Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शिक्षकले विद्यार्थी कुटेको भिडियो बझाङको होइन भारतको

Posted on July 6, 2022 by Salokya

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ जसमा एक व्यक्तिले कक्षाकोठा जस्तो देखिने ठाउँमा एक बालकलाई निर्दयी भएर कुटिरहेको देख्न सकिन्छ। भिडियोसहितका पोस्टहरुमा यो दृश्य नेपालको बझाङ जिल्लाको रहेको दावी गर्दै शिक्षकलाई कारबाही गर्नुपर्ने लेखिएका छन्।

तर हाम्रो तथ्य जाँचमा यो भिडियो नेपालको नभई छिमेकी देश भारतको बिहार राज्यस्थित कोचिङ सेन्टरको रहेको देखिन्छ।

कसरी भयो भाइरल?

मनोज अधिकारीले २०२२ जुलाई ५ मंगलबार बिहान पोस्ट गरेको यो भिडियोमा मध्यरातसम्म ५ हजार ४ सय सेयर भएको छ भने १ हजार ७ सय कमेन्ट र १ हजार ९ सय रियाक्सन रहेका छन्। सो भाइरल पोस्टमा कुट्ने व्यक्ति बझाङका शिक्षक रहेको दावी गर्दै तुरुन्त कारबाही गर्नुपर्ने माग गरिएको छ।

त्यसैगरी यही भिडियो खबर डट कम नाम रहेको फेसबुक पेजमा पनि छ। त्यसैगरी मिस्टर मोहन नाम रहेको फेसबुक पेजमा यही भिडियो २८८ कमेन्ट र ७५६ सेयर देखिन्छ। वासुदेव पोखरेल नामको व्यक्तिको वालमा पनि यो भिडियो ३९३ सेयर रहेको छ।

के हो तथ्य ?

यस बारे खोज्ने क्रममा हामीले यो भिडियो भारतीय पत्रकार उत्कर्ष सिंहको भेरिफाइड ट्विटर ह्यान्डलबाट २०२२ जुलाई ३ मा अपलोड भएको भेट्यौँ।

ये वीडियो देखकर दिल दहल गया. कोई शिक्षक 5 साल के बच्चे को इतनी बेरहमी से कैसे मार सकता है!

पटना के मसौढ़ी के एक कोचिंग में इस हैवान शिक्षक की पिटाई से मासूम बेहोश हो गया. बच्चे के बेहोश होने की जानकारी मिलते ही आक्रोशित ग्रामीणों ने कोचिंग के शिक्षक छोटू की भी जमकर पिटाई कर दी. pic.twitter.com/J67McNznaW

— Utkarsh Singh (@UtkarshSingh_) July 3, 2022

यो भिडियोसहितको ट्विट बुधबारसम्म ६७ हजारभन्दा बढी पटक हेरिएको छ भने १ हजार ४२७ रिट्विट भएको छ। ट्विटमा उनले यो घटना भारतको पटनास्थित मसौढीको एक कोचिङ सेन्टरको भएको उल्लेख गरेका छन्।

भिडियो भाइरल भएपछि यसबारे विभिन्न भारतीय मिडियाले पनि समाचार बनाएका छन्।

भारतीय टिभी च्यानल आजतकको अनलाइनले राखेको समाचारको स्क्रिनसट।

आजतकको समाचारमा दिइएको जानकारी अनुसार यो घटना विहारको पटनास्थित जया कोचिङ क्लासेसको हो। पाँच सालको विद्यार्थीलाई छोटु नामका शिक्षकले बेहोस हुन्जेल कुटेको र यो घटनाबारे थाहा पाएपछि स्थानीयले शिक्षकलाई पनि कुटेको समाचारमा उल्लेख छ। हेर्नुस् आजतकको समाचारको अर्काइभ लिङ्क। 

त्यसैगरी अर्को भारतीय मिडिया दैनिक भाष्करको अनलाइनमा पनि यही भिडियोसहितको समाचार रहेको छ। यो समाचारमा पनि घटना पटनाको जया कोचिङ संस्थानको भएको उल्लेख छ। स्थानीय प्रहरीले घटना शनिबारको भएको र आरोपी शिक्षक फरार रहेको बताएको समाचारमा उल्लेख छ। हेर्नुस् समाचारको अर्काइभ लिङ्क। 

त्यसैगरी भारतीय टिभी एनडिटिभीको अनलाइनमा पनि यो भिडियो पटनाको जया कोचिङ क्लासेस नामको ट्युसन सेन्टरको भएको र आरोपी शिक्षकको नाम छोटु रहेको समाचार छ। हेर्नुस् अर्काइभ लिङ्क।

जिल्ला प्रहरी कार्यालय बझाङ नाम राखिएको फेसबुक प्रोफाइलबाट पनि भ्रममा नपर्न हुन अनुरोध शीर्षकमा उक्त भिडियो बझाङ जिल्लामा घटेको घटना नभएको लेखिएको स्टायटस मंगलबार राखिएको छ।  स्टायटससँगै केही भारतीय युट्युब च्यानलका स्क्रिनसट पनि राखिएको छ।

 

तथ्य जाँच

दावी :  एक शिक्षकले बालकलाई निर्घात कुटेको भिडियो नेपालको बझाङ जिल्लाको हो।

तथ्य : मिथ्या सूचना । यो भिडियो नेपालको नभई भारतको विहार राज्यको पटनास्थित जया कोचिङ क्लासेसको भएको विभिन्न भारतीय मिडियाले लेखेका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme