शुक्रबार राति साढे नौ बजेतिरबाटै फेसबुकमा एउटा पोस्ट भाइरल भयो। त्यसमा लेखिएको थियो, काठमाडौँ मतगणना अपडेटः बालेन शाह: 437, केशव स्थापित: 376, सिर्जना सिंह: 273
यसलाई फैलाएका थिए फेसबुकमा २ लाख ४६ हजारभन्दा बढी फलोअर्स भएका पूर्व सचिव भीम उपाध्याय, लामो समय टेलिभिजन पत्रकारिता गरेकी रमा सिंह अनि भीम उपाध्यायलाई समाचारको ठूलो स्रोत मान्ने विभिन्न फेसबुक पेजहरुले। उपाध्यायलाई पछि त्यसलाई हटाएर गल्ती भएको लेखे पनि कपिपेस्ट यति धेरै ठाउँमा भइसकेको थियो कि मिथ्या सूचना फैलिएको फैलियै छ अझै पनि।
जतिबेला फेसबुकमा यो कुरा भाइरल हुँदै थियो, त्यतिबेलासम्म त सबै केन्द्रबाट मतपेटिका आएर त्यसको मुचुल्कासमेत भइसकेको थिएन। मतगणना अघि पनि धेरै प्रक्रिया हुन्छन्, जुन पूरा भएकै थिएनन्।
काठमाडौँ महानगरपालिकाका सबै मतकेन्द्रहरुबाट मतपेटिकाहरु राष्ट्रिय सभागृह ल्याइन्छन्। त्यहीँ मतगणना गर्ने तयारी छ।
सबैभन्दा पहिला निर्वाचन अधिकृतले मतदान अधिकृतले बुझाएका मतपेटिका संकलन गरी एकै स्थानमा सुरक्षित रुपमा राखी मतपेटिका राखेको कोठाको झ्याल र ढोकामा बलियो चुकुल तथा ताला लगाई लाहाछाप लगाउँछन्।
उम्मेदवार वा उनको प्रतिनिधिले आफ्नो लाहाछाप लगाउन चाहेमा समेत दिनु पर्ने हुन्छ।
यो कोठा खोल्नु परेमा लाहाछाप जाँच गरेर लाहाछाप तोडी कोठा खोलेको मुचुल्का गरी त्यस्तो मुचुल्कामा उम्मेदवार वा उसको प्रतिनिधिको समेत हस्ताक्षर गरी राख्नु पर्ने प्रावधान छ।
सूचना प्रकाशन गर्ने
मतगणना निर्देशिका अनुसार सबै मतपेटिका प्राप्त भएपछि निर्वाचन अधिकृतले मतगणना गर्ने मिति र समय उल्लेख गरी आफ्नो कार्यालयमा सूचना प्रकाशन गर्नेछन्।
कहिले मतगणना सुरु गर्ने भन्ने विषयमा दलका प्रतिनिधिहरुसहितको बैठक बसेर उनीहरुको मन्जुरीमा समय तोकिन्छ।
निर्देशिकामा एउटै कोठा वा ठाउँमा मतगणना गर्नुपर्ने भनिएको छ। तर एउटै कोठामा वा ठाउँमा मत गन्न पर्याप्त ठाउँ नपुगे अर्को कोठा वा ठाउँमा समेत गणना गर्न सकिने भनिएको छ।
मतगणना गर्दा उम्मेदवार वा उसको प्रतिनिधि पनि हुन्छ।
मतपेटिका जाँच्ने
सूचनामा भएको मिति र समयमा मतगणना सुरु हुन्छ। सुरुमा मतपेटिका खोलिएको, फोरिएको छ कि छैन हेरिन्छ। मतदान केन्द्रको नाम, सिल नम्बर, मतपेटिकाको क्रम उल्लेख गरिएको छ कि छैन पनि हेरिन्छ। त्यस्तै मतपेटिकामा लगाएको सुरक्षण सिल दुरुस्त छ कि छैन पनि हेरिन्छ।
वडाको मतगणना अलग अलग गर्ने
गाउँपालिका वा नगरपालिकाको निर्वाचनको मतगणना गर्दा प्रत्येक वडाको मतगणना अलग अलग रुपमा गर्नुपर्ने प्रावधान छ। कुनै वडामा एकभन्दा बढी मतदान केन्द्र भई मतदान भएको अवस्थामा सो वडाको कम्तिमा दुई वटा मतदान केन्द्रका मतपेटिका एकै ठाउँमा मिसाई मतगणना गरिन्छ।
यस्तो हुन्छ मतगणनाको प्रक्रिया
१) मतपेटिका जाँचेको मुचुल्का गरिसकेपछि सो मतपेटिकामा लगाएको सरक्षण सिल तोडी मतपेटिका खोलिन्छ र मतपेटिकामा रहेका सबै मतपत्र मतगणना गर्ने टेबल वा स्थानमा खन्याइन्छ। मतपत्र खन्याई रित्तो भएको मतपेटिका उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई देखाइन्छ।
(२) खन्याइएका मतपत्र पट्टयाएको अवस्थाबाट सुरक्षितसाथ खोली निर्वाचन चिह्न भएको भाग घोप्ट्याएर चाङ बनाई राखिन्छ र सुविधा अनुसार पचास वा एकसय मतपत्रको ठेली बनाई धागो वा रबरले बाँधिन्छ।
(३) बनाइएका ठेली मतगणना अधिकारीले आफ्नो जिम्मामा राख्नु पर्नेछ र प्रत्येक ठेलीबाट क्रमश. मतगणना गर्नु पर्नेछ।
४) गणना गर्न लागिएको मतपत्र उम्मेदवार वा प्रतिनिधिलाई देखाउनु पर्छ। मतपत्र देखिने गरी अलग्गै बस्ने व्यवस्था मिलाउनु पर्ने व्यवस्था छ। भरतपुरमा अघिल्लो पटक भएको काण्डका कारण अहिले तारजाली बाहिर प्रतिनिधि राखिँदैछ। यस्तो अवस्थामा मतपत्र हेर्न अलि गाह्रो हुनसक्छ।
५) छुट्याइएका ठेलीबाट क्रमशः मतगणना सुरु हुन्छ। यसो गर्दा मतपत्रमा उल्लिखित सबै उम्मेदवारले पाएको मतगणना नगरी अर्को मतपत्र गणना गर्नु हुँदैन। अर्थात् एउटा मतपत्रमा सात जनाको मत गनिन्छ।
६) त्यसरी गनिएको मत मतगणना फाराममा चढाइन्छ। त्यसका लागि वडागत मतगणना फाराम पनि बनाइएको छ।
७) प्रत्येक वडाको मत परिणामको आधारमा गाउँपालिका वा नगरपालिकाको प्रमुख र उपप्रमुख पदको मत परिणाम एकीकृत मतगणना फाराममा चढाइन्छ।
८) यसरी मतसंख्या उल्लेख गर्दा प्रत्येक पदको सदर र बदर भएको मतको संख्या खुलाउनु पर्ने व्यवस्था गरिएको छ।
मतगणना लगातार हुने
मतगणनाको काम सुरु भएपछि सबै मतदान केन्द्रको सबै मतपेटिकामा रहेका सबै मतपत्रको गणना नसकिएसम्म मतगणनाको काम लगातार गर्नुपर्ने प्रावधान छ। त्यसैले मतगणनाको काम केही दिनसम्म लगातार भइरहनेछ।
मतगणना कसरी हुन्छ ?
मतगणनाका लागि प्रति सिफ्ट कति वटा मत गन्ने भन्ने व्यवस्था निर्देशिकाले गरेको छ। काठमाडौँ महानगरपालिकामा ६४ वटा लहर भएको मतपत्र हो। त्यसैले एक सिफ्टमा १ हजार २ सय ५० थान मतपत्र गणना गर्ने गरी तोकिएको छ।
२२ लहरसम्मको मतपत्रका लागि दुई हजार थान, २३-३० लहरसम्मका लागि १७५० थान, ३१ देखि ४० लहरसम्मका लागि १५०० थान तोकिएको छ।
मत गन्नका लागि प्रमुख मतगणना अधिकारी (निर्वाचन अधिकृत) एक जना, मतगणना अधिकारी एक जना, मतगणना सहायक एक जना र गणक तीन जना जसमा एक कम्प्युटर अधिकारी र दुई सहायक कर्मचारी रहन्छन्, सहयोगी (कार्यालय सहयोगी पाले वा सो सरह एक जना र निजी सुरक्षा अधिकारी एक जना हुन्छन्।
सन्देशमुलक लेख। राम्रो लाग्यो।
Hats off for this predixtion 🙏🙏🙏. The real result is;
Balen shah: 437
Keshab Sthapit: 375
Srijana singh:273