नेपालको मिडिया बजारले धान्नै नसक्ने न्यूज पोर्टलहरू खुलिसके। अर्को एउटा न्यूज पोर्टल किन चाहियो ? केका लागि ? कतिञ्जेल थेगिन्छ? लगानी र जनशक्ति पर्याप्त छ? संस्थागत होला?
१६ भदौ २०७८ मा सुरु भएको नेपालभ्युज अनलाइन मिडियाले आफ्नो सम्पादकीयको सुरुमै लेखेका शब्द थिए यी। आफैले लेखेको सम्पादकीयको प्रश्न यतिखेर नेपालभ्युजमा तेर्सिएको छ। आर्थिक संकटको कारण देखाउँदै सिइओ विश्वदीप पाण्डेले संस्था परित्याग गर्न मौखिक रुपमा आग्रह गरेको र त्यसपछि समाचार कक्षको वातावरण बिग्रेको भन्दै त्यहाँ कार्यरत १५ जनाले सामूहिक राजीनामा दिएका छन्। उनीहरुले राजीनामा पत्रमा एउटा गम्भीर प्रश्न सोधेका छन्- ‘चौबीसै घण्टा, सातै दिन काम गर्दा पनि एकाएक जागिर छोड भन्ने संस्थासँग कुन विश्वासमा काम गर्ने ?’ उनीहरुले पारिश्रमिकमा आयकर कट्टीगरी राजश्व विभागमा दाखिल गर्ने दायित्व व्यवस्थापनको भए पनि त्यो नगरेको आरोपसमेत लगाएका छन्। सामूहिक राजीनामा पत्र यस्तो छ-
मितिः २०७९/०४/०४
श्रीमान् प्रधान सम्पादक ज्यू
नेपाल भ्यूज
चाकुपाट, पाटन
विषय : राजीनामा सम्बन्धमा
महोदय,
गत जेठदेखि सञ्चालकका कारण सिर्जित समस्याका कारण नेपाल भ्यूजको समाचार कक्ष कार्यमैत्री हुन नसकिरहेकोमा तपाईं स्वंय अवगत हुनुहुन्छ । यस समाचार संस्थाको सञ्चालक कम्पनी ‘डिजिटल हाउस प्रा. लि. का सिइओ रहेका विश्वदीप पाण्डेले २२ जेठमा सबै सहकर्मीमाझ आफू आर्थिक संकटमा फसेकाले न्यूजरूमको आकार सानो बनाउन खोजेको जनाउँदै साथीहरूलाई यस संस्था परित्याग गर्न मौखिक रूपमा आग्रह गर्नुभएको थियो । बैठकमा सबै साथीहरूले समाचार संस्थाप्रतिको आफ्नो लगाव जनाएपछि उहाँ ‘पछि धारणा राख्ने भन्दै जानुभएको थियो । त्यसको केही दिनपछि मानव संशाधन विभागबाट आर्थिक संकट यथावत रहे पनि कार्यालय यथावत निरन्तर रहने व्यहोराको एउटै इमेल सबै साथीहरूलाई गयो तर समाचार कक्षको वातावरण बिग्रिसकेकाले त्यसलाई सुधार्न हामीले व्यवस्थापनसमक्ष माग गरिआएका थियौँ । साथीहरूको मनोबल बलियो बनाइराख्न र कार्यालयप्रति अपनत्व कायम राख्न गत चैतमा भनिए बमोजिम साउनदेखि लागू हुनेगरी सबैको तलब बढेको नयाँ करारपत्र पाउनुपर्ने हाम्रो माग थियो ।
१२ असारमा बसेको बैठकमा यस संस्थाकी अध्यक्ष कृति खतिवडाले ‘नयाँ सञ्चालकहरू समेत आएकाले आफू त्यसरी तलब बढाउन तयार भएको वचन दिनुभएको थियो । त्यसयता यसै विषयमा पटक-पटक तपाईं र व्यवस्थापनबीच वार्ता भएकोबारे हामी जानकार छौं । समाचार कक्षले सक्रियतापूर्वक काम गरिरहेको अवस्थामा एकाएक व्यवस्थापनले समस्या सिर्जना गरेकाले काम गर्ने वातावरण गुम्न पुगेको हो । ‘चौबीसै घण्टा, सातै दिन काम गर्दा पनि एकाएक जागिर छोड भन्ने संस्थासँग कुन विश्वासमा काम गर्ने ? भन्ने प्रश्न हाम्रो थियो । त्यसैलाई सम्बोधन गर्न विश्वासको वातावरण सिर्जना गर्नका लागि अध्यक्ष खतिवडाज्यू तलब बढेको करारपत्र १५ असारभित्रै दिन तयार हुनुभएको थियो । उक्त वचन पूरा नगर्दा यस संस्थामा काम गर्ने विश्वासको वातावरण सिर्जना नभएको महसूस गर्दै २६ असारमा हामीले सामूहिक राजीनामा पेश गरेका थियौँ ।
हाम्रो सामूहिक राजीनामापछि व्यवस्थापन पक्ष कात्तिकदेखि मासिक तलब वृद्धि हुने, त्यतिञ्जेलका लागि मासिक तीन हजार रूपैयाँ तलबमा थप गर्नेगरी एक वर्षको करारपत्र दिने सहमति भएकाले काम सुचारू गरौं भन्ने तपाईंको आग्रह अनुसार हामीले १ साउनदेखि काम थालेका थियौँ । तर सोही दिनदेखि नै व्यवस्थापन पक्ष उक्त सहमतिमा अडिग नभएको पायौँ । नभन्दै २ साउनमा सम्पादक टिमसँग कुनै सरसल्लाह नगरी बिदाका सम्बन्धमा कुनै हालतमा स्वीकार गर्न नसकिने तीन बुंदे पत्र सबैलाई हस्ताक्षर गराउनका लागि व्यवस्थापनले न्यूजरूममा ल्यायो । पत्रकारहरू आफ्नो सम्पादकसँग जवाफदेही हुनुको साटो व्यवस्थापन पक्षबाट निरन्तर अनुग्रहित हुनुपर्ने बाध्यकारी ती प्रावधान दुई हिसाबले त्रुटीपूर्ण थिए । एक, सम्पादकसँग कुनै सल्लाह नगरी ल्याइएको थियो । दुई, ‘फिल्ड रिपोर्टिङको विवरण व्यवस्थापनलाई दिनुपर्ने लगायतका पत्रकारिताका आधारभुत सिद्धान्तविपरीतका शर्त राखिएको थियो । उक्त पत्रमा हामीले हस्ताक्षर गर्न अस्वीकार गर्यौँ।
त्यति हुँदा पनि व्यवस्थापन पक्ष टिमलाई थप हतोत्साहित गर्नेतर्फ लाग्यो । ३ साउनमा केही साथीहरूलाई बोलाएर तीन महीनाको मात्र करार-पत्र दिने जानकारी दियो जसमा साथीहरूले असहमति दर्ज गरे । तर, ४ साउन (आज) मा सम्पादकसँग भइसकेको भनिएको सहमति उल्लंघन गर्दै तीन महिनाका लागि मात्र करार-पत्र प्रस्तुत गरियो । उक्त करारपत्रको पहिलो बूँदाले नै केवल हाम्रो विश्वास तोडेन, हामीलाई अपमानित गरायो । ‘श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ (२०७४ को संशोधन) को दफा ६ अनुसार पत्रकारको शुरूवाती परीक्षण काल नै ६ महीनाको हुन्छ । त्यसपछिको करार त्यसभन्दा कम अवधिको हुँदैन । अर्कोतर्फ सम्पादकसँग एक वर्षको करारपत्र दिने सहमति भइसकेको जनाइएको थियो ।
आजको बिन्दुसम्म आइपुग्दा हामीले पटकपटक व्यवस्थापनबाट अपमानित भएको महसूस गरेका छौँ । अनलाइन समाचार संस्थाहरूको भीडमा नेपाल भ्यूज को मौलिक छवि बनाउन हामीले दिलोज्यान दियौं । संस्थाका अनेकौं कमजोरीका बावजुद यसको श्रीवृद्धिका लागि दिन, रात नभनी हामी निरन्तर खटिइरह्यौं तर पटकपटक व्यवस्थापन पक्षबाट धोका र अपमान मात्र पायौं । त्यसैले यस संस्थामा अब पनि कार्यरत रहन हामी असमर्थ रहेको जानकारी गराउँदै तपशीलका साथीहरू यस राजीनामापत्र पेश गर्दछौं ।
साथै २२ जेठमा यस समाचार संस्थाको सञ्चालक कम्पनी ‘डिजिटल हाउस प्रा. लि.’ का सिइओ रहेका विश्वदीप पाण्डेले सबै सहकर्मीमाझ आफू आर्थिक संकटमा फसेकाले न्यूजरूमको आकार सानो बनाउन खोजेको जनाउँदै साथीहरूलाई यस संस्था परित्याग गर्न मौखिक रूपमा आग्रह गरेको विन्दुबाट यो समस्या सिर्जना भएकाले ‘श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ को दफा २२ आकर्षित हुन्छ । त्यसैले सोही दफाको उपदफा (३) बमोजम यस संस्थाले पुनः दरबन्दी सिर्जना गर्न वा करारमा कुनै श्रमजीवी पत्रकार नियुक्त गर्न मिल्दैन । उक्त दफाको उपदफा (२) बमोजिम दरबन्दी कटौती गर्नुपरे तीन महीना अगावै जानकारी गराउनुपर्ने प्रावधान भएकाले हाम्रो परिस्थितिमा व्यवस्थापन पक्षले त्यो लागू नगरेको हुँदा तीन महीनाको पारिश्रमिक क्षतिपूर्तिस्वरूप पाउने दाबी गछौं । त्यसका लागि पहल गरिदिनुहुन अनुरोध गर्दछौं । साथै हाम्रो पारिश्रमिकमा आयकर कट्टीगरी राजश्व विभागमा दाखिल गर्ने दायित्व व्यवस्थापनको हो, त्यो नगरेको हुँदा तत्कालै गर्ने पहल गरिदिन पनि अनुरोध गर्दछौं ।
यसको मुनि १५ जनाको नाम र हस्ताक्षर छ। नेपालभ्युजको वेबसाइटमा रहेको हाम्रो टिमका अधिकांश सदस्यको नाम यसमा रहेको छ। टिमको नाम यहाँ क्लिक गरी हेर्न सकिन्छ। सामूहिक राजीनामा दिए पनि न्युजपोर्टल भने अपडेट भइरहेको छ।