अहिले अर्थमन्त्री जनार्दन शर्मा चर्चामा छन्। गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरकालीन अन्तरिम आदेश दिए लगत्तै कान्तिपुरले अर्थमन्त्री राजीनामा देऊ शीर्षकमा सम्पादकीय लेख्यो। रोचक कुरा, यही दिन अनलाइनखबरको समाचारबाट भने अर्थमन्त्री जनार्दन शर्मालाई लक्षित गरिएको एउटा समाचारको एङ्गलिङ नै गायब भयो।
अनलाइनखबरमा आज बिहान प्रकाशित एउटा समाचारको शीर्षक थियो- अर्थमन्त्रीको बचाउमा परिसंघ, अर्थतन्त्र सुधारोन्मुख रहेको दावी। तर केही समयपछि यो समाचारको शीर्षकबाट अर्थमन्त्रीलाई गायब पारियो र नयाँ हेडलाइन बनाइयो- अर्थतन्त्र सुधारोन्मुख रहेको परिसंघको दावी हेडलाइनमात्र हैन, समाचार पनि सम्पादन गरेर अर्थमन्त्री जनार्दन शर्मालाई गायब पारिएछ।
तपाईँले अहिले अनलाइनखबरको वेबसाइटमा गएर हेर्नुभयो भने नयाँ समाचार मात्र हेर्न पाउनु हुनेछ। तर इन्टरनेटमा एक पटक राखेको कुरा पूर्ण रुपमा डिलिट कहिल्यै हुन्न भन्ने कुरा चाहिँ अझै धेरैलाई थाहा छैन। खोज्न जानियो अरुले नहेरोस् भनेर हटाएको कुरा पनि भेटिन्छ 🙂
अब के-के परिवर्तन भयो एक पटक हेरौँ।
सुरुको समाचारमा लेखिएको थियो-
७ वैशाख, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर नेपालको अर्थतन्त्र श्रीलंका जस्तो संकटको अवस्थामा नरहेको जानकारी गराएको ३६ घण्टा नबित्दै मंगलबार पत्रकार सम्मेलन गरेर नेपाल उद्योग परिसंघले अर्थतन्त्र बारेको आफ्नो सोही धारणा दोहोर्यायो ।
आइतबार साँझ अर्थमन्त्रीलाई सुटुक्क भेटेर आफ्नो माग र अर्थतन्त्रको अवस्थाबारे प्रस्तुतीकरण गरेको परिसंघले अर्थ मन्त्रालयबाटै आफ्नो प्रस्तुतीकरण चुहिएपछि मंगलबार पत्रकार सम्मेलन गरेको थियो ।
पछि यसलाई सम्पादन गरेर यस्तो बनाइयो-
७ वैशाख, काठमाडौं । मंगलबार पत्रकार सम्मेलन गरेर नेपाल उद्योग परिसंघले अर्थतन्त्र बारेको नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो नभएको बताएको छ । राजधानीको एक होटलमा अयोजित पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले मुलुकको अर्थतन्त्रबाहिर हल्ला गरिएजस्तो संकटपूर्ण अवस्थामा नरहेको बताएका हुन् ।
सुरुको समाचारमा लेखिएको थियो-
राजधानीको एक होटलमा अयोजित पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले मुलुकको अर्थतन्त्र बाहिर हल्ला गरिएजस्तो संकटपूर्ण अवस्थामा नरहेको बताए । ‘मुलुकको अर्थतन्त्र संकटको अवस्थामा छैन, निरास हुनुपर्ने अवस्था छैन तर चनाखो भने हुनुपर्छ,’ अध्यक्ष अग्रवालले भने, ‘सबै कुरा ठीक छ भन्न खोजेको होइन तर अवस्था बाहिर हल्ला गरिएको जस्तो होइन ।’ पत्रकार सम्मेलनमा अर्थतन्त्रबारे छोटो धारणा राखेका अग्रवालले अर्थतन्त्र सुधारको बाटोमा रहेको पनि दाबी गरे ।
अर्थतन्त्रको वर्तमान अवस्थाबारे परिसंघको प्रस्तुतिका लागि उनले परिसंघका उपनिर्देशक अनुज अग्रवाललाई फोरम दिए । अग्रवालले प्रस्तुत गरेको अध्ययन कार्यपत्रमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन हुनुअघि चालिएका कदमले बजारलाई त्रासदिपूर्ण वातावरणमा पुर्याएको आरोप लगाइएको छ जुन सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्दा लगाएको आरोपसँग मेल खान्छ ।
पछि त्यसलाई सम्पादन गरेर यस्तो बनाइयो-
‘मुलुकको अर्थतन्त्र संकटको अवस्थामा छैन, निरास हुनुपर्ने अवस्था छैन तर चनाखो भने हुनुपर्छ,’ अध्यक्ष अग्रवालले भने, ‘सबै कुरा ठीक छ भन्न खोजेको होइन तर अवस्था बाहिर हल्ला गरिएको जस्तो होइन ।’ पत्रकार सम्मेलनमा अर्थतन्त्रबारे छोटो धारणा राखेका अग्रवालले अर्थतन्त्र सुधारको बाटोमा रहेको पनि दाबी गरे ।
सुरुको समाचारमा एउटा ‘सब-हेडलाइन’मा नै अर्थमन्त्रीलाई जोडिएको थियो।
परिसंघको भाषा अर्थमन्त्रीकै
परिसंघका पदाधिकारीसँगको भेटमा आइतबार साँझ अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्रबारे श्रीलंकाको जस्तो हुने भनेर गलत हल्ला फिजाएको दाबी गरेका थिए । ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन्,’ मन्त्री शर्माले भनेका थिए, ‘यथार्थमा नेपालको अर्थव्यवस्थाा श्रीलंका जस्तो होइन र हामी श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेका छौं ।’
गभर्नर निलम्बनको भोलिपल्ट पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको सार्वजनिक अभिव्यक्ति र एमालेका तीन पूर्व अर्थमन्त्रीले गरेको पत्रकार सम्मेलन लक्षित अभिव्यक्तिलाई अर्थमन्त्री शर्माले दिएको जवाफकै शैलीमा परिसंघ मंगलबार प्रस्तुत भयो । परिसंघले पत्रकारहरुलाई वितरण गरेको प्रेस नोटमा ‘हामी किन संकटमा छैनौं’ भन्ने शीर्षकमा नेपाल र श्रीलंकाबारे तुलना भनेर ४ बुँदामा प्रष्ट्याइएको छ ।
जसमा नेपाल र श्रीलंकाको कूल ग्राहस्थ्य उत्पादनको आकार दोब्बरले अन्तर रहेको, कूल ग्राहस्थ उत्पादनको तुलनामा नेपालको कूल राष्ट्रिय ऋण ४०.५ प्रतिशत र श्रीलंकाको १११ प्रतिशत रहेको बताइएको छ ।
यस्तै कूल सञ्चिती ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने रहेको तर श्रीलंकाको एक महिनाको पनि वस्तु तथा आयात धान्न सक्ने अवस्थामा नरहेको र मुद्रास्फिति नेपालको ७ प्रतिशत रहेको जबकी श्रीलंकामा २५ प्रतिशत रहेको बताइएको छ । परिसंघका अनुसार उल्लेखित तथ्याङ्कका आधारमा नेपाल र श्रीलंकाबीच तुलना हुने नसक्ने र गरिने तुलना असहज र अत्यासलाग्दो वातावरण सिर्जना मात्रै हुने परिसंघको दाबी छ ।
तर पछि सम्पादन गरिएको समाचारमा भने त्यो सब-हेडलाइनै उडाइएको छ र लेखिएको छ-
अर्थतन्त्रको वर्तमान अवस्थाबारे परिसंघका उपनिर्देशक अनुज अग्रवालले सरकारका कतिपय कदमले बजारलाई त्रासदिपूर्ण वातावरणमा पुर्याएको आरोप लगाए ।
परिसंघका पदाधिकारीसँगको भेटमा आइतबार साँझ अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्रबारे श्रीलंकाको जस्तो हुने भनेर गलत हल्ला फिजाएको दाबी गरेका थिए । ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन्,’ मन्त्री शर्माले भनेका थिए, ‘यथार्थमा नेपालको अर्थव्यवस्थाा श्रीलंका जस्तो होइन र हामी श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेका छौं ।’
परिसंघले नेपाल र श्रीलंकाको कूल ग्राहस्थ्य उत्पादनको आकार दोब्बरले अन्तर रहेको, कूल ग्राहस्थ उत्पादनको तुलनामा नेपालको कूल राष्ट्रिय ऋण ४०.५ प्रतिशत र श्रीलंकाको १११ प्रतिशत रहेको बताइएको छ ।
यस्तै कूल सञ्चिती ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने रहेको तर श्रीलंकाको एक महिनाको पनि वस्तु तथा आयात धान्न सक्ने अवस्थामा नरहेको र मुद्रास्फिति नेपालको ७ प्रतिशत रहेको जबकी श्रीलंकामा २५ प्रतिशत रहेको बताइएको छ ।
मंगलबार जारी प्रेस नोटमा ५ भदौमा जारी १८ किसिमका वस्तु आयातमा शतप्रतिशत मार्जिन र २ प्रकारका वस्तुमा ५० प्रतिशत मार्जिनको व्यवस्था, २६ माघमा पुनः ४३ किसिमका वस्तुमा शतप्रतिशत र ४ किसिमका वस्तुमा ५० प्रतिशत मार्जिनको व्यवस्था गरिनु पनि त्रास फैलाउने काम भएको उल्लेख छ।
एङ्गलिङ सम्पादन
सम्पादन भइसकेको समाचारमा पनि एक ठाउँमा अर्थमन्त्रीको नाम त उल्लेख छ, तर सुरुको समाचार लेख्नेले एङ्गलिङ गरेर परिसंघ अर्थमन्त्रीको बचाउतिर लाग्यो भन्ने हिसाबको समाचार बनाएको थियो। समाचार पढेपछि खै कसलाई हो चित्त बुझेन होला। जसलाई चित्त बुझेन, ऊ अलि पावरफूल नै थियो होला। र त, प्रकाशित भइसकेको समाचार पनि सम्पादन भयो र एङ्गलिङ हटाएर समाचारमा परिसंघले जे भन्यो त्यही मात्र राखियो।
हेडलाइन र कन्टेन्टमा यतिविधि फेरबदल हुँदा पनि यसो गरियो है भनेर सो समाचारको लिङ्कमा सामान्य जानकारीसमेत दिइएको छैन भने किन यसो भयो भन्ने प्रश्नको जवाफ कसरी पाइएला र !
हेर्नुस् पुरानो समाचारको स्क्रिनक्याप्चर
हेर्नुस् अहिलेको समाचार
दाजु यो पुरानो लिंक चै कसरि हेर्ने ? एक्पायर भएको लिंक पनि खुल्छ ? कसरि खुल्छ जानकारी दिनु पर्यो !
सही कुरा यसरी नै अगाडि ल्याउनुपर्छ। धन्यवाद यसका निम्ति। विश्वसनीय हुन अनलाइनहरूले धेरै सचेत हुनु अत्यन्त आवश्यक भइरहको स्थितिलाई उजागर गर्न लागिपर्नु भएकोमा फेरि पनि धन्यवाद।
Onlinekhabar ले पनि यस्तो गर्न थाले पछि अब कस्को समाचार हेर्ने हो? कान्तिपुर, सेतोपाटी, रातोपाटी त धेरै पहिले हेर्न छोडिसकेकै हो। अब भरोसा गर्ने Mysansar मात्र होला जस्तो छ। तर Mysansar मा अब पहिले जस्तै नियमिय समाचार पनि हाल्नुपर्यो।
माईसंसार समाचार प्रसारण गर्ने, दर्ता भएको, पूर्णत: जवाफदेही, दायित्वनिहित र समाचार मात्र प्रकाशन गर्ने संस्थागत “अनलाइन पत्रीका” होइन । सालोक्य जी ले नै भन्नू गरेकै छ, “यो ब्लग हो” । ब्लगमा ईच्छित कुरा राख्न पाइन्छ । हो, देशका कानून, नीति नियम, निर्देशन, सामाजिक वा पेशागत मूल्य र मान्यता अनि आचार पालना गरिनपर्छ । सालोक्य जी र माईसंसारले विगतमा गरेको पनि हो । माईसंसारले विश्वास जितेको छ । माईसंसारको सम्पत्ति नै त्यै हो ।