Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बलात्कार मुद्दामा झुट्टा उजुरी दिनेलाई सजाय नहुने भन्दै मिडियाले यसरी झुक्यायो तपाईँलाई

Posted on July 15, 2022 by Salokya

बलात्कार मुद्दामा झुट्टा उजुरी दिनेलाई अब सजाय नहुने !

पछिल्लो दिनमा केही नाम चलेका अनलाइन मिडिया पछ्याउने गर्नुभएको छ र सामाजिक सञ्जाल हेरिरहनुभएको छ भने यस्तो खबर तपाईँले पक्कै हेर्नुभएको होला। र, यसको पक्ष वा विपक्षमा आफ्नो धारणा पनि बनाइसक्नुभएको होला।

तर नझुक्किनुस्, त्यो पूर्ण रुपमा सही समाचार होइन। तपाईँलाई मिडियाहरुले झुक्याएका हुन्। यसबारे हामीले नेपालफ्याक्टचेकमा तथ्य जाँच पनि प्रकाशन गरिसकेका छौँ। छुटाउनु भएको भए यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ। खासमा मिडियाले कसरी झुक्यायो त तपाईँलाई? आउनुस् विस्तारमा बुझौँ।

कहाँ कस्तो खबर ?

अनलाइनखबरले  ‘बलात्कार मुद्दामा झुटा उजुरी दिनेलाई सजाय नहुने’ शीर्षकमा सोमबार दिउँसो समाचार राखेको थियो जसमा बुधबारसम्म २ हजारभन्दा बढी रियाक्सन, ४१३ कमेन्ट र ८३ सेयर देखिन्छ।

समाचारको शीर्षकपछि परिवर्तन गरिए पनि समाचारको उपशीर्षकमा ‘झुटा उजुरी दिनेलाई सजाय नहुने’ कायम राखिएको थियो। हेर्नुस् अर्काइभ लिङ्क

फेसबुकमा ठूलोठूलो अक्षरमा यो हेडलाइनसहितको पोस्ट पनि अनलाइनखबरले गर्‍यो।

तर पछि अनलाइनखबरले यो समाचारको हेडलाइनै चेन्ज गरेर ‘बलात्कार मुद्दामा झुट्टा उजुरी दिनेलाई हुने आधा सजायको प्रावधान हट्यो’ पो राख्यो।

त्यसैगरी उपशीर्षक पनि परिवर्तन गरेर ‘झुटा उजुरी दिनेलाई कसूर गर्नेले पाउने सजायको आधा सजाय हुने प्रावधान हट्यो’ बनाइयो र समाचारमा थपियो- ‘जबर्जस्ती करणी कसुरका मुद्दामा झुट्टा उजुरी दिनेलाई हुने सजायको व्यवस्था पूरै हटेको भने होइन।’

लौ भो त अब, अनलाइनखबरलाई विश्वास गरेर दुनियाँ अनलाइनहरुले त्यही समाचार कपिपेस्ट गरिसक्यो। देशका कति एफएमहरुले यो समाचार बनाइसके होलान्। अनलाइनखबरकै समाचार फेसबुकमा हेरेर कतिले विचार बनाइसके होलान्। भरे त समाचार सम्पादन गरेर सजायको व्यवस्था पूरै हटेको भने होइन रे।

अनि यसरी पहिलेको समाचारले भ्रम पारिसक्दा पनि त्यस वापत् माफी माग्ने वा यस्तो हुनुपर्नेमा यस्तो भयो भनेर पाठकलाई समाचारमा नै सामान्य सूचना राखेर जानकारी दिने औपचारिकतासम्म पुर्‍याउन गाह्रो मान्यो अनलाइनखबरले।

खासमा पाठकले एउटै समाचार बारम्बार पढ्दैनन्। पहिले जे पढ्यो, त्यसैलाई विश्वास गर्छन्। अनलाइनखबरले पछि सच्याए पनि धेरैले पहिलेकै समाचारलाई विश्वास गरे होलान्। अनि अनलाइनखबरको समाचार कपिपेस्ट गर्ने धेरैले त्यही समाचार पत्याएर हाले होलान्, पछि अनलाइनखबरले सच्याए जस्तो सच्याएनन् होला।

रुटिन अफ नेपाल बन्द

त्यसैगरी ३१ लाखभन्दा बढी लाइक भएको फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ले पनि बुधबार बिहान ‘New Change in Rule: अब बलात्कार सम्बन्धी झुटो मुद्दा हाल्नेलाई कारबाही नहुने भएको छ’ खबर राखेको छ। दुई घण्टामै यो पोस्टमा ११ हजार रियाक्सन, १८ सय कमेन्ट र ३१९ सेयर देखिएको छ।

पुराना मिडिया जस्तै यो युवामाझ लोकप्रिय पेजले पनि उस्तै गर्‍यो। यस्तो पोस्टले धेरैलाई भ्रममा पारेको त्यसमै आएको कमेन्टले देखाउँछ। भ्रममा पारिसकेपछि त्यसैको कमेन्टमा अर्को पोस्ट गर्दै रुटिनले लेख्यो-

पछि बल्ल रुटिनले मूल पोस्टमै अपडेट विद् करेक्सन लेख्दै यो कुरा राख्यो।

सेतोपाटी

त्यसैगरी अर्को अनलाइन मिडिया सेतोपाटीले पनि ‘बलात्कार मुद्दामा बढ्यो उजुरी गर्ने हदम्याद, झूटो उजुरी र बकपत्रमा अब सजाय नहुने’ शीर्षकमा समाचार राखेको छ। हेर्नुस् अर्काइभ लिङ्क

धेरैले शीर्षकमात्र हेरेर धारणा बनाउँछन्। त्यतिबेला समाचारमा पनि उस्तै लेखिएको थियो। तर पछि समाचारको हेडलाइनबाट ‘झूटो उजुरी र बकपत्रमा अब सजाय नहुने’लाई गायब बनाइयो। र, समाचारमा पनि त्यही अनुसार सुधार गरियो। तर आफूले पहिला पाठकलाई भ्रममा पारेकोमा सामान्य सूचना दिनसमेत जरुरी ठानेन। पाठकलाई यतिसम्म हेप्न त नहुने हो !

यही समाचार अरु विभिन्न अनलाइनहरुले पनि राखेका छन्। केही उदाहरण

बलात्कार मुद्दामा झूटो उजुरी दिनेलाई सजाय नहुने (हिमालप्रेस)
बलात्कार मुद्दामा झूटा उजुरी दिनेलाई सजाय नहुने (दृष्टि)
बलात्कार मुद्दामा झूटा उजुरी दिनेलाई सजाय नहुने व्यवस्था पारित विधेयकमा छ (इमेजखबर)

के हो तथ्य ?

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक पारित गरेको हो। पारित भएको विधेयक प्रतिनिधि सभाको वेबसाइटमा राखिएको छैन। तर प्रस्तावित विधेयक भने वेबसाइटमा हेर्न सकिन्छ। यहाँ क्लिक गरी हेर्नुस्। 

प्रस्तावित विधेयकको स्क्रिनसट

विधेयकमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा संशोधन गरी त्यसको दफा ४४ को उपदफा (२)को खण्ड (क)पछि (क१) थप्ने भनिएको छ जसमा जबर्जस्ती करणीसम्बन्धी मुद्दाको झुट्टा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई कसूरदारलाई हुने न्यूनतम सजायको आधा सजाय गर्ने’ व्यवस्था राखिएको छ।

मिडियामा आएका समाचार अनुसार यो व्यवस्था हटाएर प्रतिनिधि सभाले पारित गरेको हो।

हामीले प्रतिनिधि सभाको वेबसाइटमा रहेको कानुन न्याय तथा मानवअधिकार समितिको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७९ पनि हेर्‍यौँ। यहाँ क्लिक गरी हेर्नुस्। 

यसमा विधेयकमा गरिएको परिमार्जनबारे उल्लेख छ। प्रतिवेदनमा विधेयक दफा ४ को उपदफा (२) झिकी त्यसपछिका उपदफाको क्रम मिलाउने लेखिएको छ। (हेर्नुस् तल पहेँलो लगाइएको भाग)

विधेयकसम्बन्धी समितिको प्रतिवेदनको स्क्रिनसट

यसको अर्थ माथि स्क्रिनसटमा रहेको प्रस्तावित विधेयकमा रहेको दफा ४ को उपदफा २ अर्थात् जबर्जस्ती करणीसम्बन्धी मुद्दाको झुट्टा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई कसूरदारलाई हुने न्यूनतम सजायको आधा सजाय गर्ने’ व्यवस्था हटाइयो।

तर के यो हट्दैमा बलात्कारसम्बन्धी मुद्दामा झुट्टा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई सजाय नै नहुने भएको हो त?

यसका लागि मूल कानुन अर्थात् फौजदारी कार्यविधि संहिता २०७४ हेर्नुपर्छ। यहाँ क्लिक गरी हेर्नुस्।

उक्त संहिताको दफा ४४ को उपदफा २ को (क) मा झुठ्ठा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने उल्लेख छ। यो प्रावधान बलात्कार सम्बन्धी मुद्दामा पनि लागू हुन्छ।

फौजदारी कार्यविधि संहिता २०७४ को यही प्रावधान अनुसार २०७६ सालमा कास्की जिल्ला अदालतले एक ४५ वर्षीया महिलालाई एक महिना कैदको सजाय सुनाएको र २०७७ सालमा पनि एक महिलालाई जिल्ला अदालत बाग्लुङले ५ हजार रुपैयाँ जरिवाना सुनाएको समाचार मिडियामा आएका छन्। तसर्थ विधेयकको व्यवस्था हट्दैमा बलात्कार मुद्दामा झुट्टा उजुरी दिनेलाई सजायको व्यवस्था हटेको भन्न मिल्दैन। विधेयकमा प्रस्तावित ‘जबर्जस्ती करणीसम्बन्धी मुद्दाको झुट्टा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई कसूरदारलाई हुने न्यूनतम सजायको आधा सजाय गर्ने’ व्यवस्था भने हटेको हो।

तथ्य जाँच

दावी : बलात्कार मुद्दामा झुट्टा उजुरी दिनेलाई अब सजाय नहुने।

तथ्य : भ्रामक सूचना। कुनै पनि मुद्दामा झुठ्ठा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने प्रावधानसहितको फौजदारी कार्यविधि संहिता ऐन २०७४ कायम छ। त्यसमा भएको व्यवस्था भन्दा थप गर्न खोजिएको ‘जबर्जस्ती करणीसम्बन्धी मुद्दाको झुट्टा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई कसूरदारलाई हुने न्यूनतम सजायको आधा सजाय गर्ने’ प्रस्ताव भने यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकबाट हटाएर पारित भएको हो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme