Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस पटकको चुनावको परिणाममा हेर्न लायक आठ विषय

Posted on May 13, 2022 by Salokya

यो ब्लग लेख्दासम्म स्थानीय तह निर्वाचनका लागि मतदान जारी छ। नयाँ संविधान जारी भएपछि दोस्रो पटक स्थानीय सरकार चुन्न हामी मतदान गर्दैछौँ। देशभर एकै पटक मतदान हुनु यो निर्वाचनको विशेषता हो। अघिल्लो पटकको चुनावमा ‘रेल’को चर्चा र वाचा थियो, पाँच वर्षपछि त्यो ‘झेल’ हो भन्ने प्रष्ट भयो। झण्डै दुई तिहाई मत पाएको दलबीच ‘बेमेल’ भएपछि धेरै समय त्यसमै खर्च भयो। अहिले फेरि बेमेल भएर फुटेका केही दलहरुले मेल गरेर गठबन्धनबाट चुनाव लडिरहेका छन्। दलहरुको दलदलबाट अटेर गर्ने भन्दै स्वतन्त्रहरु चम्किएका छन्। त्यसैले यस पटकको चुनावमा हेर्न लायक केही विषय यस्ता छन्-

१) बालेनको भोट कति आउला?

मिडियामा बालेन शाह (निर्वाचन आयोगमा रहेको आधिकारिक नाम भने वालेन्द्र साह) ले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गर्दा धेरैले खासै गम्भीरताका साथ लिएका थिएनन्। तर समय बित्दै जाँदा मिडिया र सामाजिक सञ्जालमा उनी यसरी छाए कि कांग्रेस र एमाले जस्ता काठमाडौँको परम्परागत राजनीतिक शक्तिलाई समेत हल्लाइदियो। हुनत उनी एउटा स्थानीय तहको प्रमुखका लागि मात्रै उम्मेदवार बनेका हुन् तर उनीप्रति देशव्यापी मात्र होइन, विदेशमा बसेका नेपालीहरुको पनि निकै चासो छ। स्थापित दलहरुप्रतिको वितृष्णालाई बालेनले राम्रैसँग ‘क्यास’ गर्न सक्षम भएका छन्। उनका समर्थकहरु कुनै राजनीतिक दलका ‘साइबर सेना’ भन्दा कम आक्रामक छैनन्, जसले विरोध पटक्कै सुन्न चाहँदैन। एउटा स्थापित मिडिया अनलाइनखबरविरुद्ध उनका समर्थकहरुले चलाएको अनलाइक अभियान पनि यो बीचमा चर्चाको विषय बन्यो। सामाजिक सञ्जालमा चर्चाको हिसाबमा हेर्ने हो भने उनले जितिसके।

तर के उनले साँच्चैको चुनाव चाहिँ जित्लान् त? सामाजिक सञ्जालको चर्चा र प्रभाव वास्तविक मतमा परिणत होला त? कुनै दल बिना स्वतन्त्र रुपमा उठेका उम्मेदवारले परम्परागत शक्तिका रुपमा रहेका दलहरुको वर्षौँदेखि रहेको संगठनलाई भत्काएर त्यहाँबाट भोट फुत्काउन सफल होला त? अघिल्लो स्थानीय निर्वाचनमा विवेकशील उठेकी रञ्जु दर्शनाको यस्तै माहौल थियो। तर उनले २३ हजार चानचुन मात्रै मत ल्याउन सकेकी थिइन्। तर त्यतिबेला वैकल्पिक उम्मेदवारका रुपमा अर्का साझा पार्टीबाट उठेका किशोर थापा पनि थिए। उनले १८ हजार चानचुन मत ल्याएका थिए। यसपालि वैकल्पिक उम्मेदवारका रुपमा बालेनको मात्रै अत्यधिक चर्चा छ। साझाबाट पनि समीक्षा बाँस्कोटा त उठेकी छिन् तर बालेनको अगाडि छायाँमा छिन्। अघिल्लो निर्वाचनमा वैकल्पिक उम्मेदवारका पक्षमा आएका सबै भोट सोहरेर थप भोट पनि ल्याउन बालेन सफल होलान्?

उनी आफैले आफू ९० हजार ८३५ भोट ल्याएर जित्ने बताएका थिए। मार्जिन अफ इरर नै नरहेको ठ्याक्कै भोट संख्या बताउने उनको सर्भे कतिको मिल्ला? यो हेर्न लायक विषय हुनेछ।  उनले जिते पनि हारे पनि छोटो समयमा बढी चर्चा पाउने उनको क्याम्पेनको शैली भने पक्कै अरु उम्मेदवारहरुको लागि नोटिस गर्न लायक बन्नेछ।

 

२) गठबन्धनको भविष्य

यस पटक केन्द्रीय तहमा पाँच दलको गठबन्धन बनेको छ। तर स्थानीय रुपमा अलग अलग गठबन्धन बनेका छन्। गठबन्धन भए पनि अलग अलग चुनाव चिह्नबाट चुनाव लडेका कारण मतदातालाई मतपत्रमा अन्यौल हुने स्थिति छ। यस्तो अवस्थामा गठबन्धनको नतिजा कस्तो हुन्छ, मतदाताले गठबन्धनको निर्णय मान्छन् कि मान्दैनन्, हेर्न लायक हुनेछ। मतपरिणामका कारण गठबन्धनबीच खटपट हुने हो कि होइन त्यो पनि हेर्न लायक हुनेछ। यसले आगामी संसदीय र प्रदेश निर्वाचनमा नयाँ गठबन्धन बन्ने हो कि कसो हुने हो त्यो पनि हेर्न लायक विषय बन्नेछ।

३) एमालेको शक्ति

एमाले माधव नेपाल, झलनाथ खनालसहितको शक्ति टुक्रिएर गएपछि पहिलो पटक आफ्नो राजनीतिक शक्ति परीक्षणमा छ। भन्नेहरुले भनेका छन्- टुक्रिएर बनेको नेकपा एस एमालेलाई जित्न सक्षम नभए पनि हराउन पर्याप्त हुनेछ। एमालेसित पुरानो संगठन छ, पुरानो चुनाव चिह्न छ। माधव नेपाल आफैले भाषणका क्रममा झुक्किएर सूर्यमा भोट हालौँ भनेको भिडियो भाइरल भएको छ। कार्यकर्ता र समर्थक, शुभेच्छुकहरुको तहमा झन् के होला? मतपत्रमा त्यो प्रतिबिम्बित हुन्छ कि हुँदैन, एमालेको शक्ति त्यसैबाट थाहा हुन्छ। त्यसैबाट थाहा हुन्छ नेकपा एसको राजनीतिक भविष्य पनि।

४) भरतपुर महानगरपालिकाको चासो

यस पटकको चुनावमा चासोका साथ हेरिएको अर्को क्षेत्र भरतपुर हो। पाँच दलीय गठबन्धनका एक प्रमुख दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विशेष चासो रहेको उनकी छोरी उम्मेदवार रहेको यो महानगरपालिकामा कांग्रेसले ठूलै लफडा बेहोर्नु पर्‍यो। पछि जेनतेन कुरा मिलाए पनि विद्रोही उम्मेदवारले भूइँकटहर फलाइरहेका छन्। यहाँको चुनावमा गठबन्धनले नजिते देश दुर्घटनामा जाने चेतावनी प्रचण्डले दिएको समाचार पनि मिडियामा हेर्न पाइयो। के त्यहाँका कांग्रेसीहरुले माओवादीको चुनाव चिह्नमा मतदान गर्लान्? अघिल्लो चुनावमा मतपत्र च्यात्नेदेखि पुनः मतदानसम्मको नाटकीय घटनाक्रम हामीले हेरेकै थियौँ। यसपालि त्यहाँ के होला? यो पनि हेर्न लायक हुनेछ।

५) सिके राउतको जनमत पार्टीको प्रदर्शन

काठमाडौँको मूलधारका मिडियाले खासै महत्त्व नदिने तर तराई मधेशका युवामा व्यापक प्रभाव भएको भनिएको डा. सिके राउतको जनमत पार्टी पहिलो पटक स्थानीय तहको निर्वाचन लड्दैछ। मधेशका पुराना राजनीतिक दलहरुलाई राउतको नयाँ पार्टीले कस्तो असर पार्ने हो, त्यो हेर्न लायक विषय हुनेछ यस पटक तराई मधेशको स्थानीय तहको निर्वाचन परिणाम आउँदै गर्दा।

६) केशव स्थापितको थुतुनोको असर

केशव स्थापित सधैँ विवादमा र चर्चामा आइरहने पात्र हुन् भनेर अरुले मात्र हैन केशव स्थापित स्वयंले भन्ने गरेका छन्। यस पटक यु आर नाइस लेडी तर थुतुनो ठीक भएन भन्नेदेखि आर्यघाटमा जाँदा मरुँ मरुँ लाग्नेदेखि अनेक विषय उनले बोलेका छन्। उम्मेदवारी दिइसकेपछि उनले बोलेका यी विषय र चुनाव अघिदेखि कै उनको मी टु जस्ता प्रसंगले स्थापितको मतमा कस्तो असर पार्ला? एमालेभित्रैबाट रामवीर मानन्धर जस्ता नेताले दिएका अभिव्यक्तिले एमालेको मतमा कस्तो असर पार्ला- यो पनि हेर्न लायक विषय हुनेछ। त्यसैगरी उनका प्रतिस्पर्धीका रुपमा कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंहले नातावादको आरोपका बीच मत कसरी आकर्षित गर्छिन्- यो पनि चासोको विषय हुनेछ। कतै परम्परागत शक्तिका रुपमा रहेका यी दलका भोटहरु वैकल्पिक उम्मेदवारका रुपमा आएका बालेन वा काठमाडौँका चर्चित अभियन्ता सुमन सायमीप्रति आकर्षित हुने त हैनन्, यो पनि हेर्न लायक विषय हुनेछ।

७) अटेरीको अटेर

काठमाडौँमा बालेनले नगरेको एउटा काम पोखरामा लेखक गनेस पौडेलको अगुवाईमा भएको छ। अटेरी अभियान अन्तर्गत उनले पोखरा महानगरपालिकाका वडाहरुमा टिम नै उठाएका छन्। अटेरीको अटेरलाई कति मतदाताले मान्ने हुन्, त्यो हेर्न पनि रोचक विषय हुनेछ।

८) राप्रपाको शक्ति

राजावादीहरुको परम्परागत शक्तिका रुपमा रहेको राप्रपा यसपालि राजेन्द्र लिङ्देनको नेतृत्वले जुर्मुराएको छ। अघिल्लो संसदीय निर्वाचनमा निराशाजनक प्रदर्शन गरेको राप्रपालाई राजेन्द्रको नेतृत्वले कस्तो असर पारेको छ हेर्न पनि यस पटकको स्थानीय तहको निर्वाचनको परिणामले राम्रो मौका दिनेछ। राप्रपाबाट टुक्रिएर गएका कमल थापाले त आफ्नो उम्मेदवार नभएको ठाउँमा सूर्य चिह्नमा मतदान गर्न आह्वान गरिसकेकै छन्। ‘कथा’ को शक्ति एकादेशको कथा बन्ने हो कि त्यसले राप्रपालाई केही असर पार्छ, त्यो पनि यस पटक हेर्न पाइनेछ।

थप केही विषय तपाईँका मनमा पनि छन्? तल प्रतिक्रियामा लेख्न सक्नुहुन्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme