Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसपालिको चुनावमा पत्रकारले गरेका पाँच ‘रमाइला’ गल्ती

Posted on May 16, 2022May 16, 2022 by Salokya

चुनाव वैशाख ३० गते सकिसक्यो। तर नाङ्ग्लो जत्रो मत गन्न टाइम लाग्ने भएकोले अझै चुनाव लागिरहेकै अवस्था छ। पाठकलाई चुनाव लागेपछि मिडियालाई पनि लाग्ने भइहाल्यो। जतिसक्दो छिटो, अरुलाई उछिन्ने गरी समाचार राख्नु परिराछ। तर हतपतको काम कहिलेकाहीँ लतपत पनि हुन्छ। पत्रकारले हतार गर्दा कहिलेकाहीँ ‘रमाइलो’ पनि हुने गर्छ। खास त गल्ती हुँदा रमाइलो मान्न नहुने हो। तर क्यार्नु, अर्काको टेन्सन कति लिनु, रमाइलो गरे बरु सजिलो नि, हैन? आउनुस्, हेरौँ पत्रकारले गरेका पाँच गल्ती।

रमाइलो १ : उम्मेदवारसमेत गन्न नसक्ने मिडिया

यसपालिको चुनावमा काठमाडौँमा मत गन्न नथाल्दै फेसबुकमा मत गन्न थालिएको थियो। त्यो क्रम जारी छ। निर्वाचन आयोगले आधिकारिक रुपमा निश्चित समयमा नियमित घोषणा नगरी दिँदा फरक फरक मतपरिणाम काठमाडौँमा सार्वजनिक भइरहेको छ। मत भनेको त त्यस्तै हो, स्रोत अनुसार फरक भयो भन्ने मानौँ। तर उम्मेदवारको संख्या नै फरक त लेख्न भएन नि। तर के गर्नु, स्थापित अनलाइन मिडिया नै उम्मेदवारको संख्या यकिन लेख्न सक्दैनन्। उम्मेदवार नै गन्न नसक्ने मिडियाले मत गनेको समाचार कसरी लेख्यो होला भन्ने कुरो पनि छ। हेर्नुस् नमूना-

इकान्तिपुरले लेख्यो काठमाडौँमा मेयरका उम्मेदवार ५६ जना

अनि अनलाइनखबरले लेख्यो ५० जना-

अनलाइनखबरले लेखेपछि त्यसैलाई स्रोत बनाउने अरु भुरेटाकुरे अनलाइनहरुमा कपिपेस्टहरु हुने नै भयो। गुगलमा सर्च गर्दा झण्डै २०० रिजल्ट देखायो-

त्यस्तै नेपालखबरले लेख्यो- ५४ जना मेयरका उम्मेदवार छन्।

अब सामान्य पाठकले के बुझ्ने ?

इकान्तिपुरको ५६ सही हो कि ?

अनलाइनखबरको ५० सही हो कि ?

नेपालखबरको ५४ सही हो ?

खासमा यी तीन वटै अनलाइनले लेखेको सही होइन। निर्वाचन आयोगको आधिकारिक साइटमा गएर हेर्ने हो भने मेयरका उम्मेदवार जम्मा ५५ जना हुन्। ५६ जनाले उम्मेदवारी दर्ता गराएकामा १ जनाको उम्मेदवारी अन्तिम नामावलीमा नभएकाले ५५ जना उम्मेदवार भएका हुन्। यत्रा अनलाइनहरुले जाबो उम्मेदवारको संख्या समेत गन्न नसकेकोमा रमाइलो मान्ने त होला।

रमाइलो २ : केशवलाई विस्थापित गर्न सेतोपाटीलाई हतार

काठमाडौँ महानगरपालिकामा एमालेका मेयर उम्मेदवार केशव स्थापितलाई सामाजिक सञ्जालमा विस्थापित हुने भन्दै जिस्काइँदै आएको थियो। तर न्युजरुम हुँदै त्यो जोक स्थापित अनलाइन पोर्टलको सामाजिक सञ्जालमा पोखिनु चाहिँ अनौठो थियो। त्यस्तै अनौठो भयो आइतबार बिहान। सेतोपाटीले फेसबुकमा मतगणना अपडेट दिने क्रममा स्थापितको ठाउँमा विस्थापित लेखिएको थियो।

तर पछि सेतोपाटीले यसमा माफी माग्यो। 

रमाइलो ३ :  क्रिकेटको समाचार लेख्नेले राजनीतिक समाचार लेख्दा

शनिबार राति अन्नपूर्ण पोस्टको अनलाइनमा चितवनको मतगणना अपडेट लेख्ने पत्रकार खेल पत्रकार थिए कि के हो, क्रिकेटको ह्याङमा रहेछन्। त्यही भएर यति मतको अग्रता लेख्नुपर्नेमा यति रनको अग्रता लेखेर छापेछन्। पाठकहरुले उडाउनु उडाएपछि त्यो समाचार माफी नमागी सुटुक्क सच्याइयो। 

रमाइलो ४ : भूगोल बिर्सेका पत्रकारहरुले समाचार लेख्दा..

चुनावमा रफ्तारमा काम गर्ने नाममा भूगोल थाहा नपाएका पत्रकार डेस्कमा बस्दा रमाइलो भयो। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकालाई बुटवलको सन्धिखर्क भनेर इकागजमा समाचारै आयो। पछि माफी नमागी त्यसलाई सच्याइयो।

 

 

त्यस्तै अनलाइनखबरले तनहुँको मादी गाउँपालिका लेख्दै अपडेट सामाजिक सञ्जालमा दियो। तनहुँमा मादी गाउँपालिका छैन, कास्कीमा हो। मादी नगरपालिका भने संखुवासभामा छ।

रमाइलो ५ : खसी बाजीको समाचार

सामाजिक सञ्जालमा हुने नहुने सबै कुरा लेखिन्छन्। कोहीकोहीले रमाइलोको लागि पनि उटपट्याङ गर्छन्। तर अहिले बालेनको लहर चल्या बेलामा मिडिया त्यसैमा बहने नै भए। अघिल्लो निर्वाचनमा रञ्जु दर्शनाको त्यस्तै लहर चलेको थियो। एउटा अनलाइनले यस्तो शीर्षक पनि लेखेको थियो- नीलो सारीमा सजिएर आइन् रञ्जु दर्शना। सामाजिक सञ्जालमा बालेनले जित्ने कि नजित्ने भनेर खसी बाजी राखिएको एउटा पत्रकै भरमा थुप्रै अनलाइनले समाचार बनाएछन्।

यस्तो कुरा पनि समाचार बन्ने हो भने सामाजिक सञ्जाल र अनलाइन मिडियामा के नै फरक भयो र, न ती समाचारमा ती बाजी राख्ने व्यक्ति साँच्चिकै छन् कि छैनन्, साँच्चिकै बाजी राखेका हुन् कि हैनन् भनेर नै खुट्याउन सकेका छन्। सकिएन बा.., रमाइलो !

तपाईँले पनि यस्तै केही रमाइलो देख्नुभएको भए तल कमेन्टमा वा सुटुक्क मलाई इमेल वा सामाजिक सञ्जालमा पठाउनुस् है 🙂

1 thought on “यसपालिको चुनावमा पत्रकारले गरेका पाँच ‘रमाइला’ गल्ती”

  1. Sisir says:
    May 16, 2022 at 4:39 pm

    बलेन ले जिते नागढुङ्गा देखि रत्नपार्क सम्म नांगै दौडिने भन्ने एउटा धादिङ तिरका दमन नामक एमालेका पत्रकार , बलेन पहिलो वा दोस्रो सम्म भए पनि काठमाडौं नै छोड्छु भन्ने वामाले प्रदीप भट्टराई, नेकपा समाजबादी ले एक सिट जिते सम्पति सबै त्यागेर कासी जान्छु भन्ने बामले कै मेडिकल माफिया दुर्गा प्रसाई, बलेन नाजिते रत्नपार्कमा नांगै नाच्छु भन्ने Dr_ Falani भन्ने हरुको ट्वीट पनि निकै भाइरल छ social media Twitter मा!! रमाइलो त ट्विटरमा पो छ त🙏🙏

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme