Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारी न्युज एजेन्सी ‘रासस’लाई हेलिकप्टर/प्लेन साहुहरुको गम्भीर आरोप

Posted on June 4, 2022 by Salokya

हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव, हेलिकप्टरमा दुई पाइलट राख्न सम्भव छैन जस्ता हेडलाइनमा समाचारहरु तपाईँहरुले पनि केही दिनअघि पढ्नुभएकै होला।

तारा एयरको ट्विनअटर विमान जोमसोम जाने क्रममा दुर्घटना भएपछि हवाई यातायातको सुरक्षा बारे अहिले सबैतिर चासो पनि छ।

यो समाचार सरकारी अखबार गोरखापत्रको अनलाइनदेखि निजी अनलाइन मिडियाहरु अनलाइनखबरदेखि सेतोपाटीसम्मले हालेका थिए। सबैको स्रोत भने सरकारी न्युज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) थियो। तर आज प्लेन/हेलिकप्टर साहुहरुको संस्थाले विज्ञप्ति निकाल्दै आफूहरुसँग सोध्दै नसोधी, कुरै नगरी ‘भ्रामक र कपोलकल्पित’ समाचार प्रकाशन गरेको आरोप लगाएको छ।

के थियो समाचारमा ?

गोरखापत्र लगायत अरु मिडियाहरुमा प्रकाशित राससको समाचार यस्तो थियो-

हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव : सङ्घ

काठमाडौँ, जेठ २० गते । नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ ।

प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ ।

एक इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउनुहुन्छ । नौ सिट क्षमताभन्दा माथिका हेलिकोप्टरमा दुई पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकोप्टरमा दुई पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने उहाँको भनाइ छ ।

हाल नेपालमा सञ्चालन भइरहेका ११ हेलिकोप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकोप्टरले व्यावसायिक उडान भर्दै आएका छन् । दश विदेशी र २६ नेपाली पाइलटले एक इन्जिन भएका हेलिकोप्टर उडाउँदै आएको बताइएको छ ।

यो समाचारको लिडलाइनमा एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको ठहर गरिएको छ। कसले यस्तो ठहर गर्‍यो – समाचार अनुसार नेपाल वायुसेवा सञ्चालक सङ्घले।

सङ्घले त्यस्तो भनेको हो भने कि आधिकारिक रुपमा विज्ञप्ति निकालेको हुनुपर्‍यो, कि कुनै पदाधिकारीले बोलेको हुनुपर्‍यो। किनभने सङ्घले बोल्दैन, बोल्ने विज्ञप्ति वा पदाधिकारीले हो।

समाचारमा सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको कोट (भनाई) राखिएको छ। उनको भनाईमा भने असम्भववाला कुरो छैन। दुई कुरा मात्र छन्- तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकोले कम्पनी धरासायी हुने र जनशक्तिको अभाव हुने।

समाचारमा ‘क्याप्टेन रामेश्वर थापा बताउनु हुन्छ’ लेखेपछि उनैसित कुरा गरेर यो समाचार लेखेको हुनुपर्‍यो। तर आज विभिन्न दैनिकमा प्रकाशित सङ्घको विज्ञप्तिमा दावी गरिएको छ- ‘सङ्घका अध्यक्षज्युसित सम्पर्क नै नगरी उहाँलाई उद्‍धृत गरी यसरी समाचार प्रकाशित’ गरियो।

हेर्नुस् विज्ञप्ति-

ल भयो त अब, सरकारी समाचार एजेन्सीले नै यस्तो गरेपछि कसको विश्वास गर्नु। त्यसो त नेपालमा पहिले बोल्ने अनि विवादमा आएपछि ‘मैले त्यसो भनेकै थिइनँ’ पनि भन्ने गरिन्छ। यदि त्यसो हो भने आफूमाथि आएको यत्रो गम्भीर आरोपबारे ‘रासस’ले स्पष्ट गरी हाल्नु पर्छ। आरोप यदि सही हो भने अर्थात् सङ्घका अध्यक्षसँग कुरा नै नगरी अध्यक्षले यसो बताए भनेर समाचार लेखिएको हो भने लेख्नेलाई कारबाही गरेर यस्तो गलत समाचार राखेकोमा माफी पनि माग्नु पर्‍यो नि।

अथवा कुरा गरेर पनि अहिले आएर कुरा फेरेको भए त्यसरी आफूलाई अप्ठेरो पर्‍यो भन्दैमा सबै दोष मिडियाको टाउकोमा थोपरेर आरोप कहाँ लगाउन पाइन्छ र, भएको कुरा यो हो भनेर स्पष्ट पार्नुपर्‍यो।

राससको समाचारलाई विश्वास गरेर शुल्क तिरेर खरीद गर्ने मिडियाहरुले पनि उसलाई प्रश्न उठाउनु पर्‍यो- यसमा भएको के हो भनेर। किनभने समाचार राससकै भए पनि यसले विश्वसनीयता त त्यसलाई प्रकाशन गर्ने ती मिडियाको पनि घटाइरहेकै हुन्छ।

क्याप्टेन रामेश्वर थापा आफै मिडिया साहु पनि हुन्- अन्नपूर्ण मिडिया नेटवर्कका। मिडिया साहुकै कुरा मिडियामा यसरी आउँछ भने अरुको के हालत होला !

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme