Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उदयपुरमा साँच्चिकै ‘दुर्लभ’ अजिङ्गर भेटिएको कि पत्रकारलाई ‘दुर्लभ’ लागेको?

Posted on July 12, 2022July 12, 2022 by Salokya

नयाँ पत्रिका राष्ट्रिय दैनिकको अनलाइनमा आइतबार राति एउटा समाचार आएको रहेछ। शीर्षक थियो- ‘उदयपुरमा भेटियो दुर्लभ अजिंगर : आठ किलोको बोका सिंगै निल्यो’ 

समाचार पढ्ने बित्तिकै दिमागमा के आयो ?

  • यो साँच्चिकै दुर्लभ अजिङ्गर हो कि समाचार लेख्ने पत्रकारलाई दुर्लभ लागेको ?
  • आठ किलोको बोका खाएकोले मात्र यो दुर्लभ भएको हो कि?
  • खाएको बोका आठ किलोको थियो भनेर कसरी थाहा भयो ?

समाचार अनुसार उदयपुरको चौदण्डीगढी नगरपालिका – ५ सुन्दरपुरस्थित एक सामुदायिक वन क्षेत्रमा नै यो घटना भएको रहेछ। अर्थात् जंगलमै भएको रहेछ।

यसो अरु तिर पनि यो समाचार छ कि छैन भनेर हेर्दा अरु अनलाइनतिर पनि प्रशस्तै समाचार आएको रहेछ। तर दुर्लभ भने ‘नयाँ पत्रिका’लाई मात्र लागेको रहेछ।

के यो साँच्चिकै दुर्लभ हो त ?

नजिकबाट चिन्नेहरुले ‘हर्पेटोलोजीको इन्साइक्लोपेडिया’ उपमा दिने गरेका प्रा. करनबहादुर शाहलाई मैले फेसबुकमा यही समाचारको लिङ्क ठेलेर सोधेँ- सर, यो दुर्लभ अजिङ्गर हो ?

‘तराईको धेरै ठाउँमा राम्रै संख्यामा पाउने भएकोले कसरी दुर्लभ भन्ने?’, उनको जवाफ थियो।

उनल अझ प्रष्ट पारे, ‘यो नेपालमा प्राथमिकतामा परेको संरक्षित जन्तु त हो तर दुर्लभ भने होइन।’

भनेपछि समाचार लेख्नेलाई यो अजिङ्गर दुर्लभ लागेछ। पत्रकारलाई त्यस्तो लागेपछि मिलाएर ‘कोट’ पनि लिइहाल्छ। समाचारमा पनि ‘वन डिभिजन कार्यालय गाईघाटका प्रमुख अम्बिकाप्रसाद पौडेलले चुरे क्षेत्रमा पहिलो दुर्लभ अजिंगर फेला परेको बताए’ लेखिएको रहेछ।

एउटा कुरा भन्दा अर्कै लेखिदिएको  भनेर धेरैले पत्रकारहरुलाई दोष दिने गर्छन्। पत्रकारहरुले पनि भन्ने बेलामा भन्ने अनि पछि मैले त्यसो भनेकै थिइनँ भन्ने भनेर प्रतिवाद गर्छन्।

पौडेलले ठ्याक्कै त्यही अर्थात् दुर्लभ भनेका हुन् कि हैनन्, त्यो त थाहा भएन। तर करन सरले भने जस्तै धेरै ठाउँमा राम्रै संख्यामा पाउनेलाई दुर्लभ भन्न कसरी मिल्यो र !

यही बारे समाचार कान्तिपुरमा पनि आएको रहेछ। शीर्षक छ- बोका खाँदै गरेको अजिंगर भेटियो

धन्न कान्तिपुरका पत्रकारलाई यो दुर्लभ लागेको रहेनछ।

तर दुई समाचार पढ्दा रमाइलो के छ भने नयाँ पत्रिकाले शीर्षकमै लेखेको छ ‘आठ किलोको बोका’ तर कान्तिपुरको समाचारमा भने १२ किलोको बोका लेखिएको छ

हैट, चार किलो बढी ! यसलाई कसरी बुझ्ने ?

कान्तिपुर नम्बर वान पत्रिका हो। त्यसैले यसले सबै कुरा बढी नै लेख्नुपर्ने भनेर बुझ्ने कि 🙂

सामान्य मान्छेले दुई वटै पत्रिकाको समाचार पढ्यो भने कुनलाई सही मान्ने ? नयाँ पत्रिकाको आठ किलो कि कान्तिपुरको १२ किलो ? दुवैले करिब भनेर लेखेको छ फेरि। अर्थात् दुवैलाई ठ्याक्कै यति हो भन्ने त थाहा थिएन।

कान्तिपुरको समाचारमा दुई तारे फुली सहित प्रहरी नायब निरीक्षकले अजिङ्गरसँग खिचाएको फोटो पनि राखेको देखियो। यो किन जरुरी भयो होला कुन्नि।

करन सरको सुझाव यस्तो थियो, ‘यस्तो अवस्थामा अजिङ्गरलाई नचलाउनु पर्ने थियो। जंगलमै थियो, खान दिएको भए हुन्थ्यो। बोकाको मालिकलाई कुनै निकायले क्षतिपूर्ति वापत पैसा दिए हुन्थ्यो। रेस्क्यु गर्दा अजिङ्गरले पक्कै पनि बान्ता गरेर बोकालाई बाहिर फाल्यो होला। अजिङ्गर भोकै रह्यो। अब उसले घरपालुवा वा जङ्गली जनावरको शिकार गर्नु पर्ने अवस्था आयो।’

तर कहाँ त्यति सहज अवस्था थियो र। समाचार अनुसार अजिङ्गरले बोका खाइदिएपछि स्थानीयले मार्न खोजेका थिए। प्रहरी र वनका कर्मचारीले अजिंगरको उद्दार गरेका थिए।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme