलिपल्टको पहिलो सेसन मेरो थियो।
सेसनको सुरुवात मै मैले सोधेँ- तपाईँहरुले आजको समाचार हेर्नुभएको छ कि छैन? अनि प्रोजेक्टरको पर्दातिर देखाएँ जसमा एउटा चर्चित अनलाइनको मुख्य समाचारको हेडलाइन थियो। त्यसमा लेखिएको थियो- ‘सांसदहरु रातभर फलानो होटलमा मदिरामा मस्त।’
‘लौ बिताइहाले नि’ भन्दै थिए केही सांसदहरु।
केही भने ‘कसले दिएछ यस्तो समाचार’ भन्न थाले।
केहीले आफ्नो मोबाइल निकालेर चेक गर्न थाले।
खासमा त्यो नक्कली स्क्रिनसट थियो।
***
एउटा मिडियाको आन्तरिक कार्यशाला थियो धुलिखेलमा। मलाई तोकिएको समयमा नै म हलमा पुगेर सब तयारी गरिसकेको थिएँ। तर सहभागीहरु भने आउन निकै ढिला गरे।
मैले सोही मिडियाको अनलाइनमा ‘पत्रकार नै ढिला आएपछि धुलिखेलमा तालिम समयमा सुरु भएन’ शीर्षकसहितको समाचार प्रोजेक्टरबाट देखाइदिएँ। सहभागी पत्रकारहरु आएर आफ्नो सिटमा बस्दै गर्दा पर्दामा त्यही समाचार देख्थे। सिएमएसको पासवर्ड कसरी पाउनु भो त उहाँले भनेर खासखुस गरेको पनि सुनियो। केहीले आफ्नो अनलाइन चेक गरेर ‘छैन त यस्तो समाचार’ भने। केहीले राखेर डिलिट भएको हो कि भन्ने शंका गरे।
त्यस्तो बनाउन कसरी सहजै सकिन्छ र आँखाले देखेको कुरामा पनि कहिलेकाहीँ किन विश्वास गर्न सकिँदैन, स्क्रिनसटमा किन शंका गर्न सकिन्छ भन्ने बारे बताएपछि एक पत्रकारले भनेका थिए, ‘हामीलाई त थाहा भो। भरे यस्तो गरेर कसैले हाकिमलाई देखाइदियो भने त हाकिमले त बुझ्दैनन्, हामी कारबाहीमा पर्न सक्छौँ।’
***
अधिकांश विदेशीहरु भएको एउटा कार्यक्रम सोल्टीमा थियो। मैले जुन संस्थाले मलाई बोलाएको हो, त्यही संस्थाका प्रमुखको ट्विट देखाउँदै तपाईँले त यस्तो ट्विट गर्नुभएको रहेछ नि त भनेर देखाउँदा अधिकांश चकित परे। उनले यो मैले गरेको हैन भनिन्। अनि यो कसरी देखियो त भन्दा सहभागीहरु पनि वाल्ल परेका देखिन्थे। कतिले फोटोसप गरेको होला भने। मैले फोटोसपको दुःख गरिरहनु पर्दैन भन्दै यसरी सजिलै गर्न सकिन्छ भनेर देखाएपछि बल्ल उनीहरुले बुझे।
***
आफै पढेको आरआर कलेजमा एक दिन एउटा क्लास लिन गइयो। मलाई कलेजमा बोलाउने दुई गुरु ऋषिकेश दाहाल र श्रीराम पौडेलको च्याट स्क्रिनसट भन्दै क्लासमा देखाइदिएँ। खासमा त्यो नक्कली च्याट थियो। तर हेर्दा दुरुस्तै देखिन्थ्यो।
***
फ्याक्ट चेकबारे काठमाडौँमा भएको एक दिने ट्रेनिङको क्रममा सुरुमै ट्रेनरहरुलाई गाली र व्यङ्ग्य गर्दै सहभागी दुई जनाले फेसबुकमा लेखेको स्टायटसको स्क्रिनसट देखाएर भनेँ, के गर्नुभाको यस्तो? यतिविधिसम्म त नलेखे हुने नि !
जवाफमा एक सहभागीले भनेका थिए, एक चोटी पहिला पनि मेरो फेसबुक ह्याक भएको थियो। अहिले पनि त्यस्तै भयो कि !
***
माथिका केही उदाहरणहरुले देखाउँछ, नेतामात्र होइन, पत्रकार, पत्रकारिताका विद्यार्थी, फ्याक्ट चेकर बन्न चाहनेहरु र विदेशीसमेत फेक स्क्रिनसटले फैलाउने मिथ्या सूचनाको जालोमा सहजै फँस्न सक्छन्। त्यसैले मेयर हर्क साम्पाङ पनि त्यस्तोमा फँस्नु नौलो र अचम्मको कुरा भएन। तर उनीजतिको नेताबाट फैलने मिथ्या सूचनाको असर भने अरुभन्दा धेरै हुनसक्छ, त्यो चाहिँ उनले थाहा पाउनु पर्थ्यो।
अघिल्लो महिना सातै प्रदेशमा हामीले मिथ्या सूचना र त्यसले पार्ने असर बारे अन्तर्क्रिया गरेका थियौँ। त्यसमा सहभागी प्रदेशका मन्त्री, पत्रकार, नागरिक समाजका सदस्य सबैले अहिले सूचनाको वातारण अन्यौल भएको, कुन सही र कुन गलत भन्ने कुरा पत्ता लगाउनै गाह्रो भएको र मिथ्या सूचनाबारे जनचेतना जनस्तरमा फैलाउनु पर्ने आवश्यकता औँल्याएका थिए।
फेसबुक लगायतका सामाजिक सञ्जालमा देखिने सबै कुरा सही हुँदैनन्, झन् तपाईँको भावनालाई उत्तेजित पार्ने प्रयास गर्ने पोस्टहरु त मिथ्या हुने अधिक सम्भावना हुन्छ। यो गलत पनि हुनसक्छ है भन्ने मात्र सोच भइदिएको भए यो हदसम्म त्यो फेक स्क्रिनसट नफैलन पनि सक्थ्यो।
मञ्जु भण्डारीको स्टायटस स्क्रिनसट फेक भन्ने चार आधार
जुन विषयमा यो ब्लगको उठान भएको छ, त्यसबारेमा पनि केही लेखौँ न त है। मञ्जु भण्डारीको स्टायटसको स्क्रिनसट फेक भन्ने चार आधार यस्ता छन्-
आधार १ : स्क्रिनसट मात्र किन, लिङ्क खै?
यो विवादास्पद फेसबुक स्टायटसको लिङ्क कसैले पोस्ट गर्न सकेका छैनन्, जसले पनि स्क्रिनसट मात्रै पोस्ट गरेका छन्। पोस्ट गरेर पछि डिलिट गरेको भए पनि त्यसको लिङ्क त हुन्छ नै। तर त्यो लिङ्क कसैले भेट्टाउन सकेका छैनन्।
आधार २ : प्रोफाइल पिक्चर ‘राउन्ड’ नभई ‘स्क्वायर’
यो स्क्रिनसटको अर्को एउटा नमिल्ने विषय भनेको प्रोफाइल पिक्चरको आकार हो। यसमा प्रोफाइल पिक्चर चार कुने (स्क्वायर) छ, जबकि अहिले फेसबुक फिडमा देखिने प्रोफाइल पिक्चर गोलो (राउन्ड) हुन्छ।
तर प्रोफाइल पिक्चर राउन्ड भएको कुनै स्क्रिनसट देखिँदैमा त्यसलाई सही ठान्नु भने हुँदैन। अहिले प्रोफाइल पिक्चर राउन्ड राखेरै पनि सहजै नक्कली स्टायटस बनाउन सकिने वेबसाइटहरु प्रशस्तै छन्।
जसले यो फेक स्क्रिनसट बनायो, उसले के बिर्सियो भने फेसबुकले चार कुने प्रोफाइल पिक्चर देखाउन छाडेर गोलो देखाउन थालेको पाँच वर्ष भइसक्यो। अर्थात् सन् २०१७ को अगस्तदेखि नै यस्तो देखाउन सुरु भएको हो। यसबारे थप जान्न यी लिङ्कमा क्लिक गर्न सक्नुहुन्छ:
The Move to Circular Facebook Profile Pictures
ROUND PROFILE PICTURES ARE COMING TO FACEBOOK
Are You Ready for Your New Circular FB Page Profile?
आधार ३ : नाम बिनाको साथीको लाइक ?
त्यसैगरी उक्त स्क्रिनसटमा लाइक गर्नेहरुको ठाउँमा ‘Friend’s name’ समेत लेखेको देखिएको छ। वास्तविक पोस्टमा यस्तो हुँदैन, साथीको नाम नै लेखिएको हुन्छ। नामको ठाउँमा यस्तो लेखिएबाट पनि यो स्क्रिनसट वास्तविक फेसबुक स्टायटसको होइन भन्ने देखिन्छ।
आधार ४ : अरु रियाक्सनै छैन ?
फेसबुकमा सन् २०१६ अघि पोस्टहरुमा लाइक मात्रै गर्न मिल्थ्यो। तर २०१६ पछि फेसबुकले लाइकसँगै अन्य विभिन्न रियाक्सनहरु पनि गर्ने सुविधा थप्यो। त्यस अनुसार लाइक बाहेक सुरुमा लभ, हाहा, वाउ, स्याड र एङ्ग्री रियाक्सन थपिएको थियो। पछि ‘केयर’ पनि थपियो।
अहिले फेसबुकमा यति सात वटा रियाक्सन गर्न मिल्छ :
तर भाइरल भएको स्क्रिनसटमा १.३ हजार रियाक्सन भए पनि लाइक मात्रै देखिएको छ जुन अस्वभाविक छ। यति धेरै रियाक्सनमा एउटा भए पनि अर्को रियाक्सन त्यसमा देखिनै पर्ने थियो।
फेरि पनि भन्दैछु, त्यस्तो रियाक्सन देखिएको भए पनि त्यसलाई सही भन्न मिल्दैन। किनभने इन्टरनेटमा रियाक्सन देखाएरै पनि नक्कली स्टायटस जेनेरेट गर्ने विभिन्न वेबसाइटहरु छन्।
मेयर साम्पाङले नबुझेको कुरा
३ लाख ६८ हजार फलोअर भएका Harka Sampang A Revolution नामको फेसबुक पेज चलाउने मेयर साम्पाङले बिहीबार साँझ फेसबुकमा अर्को पोस्ट गरेका थिए जसमा लेखिएको छ- म चुपो लाग्दा मलाई प्रहार गरे ! अब म पनि साइबर क्राइमको मुद्दा लाउनु पर्यो मन्जु मेडमको विरुद्ध ! धन्यवाद ! आधार यिनै काफी छन् !
उनले आधार भनेर पोस्ट गरेको स्क्रिनसटमध्ये एउटामा रमेश बुढाथोकीको नाममा लेखिएको छ- मेरो अहिलेसम्मको खोज अनुसार मञ्जु भण्डारीको दुई वटा फेसबुक आइडीमात्रै भेटिएको छ।
उनले लेखे अनुसार नै भण्डारीको नाममा एउटा फेसबुक पेज र एउटा प्रोफाइल रहेको छ। यसकै आधारमा उनको निश्कर्ष छ- भण्डारी आफैले फेसबुकमा पोस्ट गरेको र खराब कमेन्ट र जनताले गाली गरेपछि ६ घण्टापछि डिलिट गरेको देखिन्छ।
जबकि स्क्रिनसटका आधारमा कति घण्टामा यो डिलिट गरिएको प्रष्ट हुन्न। स्क्रिनसटमा पोस्ट गरिएको समय हिजो बिहान ८:५५ मात्रै लेखेको देखिन्छ।
त्यस्तै मेयर साम्पाङले काफी आधार मानेर पोस्ट गरेको अर्को स्क्रिनसट यस्तो छ-
यसमा पनि पोस्टकर्ता लोकेन लिम्बुले फेक भन्न मिल्छ मिल्दैन भनेर त्यो आइडीलाई खोज्ने प्रयास गरेँ भन्दै आइडीबाट पोस्ट भएको र केही घण्टापछि डिलिट भएको दावी गरिएको छ। पोस्ट भएकै आधार भने कुनै दिइएको छैन।
मेयर साम्पाङलाई र उनले पोस्ट गरेका दुई स्क्रिनसटका आधारमा के भ्रम भएको जस्तो लाग्यो भने फेक आइडीबाट पोस्ट भएको भए त त्यो फेक आइडीवाला फेसबुक पनि त देखिनु पर्ने नि, मञ्जु भण्डारीका जम्मा दुई वटा छन्- फेसबुक प्रोफाइल र फेसबुक पेज। कसरी अर्को फेकले पोस्ट गरेको हुनसक्छ? साँच्चिकै उनले पोस्ट गरेका हुन् र पछि डिलिट भएको हो।
यसमा उनीहरुले नबुझेको कुरा चाहिँ के लाग्यो भने फेक आइडीबाट होइन स्क्रिनसट नै फेक बनाइएको हो। दुरुस्तै देखिने फेक स्क्रिनसट बनाउने थुप्रै वेबसाइटहरु इन्टरनेटमा भेटिन्छन्।
उदाहरणका लागि माथि मेयर साम्पाङले राखेको स्क्रिनसटकै मान्छेले लेखेको जस्तो फेक स्क्रिनसट बनाइ हेरम् त? यसका लागि फोटोसप केही गर्नु पर्दैन, सामान्य वेबसाइटबाटै गर्न सकिन्छ।
यो एउटा फेक पोस्ट जेनेरेटर हो। यसमा सम्बन्धित व्यक्तिको फोटो र नाम राखेर के लेख्नुपर्ने लेखे लाइभ प्रिभ्यु मै देखिन्छ।
यसमा फोटो, नाम र पोस्ट लेख्दा यस्तो प्रिभ्यु देखियो-
अब यसैको स्क्रिनसट बनाएर राख्दा यस्तो देखिन्छ-
यो स्क्रिनसटमा लोकेन लिम्बुको नाम र फोटो देखियो भन्दैमा त्यो उनले नै लेखेको हुँदैन। अरु कसैले यसरी सहजै बनाएको पनि हुनसक्छ भन्ने कुरामा ध्यान दिनु आवश्यक छ।
यो मैले आफ्ना पहिलेका प्रस्तुतिहरुमा देखाउने एउटा स्लाइड हो। स्क्रिनसटका आधारमा विश्वास गर्ने हो भने नरेन्द्र मोदी र डोनल्ड ट्रम्पले नेपालीमा गरेको यस्तो ट्विट पनि पत्याउने ? सँगै राखिएको फेक ट्विट र फेसबुक स्टायटस जेनेरेटरका लिङ्कहरु चाहिँ मैले गलत प्रयोग हुनसक्ने भएकोले यता छोपेर राखेँ।
फेक च्याट स्क्रिनसटले कतिसम्म असर पार्छ, यो एउटा अर्को उदाहरण
तपाईँहरुलाई याद होला, केही वर्षअघि (लकडाउनका बेला) रुकुम पश्चिममा दलितहरु मारिएको घटना। त्यो घटनामा प्रेमिका भनिएकी किशोरी र मारिएका दलित युवकबीचको च्याट भनेर यस्तो स्क्रिनसट सामाजिक सञ्जालमा देखिएको थियो। जबकि अनुसन्धानमा यो फेक भएको देखिएको थियो। यसमा किशोरीले मेरो पेटमा तिम्रो बच्चा छ भनिएको छ, जबकि यो घटनापछि प्रहरीले हिरासतमा लिँदा उनको महिनावारी भएको थियो। रिपोर्टिङका क्रममा रुकुम पश्चिममा पुगेकोले मलाई यो बारे थाहा भएको थियो। तर सामाजिक सञ्जाल विशेष गरी युट्युब भरी किशोरीको गर्भमा नवराजको बच्चा हुर्केको खबर भाइरल भएको थियो। यहाँसम्म कि ती युवककी आमाले समेत बच्चा मार्न पाइँदैन, मलाई दिनुपर्छ भनेर युट्युबरहरुले अन्तर्वार्ता लिएका थिए।
आधार ५ : कमनसेन्स
मैले माथि चार वटा आधारमा भाइरल भएको स्क्रिनसट किन फेक हो भनेर लेखेँ। त्यसबाहेक एउटा अर्को आधार पनि हुन्छ- कमनसेन्स।
सामान्य चेत भएका व्यक्तिले यस्तो स्टायटस कसैले लेख्लान् र त्यसलाई सार्वजनिक रुपमा राख्लान् कि जातीय विद्वेष फैलाउन खोज्नेहरुले, प्रष्टै बुझ्नु पर्ने हो।
कमनसेन्स भएको व्यक्तिले सामाजिक सञ्जालमा आफ्ना भावनाहरुलाई उत्तेजित बनाउने खालका कुनै सामग्री आयो भने हतारमा प्रतिक्रिया गर्ने वा त्यसका आधारमा विचार बनाइहाल्ने भन्दा पनि त्यो सही त छ? गलत त होइन भनेर एकछिन रोकिन्छ।
चुनावको घोषणा भइसकेको छ, यस्ता मिथ्या सूचनाहरु अझै फैलन सक्छन्। यसमा होशियार हुनुपर्छ। अरु मिथ्या सूचना भन्दा यस्तो किसिमको जातजाति र सम्प्रदायबीच रहेको सद्भाव भड्काउने खालका मिथ्या सूचनाले निकै हानी गर्छन्, यसमा सबै सचेत हुन जरुरी छ।
तपाईँहरुले केही मिथ्या सूचना देख्नुभएमा वा केहीको तथ्य जाँच गर्नुपर्ने जस्तो लागेमा यसमा पठाउनु होला है