Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एउटा अनलाइनको थोप्लोले कति फरक पर्दछ पत्रकारितामा…

Posted on July 28, 2022July 28, 2022 by Salokya

नारायणगोपालले गाएका थिए- एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा।

अब यसको रिमिक्स भर्जन सुन्नुस- ‘एउटा अनलाइनको थोप्लोले कति फरक पर्दछ पत्रकारितामा…’

बुझ्नु भएन ? नहतारिनुस् न। म बुझ्ने गरी उदाहरणसहित बताइहाल्छु नि।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को इतिहासमा सबैभन्दा बढी कारोबार (टर्नओभर) कति छ ? २१ अर्बको ! गत वर्षको अगस्त महिनामा दुई दिन २१-२१ अर्बको कारोबार भएको थियो।

हेर्नुस् नेप्सेअल्फाबाट निकालिएको स्क्रिनसट

तर गुगलमा सर्च गर्नुभयो भने तपाईँले २१ हैन २३२ अर्बको कारोबारसमेत भएको भेट्टाउन सक्नुहुन्छ। त्यो पनि एउटामा हैन, कयौँ न्युजपोर्टलमा !

फेसबुकमा खोज्दा पनि २३२ अर्ब कारोबार भएको हेर्न पाइन्छ। हेर्नुस् स्क्रिनसट-

२३२ अर्ब भनेको २,३२,००,००,००,००० हो। अर्थात् २ खर्ब ३२ करोड। लौ पनि चिप्लेछु, करोड होइन अर्ब पो त! खर्बको कारोबार भएको हो त?

पक्कै पनि होइन।

तर गुगलमै भेटिएको त्यति धेरै अनलाइनहरुले लेखेको कुरा कसरी गलत हुनसक्ला त ?

सबभन्दा पहिला त के बुझ्नुपर्‍यो भने गुगलमा भेटिएका सबै कुरा सही हुँदैनन्।

खोज्दै जाने क्रममा थाहा भयो, सबैभन्दा पहिला अनलाइनखबरले यो गल्ती गरेको रहेछ। २०७९ असार २७ गते दिउँसो ३:२६ को टाइमस्टायम्प रहेको एउटा समाचार अनलाइनखबरमा प्रकाशन भयो। समाचारमा केही गल्ती छैन। समाचारमा २ अर्ब ३२ करोड चानचुनकै कारोबार लेखिएको छ।

तर हेडलाइन राख्ने क्रममा एउटा थोप्लो छुटेछ- २.३२ अर्ब कारोबार हुनुपर्ने ठाउँमा २३२ अर्ब हुन पुगेछ।

हेर्नुस् तलको स्क्रिनसट।

अनलाइनखबरले फेसबुकमा पनि यही हेडलाइनमा समाचार राखेको थियो। अचेल पत्रकार आफूलाई खुब बाठो ठान्छ, तर पाठक उनीहरुभन्दा एक कदम अघि हुनसक्छन्। यो केसमा पनि त्यही भयो। जसले यो हेडलाइन लेखेर अपलोड गरेको हो, उसले भेउ नपाउँदै पाठकले गल्ती पत्ता लगाइसकेका थिए। हेर्नुस् अनलाइनखबरको फेसबुकमा आएका केही कमेन्ट :

 

शायद् त्यसैको प्रभावले होला, गल्ती सच्चियो। फेसबुकको edit history हेर्दा आधा घण्टा नबित्दै हेडलाइन सच्याएर फेसबुकमा पनि पोस्ट सच्याएको देखिन्छ। फेसबुकमा यसरी edit history हेर्न सकिन्छ।

थोप्लो हाल्यो भने सानो थोप्लो नदेखेर झन् गालीको कमेन्ट आएको आयै गर्ला भनेर डराएर हो कि स्पष्ट २ अर्ब ३२ करोडको कारोबार भनेर शीर्षक हालियो।

तर त्यसरी हेडलाइन गल्ती भएर सच्याउँदा भने यस्तो गल्ती हुन गएकोले सच्यायौँ भनेर लेखिएन। त्यति लेखिदिएको भए पाठकले उठाएका कुराको सम्बोधन हुन्थ्यो। मान्छे भएपछि गल्ती त भइहाल्छ नि। त्यसलाई स्वीकार्नु र सच्याउनु पो ठूलो कुरा हो त। हुनत यसो हेर्दा यो सामान्य गल्ती जस्तो लाग्ला तर अर्कोतर्फबाट हेर्दा २ अर्ब र २३२ अर्ब भन्नु त धेरै ठूलो अन्तर पो हो त!

अनलाइनखबरको सच्चिएको हेडलाइन। यहाँ क्लिक गरेर पढ्नुस् अहिलेको भर्जन।

जे होस्, अनलाइनखबरले त्यति छिट्टै गल्ती सच्याएर राख्यो। तर त्यही अनलाइनखबरलाई विश्वास गरेर कपिपेस्ट गर्नेहरु भने फँसे। ती कपिपेस्टवालाहरुले अनलाइनखबरलाई यति विश्वास गर्दा रहेछन् कि हेडलाइनदेखि कन्टेन्टसम्म सार्दा रहेछन् भन्ने पनि देखियो। अनलाइनखबरले आधा घण्टा मात्र एउटा थोप्लो लेख्न गल्ती लेखेर सच्याउँदा पनि कति धेरै असर पर्दो रहेछ भन्ने त प्रष्टै देखिएन र ?

त्यही भएर यो नयाँ रिमिक्स गीत बनाएको- एउटा अनलाइनको थोप्लोले कति फरक पर्दछ पत्रकारितामा….

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme