Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तपाईँ पनि झुक्किनुभो कि? बालेनकी छोरी फेसबुक र मिडियामा मात्र जन्मिएकी हुन् है !

Posted on May 19, 2022 by Salokya

के तपाईँले बिहीबार केही अनलाइन मिडियामा र सोसल मिडियामा काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार बालेन साहकी छोरी जन्मिएको खबर पढ्नु भएको थियो?

त्यसो हो भने नझुक्किनु होला, यो गलत खबर हो।

बालेनकी छोरी मिडिया र सोसल मिडियाले मात्रै जन्माइदिएका हुन्। यसबारे नेपालफ्याक्टचेकको तथ्य जाँच पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्। 

कसरी फैलियो खबर ?

यो खबर मतगणनाको छैटौँ दिन चल्दै गर्दा एक्कासी फैलिएको हो। अरु फेसबुके पेजहरुको के कुरा, इमेज च्यानलको इमेज खबर, लोकान्तर जस्ता चलेका अनलाइन मिडियाले समेत यो खबर दिए।  ती खबरमा ‘मतगणना चल्दै गर्दा आज छोरी जन्मिएको’ भन्दै बालेनलाई उद्ध‌त गर्दै ‘आफूलाई पुत्रीलाभ भएकोमा खुशी व्यक्त गरेको ‘समेत दावी गरिएको छ।

 

जेठ ५ गते अनलाइन मिडिया लोकान्तरले मतगणना चल्दै गर्दा जन्मिइन् बालेनकी छोरी शीर्षकमा समाचार राखेको थियो। यहाँ क्लिक गरी हेर्नुस् अर्काइभ।

समाचारमा दावी गरिएको छ- बालेनकी पत्नी सबिना काफ्लेले आज छोरीलाई जन्म दिएकी हुन् । मेयर उम्मेदवार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला पुत्रीलाभ भएकोमा खुशी व्यक्त गरेका छन् ।उनका समर्थक एवं शुभचिन्तकहरुले मतगणनाकै क्रममा अग्रता लिइरहेको बखत उनको घरमा छोरी जन्मिनुलाई शुभ संकेत भन्दै बधाई दिइरहेका हुन् ।

कस्तो अचम्म हेर्नुस् न, बालेनले खुसी व्यक्त गरेको चाहिँ कहाँ छ? कि बालेनले सोसल मिडियामा लेखेको हुनुपर्‍यो, कि बालेनसितै मिडियाले कुरा गरेको हुनुपर्‍यो। त्यसै खुसी व्यक्त गरेका छन् भनेर लेख्न पाइयो त? कि छोरी जन्मिएपछि सबै बाउ खुसी नै हुन्छ नि, को दुःखी हुन्छ त भन्ठानेर समाचार लेख्दिए?

बालेनको छोरी जन्मिएको समाचार इमेज च्यानलको अनलाइन इमेजखबर, द नेपाल टप, दैनिक अनलाइन, नेपाल घटना, मेरो लाइफ स्टाइल लगायतका अनलाइनहरुले पनि लेखेका थिए।

त्यति मात्र हैन फेसबुकका इन्फ्लुएन्सरहरु पनि यो खबर फैलाउन सक्रिय भए। दुई लाखभन्दा बढी फलोअर रहेकी इशा गुरुङले पनि ‘बालेनकी पत्नी सबिना काफ्लेले आज छोरीलाई जन्म दिएकी’ भन्दै आफ्नो फेसबुकमा बिहीबार एक बजेर ४८ मिनेटमा स्टायटस लेखेर बधाई दिएकी थिइन्। इन्फ्लुएन्सर भएपछि उनीहरुमा एउटा दायित्व पनि हुन्छ- के सही हो, के गलत हो भनेर आफैले सम्भव भएसम्म छुट्याएरमात्र कुनै पनि सन्देश प्रवाह गर्ने। जे अघि देखियो, त्यसैलाई फैलाउने र त्यसैका आधारमा विचार व्यक्त गरिहाल्नु उचित हुन्न।

त्यस्तै बेवारिसे लाश व्यवस्थापन तथा बेसहाराको लागि पुनर्जीवन केन्द्रमार्फत् सामाजिक सेवा गरिरहेका विनयजंग बस्नेतले पनि बिहीबार फेसबुकमा स्टायटस बालेनलाई छोरीको नाम समेत सुझाए।

फेसबुकका थुप्रै पेज र ग्रुपहरुमा पनि यो खबर फैलिएको देख्न सकिन्छ। 

के हो तथ्य ?

हामीले यो विषयमा बुझ्नका लागि बालेन साहकी पत्नी सविना काफ्लेसित सम्पर्क गर्‍यौँ। उनले यी समाचार गलत रहेको पुष्टि गरिन्।

सविनाका अनुसार बुधबार बालेनका दाजुभाउजुलाई पुत्री लाभ भएको हो। आफू गर्भवतीसमेत नरहेको र आएका समाचारले आफूलाई अचम्म लागेको पनि उनले बताइन्।

उनले हाँस्दै भनिन्, ‘के हो यस्तो? जर्नलिज्मकै बेइज्जत भइसक्यो !’

हो त नि, कम्तिमा पुष्टि त गर्नु नि हल्ला हो कि साँच्चै हो भनेर। जे आयो त्यही लेख्ने भए त मिडिया र सोसल मिडियामा के फरक भयो र !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme