- राजु आचार्य
केही दिनअघि ‘नरभक्षी बाघको आनीबानी सुध्रिएको’ ले जंगलमा छाडिएको भन्ने आशयको समाचार नेपाली मिडियामा प्रकाशित भए पछि अनौठो लाग्नु स्वाभाविक थियो। घाइते र उद्दार गरिएका वन्यजन्तुहरूलाई प्राकृतिक वासस्थानमा छोड्नु सामान्य भए पनि, नेपाल जस्तो मुलुकमा मान्छे खाने वा घाइते बनाउने बाघलाई के को आधारमा चिनियो/छोडियो होला भनेर शङ्का गर्नु सामान्य हो। बाघ सुध्रिएको भन्ने कुरा कतिको विश्वसनीय होला ? मानिसलाई पनि विभिन्न कारणले सुधार गृहमा राखे जस्तो बाघको सुधार गृह कुन ठाउँमा होला ? यस्ता थुप्रै प्रश्नहरूले वन्यजन्तुमा चासो राख्ने/नराख्ने सबैलाई घचघच्याउने काम गरिरह्यो।
अधिकांश बाघहरू मानिस देखेर डराउँछन्। बाघ बूढो भएर सिकार खेल्न सकेन, बाघले अन्य जनावर भनेर सोच्यो, अकस्मात् जम्काभेट भयो तथा सहजताको (सिकार खेल्न सजिलो) कारणले बाघले मानिसको सिकार गर्ने अनुमान गरिएको छ। वासस्थान विनाश तथा आहारको कमीले पनि जङ्गल बाहिर निस्केर बाघले मानिसलाई आक्रमण गर्न सक्छ।
मान्छे मार्ने बाघहरूलाई प्राकृतिक अवस्थामा फर्काउन लगभग असम्भव जस्तै हुन्छ। दुर्घटनावश मानिसलाई आक्रमण गरेका बाघहरूलाई मानव बस्ती देखि धेरै टाढा दूर दराजमा छोड्न सक्छौँ। के कारणले नरभक्षी भयो भन्ने थाहा भयो भने तिनको व्यवस्थापन गर्न सकिन्छ।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले विभिन्न समयमा समातिएका ७ वटा बाघ मध्ये भर्खर ४ वटालाई प्राकृतिक वासस्थानमा छोड्यो।
तर अनलाइन मिडियामा आएका समाचारलाई आधार मान्ने हो भने, नरभक्षी बाघलाई समातिएको , तिनको बानी ब्यहोरा सुधारियो र सुध्रेका जतिलाई पुन प्राकृतिक वासस्थानमा छोडिएको भन्ने अर्थ लाग्छ।
यसरी आएका थिए समाचार
खास कुरा यस्तो भए पनि समाचार भने यसरी आएको थियो। इका्न्तिपुरको समाचारको शीर्षक नै ‘आनीबानीमा सुधार देखिएका’ चारवटा बाघलाई जंगलमा छाडियो’ रहेको छ। राससलाई क्रेडिट दिइएको समाचारको लिडलाइनमा लेखिएको छ, ‘मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको चारवटा बाघलाई ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले प्राकृतिक वासस्थानमै छाडेको छ।’
त्यसैगरी अनलाइन मिडिया लोकान्तरले शीर्षक राखेको छ, ‘चार नरभक्षी बाघको आनीबानी सुध्रियो, तीनको अझै बाँकी’। समाचारको लिडलाइनमा लेखिएको छ, ‘चितवन राष्ट्रिय निकुन्जले चारवटा नरभक्षी बाघलाई पुनः प्राकृतिक वासस्थानमै छाडेको छ। यसअघि मानिसलाई आक्रमण गरेपछि निकुन्जले नियन्त्रणमा राखेको चार वटा बाघको आनीबानी सुध्रिएको भन्दै पुनः जंगलमै छाडेको हो।’
अरु विभिन्न मिडियामा पनि ‘अझै सुध्रिएन नरभक्षी बाघको आनीबानी’ शीर्षकमा राससलाई क्रेडिट दिई समाचार आएका छन्। तर ती समाचारको पहिलो वाक्यले भने नरभक्षी बाघको आनीबानी सुध्रिएकोले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको नै बुझिने गरी यस्तो लेखिएको छ-
मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ।
हेर्नुस् उदाहरण- रेडियो नेपाल, नेपाललाइभ, पहिलोपोस्ट, इकागज
के हो खास कुरो ?
यस्तो आशयको समाचार प्रकाशित भएपछि सोही समाचारबाट प्रभावित भई फेसबुकमा वातावरण/प्रकृति सम्बधि रुचि राख्नेहरूको समूह ‘ भोइस अफ नेचर’ मा सोही आशयको सर्वेक्षण समेत गरिएको थियो। सो सर्वेक्षणमा सहभागी ६७%ले पनि ‘मानिस खान/आक्रमण गर्न पल्किएको बाघको बानी सुध्रियो भनेर थाहा पाउन सकिँदैन भनेर मत जाहेर गरेका थिएl
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले सो सर्वेक्षणमा कमेन्ट गर्दै लेखेका छन्, ‘मानिस खान पल्केको बाघको बानीब्यहोरा सुध्रिएको भन्न खोजेको थिएन निकुञ्जले। समातेको अन्य बाघको भनेको थियो तर समाचार अन्यथा बन्न पुग्यो। यसबाट प्रस्ट हुन्छ समाचार श्रोतासम्म कसरी प्रवाह हुन्छ।’
उनले फोनमा थप प्रष्ट पारे, ‘समातिएका सबै बाघहरू नरभक्षी हुँदैनन्। बस्ती नजिक आयो, गाइवस्तु खायो, स्थानीयहरूको दबाब आयो भने पनि बाघहरू समातिने गरिन्छ। यसरी समातिएका बाघहरू मध्ये नरभक्षी बाहेकका बाघहरू विभिन्न समयमा सरकारको निगरानीमा रहने गरी छोडिन्छ। यसपालि पनि त्यसै गरियो। तर नरभक्षी बाघहरू भने छोडिएको छैन।
‘यसरी छोड्ने बाघहरू पनि छोड्नु अघि पशु चिकित्सकको पूर्ण जाँच पछि मात्र छोडिन्छ,’ उनले थपे, ‘मिडियाले भने जस्तो नरभक्षीको बानी सुध्रेर छोडेको भने होइन। छोडिएका बाघको घाँटीमा स्याटलाइट कलर जडान गरिएकोले कता पुगे के गर्दैछन् भन्ने कुरालाई हामी नजिकबाट नियाली रहने छौँ। यसले बाघ र मानवबीचको द्वन्द्व कम गर्न सहयोग गर्नेछ भने बाघको गतिविधिको अभिलेखीकरण समेत हुनेछ।’
भनेपछि आफै छुट्याउनुस्- बाघको आनीबानी सुध्रिएको कि पत्रकारको समाचार लेख्ने शैली बिग्रिएको?
नेपालीभाषाको हुर्मत लिने काम पत्रकारहरूले जत्तिको कसैले गरेकै छैन । एउटा अनलाइन पत्रीकामा आएको समाचारको एउटा अंश हेर्नुहोस्, “बलत्कार आरोपित चटौतका बुबा जिल्ला अदालत…..” यो वाक्यमा आरोप कसलाई लागेको खुट्याउन सकिन्छ ? आशय बुबासँग जिल्ला अदालत पुगेको भन्ने खालको छ । “बलत्कार आरोपित चटौत आफ्ना बुबासँग जिल्ला अदालत…” लेख्दा प्रष्ट हुन्छ ।अर्को भारी वर्षा भन्छन् । मुसलधारे, घनघोर, अतिवृष्टि जस्ता रैथाने नेपाली पद नलेखेर वजन वा तौल बुझाउने पद प्रयोग गर्छन् ।तर, सबै उस्तै भने छैनन् । केहीको भाषा मीठो पनि छ ।