Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एमेजनबाट प्रकाशित किताब भन्ठानेर यसरी झुक्कियो ‘कान्तिपुर’

Posted on July 2, 2022July 3, 2022 by Salokya

गएको असार १३ गते कान्तिपुरको अनलाइन संस्करणमा एउटा समाचार छापिएको छ जसको शीर्षक छ- कवि धामीको ‘एटलान्टिक’ एमेजनबाट प्रकाशित

समाचार कसले लेखेको हो, नाम खुलाइएको छैन। तर समाचार लेख्ने या त झुक्किएका छन्, या समाचार दिनेले उनलाई नराम्ररी झुक्याएका छन्।

समाचारको लिडलाइनमा लेखिएको छ- ‘दार्चुलामा जन्मे-हुर्केका कवि किसनसिंह धामीको अंग्रेजी कविता संग्रह ‘एटलान्टिक’ अमेरिकी प्रकाशन गृह एमेजनबाट प्रकाशित भएको छ।’

समाचारको एउटा अनुच्छेदमा यस्तो छ- ‘एक दशकयता अमेरिका बस्दै आएका कवि धामीको यसअघि प्रकाशित ‘एटलान्टिकका भागालाहरू’को अंग्रेजी अनुवाद ‘एटलान्टिक’ एमेजनबाट आएको हो।’

त्यस्तै अर्को अनुच्छेदमा लेखिएको छ- ‘नेपाली कवि र कविताको अंग्रेजी अनुवाद एमेजनबाट प्रकाशनमा आउनु सुखद् कुरा हो,’ कृतिको विमोचन गर्दै साहित्यकार ध्रुबचन्द्र गौतमले भने।’

यति पढेपछि लाग्छ, एमेजन भनेको एउटा ठूलै अमेरिकी पुस्तक प्रकाशन गृह (बुक पब्लिसिङ हाउस) हो। अङ्ग्रेजी भाषामा खतरै कविता लेखेको भएर अमेरिकाको नामी प्रकाशन गृहले किताब छापेको हो। साहित्यकार ध्रुवचन्द्र गौतमले समेत नेपाली कवि र कविताको अङ्ग्रेजी अनुवाद एमेजनबाट प्रकाशनमा आउनु सुखद कुरा हो भनेका छन्। भनेपछि पक्कै यो गजबकै कुरा हो। त्यही भएर कान्तिपुरले यसलाई समाचार लेख्न आवश्यक ठान्यो।

समाचारले त्यस्तो भान दिए पनि खास कुरा भने त्यस्तो होइन।

एमेजनले यो किताब प्रकाशन गरेको नभएर एमेजनको अनलाइन पसलमा यसलाई बेच्न राखिएको मात्र हो। त्यसैले समाचारमा लेखिएको ‘अमेरिकी प्रकाशन गृह एमेजनबाट प्रकाशित भएको’ दावी गलत हो।

एमेजनको यो लिङ्कमा क्लिक गरेर हेर्दा यसबारे प्रष्ट हुन सकिन्छ।

यसमा एमेजनले प्रष्ट रुपमा लेखेको छ- यो किताबको प्रकाशक छैन। अर्थात् यो इन्डेपेन्डेन्टली पब्लिस्ड हो। भनेको कुनै प्रकाशन गृहले यसलाई प्रकाशन गरेको होइन।

तर कान्तिपुरको समाचार पढ्दा ठूलै अमेरिकी प्रकाशन गृहले प्रकाशन गरेको भान पारिएको छ।

विभिन्न अन्तर्राष्ट्रिय बुक पब्लिसिङ हाउसमा काम गरिसकेका अमेरिकाको टेक्सस बस्ने रामचन्द्र केसीले पनि आफ्नो फेसबुकमा लेखेका छन्– एमेजन ‘प्रकाशन गृह’ होइन है ! पुस्तक छाप्ने यसको छुट्टै भवन छैन । र यसले उपलब्ध गराउने प्रकाशन सेवा भनेको मूलत ‘सेल्फ पब्लिशिंग’ नै हो । किताब बेच्नको लागि अमेजनको आफ्नै बुकस्टोर समेत छैन । धेरै कुरा अनलाइनमार्फत नै हो। केही पहिले अमेजनले किताब बेच्नका लागि अमेरिका र यु.के.मा गरि ६८ वटा बुकस्टोर खोलेको पनि थियो तर ‘प्रयोग’ सफल नभएपछि ती सबै बन्द भए।

एमेजनमा राखिएको यो किताबको आइएसबीएन नम्बरसमेत नक्कली परे जस्तो छ। नम्बर खोज्दा किताब बारे केही जानकारी भेटिएन-

समाचारमा लेखिएको छ- ‘धामीले लेखेको लामा कविताको संकलनलाई प्राध्यापक राजन थपलियाले अंग्रेजीमा अनुवाद गरेका हुन्।’

अहो, यो पढ्दा एउटा पुरानो ब्लग याद आयो।

त्यतिबेला समाचार आएको थियो- विश्वविख्यात नोबेल साहित्य पुरस्कारमा एक जना नेपाली युवकले लेखेको किताब पुग्यो रे। कान्तिपुरको साप्ताहिकदेखि लिएर अङ्ग्रेजी रिपब्लिका दैनिक अनि अनगिन्ती अनलाइनहरुमा यो समाचार छापिएको थियो।

समाचार पठाउनेले पठाए, छाप्नेले पत्याए। भेरिफाइ भन्ने कुन चराको नाम हो थाहा भएन। त्यतिबेला लेखेको ब्लग पढ्न यहाँ क्लिक गर्नुस्।

लिङ्क क्लिक गर्न अल्छी लागे कम्तिमा यति चाहिँ पढ्नुस्-

कान्तिपुर पब्लिकेसन्सको त्यतिबेलाको साप्ताहिकमा छापिएको यो सामाग्री –
saptahik

यसमा नोबेल साहित्य पुरस्कारलाई ‘नोबेल लिट्रेचर प्राइज शीर्षकको पुस्तक महोत्सव’ भनिएको रहेछ। मानौँ त्यो अहिले प्रज्ञा प्रतिष्ठानमा भइरहेको पुस्तक महोत्सव जस्तो कुनै महोत्सव हो।

अझ रमाइलो, प्रश्न सोध्नेले सोधेका रहेछन्- ‘उक्त महोत्सवका लागि कसरी पुस्तक छानिन्छ ? के यो ठूलो उपलब्धि हो ?’ जवाफमा उनले भनेका रहेछन्, ‘उक्त महोत्सवमा छानिने सबै प्रक्रिया मलाई पनि थाहा छैन।’

थाहै नभएको मान्छेले समाचार लेखेर मिडियाका इमेलहरुमा पठाउने पनि उस्तै, त्यसलाई पत्याएर छाप्ने पनि उस्तै। अनि त्यो पढेर नेपालीको शिर गर्वले उँचो भएको महसूस गर्ने पनि उस्तै। जय नेपाल। जय नेपाली 🙂

अपडेट : कान्तिपुरले सच्यायो

यो ब्लग प्रकाशित भएपछि इकान्तिपुरले समाचार सच्याएको छ। समाचारको शीर्षकदेखि समाचारका वाक्यहरुमा रहेको ‘एमेजन’लाई हटाइएको छ। साथमा यो सूचना पनि राखिएको छ-

सच्याइएको समाचार यहाँ क्लिक गरी हेर्नुस्- कवि धामीको ‘एटलान्टिक’ सार्वजनिक

1 thought on “एमेजनबाट प्रकाशित किताब भन्ठानेर यसरी झुक्कियो ‘कान्तिपुर’”

  1. Raj says:
    July 4, 2022 at 7:08 am

    अर्को त्यस्तै समाचार रातोपाटीमा पनि छः
    किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा उपलब्ध’।
    ASIN ‏ : ‎ B0B5KV77NS
    Publisher ‏ : ‎ Independently published (July 2, 2022)
    Language ‏ : ‎ English
    Paperback ‏ : ‎ 298 pages
    ISBN-13 ‏ : ‎ 979-8839167803
    झन् चाख लाग्दो कुरा चाहिँ यो ISBN पनि नक्कली जस्तै छ। ISBN Search मा खोज्दा भेटिएन।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme